नेपाल सुन्दरीका विजेतालाई विदाइ



अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने विभिन्न विधाका नेपाल सुन्दरीलाई बुधबार एक कार्यक्रमकाबीच विदाइ गरिएको छ। आगामी अक्टोबर र नोभेम्बर महिनामा विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मिस नेपालका विजेतालाई विदाइका साथै सफलताका लागि शुभकामना पनि प्रदान गरियो।

मिस नेपाल अर्थ रोजिना श्रेष्ठले नोभेम्बर ४ मा फिलिपिन्सको मनिलामा हुने मिस अर्थ प्रतियोगितामा सहभागिता जनाउने छिन्। मिस नेपाल इन्टरनेसनल नीति शाहले नोभेम्बर १४ मा जापानको टोकियोमा हुने मिस इन्टरनसनल प्रतियोगितामा सहभागिता जनाउने छिन्। मिस नेपाल वल्र्ड निकिता चन्डकले नोभेम्बर १८ मा चीनको सान्यामा हुने मिस वल्र्ड प्रतियोगितामा सहभागिता जनाउने छिन्। त्यसै गरी मिस नेपाल युनिभर्स नगमा श्रेष्ठले नोभेम्बर २६ मा अमेरिकाको लस भेगसमा हुने मिस युनिभर्स प्रतियोगितामा सहभागिता जनाउने छिन्। मिस युनिभर्समा नेपालका तर्फबाट नग्मा श्रेष्ठले पहिलोपटक सहभागिता जनाउन लागेकी हुन्। त्यस्तै मिस नेपाल एसियाप्यासिफिक इन्टरनेसनल सहारा बस्नेतले मिस एसियाप्यासिफिक नोभेम्बर २९ मा फिलिपिन्सको मनिलामा हुने प्रतियोगितामा सहभागिता जनाउने छिन्।

कार्यक्रममा बोल्दै मिस नेपाल एसिया प्यासिफिक सहारा बस्नेतले आफ्नो लागि २०१७ निकै राम्रो रहेको बताइन्। ‘मिस नेपाल एसिया भएर नेपालका तर्फबाट सहभागिता जनाउन पाउँदा निकै खुशी लागेको छ’, –मिस नेपाल आयोजक हिडन ट्रेजरद्वारा राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा उनले भनिन्। नीतिले आफूले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि निकै मेहनत गरेको र यो आफ्नो लागि पनि अवसर भएको बताइन्। मिस नेपाल अर्थ रोजिना श्रेष्ठले मिस नेपालको विजेता हुनु आफैंमा चुनौती भएको चर्चा गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरिन्। कार्यक्रममा रोजिनाले तयार पारेको वृत्तचित्र पनि देखाइएको थियो। त्यही वृत्तचित्र फिलिपिन्सको मनिलामा हुने प्रतियोगितामा देखाइने जानकारी पनि गराइयो। ‘नेपालका तर्फबाट पहिलो पटक मिस युनिभर्समा भाग लिन पाउनुलाई चुनौतीसँगै अवसर पनि ठान्छु, –नग्माले भनिन्। त्यस्तै मिस नेपाल वल्र्ड निकिता चण्डकले यहाँसम्म आइपुग्दा आफ्नो यात्रामा संघर्ष र रोमाञ्चकताको मिश्रण भएको बताइन्। सबै सहभागीले उत्तिकै मेहनत गरेको र नेपाललाई गर्व हुने काम गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन्।

विदाइ कार्यक्रममा बोल्दै हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले आफ्नो संस्था सधैं राम्रो परिवर्तनका लागि अग्रसर रहेको बताए। विगत २३ वर्षदेखि हिडन ट्रेजरले मिस नेपाल आयोजना गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्