वर्तमान संगीत



कसैको नजरमा उर्वर
कसैको अनुभवमा दयनीय

रश्मी थापा

नयाँ र पुराना गायन कलाकारहरूका अनुसार पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको छ । गीत रेकर्डिङदेखि लिएर बजारमा पठाउने मात्र होइन दर्शक स्रोताले गीतसंगीत सुन्ने र हेर्ने तरिकामा पनि फरकपन आएको छ । सीडी क्यासेटको माध्यमबाट सुनिने गीतसंगीतको ठाउँ युट्युब, पेन ड्राइभ, मेमोरी कार्ड र देशविदेशमा हुने कार्यक्रमले लिएका छन् । जसले गर्दा गीतसंगीतको प्रयोग गर्ने तरिकामा फरकपन आएको महसुस गरिएको छ ।

ख्यातिप्राप्त गायक तथा संगीतकार दीप श्रेष्ठका अनुसार यो समय गीतसंगीतको व्यावसायिक स्थिति धरापमा परेको छ । ‘गीतसंगीतको अवस्था राम्रो छ कसरी भन्ने ? सीडी एल्बमको व्यापार नै छैन । अहिले गीति एल्बम निकाल्ने भन्दा पनि एउटा गीत निकालेर युट्युबमा राख्ने चलन छ । जसले गर्दा धेरै गीत राखेर एल्बम गर्नेहरूका लागि फाइदा नै छैन ।

अहिले गीतहरूको रोयल्टी पाउने भन्ने कुराहरू आइरहेका छन् । केहीले पाए पनि सबैले पाउन सकेका छैनन्’, दीपको आशा छ– ‘तर आगामी दिनहरूमा रोयल्टी सबैमा पुग्ला ।’ उनको अनुभव छ– ‘अहिलेको पुस्ताहरूले फास्ट खालका नाच्ने गीतहरू मन पराएका छन् । त्यसले गर्दा लाइभ म्युजिक सुन्नेको संख्या घटेको छ । अहिलेको नयाँ पुस्ताका गायकगायिकाहरूको गीतले गर्दा पुरानो गायकगायिका र गीतसंगीतलाई प्रभाव पारेको छ ।’ एल्बमको बिक्री हुन छोडे पनि पछिल्लो समय देशविदेशमा हुने लाइभ म्युजिक र विभिन्न प्रोजेक्टका कारण केही मात्रामा आम्दानी भएको उनको भनाइ छ । देश र विदेशमा गीतसंगीतसम्बन्धी कार्यक्रमहरू नहुने हो भने अहिलेको पुस्ताका गायकगायिकालाई समस्या नभए पनि आफूहरू जस्तो लाइभ म्युजिकमा मात्र गाउनेहरूका लागि भने यसले प्रभाव पारेको उनी बताउँछन् ।

‘देशविदेशको कार्यक्रम नपाए पनि अहिले युट्युब भ्युअर्सबाट पनि कमाउन सकिन्छ । गजल तथा दोहोरीमा गाउनेहरूका लागि पनि राम्रो छ । हामीजस्तो पुस्ता, जो ट्रयाकमा गीत नगाएर लाइभ म्युजिकामा नै गाउन चाहन्छ, उनीहरूका लागि कार्यक्रममा जाँदा पनि धेरै नै समस्या झेल्नुपर्ने हुन्छ । आफ्नै ब्यान्ड नभएपछि ब्यान्डका सबै कलाकार जुटाएर हिँड्नुपर्ने हुन्छ । जसले गर्दा नेपालकै कार्यक्रममा पनि समय धेरै लाग्छ भने विदेशमा हुने कार्यक्रममा राम्रो सेटिङ मिलाएर जानुपर्ने, झन् धेरै व्यवस्था मिलाउनुपर्ने हुन्छ । तर ट्रयाकमा गाउनेका लागि भने त्यस्तो समस्या छैन’, दीप भन्छन्– ‘अहिलेको बेला जहाँ पनि सजिलै ट्रयाक बजाएर गाउन सकिन्छ र छिटा छरितो पनि हुन्छ ।’

