एक भए तीन बाम,एकताका लागि ६ बुँदे सहमति



दीपक रिजाल⁄मधुसूदन रायमाझी
काठमाडौं

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तीन वामपन्थी घटकबीच गठबन्धन भएको छ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र त्यसलगत्तै एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने ६ बुँदे सहमतिसमेत भएको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी तीन पार्टीले जनता र राष्ट्रको चाहनाअनुसार एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न सहमति–पत्रमा हस्ताक्षर गरेको बताएका छन्। सहमति–पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गर्नुभएको छ।

सहमति–पत्रमा हस्ताक्षर गर्दै तीन दलले छरिएर रहेका कम्युनिस्ट तथा वामपन्थी पार्टीलाई एकीकरणमा आउनसमेत आह्वान गरेका छन्। तीन पार्टीबीच आगामी चुनावलगत्तै एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति भएको छ। यसका लागि ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ। समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहनेछन्।

पार्टी एकीकरण संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड रहनेछन्। पार्टी एकताको खाका र कार्ययोजना बनाउनुका साथै सहमति हुन बाँकी विषय टुंग्याउने जिम्मेवारी पाएको यो समितिले सहमतिका आधारमा निर्णय गर्ने भएको छ।

तीन दलबीच भएको ६ बुँदे सहमतिको चौथो बुँदामा आगामी चुनावमा प्रत्यक्षतर्फ नयाँ शक्ति र अन्य दललाई आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र बाँकी सिटमा एमालेको ६० र माओवादीको ४० प्रतिशत हुने गरी तालमेल गर्ने उल्लेख छ। पार्टी एकीकरण गर्नुभन्दा अघि आ–आफ्ना वैचारिक धारणा राख्न छुट भए पनि एक अर्काप्रति सार्वजनिकरूपमा नकारात्मक टिप्पणी र आलोचना गर्न नपाइने सहमति–पत्रमा उल्लेख गरिएको छ। तीन दलबीच संसद्को चुनावमा साझा घोषणा–पत्र बनाउने सहमति भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि जनताको हितलाई केन्द्रमा राखेर पार्टी एकता प्रक्रिया अघि बढाइएको बताउनुभएको छ। राष्ट्रिय स्वार्थले मात्रै देशको आर्थिक समृद्धि हुने बताउँदै उहाँले कम्युनिस्ट धुव्रीकरण आजको अपरिहार्यता रहेको बताउनुभयो।

पत्रकार सम्मेलनमा ओलीले भन्नुभयो– ‘देश बनाउनका लागि कम्युनिस्टबीच चामत्कारिक सहमति भएको हो। कोही झस्किनु र आत्तिनुपर्दैन। म सबै छुट्टिएका वामशक्तिलाई एकता प्रक्रियामा आउन आह्वान गर्दछु।’

भूगोल, भाषा, जातिका आधारमा द्वन्द्व भड्काउने प्रयासविरुद्ध विजयी हासिल भएको बताउँदै उहाँले आफूरूले सत्ता परिवर्तनका लागि गठबन्धन निर्माण नगरेको दाबी गर्नुभयो। ‘सत्ता परिवर्तनका लागि एकताको हल्ला फिँजाइएको छ यो गलत हो, सत्ताभन्दा पनि समाजवाद उन्मुख आर्थिक समृद्धिका लागि एकता भएको हो, एक वर्षभित्रै वामपन्थी सरकार बन्छ, कोही अत्तालिन जरुरी छैन।’

