दुई दलीय व्यवस्थाको नेपाली अभ्यास



 

बीपी साह, काठमाडौं
संयुक्त राज्य अमेरिका, जमैका र माल्टामा दुई दलीय व्यवस्थाको राम्रो अभ्यास भएको मानिन्छ। अमेरिकालाई विश्वको शक्ति राष्ट्रहरूमध्येको एक मानिएकाले त्यहाँको व्यवस्थामाथि अन्य देशहरूको नजर जानु स्वाभाविकै हो।

यीबाहेक केही अन्य मुलुकले पनि दुई दलीय व्यवस्थाको अभ्यास गर्न खोजेको पाइन्छ। ती मुलुकले दुई दल मात्र कायम गर्न नसकेपछि गठबन्धनमार्फत दुई दलीय राजनीतिक स्थिति सृजना गर्न खोजेको देखिन्छ। भारतमा गठबन्धनको राजनीति तथा स्पेनमा बहुदलीय व्यवस्थालाई दुई दलीय व्यवस्थामा सीमित गर्ने प्रयास गरिएको छ।
राजनीतिक दल कम भएका देशले आर्थिक समृद्धि हासिल गरेको उदाहरण पनि छन्। छिमेकी मुलुक चीन र अमेरिका। तर भारतले पनि गठबन्धनको राजनीतिबाट आफूलाई समृद्ध बनाउने प्रयास गरेको पाइन्छ।

प्रसंग नेपालको, नेपालमा बहुदलीय व्यवस्थाका लागि ठूलै संघर्ष गरेका दलहरू अहिले विभिन्न मोर्चामा तैनाथ छन्। नेपाली राजनीतिको बागडोर तीनै दलले संहालेका छन्। तर बहुदलीय व्यवस्था उनीहरूलाई नै पचेको छैन। नेपालमा ‘एक भाषा एक भेष हाम्रो राजा हाम्रो देश’ भन्ने नारा छँदासम्म कांग्रेस र कम्युनिस्टलाई साना दल टाउको दुखाइको विषय बनेको थिएन। तर माओवादीको विस्तार तथा संघीयता र पहिचान पक्षधरको उदय नेपाली कांग्रेस र पुराना कम्युनिस्टलाई टाउको दुखाइको विषय बन्दै गएको थियो। फलस्वरुप नेपालमा राजनीतिक स्थायित्वमा कमी देखियो। जसको प्रत्यक्ष असर नेपालको आर्थिक, समाजिक र राजनीतिमा परेको थियो।

पहिलो संविधानसभामा बहुदलीय व्यवस्थाका सकारात्मक पक्षहरू पनि देखिए तर नकारात्मक पक्षले धेरै प्रचार पाए। फलस्वरुप पहिलो संविधानसभा बिना कुनै निर्णय विघटन हुनपुग्यो। दोस्रो संविधानसभाको निर्वाचनपछि पुनः अवस्था दुई दलको हातमा पुग्यो। र, दुई दलका शीर्ष नेताले केही सहयोगीहरूका साथ संविधान जारी गरे।

स्थानीय निकायको निर्वाचनमा स्वतः केही दलहरू कमजोर भएर गए। तर भित्तामै पुगेनन्। अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अगाडि आउँदै छ। प्रदेशसभामा प्रदेशस्तरका दलहरू बलियो भए भने केन्द्रमा पनि गठबन्धनको सरकार बनाउनुपर्ने बाध्यता सृजना हुने देखिन्छ। जसले नेपालमा अझै केही दशकसम्म पूर्ण बहुमतको सरकार कुनै दलले बनाउन सक्ने छैनन्।

बहुदलीय व्यवस्थामा ठूला पार्टीहरूलाई साना पार्टीहरूले पेलेको उदाहारण पनि छन्। जसलाई बुझेर नेकपा एमाले पहिले नै सचेत भएको छ। ‘वाम गठबन्धन’को नाममा उसले नेपालमा कम्युनिस्ट पार्टी निर्माणको पहल थालेको छ। जसका लागि सैद्धान्तिक सहमति पनि जुटाइएको छ।

क्ष केपी शर्मा ओलीले ‘२०७४ मै देश भक्त वामपन्थी सरकार’ निर्माण हुने बताउँदै अब बहुमतभन्दा पनि दुईतिहाइको तयारी भएको उद्घोष गर्नुभएको थियो। यता ‘वामहरू एक ठाम’ आएपछि संसद्को सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले पनि एकीकरणसहितको गठबन्धनको प्रयास थालेको छ।

स्थानीय निकायको निर्वाचनमा व्यहोरेको हारको बदला लिन पनि उसलाई गठबन्धन आवश्यक छ। कांग्रेस पनि २ दलीय व्यवस्थाको पक्षमा थियो। तर उसले आफूलाई प्रजातान्त्रिक शक्ति ठानेकोले आफू बहुदलीय व्यवस्थाको पक्षमा रहेको देखाउनु उसको बाध्यता हो। आफू सबभन्दा ठूलो दल भएकोले अन्य दलसँग एकीकरण गर्नुलाई उसले बाध्यता ठानेको छैन।

कांग्रेस गठबन्धनको मोडललाई अगाडि बढाउन खोज्दै छ। अब स–साना दललाई आफूभित्र गाभ्ने प्रयास गर्नेछ भने लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास कांग्रेसको रहनेछ। गैर कम्युनिस्ट दल पनि कांग्रेसकै छत्रछायामा आफूलाई सुरक्षित महसुस गर्नेछन् र उक्त गठबन्धनमा सहभागी हुने अपेक्षा गरिएको छ।

नेपालमा तत्कालै प्रत्यक्ष २ दलीय व्यवस्था हुने सम्भावना कम भए पनि गठबन्धनको राजनीतिले २ दलीय व्यवस्थाको अभ्यास गर्नेछ। कालान्तरमा कम्युनिस्टहरू १ दलमा परिणत भए प्रजातान्त्रिक धारका दल पनि १ दलमा परिणत हुने अवस्था देखिएको छ। २ ठूला दल शक्तिशाली भएर प्रस्तुत भएको खण्डमा साना दलको अस्तित्व संकटमा पर्नेछ। तर २ दलको अभ्यासले बहुराष्ट्रिय राज्य नेपालका पहिचान तथा संघीयता पक्षधरलाई कमजोर पार्नेछ। जसले अर्को संघर्षको मार्ग पशस्त नगर्ला भन्न सकिन्न।

प्रतिक्रिया दिनुहोस्