यादव खरेल इन्द्रेणी गीतकार



अशोक सिलवाल

२०१२ सालतिरको कुरा हो । उनी काठमाडौंको पद्मोदय हाइस्कुलमा पढ्थे । उनका भतिज थिए, केशरी खरेल । अहिले उनी दिवंगत भइसके । नाताले भतिज भए पनि उनी यादव खरेलभन्दा पाँच–सात वर्ष जेठा थिए । उनी आक्कलझुक्कल कविता लेख्थे । सिकाएर सिक्ने भन्दा पनि देखेर सिक्ने त्यो उमेरका यादवले पनि उनैको सिको गरेर अनुप्रास मिलाई–मिलाई कविता लेख्ने अभ्यास गर्न थाले । गाई खान्छिन् घाँस, पानी र नुन उनी एउटा असल जनावर हुन् ।

यसरी उनको कविता जन्म्यो, उनमा कविता जन्म्यो । यी कविताका सर्जक यादव खरेल भने काभ्रेको खरेलथोकमा जन्मेका थिए । त्यसताका जाडो महिनामा झन्डै दुई महिना मीनपचासको बिदा हुन्थ्यो । सप्तरीको नर्घोमा पनि उनीहरूको प्रशस्त जमिन थियो । उनी मीनपचासको बिदामा त्यहाँ जान्थे । बिदाभरि त्यहीँको स्कुलमा भर्ना भएरै पढ्थे । यता मीनपचासको बिदा हुँदा उता भने धमाधम पढाइ भइरहेको हुन्थ्यो ।

बाल्यकालमै काभ्रेपलाञ्चोकको खरेलथोक (पहाडी क्षेत्र), काठमाडौं उपत्यका र तराई गरी तीन रीतिरिवाज, बोलीचाली, संस्कृति, समुदाय र भूगोलसँग नजिक भए उनी । त्यो एक खालको प्रभावले थाहा नपाईकन समाज बुझ्ने फराकिलो व्यावहारिक ज्ञान उनमा रोपिएको थियो । उनी त्यसरी जीवन र समाजशास्त्रका विद्यार्थी भइसकेका थिए ।

दशैं, तिहार आदिजस्ता छोटा बिदाका अवसरमा उनी पहाडी गाउँ खरेलथोकतिर हुन्थे । स्कुल शुरू भएपछि काठमाडौं अनि मीनपचासको बिदा हुँदा तराईतिर । स्कुल पढ्दाताका काठमाडौंमा सिनेमा हल खासै थिएनन् । अहिले विशालबजार भएको ठाउँमा जनसेवा सिनेमा हल थियो । नजिकै अलि पछि रञ्जना हल पनि खुल्यो । स्कुल पढ्दा जनसेवामा सिनेमा हेरेको उनलाइ याद छ । त्यो धार्मिक सिनेमा थियो । सत्य हरिश्चन्द्र हो या कुनै अर्को धार्मिक सिनेमा उनी ठ्याक्कै सम्झन भने सक्दैनन् ।

सिनेमाले सिकायो सिनेमा

सम्झन्छन्, ‘त्यो यस्तो समय थियो, धार्मिक सिनेमा चल्यो भने हलवालाले हलबाहिरपट्टि मन्दिरमा मूर्ति राखिदिन्थ्यो र दर्शकहरू मूर्तिमा पैसा चढाउँथे । देउता आएपछि दर्शकहरू पर्दामा पनि पैसा चढाउँथे । पहिलोचोटि सिनेमा हेर्न जाँदाको उनको दृश्य–अनुभूति रोचक छ । उनी हलभित्र छिरे । मान्छे टनाटन थिए । अरू सबैले जस्तै उनले पनि नेपाली टोपी लाएका थिए । कसैले ‘टोपीले छेक्यो’ भन्यो । उनले टाउकोबाट टोपी झिके । सिनेमा त हेर्ने तर कतापट्टि हेर्ने ? उनी अलमलिए । कतैबाट लाइट फालिरहेको देखे । उनी पर्दापट्टि नहेरी प्रोजेक्टरले लाइट फालिरहेकोपट्टि हेरिरहेका थिए । अनि अरू दर्शक ठीक उल्टो पर्दापट्टी हेरिहरहेका थिए । आवाज आएपछि बल्ल उनले थाहा पाए, हेर्ने त अगाडि पर्दापट्टि पो रहेछ ।
उनलाई सिनेमा हलको त्यो वातावरण एकदमै नौलो लाग्यो । आमदर्शकले झँै पर्दातिर नहेरी लाइटतिर हेर्नुको के अर्थ थियो ? त्यो उनलाई त्यति बेला के थाहा ? उनलाई के थाहा धेरै वर्षपछि उनी पनि त्यस्तै सिनेमा बनाउने मान्छे हुन्छन् ?

त्यति बेला मनोरञ्जनको आमसाधन भनेकै रेडियो थियो । रेडियो नेपालबाहेक अरू कुनै रेडियो स्टेसन थिएन । त्यही रेडियो नेपाल पनि चौबीसै घन्टा चल्दैन थियो । त्यसताका नाच र नाटकहरू पनि अत्यन्त कम हुन्थे । त्यसपछि बल्ल सिनेमाको संसार थियो, त्यो संसार निकै दुर्लभ थियो । तर, उनी दुर्लभ संसारका अनेक अन्तरकुन्तरमा छिरिसकेका थिए । पर्दाभित्र र बाहिरको त्यो जीवनसंसारमा जानी–नजानी उनका मनका खुट्टाहरू अगाडि बढिसकेका थिए ।

उनी अहिले पनि सम्झन्छन्, एसएसलसी पास गरेपछि उनले एकै दिन तीन सो सिनेमा हेरे । टिकटको बीस हो कि पच्चीस पैसा तिरेका थिए एक सोको । एक रुपियाँ थियो, बल्कोनीको । अब फेरि एसएलसीअघिका दिनहरू । सम्झन्छन्, ‘मीनपचासको बिदामा तराईमा हिन्दीमा पढाइ हुन्थ्यो या त मिक्स भोजपुरीमा । अनि जानेबित्तिकै सबैलाई उठाएर राष्ट्रिय गान गाइन्थ्यो । त्यो राष्ट्रिय गान भन्या, जन गण मन अधिनायक, जय हे भारत, भाग्य विधाता, पञ्जाव, सिन्ध, गुजरात … । तराईका स्कुलमा त्यो बेला राष्ट्रिय गान भनेकै त्यो हिन्दी गान थियो । मैले पनि पटक–पटक त्यही गाएँ ।’

भजन सुनेरै पूर्ण मदः
तराईमा तराईकै संस्कृति थियो । नौटंकी देखाइन्थ्यो । नौटंकी देखाउने भनेपछि सारा गाउँ उत्सवमय हुन्थ्यो । बाजा बज्थ्यो । कमेडियन आउँथे । त्यस्तो परम्परा थियो । उनीहरूको जमिन्दारी भएकोले त्यहाँ कुनै ठूलो नौटंकी टोली आयो भने उनीहरूकहाँ नै बस्थ्यो, खानेपिउने पनि त्यहीँ गर्थे ।

