ओमविक्रम विष्ट पप सम्राट



विजयरत्न तुलाधर

प प सम्राट् कहलिएका ओमविक्रम विष्टको उदय हुँदा राष्ट्रिय गीत र सुगम संगीतको वर्चस्व थियो । सायद त्यसैले होला उनले रेकर्ड गरेको पहिलो गीत पनि उडेर आउने चरीले सुन, के गीत गाएछ बोलको राष्ट्रिय गीत हुन पुग्यो । पहिचान भने म मौनतामा अल्झिरहेको एउटा जीवनले दिलायो । करिब चार सय संख्यामा गीत गाएका ओमविक्रम संगीत क्षेत्रलाई अत्याधुनिक शैलीमा डोर्याउने गायकका रूपमा स्थापित छन् । उनले भिङ्खयाएको यो शैली अहिलेका पुस्ताले अपनाउने गरेको शैलीसँग धेरै हदसम्म मिल्न आउँछ । यस हिसाबले हेर्दा ओमविक्रमले करिब चालीस वर्षअगाडि नै आधुनिक शैलीका गीत गाएर नयाँ आयाम थपेको प्रस्ट हुन्छ । यसरी नेपालको संगीत क्षेत्रलाई आधुनिक शैलीमा डोर्याएका गायक विष्टको सांगीतिक यात्रा पनि उत्तिकै रोमाञ्चक छ ।

पाश्चात्य गीत सुन्ने बानीले बनायो पप सम्राटओमविक्रम साहित्य जगत्मा इतिहास पुरुष कहलिएका महान् साहित्यकार दौलतविक्रम विष्टका ६ सन्तानमध्येका माहिला छोरा हुन् । उनको चार दाजुभाइ र दुई बहिनीहरू छन् । तीमध्ये एउटी बहिनीले यो धर्तीबाट बिदा लिइसकेकी छिन् । काठमाडौंमै जन्मेका ओमविक्रमको पुर्खौली घर काठमाडौंको नरदेवी रहेछ । तर उनको पालनपोषण वटुस्थित मामाघरमा भएको थियो । उनको आमा नूतनकुमारी विष्ट आफ्ना आमाबुबाका दुई सन्तानमध्येका एक हुन् । उनको मामा घरमा बस्दैनथे । त्यसैले उनीहरू सपरिवारै मामाघरमा बस्दै आएका थिए । जन्मघर नरदेवी र मामाघर वटु भनेको नेवारहरूको बाक्लो बस्ती रहेको ठाउँ हो । त्यसैले बालक ओमविक्रम विष्टको संगत नेवारहरूसित नै हुन स्वाभाविक नै थियो । तीमध्ये उमेरले अलिकति जेठै भए पनि कवि श्रीराम श्रेष्ठसँग उनको घुममिल राम्रो थियो । भन्सारका जागिरे बुबा दौलतविक्रम विष्टले त्यहाँ घूस लिने दिने प्रवृत्ति देखेर आजित भई त्यो जागिर छोडेर रेडियो नेपालमा नायब सुब्बाको जागिर खाए । त्यहाँ शाखा अधिकृत हुँदै सचिव र कार्यकारी निर्देशकसम्म भएका थिए दौलत विक्रम । सरकारी उच्च प्रशासनिक पदसम्म पुगेका साहित्यकार दौलतविक्रम विष्ट विभिन्न कार्यक्रम र प्रशिक्षणको क्रममा विदेश गइरहन्थे । ‘विदेशबाट उहाँ वेस्टर्न म्युजिकका डिस्क रेकर्डहरू बोकेर ल्याउनुहुन्थ्यो । डिस्क प्लेयर पनि थियो हामीसँग । त्यही विदेशी गीतहरू सुन्दै हुर्केको हुँ म । सायद त्यसैले होला, ममा पाश्चात्य संगीतको छाप बढ्दै गएको’ –बाल्यकालीन सम्झना गर्दै म मौनतामा अल्झिएको गीतका गायक ओमविक्रमले संगीततिर अगाडि बढेको पाइला सम्झे । उनका बुवा विशेष गरी बिटल्स र रोलिङ स्टोन्सका डिस्कहरू लिएर आउँथे ।

नेपालभाषाको गीतबाट आफ्नो सांगीतिक यात्रा शुरू गरेका ओमविक्रमले पछि पनि नेपालभाषाका केही गीत गाउने क्रमलाई निरन्तरता दिए ।

