दीपक जंगम संगीतदूत



 

विदुर गिरी
सं गीतका विद्यार्थीदेखि संगीत पारखीसम्म बिहानदेखि बेलुकासम्मै घोक्छन् उनले जमानामा सिर्जना गरेका गीत, उनकै ती पुराना तर मर्मस्पर्शी गीत सुनेर, उनले संगीत दिएको कालजयी गीतमा रियाज गरेर संगीतका विद्यार्थीहरू गीत गाउँछन्, चर्चामा चाहिँ आउँछ अहिलेका गीत । बाल्यकालदेखि नै संगीतमा रमेर यो क्षेत्रलाई योगदान पुर्याउँदै आएका गायक तथा संगीतकार दीपक जंगम ती सर्जक हुन्, जो धेरै संगीतकर्म गर्छन् तर कम प्रचारमा आउँछन् । प्रचारप्रसार खोज्दै हिँड्दैनन् । बरु परै बस्न खोज्छन् ।

नेपाली संगीतलाई देशदेखि विदेशसम्म चिनाएर वास्तविक सांगीतिक दूतको काम गर्दै आएका प्रा. दीपक जंगमले गीत गाएर तथा गीतमा संगीत भरेर त योगदान पुर्याएकै छन्, सँगसँगै स्कुल र कलेजका विभिन्न तहका कक्षाका लागि संगीतको विषयलाई पाठ्यक्रमको रूपसमेत दिएर यो क्षेत्रलाई अर्को ठूलो गुनसमेत लगाइरहेका छन् । गायक र संगीतकारका रूपमा ख्याति कमाएका यी गाजलु ती ठूला ठूला आँखा संगीतकार प्रतिभाशाली कलाकारसमेत हुन् । केही अगाडि मात्र मुटुको शल्यक्रिया गरेर तंग्रिएका ६३ वर्षीय दीपक स्वास्थ्यलाभ गरेलगत्तै फेरि सांगीतिक जीवनमा उत्तिकै सक्रियताका साथ फर्किएका छन् । प्राध्यापकबाट अवकाश भएपछि छनोटका गीतमा मात्र संगीत दिने स्वभावका उनको अबको सम्पूर्ण कर्म संगीत सिर्जनामै बित्न थालेको छ ।

भक्तपुरको माहोलले सिकायो गाउन२०१० सालको चिसो माघे महिनाको दिन भक्तपुर टौमढी टोलको जंगम परिवारमा ठूलो उल्लास छाइरहेको थियो । सम्पूर्ण हिन्दु नेपालीहरू स्वस्थानी पूर्णिमा मनाइरहेका बेला गोविन्दहरि जंगम र जमुनादेवी जंगमको परिवारमा चाहिँ दीपकको जन्म भएपछि थप उल्लास छाइरहेको थियो । भक्तपुरमा जन्मे पनि दीपकको पूरै बाल्यकाल त्यता भएन । दुई परिवारका उनको आधाभन्दा बढी बाल्यकाल बाबुआमासँगै भीमसेनगोलामा बित्यो । उनको पिताको घरजग्गा भक्तपुरसँगै काठमााडौंको भीमसेनगोला, बानेश्वर मा पनि थियो । भक्तपुरमा एसएलसीसम्म पढ्ने चलन थियो । तर दीपकले भने कक्षा ३ सम्म भक्तपुरको श्री पद्मा हाईस्कुलमा पढे । त्यसपछि काठमाडौंमा आएर पढे ।

चावहिलको पशुपति हाई स्कुलमा ७ कक्षासम्म पढेका उनी ८ कक्षादेखि डिल्लीबजारको विजय मेमोरियलमा पढ्न थाले र एसएलसी पनि त्यहीँबाट दिए । पाटन कलेजबाट ब्याचलर गरेका दीपकले २०३५ सालमा संगीतलाई मूल विषय बनाएर भारतको कलकताबाट स्नातकोत्तर गरे ।
९ वर्षको उमेरमै गायनपढाइलेखाइबाहेक दीपक बाल्यकालबाटै संगीत तथा नाटक क्षेत्रमा रुचि राख्थे । रुचि पूरा गर्ने क्रममा उनले संगीत र नाट्यकर्म पनि बाल्यकालबाटै शुरू गरे । भक्तपुरमा जन्मिनु नै उनका लागि संगीत र नाट्यकर्ममा लाग्न प्रेरित गर्ने विषय बन्ये । भक्तपुरमा बाहै्र महिना, बाह्रै काल सांस्कृतिक र सांगीतिक माहोल भइरहन्थे । जसका कारण उनी संगीत र अभिनयमा आकर्षित भए । हाल पत्नी प्रा.डा. बेनीजंगम रावल तथा छोरा अजरजंगम र छोरी नेहाजंगमका साथ बानेश्वरको चक्रपाणि चालिसे मार्ग भीमसेनगोला, कामनपा वार्ड नं ३४ बस्दै आएका जंगम बाल्यकालमा बानेश्वर आएपछि साथीहरूको संगतमा लागेर गीत गाउन थाले ।

२०१९ सालमा ९ वर्षको उमेरमै रेडियो नेपाल पुगेर बाल कार्यक्रममा गीत गाए । त्यति खेर त्यो बाल कार्यक्रम धर्मराज थापााले सञ्चालन गर्थे । पछि यादव खरेलले सञ्चालन गरे । उनी दमन ढुंगानाको चिठ्ठी लिएर बालकार्यक्रममा पुगेका थिए । ढुंगानाले धर्मराज थापालाई ‘दीपकजंगम बाल कार्यक्रममा भाग लिन चाहन्छन् । यिनको प्रतिभा हेरेर अवसर दिनु होला’ भन्ने व्यहोराको चिठ्ठी लेखिदिएका थिए । मौका पाएपछि दीपकले बाल कार्यक्रमका लागि गीत गाए । गीतकार राजेन्द्र थापा, पत्रकार किशोर नेपाल, गीतकार तथा पत्रकार स्व. श्रीविक्रम राणासँगै रेडियो नेपाल पुग्ने उनी त्यो बाल्य उमेरमै आफैंले संगीत सिर्जना गरेर आफैं गीत गाउँथे । गीत भने श्रीविक्रम राणाले लेख्थे । ‘म संगीत भरेर गीत गाउँथे । मसँगै उनीहरू पनि गाउँथे । शनिबारको दिन बिहान ९ देखि साढे ९ बजेसम्म लाइभ कार्यक्रम हुन्थ्यो । म माइकको अगाडि बसेर लाइभ गीत गाउँथें । न्हुच्छेबहादुर डंगोल मादल बजाउँथे’, उनले करियरको पहिलो खुट्किलो सुनाउँदै भने– ‘छरछिमेकले तैंले गाएको सुनें भन्दा खुसी लाग्थ्यो, नाम कमाउनुपर्छ भन्ने लाग्थ्यो ।’