लोकगायिका कोमल वली भने हालको नेपाली गीतसंगीतको अवस्था राम्रो रहेको बताउँछिन् । ‘अहिलेको बजारमा लोक र मौलिकभन्दा पनि मिश्रित गीतसंगीत चलेको छ । एउटै प्रकारका गीतसंगीत भन्दा पनि समय विषेश र स्थान विषेश गीतहरू चल्ने गरेका छन् । पछिल्लो समय त देशको राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुलाई लिएर पनि गीत बनाउने चलन बढेको छ’, कोमलको कथन छ– ‘केही समयअघि एमाले अध्यक्ष केपी वलीले पानी जहाज चलाउने कुरा गर्दा त्यसको बारेमा पनि गीत बनेको थियो । लोडसेडिङको विषयलाई लिएर पनि गीतहरू बनेका छन् । त्यस्तै संस्कृति झल्कने खालको, चाडपर्व नजिक आउँदा त्यस्तै प्रकारको र चलिरहेको फेसनलाई लिएर गीत बनिरहेको छ । यस्ता गीतहरूमा मौलिकता कम हँुदै गए पनि गीतसंगीत भनेको मनोरञ्जनकै लागि बनाइने भएकाले यस्ता गीतहरू दर्शकका लागि पनि स्वीकार्य छन् । हिजोआजका गीतहरूमा भारतीय म्युजिकको बिट र तालहरूको फ्युजन भएको पाइन्छ ।’ कोमललाई लाग्छ– ‘मेला महोत्सव र विदेशमा हुने विभिन्न कार्यक्रमबाट नै कलाकारको जीवन चलिरहेको छ । यदि यी सबै नहुने भने त अहिले सबै कलाकारहरू यस क्षेत्रमा रहनै सक्दैनथे । सडकको बास हुने थियो होला ।’

डिजिटल प्रविधिमा आएको परिवर्तनका कारण अहिलेको पुस्तामा असर परेको बताउँछन् गायक नवीन के भट्टराई । ‘अहिलेको स्रोता भनेको डिजिटल र भिडियो बेस्ड भए । हिजोआज बजारमा आउने गीतहरू मेलोडियस नै छैनन् भने शब्दहरूमा क्वालिटी छैन । लाइभ म्युजिकमा पर्फमेन्स गर्नेहरूका लागि त कमाइ राम्रो छ । अरूको गीत कपी गरेर गाउनेहरूका लागि मात्र हो गाह्रो हुने । म ब्यान्डसहित नेपालका विभिन्न कन्सर्ट र विदेशका कार्यक्रमहरूमा पर्फमेन्स गर्न व्यस्त छु’, नवीनले सुनाए– ‘यस्ता प्रोगाम रियल आर्टिस्टका लागि कमाइको राम्रो स्रोत हो । तर यस्ता प्रोगाम नै नहुने हो भने त कसरी सर्भाइभ हुन सकिएला त ?’

गायिका मेलिना राईको अनुभवमा हालको नेपाली गीतसंगीतको अवस्था निकै राम्रो छ। ‘अहिले नेपाली म्युजिकका लागि एकदमै राम्रो समय हो । किनभने अहिले म्युजिक फिल्डमा धेरै व्यक्तिहरू आइरहनुभएको छ । गीतहरू पनि धेरै नै आइरहेको छ । कम्पिटिसनको मार्केट छ र नयाँनयाँ क्रियसन बढ्दै गएको छ । गीतसंगीत सुन्ने कुरामा पनि पहिलेभन्दा धेरै फरक आइसकेको छ । पहिले सीडी क्यासेटमा गीत सुनिने चलन थियो । अहिले युट्युब र मेमोरी कार्डमा राखेर पनि गीत सुन्ने गरेको पाइन्छ । त्यस्तै स्टेज कार्यक्रमबाट पनि धेरैले गीतसंगीत सुन्न मन पराउनुहुन्छ’ –मेलिना भन्छिन् ।