१० वर्षमै पहिलो गीतवटु र नरदेवी भनेको थुप्र्रै मन्दिरले भरिएको ठाउँ थियो । ती मन्दिरमा भजनहरू भइरहन्थे । ओमविक्रमका आमा र बुबा पनि त्यस्ता भजनमा गइरहन्थे । कहिलेकाहीं भजन गाउनु पनि पछि पर्दैनथे । यसरी ओमविक्रमभित्र सानैदेखि संगीतको छाप बढ्दै गयो । त्यसमाथि श्रीराम श्रेष्ठजस्ता कवि मनसँगको संगतले संगीतप्रतिको हुटहुटी अझै बढ्यो । त्यति बेला टोलटोलका डबलीहरूमा सांगीतिक सम्मेलनहरू भइरहन्थे । त्यस्तै एउटा कार्यक्रममा ओमविक्रमले आफ्नो सांगीतिक यात्राको पहिलो पाइला अगाडि बढाए । उनले त्यस्तो डबलीमा पहिलो गीतका रूपमा गाए जि हे छपु म्ये खः स्वयं (म स्वयं एउटा गीत हुँ) । त्यति बेला उनी केवल दश वर्षको मात्र थिए । नेपालभाषाको त्यो गीतका रचनाकार श्रीराम श्रेष्ठ थिए । नेपालभाषाको गीतबाट आफ्नो सांगीतिक यात्रा शुरू गरेका ओमविक्रमले पछि पनि नेपालभाषाका केही गीत गाउने क्रमलाई निरन्तरता दिए । तीमध्ये चटांमरी छुचुंमरी, दकले यःगु स्वमाःचा, उकीसन जिमि हाकू मैंचा, अरे हाय् हाय् रे थोंया बार्चा पनि पर्दछ । यी गीतका गीतकार नेपालभाषा साहित्य क्षेत्रका महाकवि स्व. गिरिजाप्रसाद जोशी हुन् । यसरी शुरू भएको उनको गायन यात्रामा अनौठो मोड तब आयो, जब उनले उडेर आउने चरीले बोलको राष्ट्रिय गीत गाए । यस गीतका संगीतकार अरविन्द मालाकार थिए । यो नै उनको रेकर्ड भएको पहिलो गीत थियो । यसपछि उनले माया त होला नि यो छातीभित्र बोलको आधुनिक गीत रेकर्ड गर्ने अवसर पाए । त्यस गीतका संगीतकार चन्द्रराज शर्माको दाजु सूर्यराज शर्मा हुन् । सूर्यराज शर्मासँग उनले तीन–चार महिनासम्म शास्त्रीय गायन सिकेका थिए । ‘सिकेको त हो । तर २–३ महिनाभन्दा सिक्न पाइनँ । संगीतको औपचारिकता सकेको थिएँ । शास्त्रीय संगीतको ज्ञान भनेको मैले सूर्यराज शर्मासँग अलिअलि मात्रै सिक्न पाएको थिएँ, तैपनि म शास्त्रीय संगीतमा आधारित रूपक, दीपचण्डी जस्तो गाह्रो तालमा पनि सजिलै गाउन सक्ने भइसकेको थिएँ’ –आफ्नो प्रारम्भिक सांगीतिक संगीतको ज्ञानबारे पप सम्राट्ले बेलिविस्तार लगाए ।

दिनु परेन भ्वाइस टेस्टओमविक्रम विष्ट शास्त्रीय पनि गाउन सक्ने भनी भने पनि शास्त्रीय रागमा आधारित कुनै गीत गाएको भने देखिँदैन । ‘खास गरी त्यस्तो खालको अफर कहिल्यै आएन । अनि मैले शुरूमा रेकर्ड गराएका दुई गीतमध्ये पहिलो राष्ट्रिय गीत र दोस्रो सुगम संगीतका थिए । तर ती दुवै गीतले खासै प्रभाव छोड्न सकेन । त्यसपछि २०२९ सालतिर आफ्नै कम्पोजमा बितेको जीवन मेरो बोलको एउटा गीत गाएँ । जुन बाल्यकालमा सुन्ने गरेका बिटल्स र रोलिङ स्टोन्सले गाउने शैलीको एकदम नजिकको थियो । त्यति बेला नेपालमा संगीतको स्रोताहरूका लागि त्यो नौलो स्वादको सावित हुन पुग्यो । विशेष गरी युवा वर्गमा त्यो गीत असाध्यै लोकप्रिय हुन पुग्यो ।

नेपालमा भन्दा पनि नेपाल बाहिर रहँदै आएका नेपाली युवामाझ त्यो गीत साह्रै लोकप्रिय भयो । खास गरी हङकङ, सिक्किम, दार्जिलिङतिरका युवाले त्यो धेरै नै मन पराए । तर त्यति बेला त्यस्तो गीतलाई के गीत भन्नेसमेत धेरैलाई थाहा थिएन । मेरो त्यो गीत हिट भएपछि त्यस्तै खालको चलन चल्न थाल्यो । अनि त्यस्ते गीत मात्र गाउन थालें । अरूतिर ध्यानै दिइनँ’, अत्याधुनिक शैलीको पप गायनमा पाएको सफलता सुनाए विष्टले– ‘रेकर्ड भएको दोस्रो गीत माया त होला यो छातीभित्र गीत वास्तवमा मैले रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा आयोजना गरिने प्रतिस्पर्धात्मक गायन सम्मेलनमा भाग लिँदा गाएको थिएँ । त्यहाँ राम्रो गाएकाले मैले त्यो गीत रेडियो नेपालमा रेकर्ड गर्ने अवसर पाएँ । मैले अरूले जस्तै भ्वाइस टेस्ट पनि दिनुपरेन । म सानै भएकाले मेरो स्वर भने केटीको जस्तो थियो । तर स्वरमा हुनुपर्ने उतारचढाव सबै भएको देखेर त्यति बेला नातिकाजी दाइ, शिवशंकर दाइ, गोपाल योञ्जन दाइहरू सबैले मलाई स्याबासी दिएका थिए ।’ दश बाह्र वर्षसम्मको उमेरमा स्वर बालककै जस्तो हुनु स्वाभाविक थियो । तर पछि उनको स्वर मेच्योर हुँदै जान थाल्यो । उनी आफैं गीत कम्पोज गर्न पनि सक्ने भए । उनलाई नोटेसन लेख्न भने आउँदैनथ्यो ।