अभिनय गर्दा राजा महेन्द्रबाट पाए बक्सिसपढाइ, गायन र संगीतलाई अगाडि बढाउँदै जाँदा दीपकको लगाव संगीतसँगै अभिनयतिर पनि बढ्न थाल्यो । त्यही क्रममा उनले २०२१ देखि २०२४ सालसम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट संगीत र नाट्य अभिनयसम्बन्धी तालिम पनि लिए । स्कलरसिपमा तालिम लिने मौका पाएपछि उनले सँगसँगै काम पनि गर्न थाले । टोली बनाएर नाचघर र अन्य ठाउँमा संगीत र अभिनय गरे । उनको टोलीमा गायक स्व. फत्तेमान राजभण्डारी, रत्नबहादुर खड्गी, गायिका निर्मला श्रेष्ठ, संगीतकार स्व. मदन परियार, रंगकर्मी गणेश न्यौपाने ‘मुनाल’ थिए । अभिनयको तालिम लिए पनि करियरका रूपमा भने संगीतलाई छाने ।

सायद उनीभित्र अभिनेताभन्दा पनि बढी सांगीतिक व्यक्तित्व थियो । त्यसैले तालिमका बेला पनि संगीतकै कक्षामा बस्थे उनी । नाटकचाहिँ वैकल्पिक विषय थियो । संगीतप्रतिको मोह बढ्दै जाँदा संगीतका यी दीपक भारतको कलकत्ताबाट संगीतमा मास्टर गर्न पुगे । त्यसो त दीपक संगीत सिर्जनामा जस्तै गायनमा झुकाव राख्थे । उनले थारु जातिकै पहिलो संगीतज्ञ रामप्रसाद राय थारुबाट ३ वर्षको गायन तालिम पनि लिए । संगीततर्पm बढी जोड दिए पनि नाटक वा अभिनयलाई च्वाट्टै छोड्न भने सकेका थिएनन् दीपकले । धेरै रंगमञ्चीय र रेडियो नाटकमा अभिनय गरेका उनले स्व. बालकृष्ण समसँगसमेत काम गरे । २०२१ साल असार ९ गते प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा मञ्चिन बोक्सीमा बालकलाकारका रूपमा गरेको अभिनय नै उनको जीवनको पहिलो अनुभव थियो । तर पहिलोचोटि कलाकारका रूपमा मञ्चमा पाइला टेक्दै उनले यती शसक्त अभिनय गरिदिए कि सबैले वाहवाही गरे । राजा महेन्द्रले त उनको अभिनय मन पराएर ‘मिठाई खानु’ भन्दै बालकृष्ण सममार्पmत् एक सय रुपियाँ बक्सिस नै दिए । उनले बक्सिसमा पाएको पैसा साथीभाइसँग मिलेर मिठाइ खाएरै सकाए, घरमा लगेनन् । दीपकले नाटकमा अभिनय गर्दागर्दै निर्देशन पनि गरे । उनले आफ्नो जमानामा सडकदेखि सडकसम्म, नाटक भित्रको नाटक, क्याम्पस क्याम्पसजस्ता नाटकको निर्देशन गरेर समेत प्रसंशा कमाए । उनको एकांकी नाटक बोक्सी र रणदुल्लभ, पूर्णाड्ढी प्रल्हाद, फर्केर हेर्दा र जब घाम लाग्छमा अभिनय गरे।

स्कलरसिपको पैसा हराउँदा रुवावासीसंगीत र नाटक प्रशिक्षण्मा स्कलरसिप पाउनेमा सबैभन्दा सानो नै दीपक थिए । स्कलरसिपअन्र्गत उमेर र योग्यताअनुसार पैसा पाइन्थ्यो । अरूले मासिक सय देखि १ सय २५ रुपियाँसम्म पाउँथे । दीपकले भने सानो भएकै कारण सबैभन्दा कम ७५ रुपियाँ पाउँथे । पहिलोपटक स्कलरसिपबापत पाएको पैसा दीपकले हराएछन् । ‘कता खस्यो खस्यो, थाहै भएन । पैसा हराएपछि म त रुन थालेछु । म रोएको देखेर सबैले १⁄१, २⁄२ रुपियाँ उठाएर ७५ रुपियाँ बनाएर दिए । पैसा फेरि हराउला भनेर रत्नबहादुर खड्गी र गणेशप्रसाद श्रेष्ठ मलाई घर पुर्याउनै जानुभयो’, उनले सुनाए– ‘त्यतिखेर म ७⁄८ कक्षामा थिएँ । पढाइभन्दा बढी ध्यान संगीतमै भएकोले पढाइमा औसत हुन पुगें ।’संगीत र नाटकको तालिम सकिँदा उनको एसएलसी पनि सकिएको थियो । एसएलसी सकिएपछि दीपले संगीत कम्पोजलाई निरन्तरता दिइरहे । नाटक, गीत संगीत र नृत्य प्रस्तुत गर्ने उनको एउटा समूह थियो । हिमाली डाँफे लालीगुरांँस सांस्कृतिक समिति नामक त्यो समूहमा उनीसँगै नाटकमा सूर्यनाथ शर्मा र गीत लेखनमा श्रीविक्रम राणा थिए । नृत्यमा भने मानिस परिवर्तन भइरहन्थ्यो । दीपकको कामचाहिँ संगीत निर्देशन गर्ने हुन्थ्यो । यो समूहबाट विभिन्न संघसंस्थालाई सम्पर्क गरेर दीपकको समूह विभिन्न कार्यक्रममा जान्थे र सबैको मन जितेर फर्कन्थे ।