कलाकारहरूले नेपाल र विदेशका विभिन्न कार्यक्रम नपाउँदा पनि संगीतमा लागेर जीवन निर्वाह गर्न सकिने मेलिनाको धारणा छ । ‘अहिले युट्युब भ्युअर्सबाट पनि कमाइ भइरहेको हुन्छ । त्यस्तै रोयल्टी पनि पाइरहेका छौँ । मेला महोत्सव र विदेशमा हुने विभिन्न प्रोगामले हामी कलाकारलाई निकै राम्रो सपोर्ट गरिरहेको छ । यो कलाकारहरूका लागि खुसी र सकारात्मक कुरा हो । यस्ता कार्यक्रम नै नभए पनि हाइफाइको जीवन बिताउन त नसकिएला तर सामान्य किसिमले जीवन चलाउन नसकिने होइन’ –मेलिनाले भनिन् । हालको गीत संगीतको बजार व्यावसायिक भएको अनुभव मेलिनाले गरेकी रहिछन् । ‘अहिलेको बजार भनेको कमर्सियल छ । मेलोडियस सङहरू पनि स्रोताको माग छ । युवाहरूले कमर्सियल गीतहरू नै बढी रुचाइदिनुभएको छ । तर यसो भन्दैमा हामीले मौलिकता भुल्न मिल्दैन । हामीले बजारलाई पनि हेर्नुपर्छ र मौलिकतालाई पनि ध्यान दिनुपर्छ’ –उनको भनाइ छ ।

गायक प्रमोद खरेल भने गीतसंगीतको अवस्था हरेक प्रकारबाट राम्रो भएको बताउँछन् । ‘अहिले नेपाली गीतसंगीतको क्षेत्रको अवस्था निकै राम्रो छ । धेरै मात्रामा गीतहरू रेकर्ड भइरहेका हुन्छन् । यसको मतलब गीतसंगीतको क्षेत्र व्यावसायिक हुँदै जानु हो । व्यावसायिक हिसाबले फिल्ममा पनि राम्रा गीतसंगीतको प्रयोग हुन थालेको छ । गुणस्तरको कुरा गर्नुपर्दा यति धेरै गीतसंगीत रेकर्ड भइरहँदा गुणस्तर र न्यून गुणस्तर दुवै खालका गीतहरू आइरहेका छन् । कस्तो प्रकारका गीतसंगीत सुन्ने भन्ने कुरा भने स्रोताको रोजाइमा भर पर्ने कुरा हो’ –उनी भन्छन् । नेपाली गीतसंगीतमा पहिले जस्तो स्रोता छैनन् भन्नेचाहिँ उनी मान्न तयार छैनन् । ‘पहिलेभन्दा गीतसंगीतका स्रोता हराएका होइनन् ।

प्रविधि फेरिएको हो । पहिले गीतसंगीत क्यासेट सीडीमा सुनिन्थ्यो भने पछिल्लो समय युट्युबमा हेरिन्छ । त्यस्तै मेला महोत्सवमा गीतसंगीतको माग हुन्छ । यसरी हेर्दा स्रोता होइन, प्रविधिले गर्दा गीतसंगीत सुन्ने तरिका फरक भएको रहेछ । गीतसंगीत मानिसलाई जसरी पनि चाहिने रहेछ भन्ने कुरा यहाँबाट प्रमाणित हुन्छ । कलाकारहरूले कमाउनका लागि मेला महोत्सव र वैदेशिक कार्यक्रम पाएनन् भने त्यसको विकल्पमा अरू केही होलान् कि ?’ –उनी भन्छन् । लोकगायक तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी भने गीतसंगीतमा लगानी गर्नु भनेको बालुवामा पानी हालेसरह भएको बताउँछन् । ‘अहिले कलाकारहरूको अवस्था एकदमै दयनीय छ । गीतसंगीतमा लगानी गर्नु भनेको बालुवामा पानी हालेको जस्तो छ । एक दुई जना कलाकारको जीवनस्तर हेरेर समग्र सांगीतिक क्षेत्रको स्तर मापन गर्नु हुँदैन। केही चलेका कलाकारको जीवनशैली र संघर्ष गरिरहेका कलाकारको जीवनशैली एकै हुँदैन’, बद्रीले भने– ‘नेपाली गीतसंगीतमा वर्षौंदेखि पसिना बगाउँदै आएका कलाकारले स्थान पाउन सकेका छैनन् । चर्चामा आउन र छिटो फड्को मार्नका लागि अनावश्यक र नेपाली समाजमा पाच्य नहुने शब्दहरू गीतमा प्रयोग गरिएको छ । गीतसंगीतमा अनावश्यक परिवर्तन भइरहेको छ । हामी त्यस्ता गीतलाई नियन्त्रण गर्ने प्रयासमा छाँै र लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आबद्ध सबै कलाकार विकृति निम्त्याउने खालका शब्द प्रयोग भएका गीत बहिष्कार गर्नेमा प्रतिबद्ध छाँै ।’