पार्टी एकीकरण मात्रै नभई ३ पार्टीबीच आगामी मंसिरमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको लागि चुनावी तालमेल पनि गर्न लागेको बताउँदै उहाँले ३ पार्टीबीच एउटै चिह्न बनाएर चुनाबमा जाने तयारी भए पनि प्राविधिक र कानुनी जटिलताका कारण सम्भव नभएको बताउनुभयो। पार्टी एकता कसैको विरुद्ध नभएको भन्दै कम्युनिस्ट पार्टीबाहेकका अन्य पार्टी पनि एकता प्रक्रियामा सहभागी हुन सक्नेमा ओलीले जोड दिनुभयो। पार्टी एकताले विभेदको अन्त्य गरी देशमा समाजवादउन्मुख आर्थिक समृद्धि हासिल गर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले वामपन्थी प्रगतिशील गठबन्धनको ध्यान मंसिरको चुनावपछि दुईतिहाइ बहुमत ल्याउनेतर्फ केन्द्रित रहने बताउनुभयो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादको नयाँ मोडल तयार पारेर विश्वलाई नै सन्देश दिने उद्देश्यबाट ३ दलको एकता प्रक्रिया शुरू भएको बताउनुभयो। उहाँले नेपालबाट समाजवादको नयाँ मोडल शुरूआत गर्न लागिरहेको बताउनुभएको हो।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ संविधानले समाजवादउन्मुख राज्यको परिकल्पना गरेकाले कम्युनिष्टबीचको एकीकरण समाजवाद निर्माण गर्ने आधार बनाएको बताउनुभयो। ‘पार्टीले एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न थालेको पूरा नभए पनि अहिले यो अधुरो काम पूरा हुन लागेको छ’, उहाँले भन्नुभयो– ‘कहिलेकाहीं राजनीतिमा असम्भव भनिएको काम सम्भव हुन्छ र कहिलेकाहीं सम्भव ठानिएको काम पनि हुँदैन, यो ऐतिहासिक आवश्यकताले जन्मिएको परिस्थिति हो।’

उहाँले तीन पार्टीबीच भएको गठबन्धन कसैको विरुद्ध नभएको स्पष्ट पार्दै कम्युनिष्ट पार्टीहरूबीचको एकता र चुनावी तालमेल कुनै पार्टी वा शक्तिविरुद्ध लक्षित नभएको बताउनुभयो। ‘तीन पार्टीबीचको सहमति कांग्रेसविरुद्ध लक्षित छैन। जनता र राष्ट्रको पक्षमा छ’, प्रचण्डले भन्नुभयो।

‘एकता ऐतिहासिक आवश्यकता हो, देशको परिवर्तनका लागि सम्पूर्ण कम्युनिष्ट एकीकृत हुन जरुरी छ’, प्रचण्डले भन्नुभयो। नेपाल र नेपाली जनताको स्वाभिमान रक्षा गर्नका लागि एकता प्रक्रियाले अग्रणि भूमिका निर्वाह गर्ने बताउँदै उहाँले भन्नुभयो– ‘वर्तमान गठबन्धन आगामी चुनाव र विचार मिल्ने राजनीतिक शक्तिबीच एकीकरणका लागि हो। उहाँले जनता र राष्ट्रको पक्षमा छरिएर रहेका कम्युनिष्ट पार्टीलाई एकता प्रक्रियामा सहभागी हुनसमेत आह्वान गर्नुभयो।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले विकास र समृद्धिको गतिमा अगाडिे बढाउनको लागि सुशासन सदाचार भौगोलिक विशिष्टता, देशका स्वाधीनतालाई रक्षा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले देशलाई समुन्नत समाजवादको दिशामा लैजान नेपालका सम्पूर्ण कम्युनिस्ट एकताबद्ध हुनुपर्ने बताउँदै संविधानको रक्षा र समयअनुसार परिमार्जन गर्दै जान सकिने बताउनुभयो। ‘आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्पष्टमात्र दुईतिहाइ बहुमत ल्याएर यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको व्यवस्था गर्नुपर्छ’, डा. भट्टराईले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ।’

एमाले र माओवादीबीच एक महिनाअघि चुनावी तालमेल र पार्टी एकीकरणको छलफल शुरू भएको थियो। सीमित नेताबीच भएको छलफल निष्कर्षमा पुर्याउनका लागि एमालेकोतर्फबाट उपमहासचिव विष्णु पौडेल र नेकपा माओवादीका नेता एवं गृहमन्त्री जनार्दन शर्माले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो।

पौडेल र शर्माले तयार पारेको खाकाअनुसार नै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमत हुनुभएको बताइएको छ। दुई नेताले खेलेको भूमिकाअनुसार नै मंगलबार आयोजित पत्रकार सम्मेलनमा विष्णु पौडेललाई कार्यक्रम सञ्चालक र जनार्दन शर्मालाई सहमति–पत्र वाचन गर्ने भूमिका दिइएको थियो।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमलसँगै पार्टी एकीकरण गर्ने सहमतिप्रति माओवादी केन्द्रमा भने असन्तुष्टि देखिएको छ। माओवादी केन्द्रमा नेता गोपाल किराँती, मणि थापा मातृका यादवलगायतका नेताहरूले एमालेसँग पार्टी एकता गर्न नहुने पक्षमा उभिएका छन्। चुनावी तालमेलसँग पार्टी एकता गर्ने ६ बुँदे सहमतिले माओवादी केन्द्रमा विवाद जन्माएको छ भने एमाले र नयाँ शक्ति पार्टी भने उत्साहित भएका छन्।

