मुक्ति शाक्य नेप्लिज ब्लुज



 

ओमशंकर श्रेष्ठ⁄दिरेकलाल श्रेष्ठ

स न् १९६२–६३ तिर मुक्ति शाक्य करिब १२–१३ वर्षका थिए । त्यस समयमा शहरमा खुलमखुला गाँजा चरेश तान्ने छुट थियो । वसन्तपुर क्षेत्रका मन्दिर, फ्रिकस्ट्रिटको नामले चिनिने झोछें, मरुहिटी र स्वयम्भुतिर हिप्पी पर्यटकहरू जम्मा भई नशाले लठिएर गितार बजाउँदै बस्थे । मुक्ति शाक्य भने टम जोनेस बिटल्स र रोलिङ स्टेन्सका गीतहरू सुन्थे । एल्भिस प्रिस्ले पनि निकै चलेका थिए । तर मुक्ति शाक्यलाई भने व्यक्तिगत रूपमा उनको गीत मन पर्दैनथ्यो ।

‘घरमा पनि सांगीतिक माहोल थियो । बुबाले राम्रै खालको ग्रामफोनमा रिकर्ड बजाउनुहुन्थ्यो । तर बाल्यकाल विशेष गरी फुटबल, डन्डीबियो र गुच्चामा केन्द्रित रह्यो । एक दिन स्वयम्भुमा बसिरहेका बेला एरिक क्लाप्टन आए भन्ने हल्ला सुन्नासाथ साथीहरूसँग दौडिँदै वसन्तपुर पुगँे । मन्दिरको सिंढीमा एक जना दाह्रीवालले मज्जाले गितार बजाउँदै गरेको देखें । तर उनी एरिक नै हुन वा होइन पक्का भएन’, रक ब्यान्ड मुक्ति एन्ड रिभाइबलका भोकलिस्ट तथा गितारिस्ट मुक्ति शाक्य बाल्यकालमै रोपिएको संगीतप्रतिको मोह शेयर गर्दै भन्दै थिए– ‘न्युरोडको अमेरिकन लाइब्रेरीमा इन्साइक्लोपेडियाको हु इज हु पढेर पाश्चात्य संगीत र गायकहरूबारे अलिअलि जानकारी हासिल गरेथें । त्यसबाहेक पर्यटकहरूले गितार बजाएको देखासिकी गर्दै दाँतमा च्यापेर तन्काइएको रबर औंलाले बजाउँदै हिँड्थें । यसरी गितारप्रतिको मोह अनायासै जन्मियो ।’

मालश्री र अंगे्रजी गीत सुनेर खोले ब्यान्ड

इन्द्रजात्रामा दबुः प्याखँ र संगीत सम्मेलनको आयोजना हुन्थ्यो । भानु तन्डुकार सम्मिलित न्युरोडस्थित हिलक्स ब्यान्ड र पाखेज ब्यान्डले मोहनीको मालश्री धुन र त्यति बेला चलेका ब्ल्याक म्याजिक वुमनलगायतका अंग्रेजी गीतहरू गाउँथे । मुक्ति त्यो सबै देखेर भित्रैबाट रोमाञ्चित र पुलंकित हुन्थ्यो । ती प्रस्तुति हेर्दै र सुन्दै जाँदा मुक्ति शरीरैभरि संगीत तरंगित भएको महसुस गर्थे । त्यस्ता कार्यक्रममा ओमविक्रम विष्ट र संगीतकार शम्भुजित बास्कोटालाई पनि देख्थे ।

हुँदै जाँदा हिप्पीहरूले वसन्तपुरमा संगीतका उपकरण र क्यासेट चक्का बिक्री गर्न थाले । मुक्ति राम्राराम्रा क्यासेट खाली क्यासेटमा भर्थे र झ्यालमा स्पिकर राखेर चर्को स्वरमा गीत बजाएर संगीतको आनन्द लिन्थे । तर त्यसरी ठूलो ध्वनिमा गीत बजाएर रमाइरहेका बेला छिमेकीहरूको गाली बर्सिएपछि उनी केही समयका लागि खिन्न हुन्थे र फेरि त्यही प्रक्रिया दोहोर्याउँथे । यसरी गीत सुन्दै र गुनगुनाउँदै गर्दा मुक्तिले साथीहरूसित सन् १९७९ मा पहिलो ब्यान्ड रेडियम गठन गरे । म्याडम क्युरीको आविष्कार रेडियमबारे पढेकाले त्यस ब्यान्डको नामकरण मुक्तिले गरेका थिए ।

