बस दुर्घटनामा तीनको मृत्यु, दुईको सनाखत



दुर्घटना भएको बस । तस्बिर: कुमार श्रेष्ठ/बाँके

बाँके । बाँकेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंदेखि धनगढीतर्फ आउदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुवाहक बस बाँकेको राप्तीसोनारी–१, लौकीखोला पुल नजिक दुर्घटनामा परेको हो । बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीकी ३२ वर्षीया बाहिनी बोहरा, डडेल्धुरा नेटाका रविन्द्र पाण्डे र एकजना पुरुषको सनाखत हुन सकेको छैन । पाण्डे सूर्यदल गण विराटनगरमा कार्यरत नेपाली सेनाका सिपाही रहेको खुलेको छ । दुर्घटनामा १० जना घाइते रहेका छन् । घाइते सबैको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । घाइते यमप्रसाद पौडेललाई आइसीयुमा राखेर उपचार गरिएको छ । बसमा १३ जनामात्रै सवार रहेको देखिएको छ । लौकीखोलाको पुल नजिक दुर्घटना हुँदा बस सडकदेखि तल खसेको छ । बसको पट्टा भाँचिएकाले दुर्घटना भएको चालकले बताएका छन् । बस सडकदेखि करिव १५ मिटर तल खसेर धसिएको छ । दुर्घटना बिहान पौने दश बजेतिर भएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्