पहिले प्रशिक्षार्थी, पछि प्रशिक्षकराजा महेन्द्रले नेपाली संगीतको विकासका लागि आह्वान गर्दै संगीतकार स्व. अम्बर गुरुङलाई नेपाल बोलाएर प्रज्ञा प्रतिष्ठानको संगीत विभाग प्रमुख बनाए । २०२५ सालमा संगीत विभाग प्रमुख भएपछि गुरुङले दीपकका साथमा गायक स्व. फत्तेमान राजभण्डारी, गायिका निर्मला श्रेष्ठ र रेणुका मानन्धरलाई बोलाए । दीपकले २०२६ सालमा संगीत कलाकारको हैसियतले अस्थायी करारमा काम शुरू गरे । २०३४ सालदेखि ०४० सालसम्म सहायक संगीत निर्देशक भएर काम गरे । २०२८ सालदेखि उनले संगीतका विद्यार्थीहरूलाई ३ वर्षे तालिम पनि दिए । ‘तालिम एकदमै राम्रो भयो । त्यो बेला तालिम लिनेहरू वसन्त श्रेष्ठ र सुरेश मिश्र नृत्यमा माथि आउनुभयो’, दीपकले सम्झिए– ‘फाउन्डेसन राम्रो भएपछि संगीत कक्षाको प्रशिक्षण दिन थालेका थियौँ । अम्बर दाइ र म म्युजिक क्लास लिन्थ्यौँ । हामीसँग सुदेश शर्मा, शक्ति बल्लभ, कुवेर राई, विनोद गुरुङ, सुनील उप्रेतीलगायतले क्लास लिनुभएको थियो ।’ दीपकको दुखेसो थियो– ‘प्रज्ञा प्रतिष्ठानका कलाकार सधैं अस्थायी हुन्थे । सधैं करारमा काम गर्नुपथ्र्यो । निर्दिष्ट कार्यक्रम पनि भएनन् । विदेशी भीआईपी आए मात्र कार्यक्रम हुन्थ्यो, नत्र महिनौं चुप लागेर बस्नुपथ्र्यो । मैले त्यसरी भविष्य सुरक्षित देखिनँ र प्राध्यापनतिर लागेँ । एकेडेमीको जागिरबाट छुट्टी लिएर इन्डिया गएर मास्टर्स गरेर २०३५ सालमा फर्कें ।’ स्वदेश फर्केपछि उनले २०३६ भाद्र ११ देखि गत २०७१ साल मंसिरसम्म पद्मकन्या क्याम्पसमा संगीत विषयको प्राध्यापन गरे । संगीत प्राध्यापन गर्ने क्रममा नलिना चित्रकार, प्रास्ना शाक्य, जुना प्रसाईं, पवित्रा सुब्बा, सुनिता सुब्बा, विमला राई, सरिस्मा अमात्यजस्ता गायिकालाई पढाए । नेपाल फर्केर आएपछि पद्मकन्यामा पढाउने क्रममा दीपकले एकेडेमीको जागिरलाई पनि निरन्तरता दिएका थिए । अस्थायी भएकाले दुवैतिर काम गर्न मिल्थ्यो । २०४० सालमा रत्न रेकर्डिङ संस्थानको नेतृत्व सम्हाल्नुपर्ने जिम्मेवारी आएपछि भने उनले एकेडेमीको अस्थायी जागिरबाट बिदा लिए । उनको पद पछि गायक दीप श्रेष्ठले सम्हाले ।

प्रज्ञा प्रतिष्ठान छोडेर संस्थानतिरसंस्थानमा जान या त कलेज या त प्रतिष्ठान छोड्नुपर्ने भएपछि दीपकले कहिल्यै स्थायी नबनाउने एकेडेमीको जागिर छोडिदिए । २०४० देखि ०४३ सालसम्म रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धकको रूपमा नेतृत्व मात्र सम्हालेनन्, छोटो समयभित्रै सीमित साधन स्रोत र जनशक्ति प्रयोग गरेर संगीत क्षेत्रको बजार विस्तारका लागि गतिला काम पनि गरेर देखाइदिए । ‘रेकर्ड (गीतको एल्बम) को वितरण गर्ने डिपो बाहिर विराटनगरमा मात्र एउटै थियो । संस्थानमा गएपछि मैले पूर्वाञ्चलको धरान, पशुपतिनगर, पश्चिमाञ्चलको पोखरा, भैरहवा र नेपालगन्जमा एजेन्टको व्यवस्था गरँे । बीएफबीएससँग सम्झौता गरेर हङकङ, ब्रुनाई, सिंगापुरजस्ता नेपाली बस्ती भएको देशमा रेकर्ड (एल्बम) पुर्याउने व्यवस्था मिलाएँ । नायिका करिश्मा मानन्धरको ससुरा व्यवसायी ईश्वर मानन्धरलाई युरोपका लागि एजेन्ट बनाएर त्यहाँ पनि नेपाली संगीतको विस्तार गर्ने काम गरेँ । म संस्थानमा जानुअगाडि ६ एल्बम मात्र टेपमा आएको थियो’, दीपकले आफ्नो सफलताको कथा सुनाए– ‘त्यसको फल पनि पाइयो । ३ वर्षको कार्यकालमा क्यासेट टेपको विस्तार कैयौं गुणा वृद्धि भयो ।  वार्षिक २ हजार २५ सयसम्म बिक्री हुने टेपको माग लाखबाट पनि माथि पुग्यो । नभए ४०⁄५० हजारको हाराहारीमा बिक्री हुन्थ्यो । २०⁄२५ हजार कपी बिक्री हुँदा हिट मानिन्थ्यो । गुलाम अली र नारायण गोपालका एल्बम लाख डेढ लाखभन्दा बढी गएका थिए ।’ नेपाली गीतसंगीतको व्यावसायिक विकास गर्न सफल संस्थान पछि एकाएक बन्द हुन पुग्यो । ‘सरकारले संस्थानलाई स्वायत्तता दिएन ।

