३३ प्रतिशतले बढे पर्यटक



 

दिपेन्द्र थापा, काठमाडौं
पछिल्लो ८ महिनामा नेपाल भ्रमणका निम्ति आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०१७ को पहिलो ८ महिनाको अवधिमा अघिल्लो वर्षभन्दा ३३ दशमलव ५ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन्।

अध्यागमन विभागका अनुसार सन् २०१७ को पहिलो ८ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ लाख ४२ हजार १ सय ६३ जना बढी पर्यटक नेपाल भित्रिएका छन्। विभागका अनुसार यस वर्षको अगस्ट महिनासम्ममा ५ लाख ६६ हजार २ सय २१ पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१६ को सोही अवधिमा ४ लाख २४ हजार ५८ पर्यटकले मात्र नेपाल भ्रमण गरेका थिए।
नेपाल घुम्न आउने पर्यटकमा भारतीयको संख्या सबैभन्दा धेरै रहेको छ।

अध्यागमन विभागका अनुसार भारतबाट यस अवधिमा १ लाख १३ हजार ४६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। त्यस्तै चीनबाट १६ हजार ६ सय ५६ जना पर्यटक भ्रमणका क्रममा नेपाल आएका छन्। सन् २०१६ को सोही अवधिमा भारत र चीनबाट नेपाल घुम्न आउने पर्यटकको संख्या क्रमशः ७६ हजार २ सय ५९ र ४५ हजार ५ सय ४४ जना रहेको थियो।

यसैगरी अमेरिका, श्रीलंकालगायत देशबाट आउने पर्यटकको संख्या पनि उल्लेख्य रहेको विभागको तथ्याङ्कले दखाएको छ। यसक्रममा अमेरिकाबाट ४८ हजार ५९ जना र श्रीलंकाबाट ३० हजार २ सय ३० जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

गत वर्ष ७ लाख २९ हजार ५ सय ५० जना पर्यटक नेपाल भित्रिएका थिए। यो संख्या अघिल्लो वर्षको तुलनामा ३६ दशमलव ११ प्रतिशतले बढी हो। त्यस्तै सन् २०१४ मा पर्यटक आगमनको संख्या ८ लाख रहेको थियो।

अझै बढ्ने आस
पहिलो आठ महिनाको तथ्यांक हेर्दा सन् २०१७ मा करिब १० लाख पर्यटक नेपाल भित्रिने अनुमान विभागले गरेको छ। राजनीतिक वातावरण सुध्रिँदै गएको तथा सरकारले बढीभन्दा बढी पर्यटक भित्त्याउन विश्वव्यापी प्रचारमा जुटेका कारण सन् २०१७ पर्यटन उद्योगका निम्ति सुखद हुने आशामा व्यवसायीहरू रहेको उनीहरूले बताएका छन्। पर्यटकलाई आकर्षित गर्ने नेपालको वास्तुकला, ट्रेकिङ रुटलगायतका अन्य संरचना भूकम्पपछि पुनर्जीवन पाउने क्रममा रहेको तथा नेपाल भ्रमण गर्न सुरक्षित छ र नेपालको सौन्दर्य कायमै रहेको सरकारको प्रचारले सकारात्मक प्रभाव पार्न थालेको व्यवसायीहरूको भनाइ छ।
पछिल्लो समयमा पर्यटन क्षेत्रमा देखिएको सुधारले सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्यका निम्ति सहयोग हुन सक्ने सरोकारवालहरूको भनाइ छ। पर्यटक लयमा फर्किन थालेसँगै ठूला व्यवसायीले समेत पर्यटकीय क्षेत्रमा हात हाल्न थालेका छन्।

पर्यटन विभागका अनुसार सन् २०२० सम्म थप १० वटा पाँच तारे होटल थपिँदै छन्। हालसम्म २ अर्ब ५० करोडको लगानी होटलमा रहेकोमा थप ३३ अर्ब लगानी हुँदै छ। यस हिसाबमा सन् २०२० सम्म ४ हजार नयाँ बेड थपिँदै छन्। नेपालमा होटल व्यवसायबाट ५ लाख जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएको होटल एसोसिएसन अफ नेपाल (हान)ले जनाएको छ। सरकारबाट आगामी ३ वर्षमा ८३ अर्ब रुपियाँ लागानी गर्न लक्ष्य राखेकोमा ८ अर्ब सरकारले र बाँकी निजी क्षेत्रले लगानी गर्ने अपेक्षा राखिएको छ।

४ हजार बेड थपिँदा नेपाली होटलको कुल बेड क्षमता ४२ हजार पुग्ने भएको छ। हानका अनुसार ४ हजार बेडमध्ये २ हजार काठमाडौंमा थपिने भएका हुन्। बेड संख्यामा वृद्धिपछि नेपालको कुल पर्यटक क्षमता २० लाख पुग्ने अनुमान गरिएको छ।
यसका साथसाथै नेपाल पर्यटन बोर्डले युरोपका पर्यटक भित्त्याउन युरोपमा गरेको प्रचार प्रसारले पनि नेपालको पर्यटनमा टेवा पुग्ने निश्चित देखिन्छ।

प्रतिक्रिया दिनुहोस्