टोलीले रामायण, महाभारत या यस्तै कथाहरूमा संगीत, अभिनय र संवाद पस्किन्थ्यो । त्यसरी कैयौं दिन गाउँको दैनिकी नवरसमय हुन्थ्यो । घाम अस्ताउनुअघि नै खाना खाएर साँझ शुरू हुनासाथ गाउँ जम्मै नौटंकीस्थलमा जम्मा हुन्थ्यो । नाच शुरू हुन्थ्यो । भर्खर–भर्खरका हिन्दी सिनेमाका ती बेलाका चलेका गीतहरू बज्थे । गीतमा नाच्नेहरू केटी बनेका केटाहरू हुन्थे । मारुनी भन्छन् नि । तर, नौटंकी टोली खरेल कम्पाउन्डभित्र बस्नाले यादवको मञ्चमात्र होइन, नेपथ्यसँग पनि एकखालको साइनो शुरू भयो ।

मेकअपदेखि डे«ससम्म । रिहर्सलदेखि अभिनयसम्म । निर्देशन, संवाद, संगीत, भाव र यस्ता अनेक विषय उनको मनको कुन कुनामा गएर बसिसकेको उनैलाई थाहा थिएन । जाडोमा खलियानमा घुर ताप्ने तराईको जीवनपद्धति थियो । धानको पराल, काठका टुक्राटाक्री र यस्तै चीजबीज हालेर आगो बालेर तापिरहँदा छेउको लिच्चीको ठूलो रुखमुनि भने भजन हुन्थ्यो । तराईको खरेल–घरमा भजनको संगीतसेट थियो । कमिया र अरू एक–दुईजना गायक थिए । साँझ परेपछि भजन शुरू हुन्थ्यो । तराईमा संगीतको वातावरणमा उनी त्यसरी भिजे । तिनले पनि उनका मनका जरामा कलाको जल छरिरहेका थिए ।
ती हरिकीर्तनको प्रभावस्वरूप होला–नहोला ? थाहा छैन । तर, धेरै–धेरै वर्षपछि पूर्ण मदः शीर्षकको खरेलकृत भजनसंग्रह नै आयो ।

मन्दिर धाएँ, मस्जिद धाएँ, पादरी बनीकन ईशु गीत गाएँ
दुःखीसित एक दिन नाता लाएँ, त्यही दुःखभित्र ईश्वर पाएँ ।
संग्रहमा यी र यस्तै सात भजन समेटिएका थिए । काठमाडौंमा गाईजात्राका झाँकीहरू देखिन्थे, लबरपाँडेहरू आउँथे, नाच्थे । तिहारमा देउसी–भैलो हुन्थे । यता रेडियो मात्र होइन, सिनेमा पनि हेरिन्थ्यो यदाकदा । पहाड, उपत्यका तराईका आफ्नै धुन र ध्वनिले यादव खरेलको स्रस्टा क्यारेक्टर तयार गर्दै थियो । त्यो क्यारेक्टर भविष्यमा कविको रूपमा, गीतकारको रूपमा, कलाकारको रूपमा, निर्देशकको रूपमा, कला अभियन्ताको रूपमा वा यी सबैको एकमुष्ट योगस्वरूपमा प्रकट हुनेछ ? कसैलाई थाहा थिएन । तर, उनी ती सबतिर पो उन्मुख भइसकेको भविष्यले पुष्टि गरेरै छाड्यो ।

राजनीतिमा केमेस्ट्री मिलेन

२०१५ सालमा नेपालमा पहिलो पटक आमनिर्वाचन भयो । पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको समय थियो, त्यो । त्यही साल यादवले एसएलसी पास गरे । राजनीतिमा उनको रुचि थिएन, रंगमञ्च, कला, साहित्यतिर तानिइसकेका थिए । जीवनको बाटो कलातिर क्लियर हुँदै गएको त्यो प्रस्ट लक्षण थियो । यद्यपि पछि कुन सुरमा हो कुन्नि, उनले चुनावी राजनीति पनि गरे । ०३८ सालमा काभ्रेपलाञ्चोक जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यका लागि चुनाव लडे । झन्डै–झन्डै जितिसकेका पनि थिए । तर, त्यही बेला उनले बोध गरे, ‘राजनीतिसँग मेरो केमेस्ट्री नै मिल्दैन । मेरो क्षेत्र यो हुँदै होइन ।’
खरेलमा राजनीतिको निकै धेरै गुण नपाइने भने होइन । साहित्य, संगीत र सिने क्षेत्रको विकासका लागि धेरै शुरूवाती चरणमा संघसंस्था निर्माण र त्यसमार्फत यी क्षेत्र र विधाको विकासका लागि खरेलको सशक्त सक्रियता विभिन्न कालखण्डमा प्रखर ढंगले प्रकटरूपमा देखिन्छ ।

‘भविष्यमा यस्तो बन्छु, उस्तो बन्छु भन्ने थिएन । अहिले पनि मलाई त्यस्तो लाग्दैन । दुई किसिमका मान्छेहरू हुन्छन् । एकथरी, समुन्द्रको बहावमा आफैँ–आफँै चलिरहेको डुंगाजस्तो । अर्को, त्यो डुंगालाई यहीँनेर पुर्याउँछु भनेर खियाउने’, खरेल गफिए– ‘समयअनुसार जहिले जे मन लाग्यो, त्यही गरियो, जता जान मन लाग्यो, त्यतै गइयो । त्यसैले मेरो जीवनको गति र मति हेरियो भने धेरैतिर छरिया पाइन्छ । हावाले जता लग्यो, उतै–उतै ।’

पवित्र पशुपतिबाट थोरै पर रहेको कुमारीगालस्थित उनको घरको कोठामा किताबै किताबबीच पुराना दिनका कुराकानीलाई अगाडि बढिरहेको थियो ।

रुचि साहित्य र संगीतमा पढाइ अर्थशास्त्र

‘एसएलसीमा मेरो रिजल्ट साधारण थियो । म मिहनत नै गर्दैनथेँ । वर्षदिनको पढाइमा सात महिना पढाइमा ध्यान नै हुन्थेन । धेरैतिर थिएँ म । जस्तो फुटबल खेल्थें, पछि कलेजमा गएपछि ब्याडमिन्टन, टेबलटेनिस खेल्थें । पछिचाहिँ स्पोर्टस्लाई छाडिदिएँ’, अध्ययन कालको सम्झना सुनाउँदै थिए खरेल । अतिरिक्त क्रियाकलापका हिरो उनी जाँच आउनु केही महिना मात्र बाँकी भएपछि कस्सिएर दिनको १२, १४ घन्टा पढ्थे रे ।

