विश्वको राजनीतिक इतिहासलाई केलाएर हेर्ने हो भने, संसारमै सबैभन्दा मिल्ने अनि तुरुन्तै झगडा गरेर छुट्टिने पार्टी हो कम्युनिस्ट पार्टी । वि.सं. २००७ देखि नेपालको इतिहासलाई पल्टाएर हेर्दा पनि कम्युनिस्ट जतिको पार्टी फुटेको शायदै अरु कुनै पार्टी होला । पछिल्लो समयमा सिद्धान्तभन्दा स्वार्थलाई प्राथमिकतामा राखेर अलग हुने मधेसका पार्टीहरुको कुरा बेग्लै भो । आश्चर्यको कुरा त के हो भने, कम्युनिस्टहरु एकता गर्दा पनि देश र जनताकै हितका लागि भन्छन् भने छुट्टिँदा पनि देश र जनताको भलाइकै लागि भनेर भाषण गर्न छाड्दैनन् । सारा नेपाली दशैँमा रमाइरहेको बेलामा आश्चर्यजनकरुपमा तीन वाम एक भएको घोषणा सभामा पनि पार्टीका तीनैजना प्रमुख नेताहरुले यो एकता देश र जनताको भलाइका लागि भनेका छन् ।

पत्रकार सम्मेलन भनिए पनि तीनै पार्टीका कार्यकर्ताहरुले खचाखच भरिएको राष्ट्रिय सभा गृहको हललाई हेर्दा कार्यक्रम पत्रकार सम्मेलनभन्दा पार्टीको घोषणा सभाजस्तो देखिन्थ्यो । दुनियाँमा कुनै पनि पत्रकार सम्मेलनमा नेताहरुले बोलिरहँदा पत्रकारहरु हर्षित भई ताली बजाउँदैनन् । सम्भवतः मंगलबार भएको नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको ६ बुँदे सम्झौता कार्यक्रममा उपस्थित प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस सोसाइटीका उत्साहित पत्रकारहरुको बाक्लो उपस्थितिले पनि तालीको गड्गडाहट सुन्न पाएको हुनसक्छ ।

सानो मुलुकमा च्याउभैmँ उम्रिएका पार्टीहरुका कारण देशले लामो समयदेखि अस्थिरता झेल्दै आइरहनुपरेको पीडालाई हेर्दा ठूला शक्ति मानिएका यी तीन पार्टीको विलयले एउटा मजबुत शक्तिको निर्माण हुन्छ कि भन्ने झीनो आशा त गर्न सकिन्छ । वाम पार्टीहरुको यो ध्रुवीकरणपछि नेपाली कांग्रेसले भनेभैmँ प्रजातान्त्रिक धारका पार्टीहरुलाई पनि एकठाउँमा ल्याएर भोलि नेपाली जनतालाई चुनावमा कम्युनिस्ट वा प्रजातान्त्रिक धारमध्ये एउटा छाने पुग्ने गरी सजिलो हुने हो भने त ठिक्कै छ । यसलाई स्वागतयोग्य नै मान्नुपर्छ । किनभने यस किसिमको संस्कारको विकासले लामो समयपछि नेपालमा राजनीतिक स्थिरता कायम हुने सम्भावना पनि बढेर जान्छ ।

तर, यहाँनिर शंका गर्नुपर्ने ठाउँहरु पनि प्रशस्तै देखिन्छन् । एउटै कम्युनिस्ट पार्टीमा आबद्ध नेताहरु त कहिल्यै मिलेका देखिँदैनन्, नेकपा एमालेमा हेर्ने हो भने पनि केपी ओली, माधव नेपाल र झलनाथ खनालको बोली एउटै आएको नेपाली जनताले अहिलेसम्म सुन्न पाएका छैनन् । पुरानो शक्तिले अब यो देश कुनै हालतमा बनाउन सक्दैन भन्दै नयाँ शक्ति बनाएका डा. बाबुराम भट्टराई फेरि यति चाँडै के देखेर पुरानै शक्तिमा विलय हुन खोजेका हुन् ? त्यो कुरा उहाँले पार्टी एकता हुने घोषणा सभामा स्पष्ट पार्न सकेका छैनन् । आफ्नै समर्थनमा बनेको केपी ओलीको सरकारलाई अविश्वास प्रस्ताव राख्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीमाथि लगाएका आरोपहरु र सरकारबाट हट्नुपरेको पीडामा प्रचण्डमाथि बर्सेका केपी ओलीका वाणहरुलाई यति चाँडै नेपाली जनताले बिर्सिसकेका होलान् जस्तो लाग्दैन ।

मंगलबार भएको वाम एकतामा अब मुलुक समाजवादतिर उन्मुख हुने कुरामा विशेष जोड दिइएको छ । अब नेपालमा बन्ने समाजवाद विश्वकै एउटा नयाँ मोडल हुने पनि दाबी गरिएको छ । यो अत्यन्तै राम्रो कुरा हो । वि.सं. २०४६ को पहिलो जनआन्दोलनदेखि अहिलेको गणतान्त्रिक नेपालसम्म आइपुग्दा नेकपा एमाले पार्टीबाट केपी ओली, माधव नेपाल र झलनाथ खनाल, माओवादी केन्द्रका पुष्पकमल दाहाल अनि नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईले समेत सरकारको नेतृत्व गरेर मुलुक हाँकिसकेका छन् । कम्युनिस्ट नेताहरुबाटै चलाएका यी कुनै पनि सरकारको पालामा समाजवादको गन्धसमेत चाख्न नपाएका नेपाली जनताले यो एकतापछि बन्ने सरकारबाट कुन मोडलको समाजवादको रसास्वादन गर्न पाउने हुन्, कार्यक्रममा स्पष्ट पारिएको छैन ।

अहिलेसम्म देखिएको नेपाली राजनीतिको सबैभन्दा कमजोर पक्ष भनेकै पार्टीका नेताहरुबीच एक–आपसमा विश्वासको कमी । पार्टी र नेताहरुबीच देखिने यस्तो अविश्वासकै कारण नेपाली राजनीति सजिलैसित विदेशीको हातमा पर्न गएको कुरामा अब कसैको विमति पनि छैन होला । यस्तो अवस्थाका बीच अप्रत्याशितरुपमा बनेको यो वाम एकता पनि भोलि गएर कुनै विदेशीको इशारा अथवा डिजाइनमा भएको प्रमाणित नहोस् । अहिलेलाई यही कामना गर्दै वाम एकतालाई हार्दिक शुभकामना ।

LEAVE A REPLY