उनका लागि त्यो काम शुभबहादुर सुनामले गरी दिए । ओमविक्रम मुखैले सांगीतिक भाव सुनाउँथे भने शुभबहादुरले नोटेसनमा लिपिबद्ध गरी दिन्थे । यसरी उनी एक गायकका साथसाथै संगीतकारसम्म पनि बन्न पुगे । ‘त्यति बेलाको गीत रेकर्डिङ प्रक्रिया अहिले जस्तो सजिलो कहाँ थियो र ? सबै म्युजिसियनहरू भेला भएर बाजा बजाउनुपथ्र्यो । म्युजिसियनहरू सँगसँगै सिंगरले पनि गाउन सक्नुपथ्र्यो । एक जनाले सानो मिस्टेक गर्यो भने फेरि सबैले रिटेक दिनुपर्ने हुन्थ्यो’, ओमविक्रम आफ्ना जमानाको कथा सुनाउँदै थिए( ‘कलकत्तामा के घर के डेरा फिल्मको गीत रेकर्डिङ गर्दा तारा थापाले बारम्बार मिस्टेक गर्दा २९ टेकसम्म गाउनु परेको थियो । त्यति मात्र कहाँ हो र ? रेडियो नेपालमा रेकर्डिङ गर्दा अफिस टाइमभित्र गरी सक्नुपर्ने अर्को बाध्यता थियो । अलिकति समय बढी लाग्न सक्ने अवस्थामा सबै म्युजिसियनलाई अलिअलि खर्च पनि दिनुपर्ने हुन्थ्यो । बेलुकी अलिकति रमझम खानपिन पनि गराउनुपर्ने हुन्थ्यो । त्यति गर्दागर्दै पनि त्यो दिन रेकर्डिङ पूरा हुन पाएन भने अर्को डेट पाउन महिनौंसम्म कुर्नुपर्ने हुन सक्थ्यो ।’
लोकप्रियताले जन्मायो दुस्मनीपाश्चात्य शैलीको संगीतले संगीतको संसारमा प्रभाव पार्दै लग्न थालेको त्यो समय ओमविक्रमले नेपालमा पनि त्यस्तै खालका गीतहरू गाएर दर्शकको मन जित्न ठूलै संघर्ष गर्नु परेको थियो । उनले यो शैलीमा गाएको पहिलो गीत बितेको जीवनले बोलमा थियो । त्यसपछि याद गर ती दिनहरू हो । उनलाई लोकप्रियताको शिखरमा चढाउने गीत भनेको याद गर ती दिनहरू हुन पुग्यो । म मौनतामा अल्झिरहेको एउटा जीवन लोकप्रिय भएपछि उनीसित ईष्र्या गर्नेहरू पनि कम भएनन् ।

वास्तवमा त्यो गीतको सृजना रोबर्ट सुब्बाले गरेका थिए । सृजना त गरे तर पूर्णता भने दिन सकेका रहेनछन् र त्यसलाई पुरु थापाले शब्दहरू थपेर पूर्णता दिए । त्यसपछि सुवर्ण लिम्बुले त्यसलाई अझ परिस्कृत बनाए । अनि मात्र यो गीत रेकर्ड भएको थियो । यो गीत यति धेरै लोकप्रिय भयो कि ओमविक्रमको नाम चारैतिर फैलियो । ‘त्यो गीतले सांगीतिक क्षेत्रमा एउटा रिभोलुसन नै ल्याइदियो भने पनि हुन्छ । तर मसित ईष्र्यालु भाव राख्नेहरूले भने मलाई नेपाली सुगम संगीतलाई बिगार्यो भन्ने आरोपसमेत लगाए । रेडियो नेपालमा चुकरी लगाएर मलाई रेकर्डिङ डेट नदिने वातावरणसम्म बनाई दिए । म कलेजका कक्षाहरू छोडेर रेडियो नेपाल जान्थें । तर तिनीहरूले मलाई भोलिभोलि भन्दै पन्छाउने गर्न थाले’, सफलतापछिको संघर्षपूर्ण दिन सम्झँदै ओमविक्रले भने– ‘रेकर्डिङका लागि डेट दिइहाल्यो भने पनि रेकर्ड भइरहेको बेला आएर बेस गिटारको आवाज ठूलो भयो भनेर हुन्छ कि ड्रमको आवाज चर्को भयो भनेर तगारो हाल्ने पनि गरे । वास्तवमा मैले गाउने गीतमा अलि चर्कै म्युजिक चाहिन्थ्यो ।

मलाई अनावश्यक रूपमा दुःख दिने प्रयास गरे । तर म ती सब अवरोध सहँदै गीत रकेर्ड गर्थें । गीत आएपछि त्यसले बजारै पिट्थ्यो । मेरो गीत हिट हुन थालेपछि विस्तारै त्यस्ता मान्छेहरू मप्रति आकर्षित हुन थाले ।’ अरू भए हतास हुन सक्थे, तर उनले त्यसको डटेर सामना गरे । ‘मलाई मेरो सृजनामाथि विश्वास थियो । मैले आफूले चाहेजस्तै गाएँ । चाहेजस्तै गीत कम्पोज गरें । इन्स्ट्रयुमेन्ट बजाएँ । धेरैले तगारो हाले पनि म डगमगाइनँ । पछि त नातिकाजी, शिवशंकर दाइहरूले पनि मलाई मैले बजाए जस्तै इन्स्ट्रयुमेन्ट बजाउनका लागि बोलाउन थाले । मैले पनि गएर बजाइदिएको छु । उहाँहरूको संगीतमा बनेको कैयौं गीतमा मैले गिटार बजाइदिएको छु ।