सरकारको नीति सही भएन । योग्यताभन्दा पनि आफ्ना र टीका लगाएर नेतृत्व सुम्पिने गरियो । लिडरसिप राम्रो भएन । त्यसैले २०४९ सालमा लिक्विडेसनमा गयो’, दीपकले सुनाए– ‘नेतृत्व सम्हाल्न मलाई फेरि बोलाइएको थियो । मैले आर्थिकरूपले स्वतन्त्रता हुनुपर्ने र मन्त्रालयको हस्तक्षेप बन्द गर्नुपर्ने तथा सस्टेनका लागि सरकारले संस्थानलाई १ करोड रुपियाँ दिनुपर्ने र १० वर्षसम्म कमाउने संस्था बनाउने वातावरण निर्माण गर्नुपर्ने सर्त राखेपछि सरकार पैसा छैन भनेर पन्छियो ।’सरकारी निकाय भए पनि दीपकले संस्थानबाट उपयोगी कामहरू गरेका थिए । त्यसको फल पनि निस्किएको थियो । तर राजनैतिक खिचानी तथा ‘राम्राभन्दा पनि हाम्रा’ प्रवृत्तिका कारण संस्थान खारेज नै हुन पुग्यो । ‘संस्थानमा म गएपछि कलाकारको सहभागिता बढेको थियो । व्यापार व्यवसाय बढेको थियो । पहिला ३ वटा मात्र एलपी थियो । पछि प्रतिष्ठित गायकगायिकाहरूको एलपी बढाएँ । नारायण गोपाल, कुमार बस्नेत, तारादेवीको एलपी बनाएँ । मोतीराम भट्ट, लेखनाथ पौड्याल, भानुभक्तको रामायणजस्ता साहित्यलाई अडियोबाट पहिलोपटक परिचित गराएँ । त्यो समयमा त्यो नयाँ सोच र विषय भएको थियो’, दीपकसँग उनले गरेका कामहरूको फेहरिस्तै थियो– ‘परम्परागत बाजाहरूलाई रेकर्डमा ल्याइयो । धुनहरूको कलेक्सनको सख्या बढाइयो ।  विभिन्न क्षेत्रबाट सहभागिता बढाइयो । गणेश रसिकले शुरू गर्नुभएको प्रतिभाको खोजीलाई निरन्तरता दिइयो । विभिन्न क्षेत्रमा गएर नयाँ प्रतिभालाई ल्याएर मञ्च दिइयो, प्रमोट गरियो । पोखरा, काठमाडौं र हेटौंडामा कार्यक्रम सञ्चालन गरियो । अन्तरसंस्थान लोकगीत प्रतियोगिता, बृहत् राष्ट्रिय गीत सम्मेलन, पश्चिमाञ्चल लोकगीत सम्मेलन गरेर गीत संगीतप्रति प्रोत्साहन गर्ने काम गरियो । रत्न रेकर्डिङबाट पहिलोपटक गुलाम अलीलाई प्रस्तुत गरियो । नारायणगोपाललाई पहिलोपटक एलपीमा ल्याइयो । मलाई नसोध कहाँ दुख्छ घाउ नारायणगोपालको पूर्नआगमन सावित हुन पुग्यो ।’ दीपकले परम्परागत र सांस्कृतिक धुनको संरक्षण तथा सामाजिक चेतना जगाउन र मितव्ययिता अपनाउन बिहेमा बजाइने परम्परागत धुन तथा विवाह धुनको रेकर्ड पनि बनाएर बजारमा पठाएँ ।’

रोयल्टी त्यति बेलैबाटसर्जक र गायकगायिकाले रोयल्टी पाउनुपर्छ भन्ने आवाज अहिले जताततैबाट बुलन्द हुँदै आएको छ । यसको शुरुआत पनि भएको छ । तर दीपकले भने रोयल्टीको प्रचलन संस्थानबाटै शुरू गरिदिएका थिए । ‘मैले संस्थानले रोयल्टी दिनुपर्छ भनेर त्यतिखेरै त्यसको शुरुआत गरेको थिएँ । २०४२ साल मंसिर ११ गतेको बैठकबाट प्रति एल्बम ५ रुपियाँ रोयल्टी दिने भनेर निर्णय गराएको थिएँ । त्यो रकम दामासाइबाट रचनाकार, गायक गायिका र संगीतकारले पाउँथे । म हटेपछि संस्थानले रोयल्टीको विषय बिर्सियो । धेरै वर्षपछि अरू कम्पनीले फलो गरे’ –दीपकले भने ।

पाठ्यक्रममा संगीतको शुरुआतसंगीतको विद्यार्थीदेखि गुरुसम्म भएका यी संगीत सर्जकले संगीतको विकास र विस्तार गर्ने क्रममा स्कुल र कलेजका विभिन्न तहका विद्यार्थीका लागि संगीत विषयको पाठ्यक्रम तयार पार्ने काममा समेत योगदान दिए । कक्षा १ देखि एमएसम्मका संगीत विद्यार्थीका लागि पाठ्यक्रम निर्माणमा योगदान गरेका उनले पद्मकन्या क्याम्पस, त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद्, शिक्षा मन्त्रालय राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को संगीत विगायको अध्यक्षका रूपमा यो कामा गरेका थिए । शास्त्रीय, लोक, आधुनिक गीत गायन तथा राष्ट्रिय गीत, बाल गीत, प्रहरी गीतका साथै गीति नाट्यका लागि संगीत रचनाका साथमा दर्जनौं वाद्य धुन रचनासँगै हिन्दी, उर्दु, बंगाली, अंग्रेजी, नेवारी, भोजपुरी, मैथिली भाषाका गीतहरू एवं हजारौं संख्यामा फुटकर नेपाली गीतहरू संगीतबद्ध गरेका उनले संगीतकै विषयमा श्रीमती बेनी जंगमका साथ संगीत सुरभी भाग १ र २ जस्ता संगीतसम्बन्धी कृति पनि बजारमा ल्याएका छन् ।