खेलकुद हुँदै पछि उनी रेडियो प्रसारणमा गए । गीतमा गए, लेखाइका अनेक विधामा आए । रंगमञ्चमा अभिनय गर्न थाले । उनको एउटा मोटो कापी थियो । कविताहरू लेखेर त्यो कापी भरेका थिए । तर, त्यो कवितावाला पहिलो कापी हराएको थकथक उनलाई अहिले पनि छ ।

०१८ सालदेखिको कविता र कविताका कापी नहराएको खुशी भने उनले मुसुक्क हाँसेको देख्दै प्रस्ट हुन्थ्यो । १२ फागुन १९९९ मा जन्मेका यादवका प्रथम कविता प्ररेक केशरी खरेल नै भए । त्यसपछि उनले निरन्तर लेख्न थाले ।

स्कुलमा जति पनि डिबेट कम्पिटिसन हुन्थे, भाग लिए । कहिल्यै दोस्रा भएनन् । पछि कलेज र युनिभर्सिटीमा पनि त्यसले निरन्तरता पाई नै रह्यो ।

रंगमञ्च, संगीत र साहित्यमा भित्रैदेखि रुचि राखेका यादव स्कुलमै हुँदा कविताको मोटो कापी नै तयार गरेका उनले अध्ययनको विषय भने अर्थशास्त्रलाई बनाए । त्रिचन्द्रमा भर्ना भएर अर्थशास्त्रमा एमए गरे । ‘त्यो बेलाको अध्ययन आदर्श भनेको पढेर ठूलो हाकिम हुने, अर्थशास्त्री भए अवसरहरू आउँछ भन्ने थियो । त्यही धारणाको प्रभाव मेरो अध्ययन छनौटमा पनि परेकै हो’, यादवले खुलाए । अर्थशास्त्र पढ्न थालेपछि बाहिरबाट हेर्दा त्यसबाट उनीभित्रको कला⁄साहित्य थिचिएजस्तो देखियो । तर, त्यसले अर्थशास्त्र पढिरहेको छु कलासाहित्य पढिरहेको छैन भन्ने खालको छटपटीले उनमा कला⁄साहित्यमा केही गर्नुपर्छ भन्ने झन् बढी चेतना, दबाब र ऊर्जा आयो ।

औपचारिक शिक्षामा अर्थशास्त्र पढेपछि दुई वर्ष त्यही विषय नेसनल कलेज (पुतलीसडकमा रहेको अहिलेको शंकरदेव क्याम्पस) मा पढाए पनि । यतापट्टि उनका सम्पूर्ण अरू गतिविधिचाहिँ अर्थशास्त्र केन्द्रित भएनन् । भाषा, साहित्य र संस्कृतितर्पm मोडिए ।

किताबको कलेज त्रिचन्द्र, मनको कलेज रेडियो नेपाल

बाल्यकालको साथी थियो रेडियो नेपाल । कलेज शुरू गरेपछि उनले रेडियो नेपालमा काम शुरू गरे । ‘रेडियो त केटाकेटीदेखि नै सुनिन्थ्यो । रेडियोमा बोल्नेको असाध्यै आकर्षण थियो । एसएलसीपछि तुरुन्तै रेडियो नेपाल गएर त्यहाँ दुई–चार पटक स्टुडियो हेरेँ । त्यहाँको माहोल बुझेपछि त्यसमा बोल्ने धोको जन्म्यो । संयोगले स्वर परीक्षाको आवेदन पनि खुल्यो । स्वर परीक्षा दिएर पास पनि भइहालें । अनि काम शुरू गरें’, यादवले सुनाए । त्यहाँ उनले महिनाको ३ सय रुपियाँ पाउँथे । उनलाई रेडियोमा बोल्न शुरूदेखि नै सहज लाग्थ्यो रे । रेडियो रूपकहरूमा बोल्थे । शनिबार त्यो सुन्न मानिसहरू कुरेर बसेका हुन्थे । कतिमा उनी मूल पात्र भएर बोल्थे । गीतीकथा चलाउँथे । बालबाटिका नामको बालकार्यक्रम पनि चलाउँथे । गीतकार लेखक राजेन्द्र थापा, नायक भुवन केसी, संगीतकार दीपक जंगम र शम्भुजीत बास्कोटा, कलाकार सन्तोष पन्त, प्राध्यापक कपिल श्रेष्ठ, राजनीतिज्ञ नरहरि आचार्यहरू आफ्नो बाल्यउमेरमा त्यो कार्यक्रममा आफ्ना प्रतिभा लिएर पुग्थे । प्रायले कविता सुनाउँथे ।

अहिले पनि समाजका विभिन्न क्षेत्रका जानेमानेका व्यक्ति–व्यक्तित्वहरू भेटिँदा त्यो कार्यक्रम सम्झँदै भन्छन् रे– ‘हामी तपाईंको त्यो लोकप्रिय कार्यक्रममा कविता भन्न आएका थियौं ।’ अर्को कार्यक्रम काव्य कुञ्ज पनि उनी चलाउँथे । त्यो त्यति बेला निकै चलेको कार्यक्रम थियो । पहिलोपटक रेडियोमा बोलेर फर्कंदा अघि आफूले बोलेको सबैले सुनेकाले सबैले आफैंतिर हेरिरहेका छन् जस्तो उनलाई लागेको थियो ।

विज्ञापन सेवासहितको पहिलो रेडियो कार्यक्रमको पहिलो प्रस्तोता पनि उनै थिए । त्यसअघि रेडियोको कुनै पनि कार्यक्रममा विज्ञापन बज्थेन । विज्ञापन र गीत बज्ने कार्यक्रमको बीच–बीचमा उनी गीतहरूबारे कवितात्मक बोल्थे । रेडियो एक प्रकारले संगीत र गीतको लाइब्रेरी थियो । कम्तीमा पनि दिनको एकपटक त उनी त्यहाँ जान्थे नै । उस्ताद भैरवबहादुर थापा, उस्ताद गोविन्दबहादुर, तारादेवी, बच्चु कैलाश, शिवशंकर, नातिकाजी, नारायणगोपाल, पुष्प नेपाली, योगेश वैद्य, प्रेमध्वजजस्ता गीत–संगीतमा जो–जति थिए, सम्पूर्ण त्यहाँ जम्मा हुन्थे । गीत–संगीतकै बारेमा छलफल चल्थ्यो । संगीत परिवारको अलग वातावरण थियो त्यहाँ । उनी पनि त्यो संगीतशालाको सघन संगतमा छिरिसकेका थिए । त्यति बेला उनी त्रिचन्द्र कलेजमा पढ्थे । तर, मनको कलेज अर्कै थियो रेडियो नेपाल । त्यति बेलासम्म उनका गीत कापी र डायरीबाट बाहिर आइसकेका थिए ।