स्वर सम्राट् नारायण गोपालका केही गीतमा पनि मैले इन्स्ट्रयुमेन्टहरू बजाइदिएको छु । म गिटारिस्ट पनि भएकाले गिटार बजाउन बोलाउँथे । रिदममा म असाध्यै राम्रो छु । अरूहरू पनि गिटार बजाउँथे । रिदममा अरू पनि राम्रै थिए होला, तर मेरो टेक्निक बेग्लै थियो । अरू प्लाटोर्मले बजाउँथे म औंलाले नै हान्थें । औंलाले बजाउने कलामा म राम्रो थिएँ र त्यसको प्रभाव पनि राम्रो सुनिन्थ्यो’ –उनले अलिखिती इतिहास खुलाउँदै सुनाए । उनले स्वर सम्राट् नारायण गोपालका म त लालीगुराँस भएछु, मान्छेको माया यहाँ, मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छजस्ता गीतहरूमा  वाद्यवादकका रूपमा आफ्नो कलाको अंश प्रस्तुत गरेका रहेछन् । उनले प्रायः जसो आफ्नै कम्पोजमा गीत गाएका छन् भने राम थापाको संगीतमा मेरो याद अझै आउँछ भने अनि अरूण थापाको संगीतमा जिन्दगीको दोबाटोमाजस्ता अत्यन्त लोकप्रिय भएका छन् । उनको सांगीतिक यात्रामा संगीतकार प्रकाश गुरुङ पनि सहयात्रीका रूपमा सहभागी भएपछि भने आफ्नो सांगीतिक यात्रामा प्रभावकारी मोड आएको अर्थात् टर्निङ प्वाइन्ट भएको उनी स्विकार्छन् । प्रकाश गुरुङको संगीतमा उनले गाएका गीतहरू पनि एकसे एक सावित भए ।

सुन चाँदीभन्दा महँगो यो ज्यानलाई, मेरो रहर ब्युँझेर, नभनी देऊ मेरो ओठको लाली तीमध्ये केही हुन् । ‘उहाँको संगीतमा एउटा पृथक् शैली छ । जुन मलाई असाध्यै मन परेको थियो । त्यसैले मैले, उहाँको संगीतमा गीत गाउँदै गएँ । जुन गीतहरू सुपर डुपर हिट नै सावित भए । मेरा लगातार ९८ वटा गीत सुपर डुपर हिट भए । सन् १९९० सम्म यो क्रम जारी नै रह्यो । त्यसपछि भने मेरो व्यस्तता भनेको नयाँ रेकर्डिङतिरभन्दा पनि म्युजिक कन्सर्टहरू गर्नेतिर बढ्न थाल्यो । सायद मैले जति कन्सर्ट त अरूले गरेका छैनन् होला । हङकङमा सबैभन्दा पहिला कार्यक्रम गर्ने नै म हुँ । त्यो पनि अहिले हो र, सन् १९७८ मा’ –आफ्नो सांगीतिक यात्रा वर्णन गर्ने क्रममा उनले खुलाए । सन् १९८० देखि १९८५ सम्म दार्जिलिङ, सिक्किम, क्यालिम्पोङ, ग्यांग्टोक, मिरिकलगायतका स्थानहरूमा धेरै सांगीतिक प्रस्तुतिहरू पस्के । नेपाली आप्रवासीहरूबीच उनको लोकप्रियता अवर्णनीय छ । भारतीय भूमिमा मात्रै होइन हङकङ, लन्डन, बु्रनाई र जापानमा समेत उनले आफ्नो सांगीतिक माधुर्यताबाट धेरैलाई मुग्ध पारे । यसै क्रममा उनी सन् १९९१ मा जापान पुगे ।

त्यहाँ उनले २४ वटा कार्यक्रम प्रस्तुत गरे । त्यति बेला धेरैले ओमविक्रम विष्ट त जापान मै भास्सिए समेत भन्न छोडेनन् । यस्ता आरोपहरूको प्रतिक्रियामा उनले भने– ‘हो भन्या ? मलाई त, ओमविक्रमले जापानमा कुखुराको भुत्ला भुत्ल्याएर बस्यो रे ? नेपालमा त कुखुरा भुत्ल्याउन तातोपानी तताएर भुत्ल्याउने मेसिन आइसकेको बेला जापानमा त्यसरी भुत्ल्याउनु पर्ला त ? ’ उनको भनाइअनुसार जापानमा उनी एक जना साथीको सहयोगमा टोकियोको सिन्सेन भन्ने ठाउँमा बसेका थिए । ओमविक्रम विष्ट लोकप्रियताको दौडमा धेरै अगाडि रहे पनि उनका एल्बमहरू भने त्यति धेरै बजारमा देखिँदैन । उनका गीतहरू संग्रहित गरेर निकालेका पहिलो रेकर्ड रत्न रेकर्डिङले निकालेको थियो । २०३३–३४ सालतिर निस्केको यो रेकर्डमा मेरो रहर ब्युँझेर, म सम्झन्थें, हर रात मीठा स्वप्नहरूमा र सुन चाँदीभन्दा महँगो यो ज्यानलाई साँचेर राखुँ गरी जम्मा चार गीत थिए । ‘मेरो त्यो रेकर्ड पनि सुपर डुपर हिटै भएको रेकर्ड हो । त्यो त यति धेरै बिक्यो कि त्यसको हिसाबै छैन । त्यति बेला रत्न रेकर्डिङका जीएम गणेश रसिक हुनुहुन्थ्यो । उहाँले मेरो गीतको रेकर्ड धेरै बिक्री भएकाले मलाई तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र सरकारबाट पुरस्कारै दिन लगाउँछु भन्नुभएको थियो । तर त्यो दिन आएन । पछि जीएम फेरिएर दीपक जंगम आउनुभयो । फेरिएको जीएमसँगै पुरस्कारको कुरा पनि फेरिन पुग्यो’ –उनले गुनासो गरे ।

मुनाफा नपाएपछि आफैं बिक्री गर्छन् एल्बमनेपालको संगीत बजारलाई व्यवस्थित रूपमा अगाडि बढाउने उद्देश्यले सन्तोष शर्माको प्रयासमा खोलिएको म्युजिक नेपाल कम्पनीले निकालेका शुरू शुरूका एल्बममध्ये ओमविक्रम विष्टको संगीत सरिता पनि एक हो । हुन त ओमविक्रम विष्टका लोकप्रिय गीतहरू संग्रहित गरेर दर्जनौं एल्बम निस्केका छन् । तीमध्ये केही एल्बमले अत्याधिक बिक्रीको कीर्तिमान पनि राखेका छन् । ‘तर जति बिक्री भए पनि त्यसको लाभ आफूले पाउन नसकेपछि पछिल्ला दिनहरूमा मैले एल्बमहरू आफैं विदेशमा लगेर बेच्ने गरेको छु । त्यसैले यहाँ त्यति धेरै देखिँदैनन् मेरो एल्बमहरू । मैले आफैँले बेचेपछि पाइरेसी हुने डर पनि भएन । जति उठ्छ, त्यो सिधै मेरो हातमा पर्छ ।