रचनाकार पनि           दीपक गीत लेखन कार्य पनि गर्थे यिनी ।  ‘गीत पनि लेखेको छु । तर संगीतमै जोड दिन्थेँ । गीत साथीभाइले लेख्ने भएकाले त्यता खासै ध्यान दिइनँ । आवश्यक पर्दा मात्र लेख्थें’, उनले सम्झे– ‘२०२२ सालमा रत्नबहादुर र फत्तेमानले ट्युन बनाउनुभएको रहेछ, तर गाउनलाई गीत भएन । अनि मैले लेखिदिएँ । त्यसै दिन रेडियो नेपालबाट गाउनुभयो । दीपक प्रस्ट पार्दै थिए– ‘नारायणगोपाल दाइले गीति यात्रा एल्बमका लागि मेरो संगीतमा चाँदनी शाहको एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा गाउनुभयो । त्यसरी मेरो संगीत र रचनामा तिमीलाई म के भनौं फूल भनुँ कि जुन भनुँ र यति धेरै माया दिई मनभरि दुःख नदेऊ तयार भयो । अर्को एउटा गीत मात्र लेख्नुपर्ने भयो । अर्को एउटा गीतका लागि आफैंले ट्युन गर्नुभएको रहेछ, तर गीत कतैबाट नआएपछि मलाई लेखाउनुभयो । त्यहीँ आधा घण्टा बसेर साउनको झरी बनी तिमी आऊ न, मेरो मनको अँधेरीमा जुन छाऊ न को स्थायी र अन्तरा लेखेँ, केही दिनपछि अरू पनि थपेर तयार पारेँ । यसरी मैले अर्जेन्टमा मात्र गीत लेखेँ’, उनले भने– ‘नत्र भने म गायन र संगीतमा मात्र जोड दिन्थें, अझ बढी जोड संगीतमै मात्र हुन्थ्यो ।’
गायनमा उत्तिकैदीपकले २०१९ सालमा पहिलोपल्ट बाल कार्यक्रमका लागि बिउँझाइदे नयन खोली दे, जगमग जगमग ज्योति देजस्ता गीत लेखी ट्युन गरी आफैंले गाए । श्रीविक्रम राणाद्वारा रति लाएर प्रित देशको नाउँ राखौं संगीत भरी आफैंले गाएका थिए भने एसियाबीच नेपाल एक सुन्दर पारौंमा संगीत भरेर सामूहिकरूपमा गाएका थिए । पत्रकार किशोर नेपालको चरीले बोल्यो गाएका उनले देशप्रेमको गीत सुनाएँ पनि संगीत बनाएर आफैंले गाएका थिए । ‘बालकार्यक्रमका गीतहरू लाइभमा धेरै गाइयो, तर ती गीत रेकर्डमा बसेनन् । पछि अरू कार्यक्रममा गाउन थालियो ।

रेडियोकै लोक लहरीका लोकगीतमा सामूहिक स्वरमा गाइयो । जीवन दबुमा नेवारी भाषाका गीत पनि गाएँ । छन्त किचः बिधका, जी सुपाय्ँ जुया ब्वया बिया बोलको अमृतरत्न तुलाधारको गीत नेवारी गीत त रेकर्ड पनि भएको छ । पछि मञ्चमा पनि गाएँ, रेडियोमा रेकर्ड पनि भयो’, दीपकले सुनाए– ‘जनक शिक्षा सामग्री केन्द्रले रेडियो नेपालका लागि तयार पारेको प्रौढ शिक्षा कार्यक्रम जनचेतना पैmलाउने शिक्षाको विकासका लागि नाराका गीत पनि थुप्रै गाएँ । कलम मकल सकल, पढ पढौं, पढ न, मेरो बज्यु पढ न पढ लौ बोलको गीत अझै धेरैलाई याद हुनुपर्छ । त्यो गीतले प्रौढ शिक्षालाई समेत सहयोग गर्यो ।’दीपकले चाहेको भए हालसम्म पनि सयौं गीत गाउन सक्थे । तर उनले आफ््mनो प्रतिभा गायनमा भन्दा बढी संगीतमा भएको पाए । ‘भोकलमा आफैं सन्तुष्ट भइनँ । २०४२ सालमा मोतीराम भट्टको भक्ति गजल न यता भए न उता, २०६० सालमा उषा शेरचनको रचनामा कहिले बातहरू सहें गाएँ । त्योभन्दा अगाडि २०४० सालसम्म एकेडेमीदेखि देशविदेशका धेरै स्टेजमा गीत गाएँ ।


बंगालदेशमा बाग्ला, श्रीलंकामा सिंहाल भाषा, पाकिस्तानमा उर्दु, पस्तो र पञ्जाबी, कोरियामा कोरियन, चाइनामा चिनियाँ, भारतमा भारतीय भाषामा गीत गाएँ’, दीपक पूर्वस्मृतिमा थिए– ‘जुन देशको जुन ठाउँमा गइन्थ्यो, त्यहीँको गीत सिकेर गाइन्थ्यो । नेपालका नेवारी, गुरुङ, मैथिली, भोजपुरी, अवधी, राई, शेर्पा, तामाङ गीत गाइन्थ्यो । तर आफ्नो भोकलमा आफैं सन्तुष्ट भइनँ ।’ त्यसो त उनले हिन्दी, बांग्ला, उर्दु, नेपाली, नेवारी, संस्कृत, मैथिली भाषाको गीतमा समेत संगीत दिएका छन् । रेडियो नेपालको कृषि कार्यक्रमदेखि साझा कार्यक्रमसम्मको सिग्नेचर ट्युन बनाएका दीपकले रेडियो कान्तिपुरको स्टेसन आईडी ट्युन र कान्तिपुर गाथाको ट्युन पनि बनाएका छन् । जुन २०३३⁄०३४ सालदेखि प्रसारण भईरहको छ ।