मुक्ति राम्राराम्रा क्यासेट खाली क्यासेटमा भर्थे र झ्यालमा स्पिकर राखेर चर्को स्वरमा गीत बजाएर संगीतको आनन्द लिन्थे । तर त्यसरी ठूलो ध्वनिमा गीत बजाएर रमाइरहेका बेला छिमेकीहरूको गाली बर्सिएपछि उनी केही समयका लागि खिन्न हुन्थे र फेरि त्यही प्रक्रिया दोहोर्याउँथे ।

 

आफैं सिके गितार

मुक्तिले संगीतका सात सुर कुनै गुरु नथापी स्वस्फूर्तरूपमा आफैंले सिके । यी सात सुरलाई समातेर उनी स्वस्फूर्तरूपमा गितार बजाउन सक्ने भए । ‘१९८१ तिर हुनुपर्छ, ओमविक्रम विष्टको अल इन्डिया टुरमा मैले गितार बजाएको थिएँ’, उनले सुनाए– ‘त्यति बेला स्टेजमा पुगिसकेका प्रिज्म र ब्रदरहुड ब्यान्ड हामीसँगै रिहर्सल गर्थे । तर रेडियमले कन्सर्ट दिइसकेको थिएन । नाम नराखिएको स्थानीय निरञ्जन वज्राचार्य, विष्णुलाल श्रेष्ठ, सुचन्द्र सिलालिक (चँ दाइ) र सञ्जीव मल्लले राम्रो संगीत अभ्यास गर्थे । मेरो दाइ उहाँहरूले बजाएको हेर्न पठाउनुहुन्थ्यो, म पनि इन्ट्रेस्ट लिएर सबै हेर्थें र केही सिक्थें पनि ।

लाहुरे मानसिंह गुरुङले मज्जाले हेन्ड्रिक्स म्युजिक बजाउनुहुन्थ्यो । मानिजेन्ड्रिक्स नामले पनि चिनिने उहाँ अहिले बेलायतमा हुनुहुन्छ ।’ त्यसै गरी राम्ररी गितार बजाउनेमा काठमाडौं निवासी कृष्ण गुरुङ पनि निकै चर्चित थिए । १९८० तिर हङकङ बैंककको व्यापार व्यवसाय शुरू भएपछि राजधानीमा क्यासेट भित्रिन थाल्यो । तर तत्कालीन अवस्थामा चलेका अब्बा, डोना समर र बोनियमजस्ता ब्यान्डको बढी बोलवाला थियो । ‘निरञ्जन र विष्णुलाई म गुरुकै सम्मान दिन्छु । अध्ययनको सिलसिलामा सञ्जीव भारततर्फ लागेकाले मैले उनको स्थान लिएँ । त्यसपछि रेडियम जन्म्यो ।’ मुक्ति धाराप्रवाह इतिहास खोतल्दै थिए– ‘राम्र्रा सामान जोगाउने क्रममा हामीले चर्चित उद्योगपति तथा गीतकार वसन्त चौधरीबाट ड्रमसेट किनेका थियौं । बेलुका ७ बजेदेखि बिहान २⁄३ बजेसम्म ड्रमसेट बजाएर प्राक्टिस गथ्र्यौं ।’

रक कन्सर्टको हतारो

कन्सर्ट गर्ने बेला भयो कि थिएन, अर्कै कुरा हो । तर मुक्ति भने आफ्नो ब्यान्डबाट भव्य कन्सर्ट गर्ने सपना देखिरहेका थिए । साथीहरूले नमान्दा नमान्दै पनि उनी कन्सर्ट गर्न तयार भए । ‘मैले साथीहरूसित कन्सर्ट गर्ने प्रस्ताव राखें । निकै राम्रो गाउन सक्ने तर अलि लजालु स्वभावका विष्णु समय भएको छैन भन्दै थिए । मचाहिँ विष्णुको कुरै नसुनी रक शो कन्सर्टको पोस्टर टाँस्नतिर लागें । न्यु इयर तथा क्रिसमसका बेला पाँचतारे होटेलहरूमा बजाउँथ्यौं । एकपटकमै पारिश्रमिक २० हजारसम्म पाउँथ्यौं । १३ महिनासम्म एभरेस्ट होटेलमा हाउस ब्यान्डकै रूपमा रह्यौं । पारिश्रमिकको अलावा ब्रेकफास्ट, लन्च, डिनर र स्विमिङ फ्री थियो । त्यहाँबाट ठूलो अनुभव कमाइयो । म स्पेन नै नगएको बेला त्यहाँ स्पेनिस म्युजिक बजाउँथें ।

