फोरम र राजपाबीच चुनावी तालमेल,गठबन्धनमा सहभागी हुने



बीपी साह, काठमाडौं
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल भएको छ। चुनाव केन्द्रित गठबन्धनहरू निर्माण भएपछि मधेस केन्द्रित दललाई पनि एकीकृत हुन दबाब परेको थियो।

राजपा र फोरम नेपालबीच बिहीबार साँझबाट शुरू भएको छलफल शुक्रबार सहमतिमा पुगेको छ। सहमतिपछि राजपा संयोजक महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी तालमेलका बारेमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा आगामी चुनावमा तालमेल गर्ने भनिए पनि अन्य विषय खुलाइएको छैन।

राजपाका प्रवक्ता सन्तोष मेहताका अनुसार मधेसका जिल्लामा राजपा र फोरमले ५०÷५० प्रतिशत सिट बाँडफाँड गर्नेछ। मेहताले भन्नुभयो– ‘राजपा बलियो भएको स्थानमा राजपाले उम्मेदवार उठाउनेछ भने फोरम नेपाल बलियो भएको स्थानमा फोरमले उम्मेदवार उठाउनेछ।’ मेहताले प्राविधिक विषयमा छलफल हुन बाँकी रहेको बताउँदै समानुपातिक सिट र जिल्लागत सिटको बाँडफाँडका लागि समितिमा छलफल हुने बताउनुभयो।

एउटै चुनाव चिह्नबाट चुनाव लड्ने विषयमा छलफल भए पनि सहमति हुन सकेन। राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राजपा र फोरम नेपालबीच चुनावी तालमेल भएको छ। राजपा र फोरम आफै बलियो रहेको स्थानमा अरूसँग तालमेल हुँदैन। राजपा र फोरम नेपाल मिलेर पनि बलियो हुन नसक्ने स्थानमा अन्य दलसँग सहकार्य हुनसक्छ।’

महतोले राजपा र फोरमबीच तालमेल भए पनि लोकतान्त्रिक गठबन्धनसँग पनि सहकार्य हुने बताउनुभयो। उहाँले संयुक्तरूपमै लोकतान्त्रिक गठबन्धनमा सहकार्य हुने दाबी गर्नुभयो। यता फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवले राजपा र फोरम संयुक्तरूपमा चुनाव जित्न सक्ने स्थानमा दुई दलबीच मात्र सहकार्य हुने बताउँदै अन्य स्थानमा अन्य दलसँग पनि सहकार्य हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्