स्रष्टाले आफ्नो बौद्धिक सम्पत्ति प्रयोग गरेबापत पाउनुपर्ने रोयल्टी रकम व्यवस्थित गर्न सके यसबाट स्रष्टालाई केही हदसम्म आफ्नो बौद्धिक सम्पत्तिको मूल्य दिन सकिने बद्रीलाई लागेको रहेछ । ‘कलाकारलाई हाल रोयल्टी रकम आउने ठाउँ त छ तर त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । जसले गर्दा सबैले यसबाट फाइदा लिन सकेका छैनन् । सीआरबीटी पीआरबीटी भनेको कलाकारमाथि गरिएको दमन मात्र हो । अहिलेको अवस्थामा हेर्दा कलाकार बाँच्ने भनेको स्टेज प्रोगाममा गाएर हो । एउटा गीतको सीआरबीटी डाउनलोड गरेबापत १३ रुपियाँ एनटीसीले काट्छ भने त्यो कलाकारसम्म आइपुग्दा २५ पैसा हुन जान्छ । यसबाट के गर्नु ?’, बद्री भन्छन्– ‘अन्तर्राष्ट्रिय नियमअनुसार पनि सांगीतिक स्रष्टाले आफ्नो बौद्धिक सम्पत्ति प्रयोग गरेबापत रोयल्टी पाउनुपर्छ । नेपालमा पनि वैज्ञानिक र व्यवस्थित ढंगले लान सके यसले कलाकारलाई केही हदसम्म फाइदा पुर्याउँछ । जसका लागि राज्य, प्रशासन र कलाकार एकजुट भएर नियम बनाएर लाग्नुपर्छ ।’

गायिका मिलन अमात्य भने भर्खरै संघर्ष गर्दै गरेका संगीतकर्मीहरूका लागि संगीत क्षेत्र गाह्रो भए पनि स्थापितहरूका लागि ठीकै रहेको बताउँछिन् । ‘नयाँहरू गायकगायिकाहरू, जो स्ट्रगलको पिरियडमा छन् उनीहरूका लागि गाह्रो भए पनि पुरानाहरूको लागि सर्भाइभ गर्न सजिलो छ । अहिले युट्युब भ्युअर्सहरूबाट पनि राहत मिलिरहेको छ । रोयल्टीलाई सिस्टमेटिक गरेर लगे यसबाट पनि राम्रो हुने आशा छ’, मिलनको अनुभव छ– ‘कलाकारहरू जति पनि हुनुहुन्छ, उहाँहरूले अलिकति कमाउने भनेको विशेष गरेर विदेशको प्रोगामबाट हो । देशविदेशमा हुने यस्ता कार्यक्रमले हामीलाई निकै हेल्प गरेको हुन्छ । पा्रेगाम नपाउँदा त सर्भाइभ गर्न केही गाह्रो हुन्छ ।’ कस्तो गीत चल्ने भन्ने कुरा स्रोताको मागमा भर पर्ने मिलनको धारणा छ । ‘स्रोताको मुड र डिमान्डमा कस्तो गीत सुन्न मन पर्छ, संगीतको बजार त्यसमा डिपेन्ड गर्ने कुरा हो । तर पछिसम्म रहने र स्रोताले पनि मन पराउने भनेको मेलोडियस र देशभक्तिका गीत हुन् । त्यसमा पनि अहिले पप आधुनिक र लोकगीतहरू चलिरहेका छन् । कसैलाई राम्रो लाग्ने गीत अरूलाई नराम्रो लाग्न पनि सक्छ । सबै गीत उस्तै हुँदैनन् । गीतहरूको गुणस्तर पनि उस्तै हँुदैनन्’ –उनी भन्छिन् ।

