ल्यान्डफिल साइट पीडितले पाउन थाले क्षतिपूर्ति



ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले ओखरपौवा ल्यान्डफिल साइटका पीडित परिवारलाई ५० लाख रुपियाँ घर भाडा, जग्गा र बाटोको क्षतिपूर्ति दिन शुरू गरेको छ।

स्थानीयवासीले राखेको माग पूरा गर्ने पूर्वसहमतिअनुसार कामपाले क्षतिपूर्तिबापत उक्त रकम वितरण गर्न शुरू गरेको हो। करिब ३ सय घर परिवारको तथ्याङ्क संकलन गरी क्षतिपूर्तिबापत रकम वितरण गर्न शुरू गरेको हो।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रवीनमान श्रेष्ठले कामपा नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार क्षतिपूर्ति वितरण शुरू गरिएको जानकारी दिनुभयो। करिब तीन साताअघि स्थानीयवासीले आफ्ना माग पूरा नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान राखेपछि कामपाका उपप्रमुख हरिप्रभा खड्गीसहितको टोलीले स्थानीयवासीको माग पूरा गर्न सहमति गरेका थिए।

सोही सहमतिअनुसार क्षतिपूर्ति वितरण शुरू गरिएको श्रेष्ठले जानकारी दिनुभयो। १८ वटा स्थानीय निकायको फोहोर व्यवस्थापन हुने सिसडोल ल्यान्डफिल साइटको क्षतिपूर्तिबापतको रकम कामपा एक्लैले बेहोरेको हो। ‘कसैले रकम नदिने भनेपछि कामपा एक्लैले रकम दिने निर्णय गरेको हो।’ –श्रेष्ठले भन्नुभयो। क्षतिपूर्तिसँगै बञ्चरे डाँडामा ल्यान्डफिल साइट निर्माण गर्ने, फोहोरलाई व्यवस्थितरूपमा विसर्जन गर्ने, औषधि छर्कने, बाटो निर्माण र मर्मत गर्ने, लिचेड व्यवस्थापन गर्नेलगायतका विषयमा सहमति भएको थियो। ‘हामीले स्थानीयको मागअनुसार सम्पूर्ण काम गर्दै आएका छौं। माग पूरा भएपछि स्थानीयले समेत फोहोर व्यवस्थापन कार्यमा अवरोध नपुर्याउने जनाएका छन्।’ –उहाँले बताउनुभयो।
उता दशैं अवधिभर उपत्यकामा करिब १ हजार मेट्रिक टन फोहोर संकलन गरिएको कामपाले जनाएको छ।

दशैंमा पूर्णरूपमा फोहोर व्यवस्थापन गरिएको जानकारी गराउँदै विभाग प्रमुख श्रेष्ठले स्थानीय सिसडोलवासीको सहयोगको कारण दशैंमा फोहोर व्यवस्थापन सहज भएको जानकारी दिनुभयो। हाल काठमाडौंमा दैनिक करिब ८ सय मेट्रिक टन फोहोर संकलन हुने गरेको छ। सबै स्थानीय निकायको फोहोरको तथ्यांक अनुमान गर्दा उपत्यकासहित १८ वटा स्थानीय निकायबाट करिब १ हजार ४ सय मेट्रिक टन फोहोर संकलन हुने गरेको छ। सबै स्थानीय निकायले सिसडोल ल्यान्डफिल साइटमै फोहोर व्यवस्थापन गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्