स्वर सम्राट नारायण गोपाल



 

नेपालको सांगीतिक आकाशमा स्वर सम्राट्का रूपमा कहलिएका नारायण गोपालको जन्म विसं १९९६ साल असोज १८ गतेका दिन राजधानीको किलागलमा भएको थियो । पिता आशागोपाल गुरुवाचार्य र माता राममाया गुरुवाचार्यका नौ (९) जना सन्तानहरूमध्येका माहिलो सन्तान नारायण गोपालको शुभ विवाह विसं २०२७ फागुनमा श्रीमती पेमला गुरुवाचार्यसँग सम्पन्न भएको थियो । नारायण गोपालको परिवारमा उनको एक दाजु र चार भाइहरू अनि तीन जना दिदीबहिनी थिए । तर नारायण गोपाल दम्पतीको कुनै सन्तान छैनन् ।

नारायण गोपालले बाल्यकालदेखि नै परिवारमा सांगीतिक वातावरणमा हुर्कने मौका पाएका थिए । उनका पिता आशागोपाल गुरुवाचार्य त्यति बेलाका नाम कमाएका सितारवादक थिए भने पिताको संसर्ग र प्रोत्साहनले जात्रा र मेलाहरूमा डबलीहरूमा गीत एवं भजनहरू गाएर नारायण गोपालले आफ्नो संगीत यात्रा थालनी गरेका थिए ।

डबलीहरू हुँदै विसं २०१७ सालतिर त्रिचन्द्र कलेजको समारोहमा दुईटा गीत ‘स्वर्गकी रानी’ र ‘आँखाको आँखैले’ गाउन पुगेका नारायण गोपालले सर्वप्रथम रेडियो नेपालका लागि रेकर्ड गराएको गीतहरू पनि यिनै हुन् । आफ्नै संगीतमा रेकर्ड गरिएका यी दुई गीतहरू नै रेडियो नेपालमा पहिलोपटक ‘स्पुल’ मा रेकर्ड गरिएका गीतहरू हुन् भने ‘सबलाई रिझाउँभन्दा पसलमा बेचिएछु’ र ‘सानै हुरीमा बैंसको सपना’ गीतहरूचाहिँ ‘लाइभ रेकर्ड’ गरिएका पहिला गीतहरू हुन् । रेडियो नेपालकै रेकर्ड पल्टाएर हेर्ने हो भने वि.सं.२०१६ देखि २०२२ भित्र ३२ वटा गीत पुराना गीतहरूका रूपमा र ४५ वटा आधुनिक गीत, राष्ट्रिय (स्वदेश) गीत ४ वटा र २१ वटा गीत चलचित्रहरूको गाएको अभिलेख छ ।

नारायण गोपालले गाएका स्वदेश गीतहरूमा म मरे पनि मेरो देश बाँची रहोस्, जाग लम्क चम्क हे नौजवान, आमा तिमीलाई, मुटुको हरेक नशामा तातो रगत उचाली प्रमुख छन् भने उनले एउटा मात्र लोकगीत गाएका छन् । २०३७ सालदेखि २०४० सालसम्म सांस्कृतिक संस्थानको महाप्रबन्धकसमेत बनेका नारायण गोपालले यसभन्दा अघि नेपाल ललित कला क्याम्पसमा सहप्राध्यापक, संचार मन्त्रालयमा संगीत सल्लाहकारका रूपमा रहेर काम गरेका थिए । गीत र संगीतको विकास एवं तत्सम्बन्धी खोजपूर्ण सामग्रीहरू प्रकाशनार्थ गीत र नाचलाई एकै थलोमा संगालेर ‘बागीना’ को प्रकाशन पनि नारायण गोपालकै प्रयासबाट थालिएको हो ।

मुनामदन र मालतीमंगले जस्तो सर्वाधिक सफल गीतिनाटकहरूमा आफ्नो सुमधुर स्वर प्रदान गर्ने नारायण गोपाललाई तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पैसाको नाममा केवल तीन हजार रुपियाँ मात्र दिएको कुराको गुनासो पोख्दै एकपटक नारायण गोपालले भनेका थिए– ‘गीतिनाटकमा गायन र संगीत राम्रो नभएको भए कथाले मात्र केही हुँदैनथ्यो । तत्कालीन राजा वीरेन्द्रले दिएको एक लाख रुपियाँबाट लेखकले बीस हजार पाए भने हामीलाई तीन तीन हजार मात्र दिइयो । यो कस्तो मूल्यांकन हो ? यसलाई पक्षपात भन्ने कि अन्याय ?’

नारायण गोपालको यो प्रश्नले पनि उनी निर्भिक र सत्य कुरालाई नलुकाई निर्धक्क भन्ने बानी रहेको व्यक्ति भन्ने पुष्टि गर्दछ । स्वर सम्राट् नारायण गोपाल विसं २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकार, विसं २०२४ सालमा सर्वोत्तम गायकको पुरस्कार, विसं २०४८ सालमा मरणोपरान्त त्रिशक्तीपट्ट, इन्द्रराज्य लक्ष्मी पुरस्कार, जगदम्बा पुरस्कारलगायत थुप्रै पुरस्कार, पदक, विभूषणबाट विभूषित भएका थिए । यसरी आफ्नो जीवनकालमा विभिन्न पुरस्कारबाट सम्मानित भएका स्वर सम्राट् नारायण गोपालको इच्छाबमोजिम स्थापना गरिएको ‘नारायण गोपाल संगीत कोष’ ले नेपाली आधुनिक गीत अनि संगीतको विकास गरी यसको मौलिकता, स्तरीयता र लोकप्रियताको आधारमा सम्बन्धित व्यक्तिहरूलाई प्रोत्साहित गर्ने गराउने उद्देश्यसहित संगीतकर्मीलाई नारायण गोपाल संगीत पुरस्कार प्रदान गरेर संगीत क्षेत्रमा ठूलो गुन लगाउँदै आइरहेको छ ।

विसं २०४७ साल मंसिर महिनाको १९ गतेका दिन राति ९ बजेर २५ मिनेट जाँदा आफ्नो नश्वर शरीर अनि संगीत संसार त्यागेर गएका नारायण गोपाल आज हामीबीच नरहे पनि उनका सयौं गीतहरू सदैव हाम्रो मुटुबीच अनि नेपालको संगीताकाशमा चम्किलो ताराका रूपमा सधैं चम्किरहनेछ ।

प्रतिक्रिया दिनुहोस्