गीतकार डा. कृष्णहरि बराल भने नेपाली गीतसंगीतको उर्वर र विकसित समय नै अहिलेको समयलाई मान्छन् । ‘अहिले धेरै राम्रा राम्रा गीतहरू आइरहेका छन् । अहिलेको समय भनेको नेपाली सांगीतिक क्षेत्रका लागि निकै उर्वर समय हो । यो समयमा गीतकार, गायक गायिका र मिडिया पनि निकै बढेका छन् । केही गीतसंगीतको स्तर खस्के पनि समग्रमा राम्रा गीतसंगीत आएका छन् । पहिले गीत रेकर्ड गराउन गाह्रो थियो । महिनामा १०⁄१५ वटा मात्र गीत रेकर्ड हुन्थे’, उनी सुनाउँछन्– ‘अहिले सेन्सरसिप नहुने भएकाले गर्दा पनि धेरै गीतहरू रेकर्ड भइरहेका छन् । गीतको संख्या बढेअनुसार गुणस्तरमा पनि छिः भनिहाल्नुपर्ने अवस्था छैन । सिक्नेहरू पनि बढिरहेका छन् । नयाँहरूका लागि पनि प्रशस्त मात्रामा अवसर आइरहेका छन् ।’ आधुनिक गीत र गजलले चर्चा पाइरहेको यो बेला आगामी दिनमा पनि यस्तै गीत र गजलले स्थान पाउने उनले देखेका छन् । ‘२०४६ सालपछि सुगम संगीतले स्रोताबीच स्थान ओगटेको थियो भने ०५०⁄०५५ सालमा लोकदोहोरी अनि अहिले आधुनिक गीत गजल स्रोताको रोजाइमा परेका छन् । आगामी दिनमा पनि यस्तै गीतसंगीतले नै स्थान पाइरहनेछन् ।’

गायक राजेशपायल राईको अनुभवमा पनि गीतसंगीतको अवस्था राम्रो छ । ‘मेरो त अहिलेसम्म गीतसंगीतबाट नै जीवन चलिरहेको छ । नेपाली गीतसंगीतको बजार राम्रो हुनुका धेरै कारण छन् । गीतसंगीतको अवस्था परिवर्तनशील हुन्छ । कुन बेला कस्ता गीतसंगीत चल्छन् भन्ने कुरा थाहा हुँदैन । त्यो त समयले बताउने कुरा हो । समयअनुकूल लोक, पप, आधुनिक आदि गीतहरू चल्छन्’, राजेशले सुनाए– ‘देशविदेशमा हुने कार्यक्रममा व्यस्त भइरहेको छु । यसले हामीलाई निकै सपोर्ट गरिरहेको हुन्छ । यस्ता कार्यक्रम नभए के होला भन्नेबारे चाहिँ मैले कहिले पनि सोचेको छैन । जुन दिन यस्ता कार्यक्रम हुन छोड्छन्, त्यही बेला सोचाँैला ।’

संगीत व्यवसायी तथा सञ्चारकर्मी सुवास रेग्मी भने वर्तमान संगीतको अवस्थालाई चित्रित गरेर व्यंग्य गर्दै भन्छन्– ‘संगीतमा अहिलेको जस्तो राम्रो अवस्था त कहिल्यै पनि थिएन । प्रधानमन्त्रीदेखि उपराष्ट्रपतिसम्म एल्बम विमोचनमा व्यस्त हुन्छन् । गायकगायिकाहरूले गीत निकालेको निकालेकै छन् । गीतसंगीतमा लगानी गर्नेहरूको संख्या बढेकोबढ्यै छ । रक्सी खाएर कोही हस्पिटल भर्ना भए भने पनि उपचारका लागि सहयोग जुटिरहेकै छ । बेलाबेलामा रोयल्टी रकम बाँडिरहेकै छन्’, सुवासले सुनाए– ‘संगीतकर्मीहरूका लागि कोष खडा भएकै छन् । गायकगायिकाहरूका लागि पनि एकदमै राम्रो छ । सधैं देशविदेशको कार्यक्रम भन्दै दौडिरहेका छन्। संगीतकारहरू एक दिन पनि खाली बस्नुपरेको छैन भने पहिले चप्पल लाएर हिँड्ने म्युजिक कम्पनी सञ्चालकहरू महँगा कारमा गुडिरहेकै छन् । गुणस्तरको कुरा गर्नुपर्दा स्वर परीक्षण नै गर्नुपर्दैन । अब यस्तो अवस्थालाई पनि नराम्रो भन्न मिल्छ र ?’

प्रतिक्रिया दिनुहोस्