नयाँ रणनीति बनाउँदै कांग्रेसरामकृष्ण चापागाईं, काठमाडौंआगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने र त्यसपछि पार्टी एकीकरण गर्नेसम्मको उद्देश्य राखी नेकपा एमाले नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच समझदारी भएसँगै नेपाली कांग्रेस नयाँ रणनीति तय गर्न जुटेको छ।

नयाँ रणनीति तय गर्न कांग्रेसले आज बुधबार बिहान ११ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठकसमेत आह्वान गरेको छ। अहिले नै सरकार फेर्ने र आगामी मंसिरमा तय गरिएको निर्वाचनलाई समेत जोखिम बनाउने उद्देश्यले एमाले र माओवादीबीच एकता भएको भन्दै कांग्रेसले यो एकतालाई अस्वाभाविक भनेको छ। साथै कांग्रेसले तीन दलबीचको चुनावी तालमेलसहित पार्टी एकीकरणसम्म गर्ने समझदारीबाट बिचलित नभएको पनि जनाएको छ।आफ्नो नेतृत्वमा रहेको सरकारको प्रमुख घटक माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दलसँग सहकार्य गरेपछि नेपाली कांग्रेस अप्ठइरोमा परेको बारे कांग्रेस नेता डा. प्रकाशशरण महतले भन्नुभयो– ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो गठबन्धन आगामी निर्वाचनमा बढी सिट जित्नका लागि मात्र भएको र सरकार अहिले नै छोड्नुहुन्न जस्तो लाग्छ। नेकपा एमालेले भने अहिले नै सरकार परिवर्तन गर्ने उद्देश्य राखेको उहाँको भनाइ थियो।’

प्रचण्ड नेतृत्वको सरकार गठन गर्दा इमानदारीताका साथ कांग्रेसले सहयोग गरेको भन्दै आगामी निर्वाचनसम्म माओवादी सरकारबाट बाहिरिँदैन नेता महतले दाबी गर्नुभयो। वाम एकता भएसँगै नेपाली कांग्रेसले आगामी निर्वाचनमा पार्टी आन्तरिकरूपमा अझ एकताबद्ध भएर अघि बढ्नुका साथै अन्य लोकतान्त्रिक दलहरूसँग एकता प्रक्रिया अघि बढाउने जनाएको छ। पार्टीभित्रको आन्तरिक गुट उपगुटले कमजोर भएको कांग्रेसलाई यो एकताले आन्तरिकरूपमा एकढिक्का हुन प्रेरित गरेको कतिपय नेताहरूले बताएका छन्।

राष्ट्रिय राजनीतिले नयाँ कोर्सका साथ अघि बढ्न खोजेसँगै कांग्रेसका शीर्ष नेताहरू मंगलबार दिनभर आन्तरिक छलफलमा व्यस्त थिए भने प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पटकपटक छलफल गर्नुभएको थियो। वामपन्थीहरूको एकता आफूहरूले यसअघिका २०५४, २०६४ र २०७० को चुनावमा देखेको भन्दै कांग्रेस नेता रामहरि खतिवडाले नेपाली कांग्रेस यसबाट नआत्तिने बताउनुभयो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आत्तिएर माओवादीलाई ६० र ४० को भागबण्डाको प्रस्ताव गरेको उहाँको आरोप थियो कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको, कांग्रेसकै नेतृत्वमा २० वर्षपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको र अहिले संविधान कार्यान्वयनको चरण रहेकोले अब हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि जनताले आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने नेता खतिवडाको भनाई थियो।