कसैसँग हिसाबकिताब पनि गरिरहनु परेन’, ओमविक्रले सुनाए– ‘हेर्नोस् न, चार पाँच लाख थानसम्म एल्बम बिक्री भयो भन्छन् । एउटाको एक दुई रुपियाँ मात्रै दिने हो भने पनि मैले दश लाख रोयल्टी पाउनुपर्ने हो । खै त पाएको ?’ त्यसो भए गायक वा भनौं संगीतकर्मीहरू आर्थिक रूपमा घाटैमा छन् त ? ‘म त सधैं घाटामा नै हुन्थें । मैले गीत रेकर्ड गर्दा कहिल्यै कञ्जुस्याइँ गरिनँ । म्युजिसियनहरूलाई पनि रामै्र गर्थें, इन्स्ट्रयुमेन्ट पनि चाहिए जति ल्याउँथें । रेडियो नेपालमा भएका इन्स्ट्रयुमन्टले कहिल्यै चित्त बुझाइनँ । गीतको स्तर बढाउनका लागि मैले अमेरिकाबाट वाँ वाँ भन्ने ग्याजेटसम्म पनि मगाएँ । वास्तवमा भन्ने हो भने रेडियो नेपालमा इलेक्ट्रोनिक ग्याजेटहरू प्रयोगको शुरूआत नै मैले गरेको हुँ ।

नत्र त त्यहाँ भएको हार्मोनियम, तबला, मादल र गिटारले चल्थ्यो । मैले प्रपर ड्रमको चलन शुरू गरें । इलेक्ट्रोनिक गिटार चलाएँ । खर्चको कहिल्यै पर्वाह गरिनँ । अनि घाटा मलाई नभए कसलाई हुन्छ त ?’ –उनी प्रतिप्र्रश्न गर्छन् । कि त्यसो भए यो क्षेत्र आर्थिक रूपमा ठीक छैन त ? कि यसमा लाग्नेहरूले कमाउन सक्दैन त ? ‘हामीले कमाउने भनेको स्रोताहरूको माया हो । हामी जहाँ गए पनि स्रोताहरूको अगाध माया पाउने गर्छौं । त्यो नै हामीले कमाएको सम्पत्ति हो । जहाँसम्म आर्थिक कुरा छ, त्यसमा के छ भने रेडियो नेपालले दिने पािरश्रमिक वा एल्बम बिक्रीबाट आउने रोयल्टीको आश गर्ने हो भने केही हुनेवाला छैन । स्रोताहरूकै मायाले गर्दा कन्सर्टहरू सुपर डुपर हुने गरेका छन् । त्यसैबाट अलि अलि भरथेग हुने गरेको छ ।’ नेपाली सांगीतिक क्षेत्रमा आधुनिकताको क्रान्तिको बिगुल फुकेका गायक ओमविक्रम विष्टले गीत गाएर कमाएको पहिलो आम्दानी २० रुपियाँ रहेछ ।

‘रेडियोमा गीत रेकर्ड भएबापत पाएको त्यो बीस रुपियाँ मैले कति वर्षसम्म त खर्च नै गरिनँ । किताबभित्र च्यापेर राखें ।’ पहिलो कमाइको कथा सुनाए उनले । अहिले सक्रिय रूपमा संगीतमा नलागे पनि आफू यो क्षेत्रबाट कहिल्यै टाढिएर बस्न सकिन्न भनी भन्ने ओमविक्रम विष्टले गत वर्ष लन्डनको विश्व विख्यात थिएटर रोयल अल्बर्टमा दीप श्रेष्ठ, योगेश्वर अमात्य, जेम्स प्रधानलगायतका गायकहरूसित नेपाली सांगीतिक कार्यक्रममा सहभागी भएका थिए । हाल अमेरिकामा नै बढी बस्ने गरेका ओमविक्रम विष्ट त्यहाँ आयोजना विभिन्न म्युजिकल कन्सर्टमा पनि सांगीतिक स्वाद पस्किँदै आएका छन् । उनले धेरै अगाडि नै पप सम्राट्को दर्जा पाएका थिए । अहिले पनि एक जना गायकले आफूलाई रियल पप किङ भन्ने गरेको सन्दर्भमा, ‘होइन, यसमा मैले के नै भन्न मिल्छ र ? मैले मलाई पप किङ भन भनेर कसैलाई भनेको थिइन । त्यो त आफसे आफ सबैले एकै स्वरमा भन्ने गरेको हो । अब कसैले आफूलाई पप किङ भन्नु वा रियल पप किङ भन्नु ठीक होइन । त्यो त सबैले त्यस्तो महसूस गरेपछि आफसेआफ भनिन थाल्ने कुरा हो । आफैंले भनेर कहाँ हुन्छ ?’ –उनी भन्छन् । कुनै बेला अत्याधुनिक संगीतका जनक मानिने ओमविक्रमलाई पछ्याउँदै पपमा रमेका भीम तुलाधर, सञ्जय श्रेष्ठलगायत नवीन के. भट्टराई, दीपक वज्राचार्य, सुकमित गुरुङ, सुगम पोखरेल अनि हरिश माथेमा र सुनिल उप्रेतीले धेरै हदसम्म पप गीतको बिँडो थामेको जस्तो लाग्छ भने आफू दीप श्रेष्ठ, उदितनारायण झा, प्रकाश श्रेष्ठ, दीपक खरेलजस्ता समकालीन गायकहरूको प्रशंसक भएको ओमविक्रम बताउँछन्। विशेष गरी पुराना गायकहरूमा बच्चु कैलाश नारायण गोपाल र प्रेमध्वज प्रधान जस्ता त अहिलेसम्म कोही आएको छैन भन्दै उनले नयाँ पुस्ताका गायकहरूमा हेमन्त राणा र श्रेया सोताङ आफूलाई मनपर्ने बताए ।


