नातिकाजी



 

नेपालको सांगीतिक क्षेत्रमा नातिकाजीलाई एक शिखर पुरुषका रूपमा लिइन्छ । विसं १९८२ सालको पौष शुक्ल पक्ष द्वितीयका दिन ललितपुरको पुल्चोकमा जन्मेका नातिकाजीले सात वर्षकै कलिलै उमेरमा हार्मोनियम बजाएर आफ्नो विलक्षण प्रतिभाको परिचय दिएका थिए । आफू यसरी सानै उमेरमा संगीतप्रति आकर्षित हुन पुग्नुको कारण बारेमा उनले एकपटक भनेअनुसार १९९० सालतिर नेपालमा हिन्दी भजनहरूको रेकर्ड खुबै प्रचलित रहेको र त्यस्ता भजनहरू सुनेर संगीतका ज्ञान हासिल गरेका थिए ।

नातिकाजीले त्यति बेला डबलीडबलीमा गाइने भजन मण्डलीमा सहभागी भई थुप्रै भजनहरू गाएका थिए भने भजन गाउने क्रममा कृष्ण रासलीलादेखि मर्यादा पुरुषोत्तम राम, शिव आदिलगायतका भजनहरू गाएका नातिकाजीले विसं २००४ सालमा २२ वर्षको उमेरमा आफैंले गीत रचनासमेत गरेका थिए । धार्मिक भजनप्रति गहिरो अभिरुची भए पनि उनले रचना गरेको पहिलो गीत जब प्रेम छुट्यो हामी रोएर के गरौं भने आधुनिक शैलीको थियो । आफू संगीतकार बन्न चाहेका नातिकाजीले २०१० सालमा आएर पहाड बसी वनमा खेली बोलको गीत आफ्नै स्वरमा रेकर्ड गराए पुष्प नेपालीको रचना रहेको यो गीत नै नातिकाजीको स्वरमा रेकर्ड भएको पहिलो गीत हो ।

यसरी आफ्नो बाल्यकालीन सांगीतिक सम्झना सुनाउने संगीतका शिखर पुरुष नातिकाजीले नेपालमा ग्रामोफोन रेकर्ड (दम दिएर बजाउनुपर्ने) भित्रिँदादेखि नै आफ्नो सांगीतिक यात्रा आरम्भ गरेका थिए भने विसं २००५ सालमा आफैंले पनि एउटा रेडियो किनेका थिए ।

संगीतका पारखी नातिकाजीलाई शुरूदेखि नै तारादेवीको स्वरले मोहित पारेको कुरा उनी स्वयंले धेरैपटक बताएका थिए भने नातिकाजीको संगीत रहेको तारादेवीको उकाली ओरालीहरूमा शीर्षकको गीत असाध्यै लोकप्रिय बन्न पुगेको थियो । संयोग नै भन्नु पर्ला कि स्वर सम्राट् नारायण गोपाल र संगीतका शिखर पुरुष नातिकाजी एउटै कलेजमा पढ्थे । विसं २०१६ सालदेखि २०१८ सालसम्म संगीतका यी दुई महापुरुषहरू त्रि–चन्द्र कलेजमा आईएमा अध्ययनरत थिए भने दुवैको मित्रता पनि थियो नारायण गोपालको एक्लै गीत गुनगुनाइरहने बानी थियो भने कलेजका विभिन्न कार्यक्रममा पनि गीत गाउने गर्थे ।

त्यति बेला सिंहदरबारको नाचघरमा भएको एउटा कार्यक्रममा नारायण गोपालले स्वर्गकी रानी मायाकी खानी बोलको गाउँदा नातिकाजीले एकर्डियन बजाएर साथ दिएका थिए । विसं २०१७ फागुन ४ गतेका दिन नातिकाजीको शुभ विवाह सरस्वती श्रेष्ठसित सम्पन्न भएको थियो । नेपालमा चलचित्र निर्माणको क्रम शुरू हुँदा माइतीघरमा जयदेव अनि आमालगायतका चलचित्रमा भी बलसारा जस्ता भारतका संगीतकारहरूको सेवा लिइएको थियो भने नेपालकै संगीतकारद्वारा संगीतबद्ध गराइएको पहिलो चलचित्र मनको बाँध हो भने यस चलचित्रमा संगीतकार नातिकाजी थिए । यसरी नातिकाजीले नेपाली चलचित्रका प्रथम नेपाली संगीतकार बन्ने श्रेय हासिल गरे । मनको बाँधका गीतहरूमध्ये फूलको थुँगा बगेर गयो बोलको गीत असाध्यै लोकप्रिय भएको थियो ।

मनको बाँधमा उनलाई संगीत जगत्का अर्का महान् व्यक्तित्व शिव शंकरले संगीत सृजनामा साथ दिएका थिए भने त्यसपछि सिन्दुर चलचित्रमा गोपाल योञ्जनले । नेपाली चलचित्रको सांगीतिक इतिहासमा सिन्दुर नै पहिलो त्यस्तो चलचित्र थियो जुन चलचित्रका सबैजसो गीतहरू अत्यधिक लोकप्रिय भएको थियो । वनमा फुल्यो फूलैफूल अलिअलि हार हो जस्ता रोमान्टिक गीतहरूदेखि नक्कली नक्कली बोलको हास्य रसको गीत पनि सिन्दुरका लोकप्रिय गीतहरू थिए ।

नातिकाजीले करिब चार हजार गीतहरूमा संगीत सृजना गरेका थिए भने एउटा तारा झर्दाखेरि आकाश नै रित्तो लाग्छ, यस्तो पनि हँुदो रैछ जिन्दगीमा कहिलेकाहीं, पर लैजाऊ फूलहरू, उकाली ओरालीलगायतका उनका असंख्य गीतहरू असाध्यै मन पराइएका गीतहरूमा पर्दछन् । र, अहिलेसम्म पनि यी गीतहरू सुन्नेहरूको संख्या उत्तिकै रहेको पाइन्छ ।

नेपाली संगीत क्षेत्रमा अतुलनीय योगदानबापत गोर्खा दक्षिण बाहु (प्रथम), इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता पुरस्कार, भूपालमान सिंह कार्की संगीत पुरस्कारलगायत दर्जनौं पुरस्कार पदक, विभूषणबाट सम्मानित गरिएको थियो । संगीत क्षेत्रका शिखर पुरुष कहलिएका नातिकाजी विसं २०६० कात्तिक १६ गतेका दिन यो संसारबाट बिदा भई अमर बन्न पुगे ।

प्रतिक्रिया दिनुहोस्