राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण



 

नेपाल समाचापत्र
भक्तपुर
दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गर्नुभएको छ। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले अपराह्न मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गर्नुभएको हो।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पूजारी सुवर्ण वनमाला र नकी विजेश वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराउनुभएको थियो। नवदुर्गाका अर्का पुजारी जुलाल कर्माचार्यले राष्ट्रपतिलाई नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो।

राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणलाई जनही ५ सय ५ का दरले दक्षिणा दिनुभएको थियो। देवगणले भने आफूहरूको आर्थिक अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नु राष्ट्रपतिसमक्ष माग गरेका थिए।

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रहरी उपरीक्षक किरण राणा, सरकारी कार्यालयको कर्मचारीलगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो।
राष्ट्रपति भण्डारीलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको प्रसाद प्रदान गर्दै कुमारीको मासिक भत्ता बढाइदिन आग्रह गर्नुभएको थियो। कुमारीको मासिक भत्ता ३ हजार १ सय ५० रुपियाँ मात्रै भएको धेरै वर्ष भएकाले त्यसबाट गुजारा नचल्ने भन्दै भत्ता बढाउन आग्रह गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्