गौचनलाई शहीद घोषणा गर्ने सरकारको तयारी



  • परिवारको अनुरोधमा अन्त्येष्टि गरिने

  • हत्यारा पक्राउ नगरे देश नै ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

रोविन पौडेल, काठमाडौं
सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज बिहीबार गरिने भएको छ। बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय गरेको हो।

महासंघले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा शव बुझिन लागिएको हो। गौचनको शवलाई बिहीबार महासंघको कार्यालय अनामनगरमा राखेपश्चात् अन्त्येष्टि गरिने महासंघले जनाएको छ।

बुधबार महासंघ कार्यालयमा आयोजित एक कार्यक्रममा मृतक गौचनका काका ओमकार गौचनले मृतकको अस्तुविना काजक्रिया सम्भव नभएकाले मृतकको शव बुझ्न सहयोग गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा बोल्दै गौचनले काजक्रियाका लागि सबै नातेदार तथा आफन्त आइसकेकाले परिवारलाई अन्योलमा नपार्न आग्रह
गर्नुभएको थियो।

उहाँले गृहमन्त्रीले शहीद घोषणाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया चाल्न निर्देशन दिइसकेकाले शव बुझ्न ढिलाइ नगर्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभयो– ‘महासंघलाई अप्ठइरो नपरे शव उठाउन अनुमति माग्छौं।’

यस्तै थकाली सेवा समाजकी अध्यक्ष कृष्णकुमारी शेरचनले पनि थकाली परम्पराअनुसार तेस्रो र सातौं दिन विशेष काम गर्नुपर्ने भएकाले परिवार शव बुझ्न तयार रहेको बताउनुभएको थियो।

परिवारको आग्रहपछि महासंघका आन्दोलन मूल संघर्ष समितिका संयोजक शकुन्तलाल हिराचनले परिवारको माग सम्बोधन हुने बताउनुभएको थियो। त्यसलगत्तै केन्द्रीय समितिको आकस्मिक बैठकले गौचनको शव बुझ्ने निर्णय गरेको हो।

यसैबीच गौचनको अन्त्येष्टि बिहीबार गरिने भएकाले महासंघले बिहीबारका लागि तय गरेको आन्दोलनको कार्यक्रम शुक्रबार गर्ने भएको छ। आफ्ना अध्यक्ष शरदकुमार गौचनको हत्याराको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले थप आन्दोलनको कार्यक्रम अगाडि सारेको थियो।

महासंघले बुधबार पत्रकार सम्मेलन गर्दै मंगलबार तथा बुधबारको आन्दोलनका कार्यक्रमलाई शुक्रबारदेखि जारी राख्दै देशभरका निर्माण व्यवसायी कुनै पनि बोलपत्रमा सहभागी नहुने जानकारी दिएको हो।
कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाइ श्रेष्ठले अध्यक्षको निधनले देशको निर्माण क्षेत्र शोकाकुल भएको भन्दै निर्माण व्यवसायलाई स्थगित गरेर आन्दोलनमा जानुपरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘अहिलेसम्म महासंघले सांकेतिक रूपमा शान्तिपूर्ण विरोध प्रदर्शन मात्र गरेको हो। संघर्षका यी कार्यक्रमपछि पनि राज्य हत्यारा पत्ता लगाउन उदासिन भएमा उपत्यका बन्द, नेपाल बन्दलगायतका कार्यक्रम गर्न महासंघ बाध्य हुनेछ।’

यद्यपि महासंघ कसैलाई दुःख दिने पक्षमा नरहेको आन्दोलन मूल संघर्ष समितिका संयोजक एवं महासंघका पूर्वअध्यक्ष हिराचनले बताउनुभयो। उहाँले हत्यारा पक्राउ गर्न सरकार गम्भीर भएर नलागे महासंघ कडा भएर उत्रने जानकारी दिनुभयो। हिराचनले भन्नुभयो– ‘चुनाव नजिकिँदै गर्दा आन्दोलनका कार्यक्रमले चुनाव बिथोलिएला भन्ने सवाल उठे पनि चुनावको मुखैमा गुण्डागर्दी हावी नहोस् भन्ने लक्ष्यसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका हौं।’

महासंघ पदाधिकारीले बुधबारै गृहमन्त्री जनार्दन शर्मालाई भेटी गौचनका हत्यारालाई पक्राउ गर्न सरकारले गरिरहेको काम कारबाहीबारे जानकारी लिएका थिए। गृहमन्त्रीले भेटघाटकै समयमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई गौचनलाई शहीद घोषणा गर्ने फाइल उठाउन निर्देशन दिनुभएको थियो। उहाँले सो फाइल मन्त्रिपरिषद्मा लगी सरकारबाट शहीद घोषणा गर्ने विश्वास दिलाउनुभएको थियो।

आर्थिक लेनदेन प्रमुख कारणः प्रहरी
यसैबीच गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी पुगेको छ। गएको असोज ९ गते खोलिएको हुलाकी राजमार्गको १२ अर्बको ठेक्काको रकम वितरणमा देखिएको मनमुटावका कारण हत्या भएको प्रहरी बुझाइ छ।

प्रहरीले उक्त ठेक्का ककसको नाममा परेको र ठेक्काका लागि अध्यक्ष गौचनसँग मोलमोलाइ गर्ने समूहको खोजी गरिरहेको पनि जानकारी दिएको छ।

महासंघले भने प्रहरीको उक्त निष्कर्षको खण्डन गरेको छ। निर्माण व्यवसायीले सबैको गाली खाने गरेको र चन्दा तथा सहयोगको नाममा कैयौं गुण्डा नाइके तथा डनबाट पटक–पटक ज्यान मार्ने धम्की आउने गरेकाले यसमा ठूलो गिरोहको हात रहेको महासंघका कार्यवाहक अध्यक्ष श्रेष्ठले बताउनुभयो।

महासंघले बुधबार करिब ५० जिल्लाका मुख्य शहरमा १ घण्टा चक्काजाम गरेको थियो। आन्दोलनकै कार्यक्रमअन्तर्गत शुक्रबार उपत्यकाको माइतीघर मण्डला, कोटेश्वर र कुपण्डोलमा बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गरिने महासंघले जनाएको छ। त्यस्तै शनिबार देशभरि प्रत्येक राजमार्गमा बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिने भएको छ।

महासंघले अध्यक्ष गौचनको निधनपछि निर्माणका सबै काम बन्द गर्ने निर्णय गरेको थियो। हत्याको विरोधमा राष्ट्रिय गौरवका आयोजनमा गल्छी–रसुवागढी सडक, रानी–जमरा, सिक्टा–विराटनगर रानी सडक, मध्य पहाडी सडकलगायत देशभरिका अन्य ठूला आयोजनाको काम पनि ठप्प पारेको छ।

प्रतिक्रिया दिनुहोस्