ट्रम्पका पत्नीहरूबीच प्रथम महिलाको विवाद



 

वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इवाना ट्रम्पले एबीसी न्युजको ‘गुड मर्निङ अमेरिका’ कार्यक्रममा आफू नै प्रथम महिला भएको बताएकी छिन्।

उक्त कार्यक्रममा बोल्दै उनले भनिन्– ‘म ट्रम्पकी पहिलो पत्नी हुँ, म नै प्रथम महिला हुँ।’
चेक गणराज्यकी पूर्वमोडल इवानाले ह्वाइट हाउससँग उनको सीधा सम्पर्क रहेको तर यसबाट कसैलाई जलन होस् भन्ने आफूले नचाहेको बताइन्।

आफ्नो किताब ‘रेसिङ ट्रम्प’ प्रकाशित हुन लागेकामा त्यसको प्रचारमा लागेकी इवाना ट्रम्प उक्त कार्यक्रममा सहभागी भएकी थिइन्। कार्यक्रममा उनले किताबको चर्चा गरेकी थिइन्।

इवाना र डोनाल्ड ट्रम्पको विवाह सन् १९७७ मा भएको थियो। उनीहरूबीचको सम्बन्ध सन् १९९०को दशकसम्म कायम थियो। यसबीच ट्रम्पको मार्ला मेपल्स नामकी एक महिलासँग अफेयर चलेपछि सन् १९९२ मा उनले सम्बन्ध विच्छेद गरेकी थिइन्। मार्लाले पछि ट्रम्पसँग विवाह पनि गरिन्।

इवाना र डोनाल्डको तीन बच्चा छन्। डोनाल्ड जुनियर, इवान्का र एरिक ट्रम्प। तपाईं कस्तो आमा हुनुहुन्थ्यो? भन्ने प्रश्नको जवाफमा इवानाले भनिन्– ‘म अत्यन्त कडा थिएँ। तर आफ्ना बच्चाहरूलाई अत्यन्त माया गर्थें।’

ट्रम्पको बारेमा उनले भनिन्– ‘डोनाल्ड फोनमैं व्यस्त हुन्थे, व्यापार गरिरहेका हुन्थे। उनी बच्चाहरूलाई माया गर्थे। तर तपाईं मलाई गलत नठान्नुहोला, उनले सबै कुरा पुर्याउँथे। तर उनी त्यस्तो पिता भने होइनन्, जसले स्ट्रलरमा घुम्ने, सेन्ट्रल पार्क जान वा उनीहरूसँग बेसबल खेल्छ।’

इवानाले भनिन्– ‘जब बच्चाहरू १८ वर्षका भए, त्यतिबेला उनले कुरा गर्न शुरू गरे। किनभने त्यतिबेला उनीहरू व्यापारको कुरा गर्न सक्ने भएका थिए। त्यसभन्दा अगाडि बच्चासँग कसरी कुरा गर्नुपर्छ भन्ने पनि उनलाई थाहा थिएन।

इवानाले उक्त सोमा आफ्ना पूर्वपतिसँग १५ दिनमा एकपटक भए पनि कुरा गर्ने गरेको बताइन्। ‘मसँग ह्वाइट हाउसमा ट्रम्पको सीधा सम्पर्क गर्ने नम्बर छ तर म उनलाई फोन गर्न चाहन्नँ, किनभने मेलानिया त्यहाँ हुन्छिन्।’ –उनले बताइन्।

‘कसैलाई कुनै प्रकारको जलन वा अन्य केही होस् भन्ने मैले चाहेको छैन। वास्तवमा म नै ट्रम्पकी पहिलो पत्नी हुँ। म नै फस्र्ट लेडी हुँ।’
इवानाको उक्त टिप्पणीलाई लिएर ट्रम्पकी वर्तमान पत्नी मेलानियाले आफ्नी प्रवक्ता स्टेफनी ग्रिस्ममार्फत तीखो जवाफ दिएकी छिन्। ‘श्रीमती ट्रम्पले ह्वाइट हाउसमा बेरन (उनका छोरा) र राष्ट्रपतिका लागि घर बनाएकी छिन्।

उनलाई वासिङटन डिसीमा बस्न मनपर्छ र उनी अमेरिकाकी प्रथम महिलाका रूपमा आफ्नो भूमिकालाई लिएर सम्मानित महसुस गर्छिन्। उनी आफ्नो यस भूमिका र उपाधिको प्रयोग बच्चाहरूको मद्दतका लागि उपयोग गर्न चाहन्छे, न कि किताब बेच्नका लागि।’ – प्रवक्ताले बताएकी छिन्। एक पूर्वपत्नीका तर्फबाट आएको यो बयानको कुनै तौल छैन। दुर्भाग्यवश यो ध्यान तान्नका लागि आफैले गरेको हल्ला मात्र हो।

इवाना र मेलानियाबीच भएको यो टीकाटिप्पणीलाई कुनै प्रथम महिला र राष्ट्रपतिकी पूर्वपत्नीबीच भएको पहिलो सार्वजनिक वादविवाद मानिएको छ। ट्रम्पअगाडी रोनाल्ड रेगन पूर्वपत्नीसँग पारपाचुके लिएका अमेरिकी राष्ट्रपति थिए।

 

प्रतिक्रिया दिनुहोस्