तीन दलबीच भएको ६ बुँदे सहमति–पत्र २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी वर्ग संघर्ष, विचाराधारात्मक संघर्ष र व्यवहारिक प्रयोगका अनेक शृंखला पार गर्दै आजको अवस्थामा आइपुगेको छ। नेकपा एमाले र माओवादी केन्द्रको नीतिगत र व्यवहारिक नेतृत्वमा राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समाजवाद उन्मुख संविधान निर्माण गर्न सम्भव भएको छ।फरक–फरक पृष्ठभूमिका साथ अघि बढेका हामी राष्ट्रिय सार्वभौकिता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवं स्वाभिमान रक्षा गर्दै संविधानसभाबाट पारित नेपालको संविधान रक्षा र प्रयोग क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्ने र समृद्ध, समुन्नत एवं न्यायपूर्ण समाज निर्माण गर्दै समाजवादका आधारहरू तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौं। मजदूर, किसान, श्रमजीवी, दलित, महिला, जनजाति, मधेसी, थारू, मुस्लिम, उत्पीडित समुदाय र पिछडिएका क्षेत्रका जनताको अधिकार र हितका पक्षमा संवैधानिक, कानुनी र व्यवहारिक रूपमा सम्बोधन गर्दै अघि बढ्न प्रतिबद्ध छौं।

नेपाली जनताले एकताबद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेका छन्। हाम्रो पृष्ठभूमिका र जनताको चाहना र राष्ट्रको आवश्यकताले पनि हामीलाई एकताबद्ध हुन र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन्। तसर्थ हाम्रा आफ्नै अनुभव र जनता एवं राष्ट्रको आवश्यकतालाई हृदयंगम गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालकाबीचमा एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौं। हामी पार्टी एकीकरण गर्ने उद्देश्यका साथ तत्काल निम्नानुसार गर्ने निष्कर्षमा पुगेका छौं।

१. नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण गी एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजक समिति गठन गर्ने। उक्त समितिमा नेकपा एमालेको तर्फबाट ४ जना, नेकपा माओवादी केन्द्रको तर्फबाट ३ जना र नयाँ शक्तिबाट १ जना नेताहरू रहने। नेकपा एमालेका अध्यक्ष र नेकपा माओवादी केन्द्रका अध्यक्ष उक्त समितिका प्रमुख नेताको भूमिकामा रहने। पार्टी एकता संयोजक समितिका निर्णय सहमतिका आधारमाा गर्ने। पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना पार्टी एकता संयोजक समितिले तयार पार्ने। सहमति हुन बाँकी विषयमा आपसी छलफलद्वारा सहमति कायम गरिनेछ। वैचारिक छलफल तथा वहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिनेछ। २. एकीकृत पार्टीको नीति–कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै पार्टीका प्रतिनिधिहरू सम्मिलित दस्तावेज मस्यौता समिति गठन गर्ने। प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपश्चात् विधिवत पार्टी एकता सम्पन्न गर्ने। ३. पार्टी एकीकरणको वैचारिक र संगठनात्मक काम पूरा नभएसम्म आ–आफ्नो विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने।

तर पार्टी एकीकरणको आधार सुदृढ बनाउन एक अर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने। पार्टी एकीकरणको यस महान् उद्देश्यअनुरुप अघि बढ्न आ–आफ्नो पार्टी पंक्तिलाई आह्वान गर्ने। छरिएर रहेका सबै कम्युनिष्ट तथा वापमन्थी पार्टी तथा समुहहरूलाई एकीकरणको यही प्रवाहमा समाहित हुन अपिल गर्ने। ४. आगामी २०७४ साल मंसिर महिनामा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तर्फका निर्वाचनहरूमा नयाँ शक्ति नेपाल र अन्य पार्टी एवं समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरी नेकपा एमाले ६० प्रतिशत र नेकपा माओवादी केन्द्रका ४० प्रतिशत उम्मेद्वार हुने गरी आपसी तालमेल गर्ने। ५. उक्त निर्वाचनमा साझा घोषणा–पत्रका आधारमा सहभागी हुने। त्यसका लागि तीनै पार्टीका प्रतिनिधि सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणा–पत्र मस्यौदा समिति गठन गर्ने। प्रदेश तहमा पनि संयुक्त घोषणा–पत्र तयार गर्न सकिने। ६. आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सहकार्य  तथा तालमेलका लागि सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरूलाई आह्वान गर्ने।

प्रतिक्रिया दिनुहोस्