२०११ को लक्ष्य २०१७ मा पूरा हुँदै



 

दीपेन्द्र थापा, काठमाडौं

सन् २०११ मा पर्यटन वर्ष मनाएर वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य ६ वर्षपछि पूरा हुने संकेत देखिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य यसवर्ष पूरा हुने बताउनुभयो।

नेपाल पर्यटन वर्ष सन् २०११ मा १० लाखको लक्ष्य राखिएकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटन आएका थिए। सन् १९९८ मा ५ लाख पर्यटनले नेपाल भ्रमण गर्ने लक्ष्य लिएकोमा ४ लाख ६३ हजार ६ सय ७४ ले नेपाल भ्रमण गरेका थिए। अध्यागमन विभागका अनुसार सन् २०१७ को पहिलो ८ महिनामा ५ लाख ६६ हजार २ सय २१ पर्यटक नेपाल भित्रिएपछि यो लक्ष्य पूरा हुने सम्भावना बढेको हो।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ लाख ४२ हजार १ सय ६३ जना बढी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१६ को सोही अवधिमा ४ लाख २४ हजार ५८ पर्यटकले मात्र नेपाल भ्रमण गरेका थिए।

अध्यागमन विभागका शाखा अधिकृत कृष्ण सापकोटाका अनुसार दैनिक रूपमा पर्यटन आगमन बढ्ने क्रममा रहेको बताउनुभयो।

नेपाल पर्यटन बोर्डले १० लाख ५० हजारसम्म पर्यटनको आगमन हुने दाबी गरेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भन्नुभयो–‘आठ महिनामै ५ लाख ६६ हजार पुगेको अवस्था छ, अक्टोबर र नोभेम्बरमा पर्यटन आगमनको सिजन भएकाले पनि १० लाख पर्यटन पुग्छ।’ करिब १ लाख ५० हजार पर्यटक स्थलमार्गबाट आउने जोशीको अनुमान छ। बोर्डले विभिन्न देशका ३ सय जना टुर अपरेटर मिडियालाई नेपाल भ्रमण गराएको जसले गर्दा राम्रो प्रचारप्रसार भएको जनाएको छ। डिजिटल मार्केटिङका साथै नेपाल भ्रमणको विज्ञापनले समेत मद्दत पुग्दै गएको बोर्डको विश्वास छ। साथै बोर्डले गैरआवसीय नेपालीको सहकार्यमा नेपाल भ्रमण जस्ता कार्यक्रम गर्दै आएकाले पनि लक्ष्य पूरा हुने आधार रहेको दाबी छ।

पर्यटनविद् प्रचन्डमान श्रेष्ठले सन् २०१७ मा १० लाख पर्यटनको लक्ष्य राखिएको छ, करिब ९ लाख पर्यटन पुग्ने बताउनुभयो। सन् २०१२ मा सबैभन्दा बढी ८ लाख ३० हजार ९२ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए।

होटल क्षमताको ७५ प्रतिशतसम्म बुकिङ रहेको होटल संघ (हान) ले उल्लेख गर्दै सन् २०१७ मा १० लाख पर्यटक नेपाल भित्रिने अनुमान गरेको छ। सन् २०१६ मा ७ लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

जुन १ गतेदेखि ४ हिमालयन ट्राभल मार्ट २०१७ नेपालमा आयोजना हुनुले पनि पर्यटन प्रचार प्रसार भएर पर्यटन आवागमन बढेको जानकारहरूको भनाइ रहेको छ। जसमा ५३ देशका प्रतिनिधि उपस्थिति रहेका।

दशैं, तिहारको समय युरोपियन, अमेरिकन र अष्ट्रेलियन पर्यटक नेपाल आउने सिजन हो। धेरै गर्मी र धेरै जाडो नहुने भएकाले यो मौसममा उनीहरू नेपाल आउने गर्छन्। चाइनिज र जापानिज भने नेपाल नजिकै रहेको र हावापानी पनि धेरै फरक नपर्ने भएकाले जुनसुकै मौसममा पनि नेपाल आउँछन्।

सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने निर्णय साउन २९ गते बसेको मन्त्रिपरिषद्ले गरेको छ। सन् २०१८ मा नै मनाउने भने पनि तयारी पूरा नभएको भन्दै २ वर्ष पछाडि सारेको थियो। सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको रहेको उपाध्यायले बताउनु भयो।

पर्यटन विभागका अनुसार सन् २०२० सम्म थप १० वटा पाँच तारे होटल थपिँदै छन्। हालसम्म २ अर्ब ५० करोडको लगानी होटलमा रहेकोमा थप ३३ अर्ब लगानी हुँदैछ।सन् २०२० सम्म ४ हजार नयाँ बेड थपिँदै छन्। ४ हजार बेड थपिँदा कुल बेड क्षमता ४२ हजार पुग्ने भएको छ। हानका अनुसार ४ हजार बेडमध्ये २ हजार काठमाडौंमा थपिने छन्।

प्रतिक्रिया दिनुहोस्