चिनायो यस्तो पनि हुँदोरैंछ

नेपालमा रेकर्डिङ प्रविधि शुरू नहुँदै २०२० सालतिर डीबी महेश पाल्पाली र रत्नबहादुर खड्गीले गाएका उनका गीत कलकत्तामा रेकर्ड भएका थिए । यस्तो पनि हुँदोरै’छ जिन्दगीमा कैलेकैले बोलको गीत बीसको दशकमा रेकर्ड भएर ज्यादै चल्तीमा आयो । फत्तेमान राजभण्डारीले गाएको यादवको यो गीतले फत्तेमान र उनी दुवैलाई प्रसिद्धिको चुली दियो । यो गीतमा नातिकाजीले संगीत दिएका थिए । त्यसो त ०१८ सालतिर नै उनका गीत ज्ञानबहादुरले गाएका थिए । तर, त्यति बेला रेकर्ड गर्ने प्रविधि थिएन । त्यो गीत आयो गायो, सिद्धियो । जम्मै कुरा लाइभ । शुरूका उनका गीतहरू रेकर्डिङ भएनन् । तर, रेडियो नेपालबाट बज्न थाले ०१८ सालतिरैबाट । त्यस्तो समयका गीतकार उनी, अहिलेको अत्याधुनिक डिजिटल समयका गीतकार पनि उनी चिन्ता पोख्छन्, ‘त्यस्ता कैयौं गीतहरू हराएर गए । किनभने रेकर्डको चलन नै थिएन ।’

आर्यघाटको शून्य चितामा आज कोही जल्यो । उनी दुःखी हुँदै सम्झन्छन्, ‘ज्ञानबहादुरले रेडियोमा गाएको यो मेरो पहिलो गीत हरायो । अरू पनि कत्ति हराए ।’ रेडियो नेपालमा कार्यरत रहँदाको फाइदा उनलाई के भयो भने, गायकहरूसँग गतिलो संगत हुन पायो । ‘जसलाई पनि गीत दिन पायो, गीतको जो डायरी उनीसँग थियो । गर्व गर्दै यादव याद गर्छन् पुराना दिनहरू, ‘नौगेडीको मेरो माला तिमीकहाँ पो खस्यो कि बोलको गीत नातिकाजीको संगीतमा कमलाले गाएकी थिइन् । कमला त्यति बेला रेडियो नेपालमा भएको राष्ट्रिय गायन प्रतियोगितामा प्रथम भएकी थिइन्’, खरेल फेरि दुःखी हुन्छन्, तर त्यो गीत हरायो । अहिले उपलब्ध त्यो गीत पछि तारादेवीले रिपिट गरेर गाएकी हुन् ।’

तिमी आउँछौ भन्ने आशआशमै
बाटोभरि यी आँखा ओछ्याइरहन्छु
यस्तै–यस्तै गीत गाउँदै उदीतनारायण झा संघर्ष गर्दै थिए । यादवको यो गीतले पनि उदीतनारायणलाई स्थापित गर्न धेरै मद्दत गर्यो ।
नौ सय खोला तरेर जाने
बिर्सिने पो हो कि मलाई
उनको यो अर्को गीत तारादेवीले गाइन् । यस्तै अरू थुप्रै गायक–गायिकाले उनलाई गाउन थालिसकेका थिए । रेडियो प्रस्तोताको रेगुलर जब थियो, तर त्यसभन्दा बढी त्यही रेडियोमार्फत उनी उबेलै चर्चित गीतकार भइसकेका थिए । त्यो बेला प्रसारणको नेपाली आकाशमा रेडियोको एकाधिकार थियो । र, त्यहाँ यादव खरेल अनेक रूपले बजिरहेका थिए । गीतका शब्दमा, रूपकमा, सञ्चालकको रूपमा बजिरहेका थिए । यसरी उनी रेडियोमा नौ वर्ष रहे ।

बीबीसी नेपाली सेवालाई चाहियो यादव

रेडियो नछोड्दै नदेखिने कलाकारिताबाट देखिने कलाकारितमा पनि आइसकेका थिए उनी । यद्यपि त्यसअघि उनले रंगमञ्चमा मञ्चित नाटकहरूमा पनि खेलिसकेका थिए । बालकृष्ण समको मुकुन्द इन्दिरामा समेत खेलिसकेका थिए । श्यामदास वैष्णव र भीमनिधि तिवारी, विजयबहादुर मल्लको नाटकहरूमा पनि उनलै गतिलै रोलमा अभिनय गरिसकेका थिए । त्यही ताकाको कुरा हो माइतीघर सिनेमामा नायक सीपी लोहनीको साथीको भूमिकामा अभिनय गर्दै थिए । सुन्दर नगरी पोखरामा सुटिङ भइरहँदा नायिका माला सिन्हाका पिता अल्बर्ट सिन्हा र उनी गफिए । अल्बर्टले भने, ‘तपाईं अर्थशास्त्रमा एमए गरिसकेको मान्छे । यस्तो मान्छले यस्तो सामान्य रोल गरेर के बस्नुभएको ? तपाईं डाइरेक्टर हुनुपर्छ । भारतको पुनामा फिल्म निर्देशनको अध्ययन गर्न जानुहोस् ।’ यादवले मनन गरे, ‘कुरा त ठीक हो । मैले अल्बर्टले भनेझैं गर्नुपर्छ । म डाइरेक्टर हुनुपर्छ ।’ त्यसअघि उनलाई अभिनय गर्ने रहर मात्र थियो । बढी से बढी भए हिरो हुने रहर थियो ।

सिनेमा पढ्न उनी भारतको पुना त गएनन् । तर, ०२५ सालतिर ब्रिटिस काउन्सिलको स्कलरसिप मिलाएर फिल्म निर्माण र निर्देशन पढ्न बेलायत उडे । बेलायत जानुअघि नै नारायणगोपालले गाएको पिउँदापिउँदै जिन्दगी योदेखि फत्तेमान, तारादेवी, प्रेमध्वज, पुष्प नेपाली, योगेश वैद्यलगायत थुप्रैले गाएका उनका दर्जनौं गीत लोकप्रिय भइसकेका थिए । कवि, गीतकार, रेडियो प्रस्तोता, नाटक र फिल्म कलाकार, अर्थशास्त्रमा एमएम, कानुनमा स्नातकको परिचय बनाएका उनको त्यो बीचमा कविताका किताब पनि आइसकेका थिए ।

बेलायतको लन्डन युनिभर्सिटीअन्तर्गतको लन्डन फिल्म स्कुलको पूर्णकालीन विद्यार्थी भए उनी । त्यही बीचमा बीबीसी नेपाली सेवा भर्खर शुरू भएको थियो । रेडियोको चर्चित नाम भइसकेका यादव खेरल लन्डनमै उपलब्ध हुनु बीबीसी नेपालीलाई ढुंगा खोज्दा देउता मिलेझैं भएछ । उनी पूर्णकालीन विद्यार्थी भए पनि बीबीसीले नै सबै बाधा अड्काउ फुकायो । त्यति बेला यादव खरेललाई बीबीसी नेपाली सेवा नभई बीबीसी नेपाली सेवालाई यादव खरेल चाहिएको थियो । पूर्णकालीन विद्यार्थी खरेलले बीबीसी नेपाली सेवामा पनि काम गर्न थाले । नेपाल छाडे पनि उनले नेपालमै जसरी बीबीसी नेपाली सेवामार्फत नेपाली आकाशमा आफ्नो स्वर फालिरहे ।