तर कहिलेकाहीं भने वाक्क लाग्थ्यो । दुई तीन जना ग्राहकका लागि पनि एकसुरले बजाइरहनुपर्दा दिक्क महसुस हुन्थ्यो’, मुक्तिले सुनाए– ’१९८१ मा राजु शाक्य, भानु जोशी र सुदेश श्रेष्ठसँग मिलेर एलेगेन्स ब्यान्ड बनायौं । अधिकांश विदेशीहरूसँग हिमचिम बढ्दै गएपछि फुलमुन पार्टीहरूमा बजाउन थालियो । त्यति बेला प्रज्ञा प्रतिष्ठान अर्थात् एकेडेमीमा कन्सर्ट हुने गथ्र्यो । तर त्यहाँ रेडियो नेपालको समूह पसेपछि वेस्टर्न म्युजिक वाइल्ड हुन्छ, झैंझगडा हुन्छ भन्दै कन्सर्ट गर्नै बन्दै गरियो । राष्ट्रिय सभा गृह अर्थात् सिटी हल कन्सर्टको थलो बन्यो । हरेक तीन तीन महिनामा कन्सर्ट दिन्थ्यौं ।’

सन् १९८४ तिर सोल्टी होटेल नजिकको इन्टरनेसनल क्लबमा रक ब्यान्डहरूको बारम्बार जमघट भइरहन्थ्यो । मुक्ति र उनका साथीहरू पनि त्यसमा रमाउँथे । रक गीत संगीतका बारे बहस र छलफल गर्थे । त्यसबाट रक संगीतबारेका ज्ञान त वृद्धि हुन्थ्यो नै, रक संगीतमा प्रयोग हुने वाद्य सामग्री र उपकरणबारेका जानकारी पनि निःशुल्करूपमा उपलब्ध हुन्थ्यो । त्यसैको प्रतिफल भनौं संगीत तिखार्दै लान मुक्ति बाहिर जाँदा जापानी र मेक्सिकन गिटारहरू किनेर ल्याउँथे । हरेराम हरेकृष्ण गाउँदै हिँडने कुहिरेहरूसँग पनि वाद्य सामग्री र उपकरण किन्थे । ती विदेशीहरू खान लाउन र होटेलको पैसा तिर्न रकम अभाव भएपछि आफूसँग भएका वाद्य सामग्री र उपकरण सुलभ र सुपथ मूल्यमै बिक्री गर्थे । रक संगीतमा जमेर लाग्न मुक्ति र उनका साथीहरूले नयाँनयाँ एमप्लिफायर र माइक्रोफोन शुरूमा कोलकाताबाट किनेर ल्याएका थिए । ती सामानहरू अन्य ब्यान्डलाई पनि चलाउन दिन्थे । उनीहरू त्यति खेर डोर्स, हेन्ड्रिक्स, स्टेन्स र त्यति बेला चलेका अन्य गीतहरू गाएर सांगीतिक अभ्यासलाई अगाडि बढाउँदै रक संगीतप्रेमीहरूलाई आकृष्ट पार्थे ।

उनीहरूले त्यस समयमा माइकल ज्याक्सनको थ्रिलर गीत समेत गाएर सबैलाई प्रभावित पारेका थिए । सन् १९८४ तिरको कुरा हो । स्टेजमा नेपाली गीत गाउँदा ठूलै हुटिङ हुथ्यो । त्यति बेला नै ५०⁄६० हजार पर्ने म्युजिक डेकहरू नेपाल भित्रिए । त्यसमा हुने खाने सौखिनहरूको मात्र पहुँच थियो ।

कन्सर्ट रोक्ने प्रहरीलाई गिरफ्तार गर्न चुनौती

मुक्ति सन् १९८६ मा स्पेनिस पत्नीसँगै स्पेन पुगे । त्यहाँ संगीतको आधारभूत ज्ञान लिए । त्यति बेला मानिसहरू नोटेसन सिक्न मन पराउँदैनथे । उनले त्यो चिज स्पेनमा सिकें । ब्ल्युजको ज्ञानका लागि तीन महिना कक्षा लिएँ । १९८२ देखि १९८६ बीच थुप्रै ब्यान्डहरू आए र गए । तर मुक्तिहरूको ब्यान्डले भने संगीत क्षेत्रमा निरन्तरता दिइरह्यो ।