सामुन्नेका मेहेन्दी हसनलाई चिनेनन् दीकपलेपुरानादेखि नयाँ पुस्तासम्मका सर्वाधिक गायकगायिकाका लागि संगीत तयार पारिदिएका संगीतकार जंगम २०३७ सालमा प्रज्ञा प्रतिष्ठानको सांस्कृतिक प्रतिनिधि मण्डलबाट एक महिनाको टुरका सिलसिलामा पाकिस्तान पुगे । उनको टोली जुन देशमा जान्थ्यो, त्यहीँको गीत संगीत प्रस्तुत गरेर अमिट छाप छोड्न सफल हुन्थ्यो । पाकिस्तान जानुअगाडि पनि दीपकले एक महिनाअगाडि नै आफ्ना आइडल गायक मेहन्दी हसनको एल्बम खोजेर उनका गीत गाउन सिके। ‘जुन देशमा गयो उनीहरूको गीत उनीहरूकै तरिकाबाट गाउँदा त्यसका प्रभाव भिन्दै हुन्थ्यो । मेहन्दी सापको १५⁄२० हिट गीत थाहा थियो । जहाँ जान्थ्यौँ, त्यहाँको कार्यक्रममा पनि अर्डियन्सको अनुरोधमा ५⁄७ स्थानीय गीत, राष्ट्रियरूपमा चर्चित गीतका साथमा गजलसम्म गाउनुपथ्र्यो ।

एउटा राज्यमा गीत गाएर अर्को राज्यमा जाँदा सबै जानकारी पुग्थ्यो । यिनीहरू जस्तो पनि गाउन सक्छन्, दर्शकसम्म राम्रो लिंक गर्न सक्छन् भन्ने चर्चा हुँदो रहेछ’, दीपकले सम्झिए– ‘म मेहेन्दी साप गीत गाउन चाहन्थें । ठूलो उद्देश्य र सपना त उहाँलाई भेट्नु थियो । कराँचीमा उहाँको २ हिट गीत दुनियाँ किसीके प्यारमे जन्नतसे कम नहीँ र हमारे दिलसे मत खेलो खिलौना टुट जायेगा गाएँ । खासमा एउटा मात्र गीत गाउने सोचेको थिएँ, वन्स मोर आएपछि अर्को गीत पनि गाउन पर्यो । भोलिपल्ट कराँचीबाट निस्कने अंग्रेजी पत्रिका डनमा नेपालबाट आएको एउटा गायकले जुन पनि भाषामा गाउँछ भन्ने सुनिएको थियो, कहीं कर्ही त ओरजिनलभन्दा पनि सायद बेटर गायो कि भनेर उकासेर लेखिदिएछ । त्यो पेपर मेन्दी सापले पनि पढ्नुभएछ र मलाई खोज्न थाल्नुभएछ । म उहाँलाई भेट्न खोजिरहेको थिएँ, होस्टलाई भनेको थिएँ । त्यहाँका कार्यक्रमको डाइरेक्टरले तपाईं मेहन्दी सापलाई भेट्ने हो ? भने । तर उहाँलाई त बोलाइसकेको रहेछ । हो भन्नासाथ २ मिनेटमै मेहेन्दीलाई लिएर आए ।’ मेहेन्दीसँगको भेटको उनको कथा लामो र रोचक थियो– ‘डाइरेक्टरसँगै कोही मान्छे देखेँ । पहिले कहाँ देख्या हो भन्ने लागिरह्यो । मेहेन्दी साप नै हो भन्ने कल्पनै भएन । पछि मात्र उहाँलाई चिनेँ। मेहेन्दी सापले उहाँदेखि आएर मेरो गीत गाउनुभयो भनेर आभार र खुसी प्रकट गरे, लामो कुरा भयो, लन्च सँगै खायौँ, ३⁄४ घण्टा बितेको थाहै भएन ।’ यो कहानी त भर्खर शुरू भएको थियो । सुनाए– ‘उहाँलाई त्यो दिनको बेलुकाको कार्यक्रममा चिफ गेस्ट बनाएर बोलाएँ । उहाँले हिजो जेजे चेन्ज गरेर गाउनुभएको थियो, त्यसै गरेर गाउनु भन्नुभयो । मैले पनि त्यही सुनाएँ, उहाँ खुसी हुनुभयो । कार्यक्रम सकिएपछि आएर उहाँले बधाई दिनुभयो, त्यसरी उहाँसँग सम्बन्ध बन्यो ।’

नेपाल आएर दीपकलाई खोजे मेहेन्दीले२०४० मा मेहन्दीले एकहप्ते गजल कार्यक्रम साम ए गजलका लागि नेपाल आउनासाथ दीपकलाई खोजे । मेहेन्दीले सो कार्यक्रममा केही नेपाली गीत गाउने योजना पनि थियो । मेहेन्दीलाई पाकिस्तानमै ट्युनसहित नेपालबाट मबीबी शाहको भन लौ तिमी नढाँटी उपलब्ध गराइएको रहेछ । उनी भने त्यसलाई नयाँ ट्युनमा गाउने मुडमा रहेछन् । जसका लागि दीपकले नै नयाँ ट्युन तयार पारिदिए । उनले मेहेन्दीका लागि नारायण गोपालको आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ पनि तयार पारेका थिए । तर रेकर्ड भएन । मेहन्दीको कार्यक्रम भव्यरूपमा सफल भयो । त्यसबापत सरकारले उनलाई गोरखा दक्षिणबाहु प्रथमबाट विभूषित पनि गर्यो । यसरी विदेशी कलाकारलाई सो विभूषणबाट विभूषित गरिएको पहिलो अवसर थियो । त्यसैले भारतले लता मंगेशकरलाई पनि सो विभूषणबाट विभूषित गर्न ठूलो दबाब दियो, तर त्यो सम्भव भएन ।