त्यहाँ उनले दुई वर्ष काम गरे । राजा महेन्द्र, युवराज वीरेन्द्र, बालचन्द्र शर्मा, ईश्वर बराल, डा. रामप्रसाद पोख्रेल र अरू थुप्रैसँग अनेक विषयमा अन्तर्वार्ता गरे । बेलायतमा बस्दा उनले समुन्द्रपारि भन्ने यात्रा किताब लेखे । चलचित्र निर्माण निर्देशनमा डिप्लोमा गरेपछि बीबीसीको जागिर छाडेर उनी नेपाल फर्के । उनलाई नेपाल फर्केर सिनेमा निर्देशन गर्नु थियो ।

राजा महेन्द्रको इच्छामा चलचित्र संस्थानको कार्यकारी अध्यक्ष

राजा महेन्द्रले बेलायतमै भेट्दा भनेका थिए, ‘यादव, तिमी नेपाल आउनुपर्छ । यता आएर तिमीले केही गर्नुपर्छ । आएर मलाई भेट ।’ महेन्द्रको सोच थियो रे, ‘नेपालमा हिन्दी सिनेमाको प्रभाव छ । त्यसलाई नेपालीले प्रतिस्थापन गर्नुपर्छ । नेपाली सिनेमा बनाउनुपर्छ । उद्योगको रूपमा यो क्षेत्रलाई अगाडि बढाउनुपर्छ ।’

नेपाल आएको केही समयपछि शाही नेपाल चलचित्र संस्थान खडा भयो र उनले त्यसको कार्यकारी अध्यक्ष भएर काम शुरू गरे । राष्ट्रकवि माधव घिमिरे, नाट्यसम्राट बालकृष्ण सम, श्रीधर खनाल त्यसको सदस्य थिए । तर, उनमा सिनेमा निर्देशन गर्ने सोच र सपना थियो । संस्थानमै रहे पनि उनी निर्देशन र प्राविधिकतर्फ मात्र हेर्ने जिम्मा लिन चाहन्थे । तर, त्यो सम्भव भएन । राजाको इच्छाले उनले त्यो जिम्मेवारी लिनै परेको उनी सुनाउँछन् । त्यसपछि निर्देशक प्रकाश थापालाई बोलाएर उनले मनको बाँध नामक सिनेमा बनाउन लगाए । उनी भने नयाँ अड्डाको पूर्वाधार, नीति, योजना र कार्यक्रम बनाउनमै सक्रिय भए ।

उनी त्यहाँ दुई वर्ष रहे । एकखालको आधारशिला तयार गरे । त्यसपछि उनी सिने क्षेत्रबाट अलि पर पुगे । उनले विज्ञापन सेवा शुरू गरे । केही वर्ष पुतलीसडकमा कार्यालय राखेर भव्यरूपमा विज्ञापन एजेन्सी चलाए । नेपालबाट अन्तर्राष्ट्रिय पुरस्कार पाउने पहिलो एजेन्सी पनि बन्यो त्यो । एसियन फेडेरेसन कंग्रेसको म्याक्स लेविस पुरस्कार ।

‘यी सबै क्षेत्र सिर्जनाका क्षेत्र थिए, तर पैसा थिएन । अहिले जस्तो सिर्जनासँग व्यापार जोडिइसकेको थिएन । अन्तिम बेलासम्ममा नारायण गोपाल भ्याटभ्याटेसम्म पुगे । कलाकारिता गरेर गाडी चढ्न सम्भव थिएन’, थप्छन्, ‘त्यति बेला सिर्जनामा नाम थियो । पैसा थिएन । मेरो नाम थियो । अनुभव थियो । तर, पैसा थिएन । परिवार पाल्न त पैसा चाहिन्थ्यो ।’ पछि उनी नेपाल परिवार नियोजन संघको अवैतनिक उपाध्यक्ष हुँदै महासचिव भए । १२ वर्ष परिवार नियोजन संघमा सक्रिय भए ।

१२ वर्षपछि फेरि सिर्जनामा

ती १२ वर्ष उनले सिर्जनामै केही गरेनछन् । तर, नेपालको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा जानु उनको नियमितता भएको थियो । कहिले अमेरिका, कहिले बेलायत । कहिले फ्रान्स । कहिले मेक्सिको ।
उनले आफूलाई आफँैभित्र खोज्दै स्रस्टा यादव खरेललाई सोधे । आफँैले आफैँलाई प्रश्न गरे म कुन बाटो हिँड्दै छु ? के यो मेरो लागि सही बाटो हो ? उनी भित्रैदेखि रन्थिनिए । ‘मैले आफँैलाई न्याय गरिरहेको छैन । मेरो सिर्जना यात्राको यो विराम गलत हो । म सिर्जनाकै संसारमा फर्किनुपर्छ’, त्यहीनेर १२ वर्षपछि फेरि उनीभित्रको स्रस्टा जागेको हो । त्यसरी उनी मनको धुन सुनेर ब्याक टु सिर्जना भए ।

चेलीबेटीदेखि महाकवि देवकोटासम्म

एउटा लामो निद्रापछि ब्युँझेका कलाकार, गीतकार र निर्देशक यादव खरेलले त्यसपछि सिनेमा बनाउन थाले । २०४५ सालमा चेलीबेटी बनाए ।

भन्छन्, ‘समाजको हित हुने खालको जल्दोबल्दो इस्यु खोज्दा नेपाली चेलीहरू प्रतिवर्ष ७ हजार जति बम्बई, दिल्ली, कलकत्ता आदिका वेश्यालयमा बेचिन्थे । तीमध्ये धेरैजसो उनीहरूको खुशीले बेचिएका हुँदैनन् । आर्थिक बाध्यता र झुक्यानमा परेर बेचिएकाहरू वेश्यालबाट उम्कन सक्दैनन् । मलाई लाग्यो, यो समस्यामा चलचित्र बनाऊँ । त्यसरी मैले चेलीबेटी बनाएँ ।’

सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भयो । सिनेमाबाट भयो, एउटा व्यक्तिबाट भयो । यद्यपि त्यो व्यवसाय पनि थियो । यो सिनेमामा उनी निर्माता पनि थिए ।

त्यसपछि उनको निर्देशन र निर्माणमा लोभीपापी आयो । बासु शशीको कथामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल र राजाराम पौडेललाई मुख्य कलाकार बनाएर उनले त्यो सिनेमा बनाए । सम्पूर्णरूपमा हास्यपात्रलाई नै नायक बनाएर हास्यव्यङ्ग्यप्रधान सिनेमा त्यसअघि बनेकै थिएन । तेस्रो चलचित्र आँधीबेहेरी बनाए उनले । नारी जातिमा आँधीबहेरीमा जस्तै शक्ति हुन्छ भन्ने सन्देशसहितको यो सिनेमा महिला सशक्तीकरणका लागि जोड दिएको थियो । त्यो सिनेमा छुवाछूत र जातभातविरोधी पनि थियो ।
त्यसलगत्तै ऐतिहासिक पृष्ठभूमिमा लेखिएको बालकृष्ण समको प्रेमपिण्डलाई उनले सिनेमामा रूपान्तरण गरे । प्रेमपिण्डका सबै गीत उनैले लेखे । त्यसका सबै गीतहरू असाध्यै लोकप्रिय भए ।