त्यति बेला प्रज्ञा प्रतिष्ठान अर्थात् एकेडेमीमा कन्सर्ट हुने गथ्र्यो । तर त्यहाँ रेडियो नेपालको समूह पसेपछि वेस्टर्न म्युजिक वाइल्ड हुन्छ, झैंझगडा हुन्छ भन्दै कन्सर्ट गर्नै बन्दै गरियो । राष्ट्रिय सभा गृह अर्थात् सिटी हल कन्सर्टको थलो बन्यो ।

पप र रक अनि ब्लुज संगीतका गतिविधि र विकासका हिसाबले नब्बेको दशकलाई नेपाली संगीत क्षेत्रको स्वर्णकाल नै मान्न सकिन्छ । त्यस समयमा थुपै्र पप स्टारहरू जन्मे । तिनीहरू आर्थिक र व्यावसायिक रूपमा समेत स्थापित भए । त्यस जमानामा पनि थुपै्रले कार चलाउने हैसियतसम्म बनाए । रक ब्यान्डहरू कब वेब, रविन एन्ड लुजा र १९७४ एडीले थुप्रै एल्बमहरू बजारमा ल्याए । प्रविधिले पनि निकै साथ दिन थालेको थियो । यु ट्युवबाटै संगीतसम्बन्धी विभिन्न कुरा सिक्न सकिने भइसकेको थियो । त्यस्तैमा मुक्ति १९९२ मा नेपाल फर्के । स्पेनको बार्सिलोना समेत त्यहाँका स्थानीय ब्यान्डहरूसँग गाउने बजाउने काम गरेका मुक्तिले १९९१ देखि १९९३ सम्म संगीत क्षेत्र पूरै छोडेसरह थियो । नेपाल फर्केपछि पनि केही वर्ष उनी टुर गाइडका रूपमा सक्रिय भए । ब्यान्डका अन्य सदस्यहरू पनि आ–आफ्नै काममा व्यस्त भइसकेका थिए । नशा नशाभित्र संगीत प्रवेश गरेपछि यो क्षेत्रबाट टाढा हुन मुस्किल मुक्तिलाई पनि थियो । त्यसैले १९९३ मा साथीभाइको करकापमा पुनः रिभाइभल ब्यान्ड शुरू गरे । सोही वर्ष तिहारमा लक्ष्मी पूजाको दिन अन्तिमपटक वसन्तपुरमा उत्सव कार्यक्रमअन्तर्गत कन्सर्ट दिए ।

त्यसपछिका दिनहरूमा विश्व सम्पदा क्षेत्र वसन्तपुरमा वातावरण संरक्षण, सरसफाइ, स्वास्थ्य जनचेतनालगायत विविध कार्यक्रको अवधारणा अघि सारेर दिउँसो दिउँसो मात्र कन्सर्ट दिन थाले । पञ्चायत कालको त्यस समयमा कन्सर्ट दिन तत्कालीन अञ्चलाधीश कार्यालयबाट अनुमति लिनुपथ्र्यो । पछि महानगरपालिका जानुपर्ने भयो, अनुमतिका लागि । तत्कालीन मेयर पीएल सिंहले त्यहाँ कार्यक्रम गर्न नपाउने भनी रोक लगाए । तर केही परिचित मित्रहरूको मध्यस्थतामा दिउँसो मात्र कार्यक्रम गर्ने सम्झौता भएपछि मुक्तिको यो ब्यान्डले सेभ काठमाडौंको थिममा कन्सर्ट गर्ने भयो । यो थिममा कार्यक्रम गर्ने भएपछि पीएल सिंह पनि प्रभावित भए । उनले मुक्ति र उनका साथीहरूलाई क्षेत्रपाटीस्थित आफ्नो निवासमै बोलाएर स्टेज बनाउँदा लाग्ने खर्च दिने बताए । ‘तर रमाइलो कुरो त्यो पैसा अहिलेसम्म मेरो हातमा परेको छैन । वास्तवमा विभिन्न नीति नियम र निवेदनको लामो प्रक्रिया पुर्याउन झन्झट भएकाले हामीले पनि पैसा पाउन गम्भीर प्रयास नगरेकै हो । त्यो बेलामा कन्सर्ट गर्दै जाँदा साँझ पर्यो । प्रहरी हस्तक्षेप भएपछि उद्घोषक मित्र प्रभात रिमाल अलि आत्तिए । मैले प्रहरी निरीक्षकलाई आफ्नो गाउने पालो बाँकी नै भएको वातावरण पनि शान्तिपूर्ण नै भएकाले केहीबेर निरन्तरता दिन अनुरोध गरें । प्रहरीले भने अलि धम्कीपूर्ण रवैया देखाउन थाले । मैले पनि सक्छ भने स्टेजबाटै गिरफ्तार गर्न चुनौती दिएँ । बल्ल प्रहरी फौज पछि हट्यो’ –मुक्तिले रोचक किस्सा सनाए ।

