सार्वजनिक यातायातमा यात्रुको कन्तबिजोग



 

प्रशान्त वली, काठमाडौं
लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनले यात्रुलाई निकै सास्ती दिएको पाइएको छ। यात्राका क्रममा यात्रुले टिकट काटे पनि सजिलै गन्तव्यमा पुग्न कठिन हुने गरेको छ।

विशेषतः मुख्य चाडवाडका बेला सहज रुपमा यात्रुले यात्रा गर्न नपाएको गुनासो गर्दै आएका छन्। दशैंको समयमा धेरै यात्र विभिन्न नाकाबाट राजधानी बाहिरिने गरेका छन्।

यात्रुले टिकट काटे पनि टिकटमा उल्लेख गरिएको सिटमा बस्न नपाउँदा वादविवाद हुने गरेको देखिएको छ। सार्वजनिक सवारी साधनमा यात्रुले हैरानी खेप्नुपर्दा समेत नियामक निकाय मुकदर्शक भएर बसेको छ। यात्राका क्रममा यात्रुले पाएको दुःखको बारेमा न त कतै अनुगमन हुने गरेको छ न त कसैलाई कारबाही नै भएको देखिएको छ। सरकारले सिट क्षमताभन्दा बढी यात्रा गराउनेलाई जरिवानाको व्यवस्था गरे पनि कार्यान्वयन भने खासै भएको देखिँदैन।

चाडपर्वको समयमा यात्रुलाई क्याविन भन्दै टिकट दिलाउने अन्ततः यात्रु लामो दूरीमा यात्रा गर्दा समेत मुडामा बसेर यात्रा गर्न बाध्य भएका छन्। केही बसहरूको क्याबिनमा ४ देखि ६ वटा सिट हुने गरे पनि १५ जनासम्मको टिकट काटेको फेला परेको थियो।

चाडपर्वको समयमा दैनिक ३ देखि ६ हजारसम्म सवारीसाधन विभिन्न नाकाबाट राजधानीबाहिर जाने गरेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघको तथ्यांकमा उल्लेख छ। यस वर्ष मात्रै सार्वजनिक सवारी साधनबाट २० लाख बढी यात्रु बाहिरिएको महासंघका अध्यक्ष डोलनाथ खनालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

सवारी साधनले यात्रुमैत्री सेवा प्रवाह भने पनि कार्यान्वयन भने भएको छैन। टिकट काटिएका सिटसमेत डबलिङ परेको भेटिएको छ। यात्रुले आफूहरूले सहज तवरबाट सार्वजनिक बसमा यात्रा गर्न नपाएको गुनासो गरेका छन्। यात्रुमैत्री सेवा भनिए पनि राम्रो व्यवहार नपाएको यात्रु विकल्प पोख्रेलले बताउनुभयो।
नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघले आफूहरूले सदव यात्रुमैत्री सेवा दिइरहेको बताएको छ। किन सधैं यात्रु यात्राका क्रममा डबलिङ सिटमा पर्छन् भन्ने जिज्ञासामा महासंघका अध्यक्ष खनालले भन्नुभयो– ‘कुनैकुनै रुटमा डबलिङ सिट परेको हुन सक्छ। दशैंको समयमा घर जानैपर्ने हुन्छ। बाध्यताले मुडामा पनि लग्नुपर्ने हुन सक्छ। यद्यपि अब यो समस्या हल गर्दै लैजान्छौं।’

प्रतिक्रिया दिनुहोस्