गैरी खेतको शिरै हान्यो
वर्षा यामको दरौंदीले
नौनीजस्तो मेरो मन
चिरा पार्यो उसको रूपको करौंतीले
त्यो सिनेमा बनेको २०⁄२२ वर्ष भइसक्यो । अहिले पनि ती गीतहरू चली नै रहेका छन् । स्कुलका कार्यक्रममा अहिले पनि नमुना गीतकै रूपमा ती बजिरहेका छन् । ती गीत कालजयी भए । समीक्षकहरूले त्यो चलचित्रलाई नेपाली सिने क्षेत्रको एउटा कोसेढुंगाको रूपमा व्याख्या पनि गरे । प्रेमपिण्ड बनाइसक्दा यादव खरेल निर्देशकका रूपमा निकै अग्ला भए ।

अर्को, श्री स्वस्थानी पौराणिक विषयमा नेपालमा बनेको पहिलो सिनेमा थियो । त्यसपछि उनले गोपालजी नेपालीको कथामा नासो बनाए । त्यो प्रेमकथा थियो ।

उनी त्यसपछि चलचित्रको माध्यमबाट भाषामा हामफाले । अत्यधिक पढिएका आदिकवि भानुभक्तमाथि सिनेमा बनाउनुपर्छ भनेर भानुजन्मस्थल विकास समितिसँग मिलेर आदिकवि भानुभक्त बनाए ।
त्यो सिनेमा निर्माणका लागि उनी भानुजन्मस्थल तनुहँ मात्र पुगेनन्, भानुभक्तका जीवन, कृतित्व र त्यसको प्रभाव बुझ्न नेपालकै पनि अरू थुप्रै ठाउँ पुगे । उनको विस्तारित आयामलाई बुझ्न र बुझाउन खरेल भारत र बर्माका विभिन्न स्थानमा समेत पुगेर सकेसम्म गहिरो र फराकिलो अध्ययन–अवलोकन गरे ।

त्यसपछि हत्तेरिका बनाउँदै थिए । त्यही बीचमा उनी चलचित्र विकास बोर्डको अध्यक्ष भए । फेरि त्यो नयाँअड्डाको आधारशिला बनाउन लागे । त्यहाँउनी दुई वर्ष रहे । त्यसअघि सञ्चार मन्त्रालयको पहलमा सञ्चार परिषद् गठन भएको थियो । त्यसमा उनी चलचित्र समितिका संयोजक थिए । चलचित्र क्षेत्रको विकासको लागि सरकारले एकद्वार प्रणाली लागू गर्नुपर्छ भन्ने सुझाव दिएका थिए । र, त्यसका लागि विकास बोर्ड चाहिन्छ भन्ने उनको तर्क थियो । विकास बोर्ड पनि बन्यो र त्यसको संस्थापक अध्यक्ष पनि उनी नै भए । त्यसपछि उनले महाकवि देवकोटाको निर्देशन गरे ।

सल्लाहका लागि खोज्थे नारायणगोपालले
यी र यस्ता विविध विषयमा सिनेमा बनाएका यी निर्देशक अमेरिका, बेलायत फ्रान्स, जर्मनी, स्पेन, बेल्जियम, लक्जेम्बर्ग, स्वीट्जरल्यान्ड, जापान, मेक्सिको, केन्या, चीन, भारत, म्यान्मार, दक्षिण कोरिया, इन्डोनेसिया, फिलिपिन्स, सिंगापुर, मलेसियालगायत विश्वका अनेक देश घुमेका छन् ।

‘व्यक्तिगत व्यावसायिकताभन्दा पनि समग्र सिर्जना संस्कृतिको संस्थागत उत्थानमा लाग्न चाहें । तर, सोचेजस्तो नहुँदा कहिलेकाहीँ दुःख पनि लाग्छ’, उनी मलिनो स्वरमा सुनाउँछन् । नेपाली संगीत र सिनेमा क्षेत्रका महत्वपूर्ण संस्थाको स्थापनामा उनी जहातहीँ देखिन्छन् । संस्थापक नेतृत्वका हैसियतले तिनको व्यावसायिक विकासको उनले जुन जग हाले, पछि सो अनुसारका काम नहुँदा उनलाई दुःख लाग्नु स्वाभाविक पनि हो । सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा नारायणगोपाल राष्ट्रिय नाचघरका जीएम थिए । केही समस्या पर्यो कि उनी यादवलाई सम्झिहाल्थे, ‘यसमा के गर्ने यादव ? भन न ।’ यसरी उनी अनेक खालका बाधा अड्काउ फुकाउका माध्यम भएका थिए । उनी कलामात्र होइन, कानुन पनि बुझ्थे । उनले कानुनमा पनि स्नातक गरेका थिए ।

जे गरे, त्यसमा आफ्नो तर्फबाट शतप्रतिशत लगाउने स्वभावका उनी जीवनका महत्वपूर्ण समय चलचित्र क्षेत्रको प्रशासनिक पाटोमा लागे । त्यसबाट त्यति धेरै उचित परिणाम नआएको देख्दा भने उनलाई दुःख लाग्छ तर सिर्जनाको अनेक पाटोमा निरन्तर लागिरहेकोले त्यसबाट प्राप्त आन्तरिक सन्तुष्टिले जीवनमा सन्तुलन कायम गरिरहेको उनको अनुभूति छ ।

राष्ट्रिय चलचित्र नीतिका निर्माणका लागि संयोजक भएर उनले राष्ट्रिय चलचित्र नीति बनाए । भन्छन्, ‘किन हाँगाको पछि लाग्ने भनेर रुख सपार्नतिर लागें । तर, त्यहाँ पनि सोचेजस्तो भएन । त्यसको अनुगमन र कार्यान्वयनमा लागि समिती निर्माण गरेर संयोजक बनाइएपनि, कार्यालयसमेतको व्यवस्था नगरिएकाले त्यसबाट राजीनमा दिए ।’

आफ्ना र अरूका पनि सिनेमामा गीतहरू थुप्रै लेखे । सिनेमाका गीतहरू एउटा कथा वा सिच्युएसनमा लेखे । ती कथामै पनि स्वतन्त्रता र सिर्जनशीलताको यथेष्ट उडान भर्न सकिएला । जनजिब्रोमा झुन्डिएका कैयौं त्यस्ता गीतहरू लेखेर त्यो प्रमाणित पनि गरिसकेका छन् उनले ।

