अनौठो शैलीमा नेपालभाषाको जन्मदिन गीत सार्वजनिक



 

सुनील महर्जन
अक्सर कुनै कलाकार, संगीतकार वा गीतकारले आफ्नो एल्बम निकालेर विमोचन गर्दा उसलाई मन पराउने स्रोताको जमातबाहेक अन्यका लागि खासै महत्त्व राख्दैन। गीतकार र गायनमा समेत चर्चा बटुलेका कलाकार सुरजवीर वज्राचार्यले नेपालभाषाको पछिल्लो एल्बम बुदिंया भिन्तुना (जन्म दिनको शुभकामना) विमोचनको शैली भने अन्यका लागि पनि महत्त्वपूर्ण बनेको छ।

हालै राजधानीमा आयोजित एक समारोहबीच एल्बम विमोचन गरिएको हो। एल्बम विमोचनका लागि उनले कुनै पार्टी प्यालेस वा रेस्टुराँ छानेनन्। ललितपुरको प्रसिद्ध हिरण्यवर्ण महाविहार गोल्डेन टेम्पल पछाडि रहेको इलाननी चोकमा एल्बम विमोचन गराए।

विमोचनमा उनका आफ्ना बाल्यकालदेखिका साथी, कलाकार, मित्रहरू र शुभेच्छुकहरू गरी नजिक ठानेका करिब ५०⁄६० जना जतिको जमघट थियो। विमोचन हुनुअघिसम्म त्यहाँ जम्मा भएका कसैलाई पनि उनले कुनै हिसाबले एल्बम विमोचन हुँदै छ भन्ने छनकसमेत दिएनन्। मानिसले कार्यक्रमबारे थाहा नपाउन् भनेर मञ्चपछाडिको ब्यानरसमेत कालो कपडाले छोपिएको थियो।

शुरूमा विभिन्न कलाकारले शुरूमा गीत गाउँदा त सांगीििक कार्यक्रम पो हो कि जस्तो कतिलाई लागेको थियो। सांगीतिक माहौलको बीचमा मञ्चमा उभिएर उनले आफ्नी श्रीमती रमा तुलाधरलाई मञ्चमा बोलाए। अनि आफूले वर्षाैं प्रेम गरेर विवाह गरेकी रमालाई समर्पित गरेर गीत रचना गरेको बताए। ‘श्रीमती रमाको जन्मदिनमै विमोचनको उचित साइत रोजेको हुँु –उनले भने। यससँगै घण्टौंदेखि त्यहाँ जम्मा भएका उनका शुभेच्छुकको खुल्दुली मेटियो। कलाकार वज्राचार्यको यो शैलीलाई जम्मा भएका धेरैले सिर्जनात्मक सोचको रूपमा रुचाएका थिए।

उनले एल्बम विमोचन गर्न बुबा चित्रवीर वज्राचार्य र आमा ज्ञानीदेवी वज्राचार्यलाई मञ्चमा बोलाएपछि संगीतकार जुगल डंगोल, सांस्कृतिक कलाकार वदनशर्मा राजोपाध्याय र नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनलाई बोलाए। सबैले एकसाथ एल्बम विमोचन गरिरहँदा सँगसँगै सो गीत पनि बजाइएको थियो। गीत नेवारी समाजमा परम्परादेखि जन्मदिन मनाउने तरिकाको वर्णन थियो, जुन अहिले देख्न मुस्किल हुने गरेको छ।
अक्सर सार्वजनिक कार्यक्रम हुँदा मञ्चमा गण्यमान्य, उच्च ओहादाका व्यक्तिहरू मात्र सधैं बस्ने गरेको देख्ने स्थानीयका लागि यो दृश्य नौलो र उत्तिकै आश्चर्यजनक थियो। सासू–ससुराको अगाडि छोराले बुहारीलाई खादा ओढाई गीति एल्बम विमोचन गरेको दृश्य समाजका लागि नियमित घटना थिएन।

प्रतिक्रिया दिनुहोस्