पहिलो नायक शिवशंकर मानन्धर



 

नेपालको चलचित्र इतिहासमा शिवशंकर मानन्धरको नाम पहिलो नायकका रूपमा आउँछ । उनले विसं. २०२२ असोज १५ गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आमा’ चलचित्रमा नायकको रूपमा अभिनय गरेका थिए ।

शिवशंकर मानन्धरको जन्म १०८९ फागुन १२ गतेका दिन काठमाडौंको पाको, न्युरोडमा भएको थियो । सानै उमेरदेखि गीत संगीतमा गहिरो अभिरुचि राख्ने शिवशंकरले रेडियो नेपालको स्थापना कालदेखि नै सांगीतिक यात्रा थालेका थिए । शिवशंकर रेडियो नेपालको प्रारम्भिक वर्षहरूका सांगीतिक साक्षी हुन् । स्वर माधुर्यताका धनी शिवशंकर मानन्धरले गाएका थुप्रै गीतहरू लोकप्रिय भएका छन् । आफैं पनि एक कुशल संगीतकार भएकाले अरूको संगीतमा गीत गाउन मन पराउँदैनथे । शिवशंकरले गाएको पहिलो गीतको बोल अभाव तिम्रो खट्किन्छ थियो । यस गीतका रचनाकार अहिलेका जीवित इतिहास श्यामदास वैष्णव हुन् ।

शिवशंकर मानन्धरले एक संगीतकारका रूपमा हजारौं गीत सृजना गरेका छन् भने आफ्नै संगीत र आफ्नै स्वरमा करिब तीन सय गीत गाएका छन् । उनले आफ्नै स्वरमा रेकर्ड गराएको पहिलो गीतको बोल यो खोलाको धमिलो पानी थियो । यो गीतको रेकर्ड भारतको कलकत्तामा भएको थियो । नेपाली चलचित्रमा पहिलो नायकका रूपमा प्रवेश गरेका शिवशंकरले मनको बाँध, कुमारी, २५ वसन्त र शान्तिदीप लगायतका केही चलचित्रहरूमा संगीतकारका रूपमा रही नेपाली चलचित्र क्षेत्रमा योगदान गरे । यी चलचित्रहरूमध्ये उनलाई ‘मनको बाँध’, ‘२५ वसन्त’, ‘शान्तिदीप’ मा नातिकाजी र कुमारी चन्द्रराज शर्माले सघाएका थिए । गायकका रूपमा नेपाली चलचित्रमा उनले ‘आमा’ चलचित्रमा आफ्नै लागि पाश्र्व स्वर दिएका थिए । यसरी आफैंले अभिनय गरेको दृश्यका लागि आफैंले गीत पनि गाउने उनी नेपाली चलचित्रका पहिलो व्यक्तित्व हुन पुगे ।

रेडियो नेपालको स्थापनाकालमा गायकको रूपमा प्रवेश गरेका शिवशंकरले विसं. २०४९ सम्म करिब ४१ वर्ष निरन्तर सेवा गरे । त्यसै गरी उनले २०४३ सालदेखि २०४७ सालसम्म तत्कालीन रत्न रेकर्डिङ संस्थानको अध्यक्ष एवं महाप्रबन्धकको पदमा रही नेपाली संगीत क्षेत्रमा थप सेवा गरे ।

नेपालको सांगीतिक दूतका रूपमा उनले धेरै राष्ट्रको भ्रमण गरे । नालापानी, प्रतीक्षा, सुलोचना, हामी आफ्नै भरमा बाँच्छौं र सत्यम् शिवम् सुन्दरम् जस्ता केही नाटक र गीती नाटकहरूमा पनि उनले संगीतकारका रूपमा सांगीतिक सिर्जना छरेका थिए । यसरी चलचित्र र गीत संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत उनी महेन्द्ररत्न आभूषण, गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट, सुदीप्त वीरेन्द्र प्रताप भाष्कर विभूषणबाट विभूषित भएका थिए भने उनले नातिकाजी स्मृति पुरस्कार, छिन्नलता पुरस्कार, नेपाल मोसन पिक्चर अवार्डलगायत अनगिन्ती पुरस्कारहरू हासिल गरेका थिए ।

आफ्नो जीवनको अन्तिम क्षणहरूमा प्राणघातक रोग क्यान्सरसँग लड्दै बिताएका शिवशंकर मानन्धरको जीवनरक्षा गर्न भारतको विख्यात अस्पताल टाटा मेमोरियल लगिएको थियो । त्यहाँबाट केही स्वास्थ्य लाभ गरी फर्केका अतुलनीय व्यक्तित्व शिवशंकर मानन्धरको ७२ वर्षको उमेरमा २०६१ कात्तिक मसान्तको दिन निधन भयो ।

 

प्रतिक्रिया दिनुहोस्