जनयुद्धले दिएन पत्नीको मुख हेर्नओमविक्रम गीत संगीतमा पुर्याएको योगदानको कारण थुपै्र पदक र पुरस्कारहरू जितेका थुप्रै सम्मानबाट सम्मानित भइसकेका सांगीतिक धरोहर हुन् । सन् १९९२ मा मलेसियामा सम्पन्न वल्र्ड म्युजिक अवार्डमा नेपालका तर्फबाट कान्छीलाई घुमाउने काठमाडौं शहर गीत प्रस्तुत गरेर उनले गोल्डेन काइट अवार्ड पनि जितेका छन् । ‘वास्तवमा यो गीतमा प्रकाश श्रेष्ठ, मीरा राणालगायतका अरू गायकहरूको पनि स्वर छ । त्यसैले गोल्डेन काइट अवार्ड मैले भन्दा पनि हामीले जितेको अवार्ड हो । अझ भनौं भने त्यो त देशले जितेको अवार्ड हो ।

मैले जितेको व्यक्तिगत अवार्ड होइन’, उनी महानता देखाउँछन्– ‘राज्यले कलकारलाई गहना भन्ने मात्र होइन साँच्चै नै अलंकार योग्य बनाउने नीति ल्याउनुपर्छ । म ओमविक्रम विष्ट सिनियर हुँ, मलाई सम्मान चाहियो भनेको होइन कि सबै कलाकारलाई राज्यले आवश्यक संरक्षण दिनुपर्छ मात्र भन्न खोजेको हुँ । कलाकारलाई सम्मानपत्र, पदक र दोसल्लाको लादेर मात्र हुँदैन । मलाई मेरो पुर्खौली सम्पत्तिले पुग्ला । तर यहाँ कति यस्ता कलाकार छन्, जो अज्ञात अवस्थामा बाँची रहेका छन् । त्यस्ता कलाकारको उचित हेरचाह गर्नका लागि सम्बन्धित संघसंस्थाले पनि ध्यान दिनुपर्छ । आ–आफ्नो मान्छेलाई पदक दिलाउन सिफारिस गर्ने मात्र होइन। सबैको मर्कामा मलम लगाउन अगाडि बढ्नुपर्छ ।’पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपछि तिनीबाट जन्मेका चारै सन्तान आफूसित राखेका ओमविक्रम विष्टका तीन छोरी र एक छोरा छन् । तीमध्ये हाल ललितपुरको इमाडोलस्थित घरमा एक छोरा शिखर र छोरी पुनम उनको साथमै बस्छन् भने एउटी छोरी अमेरिका र अर्की अस्ट्रेलिया बस्छन् । पहिलो पत्नीसँग पारपाचुके भएपछि ओमविक्रमले फ्लोरा प्रधानसँग दोस्रो विवाह गरे । तर दैवको लीला अगाडि कसैको केही लाग्दैन भने जस्तै उनको दोस्रो पत्नीको केही वर्ष अगाडि निमोनियाले च्यापेर असामयिक निधन भयो । श्रीमती रोगले थलिएको खबर पाउँदा उनी नेपालयको नेतृत्वमा देशमा चलेको म्युजिक कन्सर्टका सिलसिलामा चरिकोटमा थिए । माओवादी जनयुद्ध चर्किरहेको समय थियो । त्यसैले कहीं जना आउन बाटोमा ठूलो संकट व्यहोर्न पर्ने अवस्था थियो । त्यस्तो बेला आफ्नी श्रीमतीको मुखसम्म पनि हेर्न पाएनन् । उनी पुग्दासम्ममा उनकी श्रीमतीले यो संसार त्यागी सकेकी थिइन् । श्रीमतीको असामयिक निधनपछि बिरक्तिएका ओमविक्रम विष्टले आफ्नो भएभरको विरक्त आफ्नो गीतमार्फत पोखे । श्रीमतीकै सम्झनामा फ्लोरा भन्ने एल्बम पनि निकाले । त्यही एल्बमका गीतमध्ये एउटा गीतको म्युजिक भिडियो पनि बनाए ।

म्युजिक भिडियोमा सेटिङ ⁄अहिलेको संगीत क्षेत्रमा म्युजिक भिडियोले प्रभुत्व जमाएको क्षेत्र हो । यहाँ गीत हिट हुन अहिले म्युजिक भिडियो नभई हुँदैन भन्ने अवस्था छ तर उनलाई यो कुरा त्यति जचेको छैन । ‘गीत भनेको सुन्ने हो नि, सुनेर रमाउने हो नि ? म्युजिक भिडियो बनाउनुपर्छ भन्ने कुरा ठीक होइन । त्यो पनि गायक आफैंले खर्च गरेर म्युजिक भिडियो बनाउनु त गाह्रै हुन्छ नि’ –उनको भनाइ छ । विष्टका केही गीतका म्युजिक भिडियोहरू पनि ज्यादै नै लोकप्रिय भएका छन् । अहिले उनी आफ्नो नयाँ एल्बम मनको कुरामा भएको एउटा गीतको म्युजिक भिडियो हातमा लिएर बसेका छन् । यसको सुटिङ पनि थाइल्यान्डमा गरिएको छ । तर कुनै च्यानलले नबजाएकोमा उनी दुःखी छन् र भन्छन्– ‘भेटे जतिलाई दिएँ, तर बजेन । खै के के सेटिङ मिलाउनुपर्ने हो कि ? मलाई त त्यस्तो कला आउँदैन । कलाकारको काम सृजना गर्ने हो । चाकडी गर्ने वा सेटिङ मिलाउने होइन । तर मैले त्यस्तो नगरेकै कारण मलाई इग्नोर गरी रहेका छन् ।’ उनको गुनासो थियो । हाल इमाडोलमा बस्दै आएका ओमविक्रम विष्टको दिनचर्या भनेको घरमै बस्ने र औषधि खाने भइरहेको छ । केही समयअघि अलि अवस्वस्थ भएपछि हाल आयुर्वेदिक औषधि सेवन गर्दै आइरहेका ओमविक्रमको स्वास्थ्य स्थीति अहिले सुधारिएको अवस्था छ । उनलाई केही समय अगाडि दमले छोएको थियो । जुन अहिले निको हुने अवस्थामा पुगी सकेको छ ।