ब्यान्ड टुक्रिँदै जोडिँदै

मुक्ति र उनको ब्यान्डले नब्बेकै दशकमा पुरन राणाले खोलेको दिव्य दृष्टि अडियो भिडियो स्टुडियोमा जिउने आशा र लहैबरी बोलको म्युजिक भिडियो बनाएका थिए । त्यसअघि नै १९८४ मै होम स्टुडियोमा चार–पाँचवटा गीत रेकर्ड गराएका थिए । केहीको म्युजिक भिडियो नेपाल टेलिभिजनलाई पनि दिए । तर गुणस्तर पुगेन भन्दै प्रसारण गरिएन । ‘संभवतः भीम तुलाधरको माया देऊ माया गर बोलको गीत पहिले रेकर्ड भएको रक गीत हुनुपर्छ । नब्बेकै दशकमा हार्ट ब्रेकर र र्याथ चाइल्डजस्ता ब्यान्ड पनि उदाए ।

१९९६ मै मैले ब्यान्डका साथीहरू सुशील स्थापित, नवीन ताम्राकार र उदेशलाल श्रेष्ठलाई मैले आफ्नै सिर्जनाका गीतहरू गाउने प्रस्ताव राखेको थिएँ । संगीतमा लागेका मेरा अधिकांश साथीहरूले विदेशी केटीसँग विवाह गरेका छन् । सुशील पनि पत्नीसँगै क्यानडा पुगे । नवीन व्यापारमा लागे । अन्य साथीहरू पनि आफ्नै काममा लागे । त्यसैले सोही वर्ष ब्यान्ड टुक्रियो’, आफ्नो ब्यान्डमा आएको विखण्डनबारे उनले खुलाए– ‘संगीतकार डेनियल कार्थकको सल्लाहमा अर्को ब्यान्ड मुक्ति एन्ड रिभाइभलको नामकरण भयो । रोशन कंसाकार बेस गितार, विनोद श्रेष्ठ रिदम र रवीन्द्र श्रेष्ठ ड्रममा छन् । तिनीहरू नेवाज ब्यान्डका साथीहरू हुन् । अहिलेसम्म यसैबाट निरन्तरता दिइरहेका छौं । केही साथीहरू बराबर हेरफेर भइरहनु स्वाभाविक हो । अहिले ड्रममा निखिल तुलाधर आएका छन् । १९८८ तिर आएका नेपथ्य र अल्वाट्रेसले पनि संगीत क्षेत्रमा ठूलै योगदान दिइरहेका छन्।’ उनले सुनाए– ‘प्रायशः सम्पूर्ण गीत आफैं लेख्छु, आफँै कम्पोज गर्छु । विगतमा पर्यटकहरूले हामै्र ब्यान्डलाई मात्र निकै निपुण र व्यावसायिक ढंगले बजाउने भनेर प्रशंसा गर्ने गर्दथे । तर अहिले सबै ब्यान्ड एकसे एक छन् ।

२०१० देखि हालसम्म थुप्रै ब्यान्ड स्थापित भएको देखेँ । रक एटिच्युडमा रविन तामाङको रविन एन्ड लुजा ब्यान्डले पनि ठूलै यागेदान दिएका छन् । तर केही वर्षयता प्रहरी प्रशासनले बारम्बार ठमेल क्षेत्रका होटेल र बारहरूमा होहल्ला भयो भन्दै म्युजिक बजाउन रोक लगाउने र फेरि छुट दिने काम हुँदै आएको छ । यसबाट धेरैको रोजगार र सिर्जना प्रभावित भएको छ । ड्रमसेटको बदलामा काखोन नामक एक्वस्टिक ड्रमजस्तो वाद्ययन्त्र बजाइने गरिएको छ । २००० देखि नेपालमा मेटालिक (अन्डर ग्राउन्ड) ब्यान्डहरूको फेसन चलेको छ । तिनीहरूको आ–आफ्नै फ्यानको समूह हुन्छन् । निकै संगठित र सुव्यवस्थित देखिने यस्ता ब्यान्डले म्युजिक बजाएर पैसा कमाउने उद्देश्य भने राखेका हुन्नन् । यसरी हाम्रो देशमा संगीतको यात्रा ओरालो नभई उकालो नै चढिरहेको पाएको छु ।’

