गोपाल योञ्जन



 

नेपालको सांगीतिक आकाशमा गोपाल योञ्जन एक धु्रवताराका रूपमा लिइन्छ । विशेष गरी देशले रगत मागे मलाई बलि चढाऊ गीतका रचयिताका रूपमा चिनिएका संगीत स्रष्टा गोपाल योञ्जनलाई राष्ट्रभक्तिमा ओतप्रोत संगीतकर्मीका रूपमा पनि लिइन्छ । भारतको दार्जिलिङमा विसं २००५ सालको भदौ शुक्ल पूर्णिमाका दिन जन्मेका महान् संगीतकर्मी गोपाल योञ्जनको कर्मभूमि नेपाल हुन पुग्यो । भारतको दार्जिलिङमा नारायण गोपालसित उनको मित्रता बढेपछि नारायण गोपाल र गोपाल योञ्जनले एकापसमा मीत लाएका थिए । सानैदेखि गीतसंगीतमा गहिरो रुचि राख्ने गोपाल योञ्जन नारायण गोपालकै सल्लाहमा नेपाल आएका थिए । नेपाल आएलगत्तै नारायण गोपाल र गोपाल योञ्जन दुई जना मिलेर पृथक् खालको सांगीतिक कार्यक्रम आयोजना गरे । त्यो सांगीतिक कार्यक्रमको नाम मीतज्यू साँझ राखिएको थियो । मीतज्यू साँझ अत्यधिक रुचाइयो ।

२०२४⁄२५ तिर गीतसंगीतमा लागेर जीविकोपार्जन हुन सक्ने स्थिति नभएकाले गोपाल योञ्जनले सेन्ट मेरिजमा शिक्षकको जागिर खाए । रिन्छेन पनि सोही विद्यालयमा शिक्षिका थिइन् भने दुवैबीच त्यहीं प्रेम भयो र पछि विवाह भयो । गोपाल योञ्जन र रिन्छेन दम्पतीका दुई छोरा र एक छोरी छन् । छोरी सिर्जना सिंह योञ्जन एक ख्याति प्राप्त मोडल तथा कोरियोग्राफर रहिसकेकी छिन् ।

उनको संगीतमा बनेको नारायण गोपालको स्वरमा स्वरबाट अल्झेछ क्यारे पछ्यौरी बोलको गीत असाध्यै लोकप्रिय हुन पुगेको थियो । कवि भूपी शेरचन रचित गीतमा संगीतकार गोपाल योञ्जन नै थिए ।
शाही नेपाल चलचित्र संस्थानले सिन्दुर चलचित्र बनाउने तयारी शुरू गर्दा यसमा नातीकाजीलाई संगीतकारको जिम्मा दिने निर्णय संस्थानले गरेको थियो तर भनिन्छ कि चेतन कार्कीको पहलमा पछि सिन्दुरको संगीतकारका रूपमा गोपाल योञ्जनको नाम पनि थपिन पुगेको थियो । सिन्दुर चलचित्रका सबै गीतहरू असाध्यै लोकप्रिय भए । विशेष गरी अलिअलि हार हो र वनमा फुल्यो फूलैफूल त यति लोकप्रिय हुन पुग्यो कि अहिलेको भाषामा भन्ने हो भने भाइरल नै बन्न पुग्यो भने पनि हुन्छ । सिन्दुरपछि गोपाल योञ्जनले निर्देशक बीएस थापाको कान्छीमा एकल संगीतकार बन्ने अवसर पाए । कान्छी चलचित्रको यो शीर्षक गीत असाध्यै मन पराइएको थियो । यसरी चलचित्रतर्फ उनको यात्रा बढ्दै गयो । तर संगीत सिर्जनामा कुनै सम्झौता नगर्ने र आफूले चाहे र भने जस्तै काम गर्न रुचाउने गोपाल योञ्जनले धेरै चलचित्रमा संगीत गर्ने प्रस्ताव अस्वीकार पनि गरे । विशेष गरी उनले आफ्ना मित्र चेतनसितको सहकार्यमा मात्रै चलचित्रको संगीत सिर्जना गरेको पाइन्छ । चेतन कार्कीको निर्देशनमा बनेका तीनवटै चलचित्र विश्वास, भुमरी र पहिलो प्रेमका संगीतकार गोपाल योञ्जन नै थिए भने संगीत सिर्जनाको कुरामा कहिल्यै पनि कुनै पनि खालको सम्झौता नगर्ने भनी कहलिएका गोपाल योञ्जनले आफ्नो मित्र चेतन कार्कीकै कारण केही संयुक्त लगानीमा बनेका नेपाली चलचित्रहरूको संगीतकार बन्न तयार भएका थिए ।

यी चलचित्रहरूबाहेक गोपाल योञ्जनले मायाप्रीति, बदलिँदो आकाश, राँको जस्ता चलचित्रहरूमा पनि गीतकार, संगीतकारका रmपमा काम गरेका थिए भने बदलिँदो आकाशको शीर्षक गीत र मायाप्रीतिका गीतहरूमध्ये लाखौं तारा आकाशमा आउ नानी पातली र मायाप्रीतिको चोखो कथा पनि नेपाली चलचित्रको संगीत जगत्मा लोकप्रिय भएका गीतहरू थिए । संगीतकर्मी गोपाल योञ्जनले गीतसंगीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानबापत उनलाई राज्यको तर्फबाट शुभ राज्याभिषेक पदक, गोरखा दक्षिणबाहु जस्ता विभूषणबाट विभूषित गरिएको थियो भने दार्जिलिङमा सम्पन्न भएका थुप्रै सांगीतिक प्रतिस्पर्धामा उनले प्रथम पुरस्कार जितेका थिए । यस्तै गरी सन् १९६८ मा रेडियो नेपालबाट उत्कृष्ट संगीतकारको पुरस्कार हासिल गरेका थिए । लायन्स क्लब फिल्म अवार्ड प्रिया रजत वर्ष अवार्ड, डोरेमी सम्मान र छिन्नलता पुरस्कार आदि उनले प्राप्त गरेका केही सम्मान र पुरस्कारहरू हुन् । अमेरिकाको कोर्नेल युनिभर्सिटी लाइब्रेरीले उनका गीतसंगीतहरूको संग्रहलाई आफ्नो पुस्तकालयमा संग्रहित गर्ने घोषणा गरेको छ । यसरी विश्वको इतिहासमा समेत अभिलेखबद्ध हुन पुगेका कालजयी संगीतज्ञ गोपाल योञ्जनको निधन विसं २०५४ जेठ ७ गतेका दिन भारतको दिल्लीस्थित अपोलो अस्पतालमा जन्डिस रोगको उपचार गर्दागर्दै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्