भुल्न नसक्ने पलहरू
– हामी बनेपाको एउटा चोकमा भइरहेको सांगीतिक कार्यक्रममा थियौं । त्यति बेला काठमाडौं उपत्यका बाहिर त्यस्तो खालको खासै कार्यक्रम हुँदैनथ्यो । अहिले जस्तो फलामे मञ्च बनाउने चलन आई सकेको थिएन । ड्रमहरू राखेर त्यसमाथि काठको फ्ल्याक मिलाएर मञ्च तयार गरिन्थ्यो । केही गायक गायिकाहरूले गीत गाइसकेका थिए भने केहीको गाउने पालो आउन बाँकी थियो । पालो मेरो आयो । मैले जोसिएर गीत गाएँ । मेरो जोसलाई साथ दिँदै इन्स्ट्रयुमेन्टल टिमले पनि ठूलो उत्साहका साथ आ–आफ्नो बाजा बजाउँदै नाच्न थाले । हामीहरू यति जोसले नाच्यौं कि मञ्च त असन्तुलित भएर ड्याम ुड्युम लड्यो । म त पछारिएर सडकमा बज्रिन पुगें । मलाई त खासै चोट लागेन तर अरूलाई भने नराम्ररी चोट लाग्यो । – सन् १९९१ को कुरा हो । हामी दार्जिलिङमा कन्सर्ट गर्न गएका थियौं । हाम्रो कार्यक्रम दार्जिलिङको भानु भवनमा भएको थियो । यो वास्तवमा तीन दिनको लागि मात्र निर्धारित थियो । तर दर्शकको अनुरोधमा एक एक दिन थप्दै सात दिनसम्म शो भइसकेको थियो । आठौं दिन हामी सबै रिल्याक्स मुडमा थियौं । काठमाडौं फर्कनु अघि दार्जिलिङमा भेटघाट र घुमघामको क्रम चल्दै थियो ।

मलाई पनि एक जना परिचित कहाँ लन्चका लागि बोलाएकाले उतै गएको थिएँ । लञ्चपछि रमझम गर्दै अलि अलि भन्दै अलि धेरै नै ड्रिंक गर्न भ्याइसकेको थियो । साँझको सात पनि बजिसकेको थियो । त्यतिकै आयोजकमध्येकै एक जना भाई हस्याङफस्याङ गर्दै मलाई खोज्दै आइरहेको अवस्थामा भेट भयो– ‘औ, दाजु कहाँ हराउनु भाको, तपाईं ? खोज्दा खोज्दा हैरान भइसक्यौं । जाऊँ जाऊँ दाजु कन्सर्ट शुरू भइसकेको छ । त्यहाँ मान्छेहरू ओमविक्रम ? ओमविक्रम ?? भनेर कराएर हैरान पारी सक्यो ।’ उसको कुरा सुनेर म त छानाबाट खसे सरह भएँ ।

मलाई त्यो दिन पनि कार्यक्रम थपिएको छ भन्ने कुरा कसैले भनेको थिएन । नशाको मात कायमै थियो । अब परेन त फसाद ? के गर्ने होला ? कसरी गर्ने होला कन्सर्ट ? भनी मनमा खेलाउँदै भानु भवन पुगें । त्यहाँ हो हल्ला मच्चिरहेको थियो । त्यो हल्ला शान्त पार्ने उपायबारे सोच्न थालें र म्युजिसियनहरूलाई तयार पार्न थालें । अरू बेला भए अरू अरू गीतबाट शो शुरू गर्थें तर त्यो दिन म मौनतामाबाट स्टार्ट गरें दर्शक मन्त्र मुग्ध भए । – आठौं दिन पनि शो हाउसफुल नै गयो । फेरि दिन थपिने भयो । शो गर्न हामी हलमा पुग्यौं । सबैजना रेडी नै थिए तर त्यहाँ अर्को एउटा संकट आइलाग्यो । हाम्रो टोलीको निरञ्जन वज्राचार्य भन्ने एक जना गिटारिस्ट नै त्यहाँ थिएन । लौ फेरि अर्को आपत् पर्यो । त्यो त खै कोसँग ठाकठुक परेकाले रिसाएर हिँडिदिएछ । अघिल्लो दिन मलाई खोज्न गएजस्तै त्यो निरञ्जनलाई खोज्नतिर सबै लागे । त्यो त काठमाडौं जाने भनेर बस पो खोज्दै रहेछ । त्यसलाई बल्लबल्ल सम्झाएर कन्सर्टमा ल्याइयो ।– बाहिरतिर प्रोग्राममा जाँदा एक एक दिन थप्दै दश दिन पुग्नु भनेको सामान्य थियो । मिरिकमा नौ दिनपछि कार्यक्रम टुंगिने कुरा भयो । नवौं दिनको कार्यक्रम सिध्याएर राति होटेल पुगेका थियौं । होटेलवालालाई खाना अर्डर गरेर बसेका मात्र के थियौं आयोजन भीमदाइ अत्तालिएर हस्याङफस्याङ गर्दै आए– ‘लौ न बित्यास पर्यो ओमभाइ । मान्छेहरूले मार्न लाग्यो मलाई ?’ उसको कुरा मैले बुझ्न सकिरहेको थिएन । पछि उसैले क्लियर्ली भने कि मिरिकमा ओमविक्रम विष्टको कार्यक्रम सकिएको भन्ने थाहा पाएर त्यहाँका हेर्न नपाएका अरू दर्शक ओमविक्रमको कन्सर्ट हेर्नुपर्यो भनेर ओइरिएको पो रहेछ । त्यसैले भीम दाइ हामीलाई एक दिन बढी बसिदिन अनुरोध गर्न आएको रहेछ । एक दिन बढी बस्नु हामीलाई सम्भव थिएन । किनकि अर्को दिन हामीलाई अर्कै ठाउँमा पुग्नुपर्ने थियो । तर मिरिकमा हामीले कन्सर्ट हेर्न पाउनैपर्छ भन्ने नाराबाजी नै भयो ।