मुक्ति एन्ड रिभाइभल गठन हुँदा ब्यान्डमा विनोद श्रेष्ठ, गितार, रवीन्द्र श्रेष्ठ, ड्रम र रोशन कंसाकार बासमा रहेका थिए । मुक्तिले अस्ट्रेलिया, डेनमार्क, अमेरिका, स्पेन, इंगल्यान्ड र भारत तथा जापानको सांगीतिक भ्रमण गरिसकेका छन् ।

मुक्ति ब्यान्डलाई हेर्न वसन्तपुरदेखि जुद्ध शालिकसम्म लाम

सन् १९९३ मा लक्ष्मी पूजाको दिन वसन्तपुरमा आयोजित उत्सव फेस्टिभल कन्सर्टमा २० हजारभन्दा बढी मानिसको उपस्थिति रहेको थियो । न्युरोडको जुद्ध शालिकसम्म टनाटन मानिस थिए । अन्तर्राष्ट्रियस्तरको कुरा गर्ने हो भने चाहिँ अस्ट्रेलियाको मेलवर्नस्थित फेडरेसन स्क्वायरमा आयोजना गरिएको कन्सर्ट सबैभन्दा स्मरणीय बनेको थियो । मेलवर्नको त्यो स्कवार वसन्तपुर जत्तिकै खुला र फराकिलो थियो ।

 

पूर्व र पश्चिमबीचको भिन्नता

निकै लामो समयसम्म युरोपमा बसेपछि मुक्तिको अनुभव छ– ‘त्यहाँ मानिसहरू समयको निकै ख्याल गर्छन् र त्यहीअनुसार निकै व्यस्थित हुने गर्दछन् । यहाँ भने मानिसहरू समयको ेमहत्व बुझ्दैनन् र ब्यान्डका लागि योजना पनि बनाउँदैनन् । यदि ठोस योजना बनाएर अघि बढ्ने हो भने तिनीहरूको अवस्था अझै निकै राम्रो हुनेछ ।’

सिकारुलाई सन्देश

रकदेखि ब्लुजसम्मको यात्राका क्रममा मुक्तिसँगै अनगिन्ती प्रभावकारी अनुभव छन् । जसलाई मनन गरेर अघि बढ्ने हो नव प्रवेशीलाई धेरै सहज हुनेछ । ‘हामी संगीत सुनेर कर्डहरू र लिड टिप्थ्यौं । हामी रेडियो र टेप सुन्थ्यौं । अहिले तर इन्टरनेटले जीवनलाई अझै सहज र सरल बनाइदिएको छ । सबै कुरा वल्र्डवाइड वेबमा छन् । धैर्यता राख्नु र निकै ैचनाखोपूर्वक सिक्नुहोस् । संगीतका सिकारुहरूका लागि यु ट्युब, केही गितार कर्ड र ट्याब साइटहरू निकै राम्रो स्रोत बन्न सकछन्’, नव प्रवेशी सिकारुलाई उनको सुझाव छ– ‘सैद्धान्तिक पक्ष सिक्नु निकै महत्वपूर्ण छ । त्यसले तपाईंलाई संगीतको जडको स्पष्ट ज्ञान दिनेछ । अनि तपाईंलाई संगीतलाई राम्ररी बुझ्न सहयोग पुर्याउनेछ ।’

नयाँ ब्यान्डलाई टिप्स

नयाँ ब्यान्डलाई पनि उनको उपयोगी सुझाव छ– ‘तपाईंहरूले केही वर्ष बजाइसकेपछि आफ्नै गीतहरू कम्पोज गरेर बजाउनुपर्छ । यसले संगीतको सीपलाई अझै निखार्छ । अचेल एनसेल, कोक, टुबर्ग, रुस्लान भोड्काजस्ता कर्पोरेट हाउसहरूले कन्सर्ट आयोजना गर्न आयोजकहरूलाई सघाइरहेका छन् । म तिनीहरूलाई धन्यवाद दिन चाहन्छु । त्यसै गरी संगीतकर्मीलाई रोजगार र प्लेटफर्म दिइरहेकोमा म रेस्टुरेन्ट र बारहरूलाई पनि धन्यवाद दिन्छु । एक दुई घण्टा संगीत बजाएर त्यहाँ तिनीहरूले ६ देखि १५ हजार रुपियाँ कमाइरहेका छन् ।’

