संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि महोत्सव



पर्यटकीय गन्तव्य पोखरानजिक रहेको अन्नपूर्ण गाउँपालिकामा अवस्थित अन्नपूर्ण प्रथम हिमाल विश्वमै हिमाल आरोहणका दृष्टिमा जेठो हिमाल हो। यस पर्यटकीय गन्तव्यलाई विश्वसामु थप परिचित गराउन असोज २५ गतेदेखि ‘अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव–२०७४’ हुँदैछ। यसै सन्दर्भमा नेपाल समाचारपत्रका पोखरा प्रमुख टंकराज अधिकारीले महोत्सव मूल समारोह समितिका संयोजक ललित गुरुङसँग गरेको कुराकानी। 

अन्नपूर्ण सञ्चुरी पर्यटन महोत्सव गर्नुको कारण के हो ?

अन्नपूर्ण प्रथम हिमाल आरोहणको इतिहासमा विश्वकै जेठो हिमाल हो। विश्व इतिहासमै नेपालमा पहिलो पटक हिमाल आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्ष अन्नपूर्ण आरोहण दिवसका रूपमा विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ। वार्षिक रूपमा मनाइने यो कार्यक्रम अपेक्षाकृत प्रभावकारी हुन भने सकेको छैन। यो ऐतिहासिक पहिचानलाई जीवन्त राख्न र अन्नपूर्ण क्षेत्रको समग्र पर्यटकीय प्रवद्र्धन र विकासका लागि महोत्सव गर्न लागिएको हो।

अन्नपूर्ण हिमालका खास विशेषता के हुन् त ?

सर्वाेच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भए पनि आरोहणका दृष्टिले यो कठिन हिमाल हो। विश्वमै सबैभन्दा ‘जेठो हिमाल’ का नामले उल्लेख्य चर्चा भए पनि आरोहणका दृष्टिले भने यसको खासै चर्चा हुन सकेको छैन। ‘किलर माउन्टेन’ का नामले यस हिमालमा विश्वकै १० उत्कृष्ट पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण पदयात्रा मार्ग पनि जोडिएको छ।

अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको शुरूआत कसरी भएको हो ?

अन्नपूर्ण पदयात्रा मार्गअन्तर्गतको अन्नपूर्ण आधारशिविरको पदयात्रा मार्गका योजनाकार बेलायती नागरिक कर्णेल जिम्मी रवर्टस् हुन्। सन् १९६५÷६६ मा जिम्मी ब्रिटिश गोर्खा पल्टनको सेकेन्ड जीआरको कर्णेल पदबाट निवृत्त भएपछि अन्नपूर्ण आधारशिविरको पदयात्रा मार्ग लेखेका हुन्। यो पदयात्रा मार्गको पहिलो पदयात्री एरिक सिप्टन् हुन्। एरिकले सन् १९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए।

अन्नपूर्ण आधारशिविर समुद्री सतहदेखि ४ हजार एक सय ३० मिटरको उचाईमा अवस्थित छ। नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतले पदयात्रा र १० प्रतिशतले हिमाल आरोहण र २० प्रतिशत अन्य पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेको तथ्यांक छ।

समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा महोत्सव गर्नाको खास उद्देश्य के हो ?

नेपालमा यति ठूलो उचाई र हिमालको काखमा गरिन लागिएको सम्भवत् यो नै पहिलो महोत्सव हो। पर्यटन प्रबद्र्धनमा थप विकास र विस्तार गरी बढीभन्दा बढी पर्यटन भिœयाउनु महोत्सवको प्रमुख उद्देश्य रहेको छ। अन्नपूर्ण आधार शिविरमा पूर्वाधार विकास गरी पर्यटकको सहज र सरल गन्तव्यका रूपमा चिनाउनु नै हो। विभिन्न स्थानमा पर्यटक सूचना केन्द्र स्थापना गरी यो क्षेत्रको पदयात्रामा आउने पर्यटकको संख्यासमेत वृद्धि गर्नु पनि यसको उद्देश्य रहेको छ।

त्यस्तै पर्यटकको प्राथमिक उपचार तथा उद्धार केन्द्रको स्थापनासहित स्थानीय कला, संस्कृति र कृषिजन्य उत्पादनको बजारीकरण गरी अन्य पर्यटकीय गन्तव्यको पहिचान गरी साहसिक खेलको विकासमा पनि सहयोग पुग्ने अपेक्षा राखेका छौं। यस क्षेत्रमा बाह्रै महिना पर्यटक जान सक्ने गरी आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुग्ने अपेक्षा राखिएको छ।

अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको भ्रमण गर्ने पर्यटकको पछिल्लो तथ्यांक के छ ?

अन्नपूर्ण वेसक्याम्पमा पदयात्रा गर्ने विदेशीको संख्या गत वर्षको तथ्यांकअनुसार २८ हजार ५ सय ३१ रहेको छ। एउटा विदेशी पदयात्रीसँग गाइड र भरिया गरी २ जना साथमा रहन्छन्। यस हिसाबले वार्षिक डेढ लाखदेखि २ लाखको हाराहारीमा बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गरेका छन्।

महोत्सको उपलब्धि कस्तो हुने अपेक्षा गर्नुभएको छ ?

महोसत्व अवधिमा मात्र करिब २ लाख आन्तरिक तथा बाह्य पर्यटकले यस क्षेत्रको भ्रमण गर्ने हाम्रो अनुमान छ। यहाँका होटलको स्तरोन्नति, क्षमता तथा गुणस्तर वृद्धि र अत्यावश्यक पूर्वाधार निर्माण हुने र अहिले यस क्षेत्रमा घुम्न आउने पर्यटकका समस्या हल हुने छन्। त्यस्तै पहिचान हुन बाँकी पर्यटकीय गन्तव्य विकास र विस्तार हुनेछ। त्यस्तै यस क्षेत्रका हिमाल चढ्ने हिमाल आरोहीको संख्या वृद्धि हुने र समग्र अन्नपूर्ण गाउँपालिकाको पर्यटन क्षेत्रको विकास हुने महोत्सवका अपेक्षित उपलब्धि हुन्।

महोत्सवमा मुख्य क्रियाकलाप के के राखिएका छन् ?

महोत्सव ३ चरणमा सम्पन्न गरिने छ। प्रथम चरणअन्तर्गत असोज २५ गते नेपाल सरकारका १ मन्त्रीबाट अन्नपूर्ण आधार शिविरमा उद्घाटन हुने छ। महोत्सवको उद्घाटनसँगै अन्नपूर्ण प्रथमका प्रथम आरोही मौरिस हर्जोगको अर्धकदको शालिक शिलान्यास गरिने छ। त्यस्तै हिमाली तथा लेकाली जडिबुटीको परिचय सहितको स्टल अवलोकन, हेलिकप्टरबाट अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावोलकन, हिमालको ग्लासियर यात्रा तथा अवलोकन, परम्परागत होटल व्यवसायको इतिहास झल्कने फोटो प्रदर्शनी, हिमाली तथा लेकाली वन्यजन्तुको दुरवीनबाट अवलोकन गर्नुका साथै अन्नपूर्ण पदयात्रा मार्गको विकास गरी पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिने कार्यक्रम रहेको छ। त्यस्तै दोस्रो तथा तेस्रो चरणमा सांस्कृतिक कार्यक्रम तथा म्याराथन दौडसहितका विविध कार्यक्रमसहित महोत्सव सम्पन्न गरिने भएको छ।

 

ललित गुरुङ
संयोजक, अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७४

प्रतिक्रिया दिनुहोस्