अनि त्यही राति भए पनि एक शो गर्ने गरी कुरा मिलाएँ । र राति बाह्र बजेबाट शो शुरू गर्यौं । त्यो शो दुई साढे दुई बजेसम्म चल्यो । त्यसपछि बल्ल होटेल गएर खाना खान पायौं । हामी त थाकेर लखतरान नै हुन पुग्यौं । – के घर के डेरा फिल्मको गीत रेकर्ड गर्न हामी भारतको कलकत्ता गएका थियौं । हामीसित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कुमार बस्नेत, तारा थापा पनि थिए । त्यहाँ स्टुडियोमा धमाधम गीत रेकर्ड भइरहेको थियो । मेरो पालो आउँदा बेलुकीको नौ बजिसकेको थियो । को हो त्यो जसले मलाई मोहनी लगायो गीतको रेकर्डिङ थियो । मैले नि राम्रै गाइरहेको थिएँ । बजाउनेहरूले पनि राम्रै बजाइरहेका थिए । तर टेक भने ओके हुन सकेन । किनभने तारा थापाले, ह्वाइ डन्ट यु आस्क यु लभ भन्नु भने ठाउँमा योर लाइभ पो भनेछन् । धेरै टेक भइसकेको थियो । बाजा बजाउनेहरू पनि थाकेर चुरचुर भइसकेको थियो । ल भैगो अर्को दिन गरुँ भन्ने स्थिति पनि थिएन । किनकि त्यो स्टुडियो अरू दश बाह्र दिनसम्म खाली थिएन । त्यसैले जसरी भए पनि रेकर्ड गर्नै पर्ने स्थिति थियो । बल्लबल्ल २९औं टेकमा ओके भयो ।

कलकत्तामा बिहानको सूर्योदय पनि भयो । – सन् २००० (२०५७ साल) मा चितवनको सौराहमा मिलेनियम म्युजिक कन्सर्ट चलिरहेको थियो । त्यसै बेला दिउँसो तत्कालीन युवराज दीपेन्द्रले मलाई मिलेनियम म्युजिक अवार्ड दिनुभएको थियो । बेलुकी हामी कन्सर्ट दिइरहेका थियौं । मज्जाले गइरहेको थियो तर अनायास त्यहाँ भागदौड मच्चियो । सबै भागाभाग भए । हामी पनि स्टेज छोडेर भाग्यौं । कोही किन भागिरहेको छ भन्ने नै कसैले बुझ्न भ्याएको थिएन । सबै भागेपछि पो देख्यौं कि हाम्रो अगाडि त अजम्मको गैंडा पो उभिएको रहेछ । गैंडा भगाउन अनेक उपाय गरियो । गाउँलेहरूले ढोल ठटाउने र मसाल बाल्ने गरेपछि बल्ल गैंडा राप्ती तरेर पारितिर लागे । अनि फेरि कन्सर्ट कन्टिन्यु भयो । – गायक अरुण थापा मेरो मिल्ने साथीहरूमध्ये पर्थे । उनको निधनले म ज्यादै दुःखी भएको थिएँ । उनको शव यात्रामा हजारौंको भीड उर्लेको थियो । म अरूण थापाको पार्थिव शरीर राखेको गाडीमा थिएँ । गाडीको पछाडि पछाडि भीडै थियो । त्यही भीडबाट एक जना केटो ‘अंकल अंकल’ भन्दै मलाई बोलाउँदै थिए । मैले उसलाई पुलुक्क हेरें । त्यो त कलाकार लछु सिंहको छोरो जस्तो लाग्यो । त्यसले ‘अंकल, म पनि गाडीमा बस्छु’ भन्दै थियो । मैले हुँदैन हुँदैन भने । भीड धेरै थियो । त्यसपछि त्यो केटो कहाँ गयो भन्ने कुरा यादै भएन । १५–२० दिन जतिपछि लछु सिंहको दाजु मोहन सिंहसँग भेट हुँदा मैले त्यो कुरा निकालें । मेरो कुरा सुनेर एकछिन मोहनसिंह छक्क परे र भने कि, ‘होइन होला ?’ मैले हो नै भनेर ढिपी गरेपछि पो उसले भने कि लछु सिंहको त्यो छोरो मरेको एक डेढ महिना भइसक्यो । म त जिल्ल भएँ । किनकि मैले देखेको त्यो केटो वास्तवमै लछु सिंहको छोरो नै थियो ।

प्रतिक्रिया दिनुहोस्