गुलाम अलीले हात मिलाएर भने मेरो लागि संगीत बनाइदिने हो ?मेहेन्दी हसनको कार्यक्रमसँगै नेपालमा गजलको माहोल बन्यो, सँगै बढ्यो दीपकको आकर्षण । मेहेन्दी नेपाल आएर फर्केको ढेढ वर्षपछि गुलाम अली नेपाल आउँदा पाकिस्तानबाटै दीपकको संगीतमा मबीबी शाहको गीत गाउने योजना बनाएर आए । उनले दीपकलाई भेट्नासाथ हात मिलाएर ती गीतमा संगीत भरिदिन आग्रह गरे– ‘मेरा लागि संगीत गरिदिन सक्नुहुन्छ भनेर ?’ गुलाम अलीको सो प्रस्ताव स्वीकार्दै दीपकले ४ दिनमा ४ गीतमा संगीत मात्र भरेनन, रेकर्डै गराए । ‘भोलिपल्टै ११ बजे बिहान होटल एभरेस्टमा रिहर्सल गर्ने सल्लाह भयो, राति ११ बजे फर्किए । मबीबी शाहको एउटाबाहेक अरू गीत गरेको थिइनँ । कस्तो गीत गराउने, कुन स्तरको गराउने कन्फ्युज थियो । कसैसँग सल्लाह गर्ने समय पनि थिएन, एकल निर्णय गर्नुपर्ने अवस्था थियो । धन्न मसँग मबीबी शाहको गीत भएको किताब रहेछ । राति साढे २ बजेसम्म बसेर लोलाएका ती ठूला तिम्रा दुई नजरले गीतको ट्युन सकें । बेनी (पत्नी) लाई सुनाएँ । उसले त राम्रो छ भनी, तर गुलाम अलीले मन पराउनुभएन भने के गर्ने ? त्यसैले कम्तीमा एउटा गीतको २ ट्युन त बनाउनुपर्यो’, दीपकले सम्झिए– ‘रातभरि निद्रा लागेन । बिहान ६ बजे पद्मकन्यामा क्लास थियो ।

जानेबित्तिकै क्लास लिन्न, गीत सुन्न मन छ भने चुप लागेर बस भनें । किन किन तिम्रो तस्वीर मलाई निको लाग्छको ट्युन गर्न थालें । उनीहरूले पनि मसँगसँगै गुनगुनाउन थाले । नयाँ जेनेरेसनले पिक गर्न सके भनेपछि राम्रो हुन्छ भन्ने भयो । गुलाम अलीले पनि दुवै गीतको ट्युन मन पराउनुभयो । भोलिपल्टबाट रेडियो नेपालको स्टुडियोमा रेकर्ड गर्न थालियो । तेस्रो दिन के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर र चौथो दिन गाजलु ती ठूलाठूला आँखा रेकर्ड गरियो ।’ दीपकले भने– ‘मेरो सोच उहाँसँग हात मिलाएर एउटा फोटो खिच्नेसम्म मात्र थियो । तर उहाँको चार गीतमा संगीत नै गर्ने अवसर पाएँ। अहिले कुनै गायक त्यस्तो छैन, जसले यी गजलमा प्रयास गरेको नहोस् । गजलमा सर्वाधिक बढी बज्ने गजल नै त्यही भएको छ । गाजलु ती ठूलाठूला आँखाको आलाप, के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेरको अन्तरा र लोलाएकाको स्थायी जस्ताको तस्तै गाउनलाई जोसुकैलाई मुस्किल पर्छ ।’वास्तवमै लोकप्रियताको शृंखला हेर्ने हो भने दीपकले संगीत भरेका नारायण गोपाल र गुलाम अलीका गीतहरू ३ दशकदेखि पहिलो नम्बरमै रहेको पाइन्छ । तेस्रो पुस्तासम्म पनि यी गीतहरू उत्तिकै लोकप्रिय सावित भएका छन् ।

एउटा मान्छेको मायालाई २८ ट्युनस्वर सम्राट् स्व. नारायण गोपालको सदाबहार गीत एउटा मान्छेको मायामा दीपकले नै संगीत सिर्जना गरेका हुन् । गीत रेकर्ड भएदेखि अहिलेसम्म पनि यो गीत उत्तिकै लोकप्रिय छ । तर थोरैलाई मात्र थाहा होला दीपकले यो एउटा गीतका लागि २८ ट्युन बनाएका थिए । ‘एउटा मान्छेको मायाको लागि २८ ट्युन बनाएको थिएँ । त्यसका लागि डेढ २ महिना लागेको थियो । पछि नारायणगोपाल दाइ र मैले २ ट्युन छानेर पढाएको हो । त्यो गीतको इतिहास खोतल्दै दीपकले भने– ‘चाँदनी शाहको माइन्डमा त्यो लोकप्रिय गीत हुनुपर्छ भन्ने थियो । किनभने गुलाम अलीका गीतले नेपाल बाहिर पनि लोकप्रियता कमाइसकेका थिए । चाँदनी साहको स्वकीय सचिवले गेहेन्द्रमान सिंह गुलाम अलीको भन्दा राम्रो बनाइदिनुपर्यो भनेर गीत त दिनुभयो । चुनौतीकै रूपमा स्वीकारें । त्यसैले २८ ट्युन बनाएँ । कसले मिट गर्छ त्यो लेभल भनेर सोचें । नारायणगोपाल दाइसँग गीति यात्राको काम भइरहेका थियो । उहाँलाई नै गाउन रिक्वेस्ट गरेँ, उहाँले पनि मेहनत गर्नुभयो । १८ दिन लगाएर २ ट्युन रेकर्ड गरियो । म्युजिक नेपालले स्टुडियो फ्रि गरिदियो। बाँकी कामका लागि लगानी दरबारले नै गर्यो । सिस्टमअनुसार दरबारको गीत रेकर्ड गराउन रेडियो नेपाल पुग्थ्यो । नारायण दाइले बाहिरको म्युजिसियनलाई कसरी मुफ्तमा काम गराउने ? भनेपछि हामीले पारिश्रमिक नलिने, अरूलाई हिसाब गरेर १० हजार रुपियाँ दिने भनेर माग्यौं । हाम्रो पारिश्रमिक दरबारले पनि सोधेन, हामीले पनि भनेनौं । यो गीतपछि भने नारायणगोपाललाई दरबारले सहयोग गर्यो ।’