उडूँ कि गुडूँ म
ए चरी सरर उड्न सिकाइदेऊ
ठूली भएँ अब मलाई
कुहिरोको घुम्टी झिकाइदेऊ ।
उनी सामान्यतया दुई तरिकाले गीत लेख्छन् । भन्छन्, ‘एउटाचाहिँ स्वतन्त्र भएर लेख्ने । स्वतन्त्र भएर लेख्ने भन्या बिजुली चम्केजस्तो फुर्ने । कतिखेर कहाँ झ्वाट्ट चम्कन्छ भन्न सकिन्न ।

अर्कोचाहिँ सिनेमाको गीत । भन्छन्, ‘त्यहाँ बिजुलीको चम्काइलाई कुरेर बस्ने भन्ने हुँदैन । त्यहाँ पहिल्यै कथा हुन्छ । त्यही कथाको डोरीमा गीत लेख्नुपर्छ ।’ उनले आफ्ना बाहेक पनि नेपाली बाबु, स्वर्ग, जाली रुमाल, छोरीबुहारी, अग्निपरीक्षा, मुस्कानलगायत झन्डै ४० सिनेमामा गीत लेखेका छन् । आफ्नो सिनेमाको, अरूको सिनेमाको र स्वतन्त्र गर्दा उनका पौने ३ सय जति गीत रेकर्ड भएका होलान् ।

गीतबारे संगीत रोयल्टी संकलन समाजको संस्थापक अध्यक्षसमेत रहेका उनी भन्छन्, ‘गीत लेखनको तीनवटा आयाम हुन्छ । पहिलो शब्द, दोस्रो संगीत, तेस्रो स्वर । एउटा, गीतमा गीतकारले शब्दको माध्यमबाट शुरूमा व्याख्या गर्छ । त्यसपछि संगीतकारले संगीतको माध्यमबाट त्यसमा व्याख्या थप्छ, त्यसपछि गायकले स्वरले । र, तीनवटा व्याख्या मिलेर एउटा खास व्याख्या बन्छ । त्यसलाई मन पराउने हो जनताले । त्यही भएर गीतलाई त्रिवेणी भन्छौं । जहाँ तीनवटै कुरा मिल्छ, त्यो अजम्बरी हुन्छ ।’
सिनेमाको गीतमा भने चौथो आयाम हुन्छ । त्यो भनेको दृश्य हो । गीत–संगीत र शब्दले सम्प्रेषण गर्न खोजेको कुरालाई दृश्यले पुनव्र्याख्या गर्नुपर्छ । तर, कहिलेकाहीँ दृश्य आयामले गीतका शब्दहरूलाई न्याय नगर्दा चलचित्र निर्माता संघका पनि संस्थापक अध्यक्षसमेत रहेका खरेललाई खल्लो लाग्छ ।

बूढाबूढीकै लागि भनेर टुहुरो ईश्वर शीर्षकको सांगीतिक एल्बमै पनि निकालेका ७३ बर्र्षीय खरेललाई भने बुढ्यौलीको कुनै धर्कोले छोएको छैन । समय व्यवस्थापनमा सटिक उनी गीतीनाटकलाई किताबकै रूपमा निकाल्ने अन्तिम तयारी गर्दै छन् । त्यो चाहिँ एकै पटक मञ्चन र प्रकाशन पनि हुनेछ रे । त्यस्तै गीतसंग्रह र लघुकथा संग्रहको पनि तयारी हुँदै छ रे । स्रस्टाहरूको संस्मरणहरूको संग्रह र अरू थुप्रै किताब परियोजनाले अन्तिम रूप लिंदै रहेछ । किताब योजनाका खातहरूमा उनको अक्षर जिन्दगी झन् सक्रिय भइरहेका छन् अचेल । बहुआयामिक जीवनलाई सरल किसिमले अभिव्यक्त गर्छन्, ‘छरिएको छु । र, पनि सक्रिय छु । अब अरूतिर खासै रुचि छैन । लेखनमै सक्रिय हुनेछु ।’

दुई वर्ष साप्ताहिक पत्रिका घुँएत्रोका सम्पादक र प्रकाशक पनि रहेका खरेलको साहित्य, संगीत र सिनेमाको छविले उनका जीवनका अरू आयामलाई एक प्रकारले छोपिदिएका पनि छन् । नेपाल आँखा अस्पतालका कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्ष भएर नेपालको आँखा उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका उनले बागमती सभ्यता समितिमा रहेर बागमती नदी सफाइमा पनि प्रभावकारी भूमिका खेले । उनको जन्मगाउँ खरेलथोकको भगवती उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएर गाउँको शिक्षाका लागि उनले सक्दो गरे । जहाँ खोज्यो, त्यही भेटिने खरेल बौद्धिक सम्पत्ति संरक्षणको राष्ट्रिय नीति मस्यौदा समितिका सदस्य पनि थिए । धेरै वर्षअघि ठूलो राशिको पुरस्कारका रूपमा प्रसिद्धी पाएको बासुदेव लुइँटेल पुरस्कारसँग पनि उनको शुरूवाती समयदेखि नै महत्वपूर्ण भूमिका रह्यो ।
जीवनका अनेक योग र योगदानको कदरस्वरूप उनलाई दिइएका असंख्य मान–सम्मानले भरिभराउ कोठा बस्दै उनी बेला–बेला सोच्छन्, ‘म धेरैतिर छु तर म कहाँ छु ?’

 

१९९९ साल
फागुन १२ गते काभ्रेपलाञ्चोक, खरेलथोकमा जन्म
२०१६ साल
पद्मोदय हाई स्कुल,
काठमाडौंबाट एसएलसी
रेडियो नेपालमा कार्यक्रम सञ्चालन
जल्यो जल्यो बोलको गीत रचना
२०१८ साल
जल्यो जल्यो बोलको गीत ज्ञानबहादुरबाट गायन
२०२१ साल
अर्थशास्त्रमा एमए
माइतीघर फिल्ममा अभिनय
२०२० साल
कविता रचनामा स्वर्ण पदक (त्रिविबाट)
२०२१⁄०२२ साल
पहिलो गीत आउँदिनँ म जाँदै छु र जल्यो जल्यो कलकतामा रेकर्ड
प्रकृतिको प्रेरणा नाटकमा अभिनय
२०२२ साल
नेपाल नेसनल कलेज (हालको शंकरदेव) मा प्राध्यापन
२०२२ साल
लमा ब्याचलर
बीबीसी नेपाली सेवामा प्रवेश (संस्थापनकालको सञ्चालक)
अनि एउटा लहर बिउँझन्छ कविता संग्रह प्रकाशन
२०२७ साल
चलचित्र निर्माण र निर्देशनमा डिप्लोमा (लन्डन युनिभर्सिटीबाट)
२०२७⁄०२८ साल
राजा महेन्द्रको निधनसम्बन्धी कमेन्ट्री लेखन र उद्घोषण
२०२८ साल
शाही नेपाली चलचित्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक
२०२९ साल
चारु सत्यालसँग विवाह
२०३१ साल
नेपाल परिवार नियोजन संघमा महासचिव र उपाध्यक्ष
२०३३ साल
गाईजात्रा स्वर्ण पदक
२०४० साल
घुयंत्रो साप्तहिकको प्रकाशन र प्रधान सम्पादकका रूपमा कार्य
२०४५ साल
चेलीबेटी फिल्म लेखन, निर्देशन र निर्माण
२०५० साल
छिन्नलता गीत पुरस्कार
२०५१ साल
प्रवल गोरखा दक्षिण बाहु
२०५५ साल
प्रख्यात त्रिशक्तिपट्ट
चलचित्र विकास बोर्डको संस्थापक अध्यक्ष
२०५६ साल
दीर्घकालीन योगदान सम्मान
२०५८ साल
महेन्द्र चलचित्र साधना सम्मान
२०६० साल
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य
२०६६ साल
नातिकाजी विशेष संगीत सम्मान
महाकवि देवकोटा शताब्दि सम्मान
२०६८ साल
वासु शशी स्मृति सम्मान
२०६१ साल
पद्मोदय सम्मान
२०६७ साल
हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कार