ठमेलका संगीतकर्मीलाई प्रहरीको अवरोध

सोह्रखुट्टेमा प्रहरी अधिकारी परिवर्तन हुनासाथ ठमेल क्षेत्रमा ड्रम बजाउन प्रतिबन्ध लगाइन्छ । यसबाट ड्रमर वादक र ब्यान्डहरूलाई मर्का पर्ने गरेको छ । ड्रमलाई विस्थापित गरी काहुन बक्स प्रयोग गराइने गरिएको छ । तिनीहरूले व्यवसायीहरूलाई दुःख दिएर पैसा असुल्ने गरेका छन् । यस्तो हुँदा मलाई निकै दिक्क लाग्छ । नेपाल सरकारले वास्तवमा संगीत क्षेत्रमा केही पनि गरेको छैन । राजा वीरेन्द्रले कलाकारहरूलाई आफ्ना प्रतिभा प्रदर्शन गर्न र कार्यक्रमहरू आयोजना गर्नका लागि बानेश्वरमा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण गराएका थिए । राजनीतिज्ञहरूले त्यो भवन पनि कब्जा गरेका छन् । म राजनीतिज्ञहरूलाई कलाकारको सम्पत्ति फिर्ता दिन अनुरोध गर्दछु । तिनीहरूलाई संसद् भवन अन्त कतै सार्न भन्न चाहन्छु ।

 

रमाइला क्षणहरू

मुक्तिको पालामा अधिकांशले १४ वर्षकै उमेरमा एसएलसी दिने गर्दथे । सन् १९६१ को ७ जुलाईमा जन्मेका उनले एसएलसी दिँदा आफ्नो उमेर १६ वर्ष पुर्याउनकै लागि जन्म मिति १९५९ लेखेका थिए ।

उनले आफ्नो पहिलो गितार स्वयम्भुमा एक जना पर्यटकसँग किनेका थिए । त्यसको बडी बिग्रेकाले उनले मर्मत गरेका थिए । पछि उनले त्यो गितार बेचे । सन् १९९३ मा ठमेलमा भएको गिगमा उनका एक जना प्रशंसकले त्यो गितार ६ हजारमा किनेको दाबी गरेका थिए । मुक्ति निकै खुसी भए । उनले सोही गितार पुनः ७ हजारमा किन्ने प्रस्ताव राखे । ती व्यक्तिले गितार ल्याउँछु त भने तर त्यस दिनदेखि मुक्तिले उनलाई कहिल्यै भेट्न सकेनन् । त्यस बेला सेल फोन प्रचलनमा थिएनन् । त्यसैले पनि मुक्तिले उनीसँग सम्पर्क गर्न सकेनन् ।

मुक्ति रेडियो नेपालको स्वर परीक्षामा तेस्रो प्रयासमा बल्ल उत्तीर्ण भए । उनले सम्झेसम्म उनी सम्भवतः १९८३ मा स्वर परीक्षामा उत्तीर्ण भएका थिए । उनले आफूलाई तिनीहरूले सधैं अनुत्तीर्ण गर्ने गरेको र परीक्षा निकै गार्हो भएको पनि बताए ।

विदेशमा हुने कार्यक्रममा सहभागी हुँदाका क्षणहरू मुक्तिलाई रमाइलो लाग्दो रहेछ । ‘हामी अन्तर्राष्ट्रिय भ्रमणमा जाने बेला त्यहाँका मानिसहरूसँग भेटेर अन्तरक्रिया गर्ने मौका नै पाउँदैन थियौं । हामीलाई नेपालीहरूले नै पिक गर्न आउँथे । नेपालीहरूकै घर वा होटेलमा बस्ने व्यवस्था हुन्थ्यो’, भन्छन्– ‘हामीलाई नेपाली रेस्टुरेन्टहरूमै लाने गरिन्छ र नेपालीहरूले नै घुमाउने गर्छन् । साँच्चै निकै रमाइलो लाग्छ ।

