ताजकिस्तानविरुद्ध खेल्ने टोलीको घोषणा



 

नेपाल समाचारपत्र
काठमाडौं
एएफसी एसियन कप छनोट चरणअन्तर्गत ताजकिस्तानविरुद्ध हुने अवे खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार टिमको घोषणा गरेको छ।

जापानी प्रशिक्षक ग्याटुको कोजुको सहयोगमा नेपाली राष्ट्रिय फुटबल टोलीमा परेका २३ खेलाडीको नाम सार्वजनिक गरेको हो। नेपालले यही असोज २४ गते ताजकिस्तानमा अवे खेल्ने कार्यक्रम रहेको छ। यसअघि नेपालमै खेलेको घरेलु मैदानमा नेपाल ताजकिस्तानसँग २–१ गोलअन्तरले हारेको थियो। चार टोली रहेको समूहमा नेपालको एक अंक मात्र रहेको छ।

छनोटको अर्को चरणको शुरुआत हुँदा हार वा बराबरीले नेपालको चुनौती लगभग समाप्त हुनेछ। समूहमा फिलिपिन्स ७ अंकसहित शीर्षस्थानमा, यमन ४ अंकसहित दोस्रो र ३ अंक जोडेको ताजकिस्तान तेस्रो स्थानमा छ। समूहका शीर्ष दुई टोली अर्को वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने एसियन कपको अन्तिम चरणका लागि छनोट हुनेछन्।
सो नामावलीमा अनिल गुरुङको नाम भने समावेश गरिएको छैन। चोटकै कारण अनिल २९ जना खेलाडीको प्रशिक्षणमा सहभागी भएनन्। गत महिना एन्फा मैदानमा खेलिएको खेलमा पनि ताजकिस्तानविरुद्ध अनिलले खेलेका थिएनन्। उनी ५०औं अन्तर्राष्ट्रिय खेल खेलेर करिअर समाप्त गर्ने योजनामा रहेका छन्। तर चोटका कारण उनको यो योजना सफल हुने छैन।

पछिल्लो पटक टोलीमा नरहेका गोलकिपर एलन न्यौपाने र मिडफिल्डर राजेन्द्र रावल यसपटक अन्तिम छनोटमा परेका छन्। घरेलु मैदानमा ताजकिस्तानसँग खेल्दा २३ भित्र रहेका गोलकिपर विशाल श्रेष्ठ र मिडफिल्डर सुमन लामा यसपटक भने अटेनन्। त्यस्तो मानबहादुर तामाङ विमल बस्नेत र रजिन धिमाल यसपटक पनि अन्तिम छनोटमा पर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्