२०६९ साल
इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड
नेपाल सांस्कृतिक संघ सम्मान
२०७० साल
दीर्घ साधना सम्मान (चलचित्र विकास बोर्ड)
२०७१ साल
नेपाल परिवार नियोजन संघ सम्मान
लाइफटाइम अचिभमेन्ट अवार्ड (कालिका एफएम)
लाइफटाइम अचिभमेन्ट अवार्ड (हिट्स एफएम)
२०७२ साल
लाइफटाइम अचिभमेन्ट अवार्ड (नेपाल गीतकार संघ)
नेपाल विज्ञापन संघ रजत जयन्ती सम्मान
२०५६ साल
नेपाल चलचित्र निर्माता संघको अध्यक्ष
२०६६ साल
संगीत रोयल्टी संकलन समाज नेपालको संस्थापक अध्यक्ष
२०७२ साल
बौद्धिक सम्पत्ति राष्ट्रिय नीतिको सल्लाहकार
रथारोहणसहित नगर परिक्रमा र नागरिक अभिनन्दन (भानु प्रतिष्ठानबाट)

 

विभिन्न गीतहरु

यस्तो पनि हुँदो रैछ
पिँउदा पिँउदै जिन्दगी यो
नौगेडीको मेरो माला
नौसय खोला तरेर जाने
तिमी आउँछौ भन्ने आशैआशमा
मनको यो तिर्सना
तिमीलाई देख्दा यो मन
कति यस्ता क्षणहरु आउँछन्
कति यस्ता कुरा हुन्छन्
आफ्नो संसार आफ्नै हातले
यसपालिको वसन्त नलाग्दै
यस्तै रहेछ यहाँको चलन
यो एउटा सडकको कथा हो
गीतको बोल
नौ घुम्ती पारीदेखि
जे भने पनि
यस्तै रहेछ यहाँको चलन
एउटा डाँडो अर्को डाँडो
एकान्तको खलबलीले
डाँडामाथि चौतारीमा
सुख दुःख त यस्तै न हो
सकेदेखि तिमीले पनि
म जिन्दगी भर
तिमी टाढा भयौं
यस्तो लाग्छ आफ्नै मुटु
हर रात तारा भएर बलेँ
वसन्ती हावाले
यस्तो पनि हुँदो रैछ
नौगेडीको मेरो माला
कति यस्ता क्षणहरु आउँछन्
सकेदेखि तिम्ले पनि
मनको यो तिर्सना
बिहानी प्रहर
तिमी टाढा भयौ
नदी किनार झोक्राएको
पाकालाई गन्ने गर्थे
काने टोपी मात्र हैन
एउटा माछा छटपटाउँछ
बालककी आमा
२५ वर्षे जवानीमा
बूढी व्यथा फुकाउँछे
उमेर अलि ढल्के पनि
पूर्ण मदः पूर्ण मिदं
शुभबाट सुरु भै
प्रभुको वास छ हर प्राणीमा
ईश्वर भन्दछ तिमी भित्रै छु
शिव–विष्णु एउटै हुन्
मन्दिर धाएँ, मस्जिद धाएँ
दिनभरी मैले ठगी गरेँ
देशको सन्तरी
नेपाली हौं हामी सारा
हिजो गर्थे तातेताते
गाउँखाने कथा
झगडा मन पर्दैन
चरा पनि साथी तिम्रो
रमाइलो दशँ आयो
म्याउँ म्याउँ गर्छ बिरालो
म्याउँ म्याउँ गर्छ बिरालो
अलिअलि इमान्दारी
म भत्कन्न
तिमी मलाई दोष नलाऊ
सारङ्गीको तार
सबको सामु हाँसी हिँड्छु
अरुको मर्म दुख्दाखेरी
के भनु म कसोगरि
मैले पिँए धेरै पिँए
मेरो मनको एउटा घाउ
तिम्रो अनुहार हेर्ने ऐना
माया फिर्ता लाँदैछु
क्षितिजको अग्लाइ
कँहा होलान मेरा
बिर्सेर यो
यति धेरै माया नदेउ
यहाँ सब मत्लवी छन्
तारा झर्छ टुक्रिएर
वचन थियो तोडियो
मन डढेको देखिन्न
हुरी आयो कस्तो आयो
नबोलुँ त छटपटी छ
नशालु मृग आँखा
हिजो लाखौँ अनुहार
तिम्रो आँखाको सागरमा
यौटा मान्छे मन पर्छ
भन्दछन् माया र लडाईमा
हे प्रभु कर जोडी
विहानी प्रहर यो मेरो खबर
हिउँद मास हिउँ झर्दा
चाँदीको भित्ता
न मेरो घरै छ
स्याउझै गाला
उडुँ कि गुडुँ म
आऊ तिमीलाई म
हिरो छन् यहाँ हिरो
नमेटिने नदेखिने
मुसुमुसु फुलमाया
गैरी खेतको शिरै हान्यो
म छु यता काली वारि
रिढी काली भेट हुने
सपना हो यो भनेदेखि
के भनुँ म कसो गरी परेँ
चैत मास खडेरीमा
बेला बज्यो कताकता
माच्छी पर्यो जालैमा
उनको इजलासमा
शिव विष्णु एउटै हुन्छ
देवीदी देवी स्वस्थानी माता
वसन्ती हावाले छोएर गयो
गुराँस फुल्यो रनवन
कताकता आज उसले
तिमी रिमीझिमी
माया हार्यो चट्याङ र्पयो
हाँसको बथानमा बकुल्ला आयो
मायाको आँचमा
पञ्चे बाजा ठोक्दै
माछा पानीमा पौडिएसरि
म यौटा खोलाजस्तै
मेरो मन चोरे वापत
चिठ्ठी हुन पाए
सुनकोशीको पानी
सिरुपाते कम्मरमा
कसलाई सुनाउँ

प्रतिक्रिया दिनुहोस्