’मुक्तिले न्युरोडको अमेरिकन म्युजिक लाइब्रेरीबाट संगीतको आधारभूत सिद्धान्त सिकेका थिए । कहिलेकाहीं उनले दुई घन्टासम्म पर्खेर पनि रोलिङ स्टोन्स म्यागजिन पढ्ने गर्दथे । किनभने एउटै म्यागजिन पढ्न लाइन बस्नुपथ्र्यो ।

त्यो बेलामा अहिलेजस्तो इन्टरनेट थिएन । विदेशी पत्रपत्रिकासम्म पुग्ने पहुँच थिएन । त्यसैले उनी म्युजिक म्यागजिनका पोस्टरहरू च्यातेर खुसुक्क लिएर हिँड्ने गर्दथे । ती पोस्टर लगेर आफ्नो कोठाको भित्तामा टाँस्थे । एलेगेन्स ब्यान्डमा बजाउँदा सो ब्यान्डका सदस्यहरूको पोसाक स्थानीय दमाईंहरूको ब्यान्ड बाजा बजाउनेहरूको डिजाइनका हुन्थे । विस्तारै टिभीमा देखिने पश्चिमी रक एन्ड रोल ब्यान्डका सदस्यहरूको पहिरनको देखासिकी हुन थाल्यो ।

सन् १९९७ मा मुक्तिले काठमाडौंका तत्कालीन मेयर पीएल सिंहलाई वसन्तपुरमा सेभ काठमाडौं नामक कन्सर्टका लागि आर्थिक व्यवस्था गराउन सहमत गराएका थिए । सिंहले निकै खुसी भएर सहमति जनाए पनि थुप्रै अनुरोध र प्रयासको बाबजुद पनि उनले त्यो पैसा पाउन सकेका छैनन् ।

शुरूमा उनले ब्यास्स्टि भएर बजाउन थालेका थिए । उनले सन् १९८० मा पहिलोपटक सिटीहलमा भोकल पर्फमेन्स गरेका थिए । उनले त्यस बेला इगल्सको विची वुमन बोलको गीत गाएका थिए ।

मल्ल के सुन्दरको इनाप नामक पत्रिकाले मुक्ति र उनको समूहले ह्यासिस बेच्नका लागि सिटीहलमा कन्सर्ट आयोजना गर्ने गरेको समाचार छापियो । सो पत्रिकाले मुक्तिकी प्रेमिका मारियाले युरोपमा मानव तस्करी गर्ने गरेको समेत लेख्यो । ब्यान्डका सदस्यहरू मल्ललाई पिट्न भनी गएका पनि थिए । तर उनी पनि स्थानीय व्यक्ति भएकाले कुनै झगडा भएन ।

एकपटक लन्डनमा कन्सर्ट दिई सकाउँदा एक जना प्रशंसक दौडेर मुक्तिकहाँ आए । उनले आफू मुक्तिको ठूलै फ्यान भएको बताउँदै रेस्टरुममा गई कोकिन स्निफ गर्न प्रस्ताव राखे । ती फ्यान भनाउँदाले क्रेडिट कार्ड निकालेर सेतो कोकिनको लाइन कोर्न थाले । तर मुक्तिले आफूले ड्रग नलिने गरेको बताउँदा छक्क परेर उनले भनेका थिए रे– ‘के तालको रक एन्ड रोलर तिमी, हँ ?’

१९६१ जुलाई ७ मा जन्मे
१९७९ पहिलो ब्यान्ड रेडियम गठन । मुक्ति उक्त ब्यान्डमा बेसिस्ट थिए ।
१९८० पहिलो गीत कन्सर्टमा गाएको द इगल्स ब्यान्डको बिची वुमन
१९८१ ओमविक्रम विष्टसँग अल इन्डिया टुर
१९८१ स्पेनिस पलि मारियासँग बिहे गरेर स्पेन गए
१९८४ पहिलो चोटि होम स्टुडियोमा चारवटा गीत रेकर्ड गरे
१९९२ नेपाल फर्के १९९३ वसन्तपुरमा कन्सर्ट गरे
१९९६ नेवाज ब्यान्डका साथीहरुसँग मिलेर मुक्ति एन्ड रिभाइबल खोले
२००० कलंकीको जाम नामक पहिलो एल्बम
२००३ बुझाइदेऊ एल्बम निकाले
२००७ देख्दै छु म एल्मब निकाले
२०१२ सधैंभरि एल्बम जसले ३ वटा हिट्स एमएम अवार्ड हात पार्न सफल भयो

प्रतिक्रिया दिनुहोस्