रेडियो नेपालबाटै लुकाइयो एउटा मान्छेको मायालेत्यो गीत २०४४ सालको असोज रेडियो नेपालबाट बिहान सवा आठको अंग्रेजी समाचार सकिएपछि पहिलोपटक प्रसारण भएको थियो । ‘कसैले एकाबिहानै नारायणगोपाललाई फोन गरेर रेकर्डिङ पनि राम्रो भएन, स्वर पनि त्यति राम्रो भएन, म्युजिक पनि कस्तो कस्तो लाग्यो । म्युजिकले भोकललाई थिच्यो भनिदिएछ । नाराणगोपाल दाइले मुड अफ भएर फोन गर्दै तिमीले सुन्यौ ? भन्नुभयो । मैले सुनें राम्रो क्वालिटी छ भनें । तर अचानक २ हप्तासम्म गीतै सुनिएन’, दीपकले एउटा मान्छेको इतिहास खोतले– ‘नारायणगोपाल दाइ र मलाई दरबारले नबजाउनु भनेको हो कि भन्ने शंका भयो । गएर सोधें, अचम्म लाग्यो टेप नै फेला परेन रे । टेप फेला परेन भनेर त्यहाँ त एउटाले अर्कोलाई अर्कोले झन् अर्कोलाई देखाउन थाले । डाइरेक्टर प्रचन्ड सिंहलाई गीत त हरायो रे नि ? भन्दा झस्किएर खोजिहाल्छु भने । लाइब्रेरीमा पनि छैन, अरू हुनुपर्ने ठाउँमा पनि कतै छैन भनेपछि मास्टर स्पुल लिएर गएँ । ४⁄५ कपी गराएँ । डाइरेक्टरलाई पनि दिएँ । राम्रो गीत आयो कि लुकाउने गायब गरिदिने त्यहाँ पुरानै चलन हो ।’तर त्यही गीत २०५९ साल (२००२ डिसेम्बर २४) मा बीबीसी लन्डनको नेपाली सेवाले गरेको नेपाली गीतको विश्वव्यापी सर्वेक्षणमा सर्वश्रेष्ठ घोषित भयो ।
दरबारबाट लिएनन् फाइदादरबारका गीत गाउनेहरूले र आशीर्वाद पाउने धेरैले त्यहाँबाट थुप्रै लाभ पनि लिए । नारायणगोपालको जागिर थिएन । त्यसैले दरबारले २०४५ सालमा उनलाई सिधै लेक्चरर पद दिलायो । तर लेक्चरर भए पनि नारायण गोपालले क्लास लिएनन् । पछि उनी आफैंले ‘क्लास लिइँदैन, के जागिर खाने’ भनेर कलेज जानै छोडदिए ।

पछि कमल थापा सञ्चारमन्त्री भएका बेला उनलाई सञ्चार सल्लाहकार राखियो, जहाँ नारायणगोपालले केवल हाजिर गरे पुग्थ्यो । दीपकले भने मबीबी शाहदेखि चाँदनी शाहसम्मका गीतका संगीत सर्जक भए पनि केही फाइदा लिएनन् । ‘यसबाट हाइट गेन गरौं भन्ने सोच पनि भएन । गुमाएँ भन्ने पनि छैन । म्युजिक मेरो च्वाइस थियो, म सन्तुष्ट छु’ –उनी भन्छन् ।

संगीतको चमत्कारले बचायोसक्रियरूपमा संगीतकर्म गर्दै आएका दीपक २०७० मा नराम्ररी बिरामी परे, उनलाई मुटुको समस्या भयो । ‘बिहानीपख पूजा गर्न छतमा जाँदा बायाँ पाखुरा गहुँ्रगोजस्तो भयो, कान्छी औंला हल्का झमझमायो । त्यो बेलामा लामो श्वास तानेर हात तन्काएपछि दिनभर समस्या हुँदैन थियो । कहिले कहिले लामो हिँड्दा पनि समस्या हुन्थ्यो’, उनले सुनाए– ‘मुटु परीक्षण गराएँ, एन्जियोग्राम भयो । ३ आर्टेरी नष्ट भएको रहेछ । अप्रेसन यहाँ हुन सक्दैन अब १५ दिन मात्र लाइफ बाँकी छ भनियो । भारतको दिल्लीमा म्याक्समा गएर चेक गराएँ । स्थिति क्रिटिकल थियो । साढे ५ घण्टा लामो अप्रेसन भयो । तर डक्टरले अचम्मको कुरा सुनाए । एजको हिसाबले मुटुको पोजिसन राम्रो पाइयो रे । यस्तो रियर मात्र हुँदो रहेछ । नशा मात्र खराब भएको रहेछ । उनीहरूले मेरो पेसा सोधे र संगीतको कारणले यो मान्छेको मुटु राम्रो भएको भन्ने निक्र्यौल निकाले ।’ थपे– ‘मलाई बचाउने कारण नै संगीत नै रहेछ । संगीतकाजादुले बचायो ।’

भक्तपुरमा जन्मिनु नै उनका लागि संगीत र नाट्यकर्ममा लाग्न प्रेरित गर्ने विषय बन्यो । भक्तपुरमा बाहै्र महिना, बाह्रै काल सांस्कृतिक र सांगीतिक माहोल भइरहन्थे । जसका कारण उनी संगीत र अभिनयमा आकर्षित भए ।

प्रतिक्रिया दिनुहोस्