दीपक–दीपाले किन लिएनन् अवार्ड !



विदुर गिरी

ग त वर्षका फिल्मलाई सामेल गरी यस वर्षको फिल्म अवार्डको खाता खोल्दै राजधानीमा सम्पन्न पाँचौं संस्करणको एनएफडीसी नेसनल फिल्म अवार्ड २०७३ मा पोहोर सालकै सुपरडुपर हिट तथा सबैभन्दा बढी कमाइ गर्न सफल फिल्म छक्का पञ्जाले ५ विधाका प्रायः प्रमुख अवार्ड पाए पनि यसका निर्माता निर्देशकले अवार्ड लिएनन् ।

सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेत्री र हास्य कलाकारका साथमा सर्वोत्कृष्ट व्यावसायिक फिल्मको गरी ५ विधाको अवार्ड घोषणा भए पनि केहीबेर अगाडिसम्म कार्यक्रमस्थल राजधानीको बौद्धस्थित होटल हायातमा देखिएका छक्का पञ्जाकी निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्माता दीपकराज गिरी, हास्य अभिनेता केदार घिमिरेलगायत सो फिल्मका नाममा अवार्ड विजेताका रूपमा घोषणा हुँदा बाहिरिइसकेका थिए । २१ विधाको अवार्ड समारोहमा खास गरी पटकथा लेखकको अवार्ड पुरानो डुंगालाई दिइएपछि दीपक दीपालगायत छक्का पञ्जाको टोली अचानक हलबाट बाहिरिएको थियो । उनीहरू बाहिरिएलगत्तै वर्षकै व्यावसायिक फिल्म विधाको अवार्डबाट छक्का पञ्जाले विजयको खाता खोलेको थियो ।

अवार्ड ग्रहण गर्ने बेला दीपक दीपालगायतको टोली हलमा नभेटिँदा कार्यक्रमस्थलमा हल्लाखल्ला मच्चिएको थियो । समारोहकी सञ्चालिका सुगरिका केसीदेखि सो अवार्डका संस्थापक उद्धव पौडेलसम्मले दीपक दीपालाई अवार्ड लिनका लागि धेरैपटक मञ्चबाट बोलाएका थिए । लामो समय कार्यक्रम नै रोक्दासमेत दीपक दीपा नआएपछि छक्का पञ्जाका नाममा घोषित अवार्डहरू त्यसका कार्यकारी निर्माता निर्मल शर्मा, नायिका प्रियंका कार्की, वितरक गोपाल कायस्थलगायतले ग्रहण गरेका थिए ।

दीपकलाई पछि कार्यक्रमस्थलमा नदेखिनुका कारणबारे जिज्ञासा राख्दा उनले अप्रत्यक्षरूपमा सर्वोत्कृष्ट फिल्मको अवार्ड पाउन अन्य प्रमुख अवार्ड पाउनुपर्ने बताएका थिए । छक्का पञ्जा अवार्डमा सर्वाधिक १५ विधाको मनोनयनमा परेको थियो । दीपाश्री निरौलाले डेब्यु फिल्म छक्का पञ्जाबाटै निश्चल बस्नेत, रामबाबु गुरुङजस्ता स्थापित र नेपाली फिल्म क्षेत्रलाई नयाँ मोड दिलाउने निर्देशकहरूलाई पछाडि पार्दै निर्देशक विधाको अवार्डमा बाजी मारेकी थिइन् । उनले पछि फेसबुकबाट अवार्ड पाएकोमा खुसी व्यक्त गरेकी थिइन् भने दीपकले अवार्ड पाउने सबैलाई बधाई दिएका थिए ।

अवार्ड समारोहमा ९ विधाको मनोनयमा परेको रामबाबु गुरुङद्वारा निर्देशित फिल्म पुरानो डुंगाले पनि छक्का पञ्जालाई पछ्याउँदै पाँचै विधाको अवार्ड चुमेको थियो । पुरानो डुंगाले सहअभिनेता, सहअभिनेत्री, पटकथा लेखन, छायाकार र संगीतकार विधाको अवार्ड चुमेको थियो ।

नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी) को आयोजनामा सम्पन्न अवार्ड समारोहमा विपीन कार्की जात्राबाट सर्वोत्कृष्ट अभिनेता र प्रियंका कार्की छक्का पञ्जाबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल भएका थिए । अभिनेत्री विधामा प्रियंकाले अवार्ड चुमेपछि कार्यक्रम अवधिभरजसो उनीसँगै बसिरहेका नवअभिनेता आयुष्मान देशराजले उनलाई उठेरै चुमे। प्रियंकाले पनि आफ्नो र आयुष्मानको आमाकै सामु उनको ओठमा चुमे । आयुष्मानले चपलीहाइट २ बाट नवअभिनेताको अवार्ड जितेका थिए । नवअभिनेत्रीको अवार्ड भने पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले गाजलुबाट पाइन् ।

यो अवार्डका विधाहरू नेपाली फिल्म क्षेत्रमा साढे २ दशकभन्दा लामो समयसम्म योगदान पुर्याउने जीवित तथा निधन भइसकेका फिल्मकर्मी तथा पत्रकारको सम्मानमा उनीहरूको नाममा नामकरण गरिएको छ । अवार्डमा निर्देशक स्व. हीरासिंह खत्रीको नाममा सर्वोत्कृष्ट फिल्म, स्व. प्रकाश थापाको नाममा निर्देशक, प्रथम नायक शिवशंकर र अर्का नायक शिव श्रेष्ठको नाममा अभिनेता, प्रथम नायिका भुवन चन्द र नायक भुवन केसीको नाममा अभिनेत्री, अभिनेत्री वसुन्धरा भुसालको नाममा सहअभिनेत्री, अभिनेता नीर शाहको नाममा सहअभिनेता, अभिनेता विश्व बस्नेतको नाममा नवअभिनेता, अभिनेत्री चैत्यदेवीको नाममा नवअभिनेत्री, हास्य अभिनेता स्व. गोपालराज मैनालीको नाममा हास्य कलाकार, छायाकार मञ्जुकुमार श्रेष्ठको नाममा छायाकार, साउन्ड इन्जिनियर प्रदीप उपाध्यायको नाममा पुनःध्वनि मुद्रण, लेखक निर्देशक चेतन कार्कीको नाममा पटकथा लेखक, गायक उदितनारायण झाको नाममा पाश्र्व गायन, नृत्य निर्देशकद्वय स्व. वसन्तजंग रायमाझी र वसन्त श्रेष्ठको नाममा नृत्य निर्देशक, द्वन्द्व निर्देशक गोपाल भुटानीको नाममा द्वन्द्व निर्देशन, संगीतकार शम्भुजित बास्कोटाको नाममा संगीतकार र संगीतकार शुभबहादुर सुनामको नाममा पाश्र्व संगीत तथा निर्देशक एवं सम्पादक तुलसी घिमिरेको नाममा सम्पादक विधाको अवार्ड नामकरण गरिएको छ ।

त्यसै गरी चलचित्र पत्रकारिता पुरस्कार कामना सिने मासिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको नाममा नामकरण गरिएको छ भने जुरी अवार्ड मह जोडी र वर्षकै व्यावसायिक फिल्मको अवार्ड जमानाको सुपरहिट फिल्म कसुमे रुमालको नाममा नामकरण गरिएको छ । कामनाका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको नाममा स्थापित पुष्कर चलचित्र पुरस्कार कान्तिपुर दैनिकका सुशील पौडेललाई प्रदान गरियो भने महका नाममा स्थापित मह जुरी अवार्ड डाइङ क्यान्डललाई प्रदान गरिएको छ।
अवार्ड समारोहमा बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाका साथमा विभिन्न देशका राजदूतहरू पनि सामेल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्