वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु



रामपुर, पाल्पा,अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गर्नुभएको छ ।

वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर बस्नुभएकी भण्डारीले अहिले कागती खेती शुरु गरेपछि अहिले उहाँ वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि गर्न थाल्नु भएको छ ।

भण्डारीले आजभन्दा चार वर्ष पहिले १० बोट कागतीबाट व्यवसाय शुरु गर्नुभएको हो । वर्षैपिच्छे व्यवसाय बढाउँदै गएपछि अहिले उहाँले बारीमा चार सय बोट कागती लगाउनुभएको र यसलाई बढाएर पाँच सय बोट पु¥याउने लक्ष्य लिनुभएको छ । भण्डारीले १५० बोट कागतीबाट झण्डै रू एक लाख ५० हजार बराबरको आम्दानी गरेको बताउनुभयो । घरबाटै प्रतिकेजी सयमा धमाधम कागती बिक्री भइरहँदा उहाँ आफँै व्यवसायमा दङ्ग पर्नुभएको छ । सबै बोट उत्पादनशील भएपछि वार्षिक रू २० लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

“विगतमा बारीभरि नै तरकारी, अन्नबाली, गेडागुडी लगायो, एक पाथी पनि स्याहार्नै पाइँदैनथ्यो, सबै बाँदर, दुम्सी, खरायो, मृगले खाएर सताउँथ्यो”, उहाँले भन्नुभयो, “बालीनाली लगाएपछि दिनरात बारीमै कुरेर बस्नुपथ्र्यो, अहिले कागती लगाएपछि वन्यजन्तुको डर पनि छैन आम्दानी पनि भइराखेको छ ।”
उहाँ मात्रै होइन गाउँका झण्डै २० कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका छन् । कागतीको बजार मूल्य राम्रो भएपछि यहाँका कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका हुन् ।

रासस

प्रतिक्रिया दिनुहोस्