गौचनको हत्याविरुद्ध निर्माण व्यवसायी आन्दोलित



 

नेपाल समाचारपत्र
काठमाडौं
सोमबार बानेश्वरमा हत्या गरिएका आफ्ना अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई तत्काल कारबाही गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग माग गरेको छ। महासंघका पदाधिकारीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर गौचनको हत्यारालाई तत्काल खोजी कारबाही गर्न माग गरेको हो।

व्यवसायीले गौचनलाई शहीद घोषणा गर्नुको साथै निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन समेत माग गरेका छन्। प्रधानमन्त्रीसँगको भेटमा महासंघका महासचिव रामशरण देउजाले अध्यक्षको हत्यासँगै अन्य पदाधिकारीलाई विभिन्न अज्ञात फोन नम्बरबाट धम्की दिने प्रवृत्ति बढेको बताउनुभयो। महासंघले अध्यक्षको हत्याले निर्माण व्यवसायी असुरक्षित भएको भन्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्रीसमक्ष अनुरोध पनि गरेको छ।

जवाफमा प्रधानमन्त्री देउवाले गौचन हत्यापछिको घटनालाई आफूले नजिकैबाट अवलोकन गरिरहेको र दोषी पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभयो। अन्य व्यवसायीहरूलाई पनि धम्की आइरहेको सन्दर्भमा उहाँले व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

यसैबीच व्यवस्थापिका संसदमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या विषयमा छलफल भएको छ। छलफलमा संलग्न सांसदले गौचनको हत्यामा संलग्न रहेकाको खोजी तथा अनुसन्धानमा भएको प्रगतिबारे सरकारले सदनलाई जानकारी गराउन माग गरेका छन्। संसदको मंगलबार सम्पन्न बैठकमा अधिकांश सांसदले गृहमन्त्री जनार्दन शर्मा सदनमा स्वयम् उपस्थित भएर अनुसन्धान विषयमा जानकारी गराउनुपर्ने माग पनि गरे। छलफलमा सांसद दीपक गिरीले निर्वाचनको पूर्वसन्ध्यामा हत्याको घटनाले मुलुकमा अपराधीकरण र नागरिकको असुरक्षा बढ्दै गएको पुष्टि भएको बताउनुभएको थियो। सांसद रामहरि खतिवडाले गृहमन्त्रीको राजीनाको माग गर्नुभएको थियो।

त्यस्तै सांसद जनार्दन ढकालले गौचनको हत्या घटनाले आमनागरिकको सुरक्षाप्रति सरकार गम्भीर नबनेको स्पष्ट भएको बताउनुभएको थियो। सांसद रामनारायण विडारी, योगेन्द्र चौधरी, प्रेम सुवाल, रुक्मिणी चौधरी, रोमी गौचन थकाली लगायत सांसदले गौचनको हत्या शान्ति सुरक्षाको दृष्टिले अत्यन्तै लज्जास्पद घटना भएको बताउनुभएको थियो। हत्यामा संलग्नलाई हदैसम्मको सजाय दिन माग उहाँहरूको थियो। राजधानीमै दिउँसै भएको हत्याले शान्ति सुरक्षाको कमजोर अवस्थालाई उजागर भएको सरकारसमक्ष असन्तुष्टि व्यक्त गर्नुभएको थियो।

यसैबीच नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष गौचनको निधनमा बुधबार निर्माणका सबै काम बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै महासंघले ३ दिनसम्म सचिवालयबाट हुने सम्पूर्ण काम बन्द गर्ने भएको छ। महासंघको कार्यालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण बोलपत्रका कार्यमा सहभागी नहुन र बहिस्कार गर्न गराउनका लागि सम्पूर्ण निर्माण व्यवसायीलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ।

यस्तै महासंघका महासचिव देउजाले घटनाका दोषी पत्ता नलगाएसम्म आफूहरूले शव नबुझ्नेसमेत बताउनुभएको छ। भक्तपुरमा भएको एक कार्यक्रममा देउजाले अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन आइरहेको बताउनुभएको छ।

अध्यक्ष शरदकुमार गौचनमाथि सोमबार भएको गोली प्रहार गरिएकोमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले पनि घोर भत्सर्ना गरेको छ।

विरोध कार्यक्रम जारी राखिने
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा महासंघले आफ्नो विरोध कार्यक्रमलाई निरन्तरता दिने भएको छ। विरोधका कार्यक्रमअन्र्तगत बुधबार बिहान ९ देखि १० बजेसम्म माइतीघर मण्डलामा महासंघले धर्ना दिने भएको छ।

त्यस्तै महासंघले बुधबारै गृहमन्त्री जर्नादन शर्मालाई भेटी ज्ञापनपत्र बुझाउने भएको छ। गौचन हत्काण्डका बारेमा महासंघले बुधबार ४ बजे महासंघ मुख्यालय अनामनगरमा पत्रकार सम्मेलन गर्ने जनाएको छ। महासंघ कार्यालयमा भएको कार्यक्रममा महासंघका मानार्थ सदस्य तथा वनमन्त्री विक्रम पाण्डेले पनि हत्यारा पक्राउ गर्न सरकार सक्रिय रहेको बताउनुभयो। राजधानीका विभिन्न ठाउँबाट शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धानलाई तिव्र पारिएको मन्त्री पाण्डेले जानकारी दिनुभयो।
मंगलबार निर्माण व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई भेटी ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा गौचन हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न, गौचनलाई शहीद घोषणा गर्न, व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन माग गरिएको छ। जवाफमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले गौचनको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रशासन गम्भीर भएर लागिरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्