सिटिजन्स बैंकले लाभांश दिने



 

काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले गत असार मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३⁄७४ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँँड हिसाब, नगद प्रवाह विवरण तथा सम्पूर्ण वित्तीय विवरण स्वीकृत गरेको छ।

साधारसभाले बैंकले आर्थिक वर्ष २०७३⁄७४ को नाफाबाट शेयरधनीलाई १६ दशमलव ८५ प्रतिशत बोनस शेयर तथा नगद लाभांश दिने प्रश्ताव पनि पारित गरेको छ। आर्थिक वर्ष २०७३⁄७४ को अन्त्यमा बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार रुपियाँ कायम रहेकोमा प्रस्तावित १६ प्रतिशत बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड ९१ लाख ६० हजार रुपियाँ कायम हुने बैंकले जनाएको छ।

गत आवमा बैंकले आर्जन गरेको सञ्चित नाफाबाट बैंकको हालको चुक्ता पुँजीको १६ प्रतिशत अर्थात १ अर्ब १० करोड ७४ लाख ७० हजार ३ सय ४६ रुपियाँ बोनस शेयर तथा सोको लागि आवश्यक करको निम्ति हालको चुक्ता पुँजीको करिब शून्य दशमलव ८५ प्रतिशत अर्थात् ५ करोड ८२ लाख ८७ हजार ९ सय १३ रुपियाँ नगद लाभांश साधारणसभाले पारित गरेको हो। साधारणसभाबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट सञ्चालक समितिको सदस्यमा निर्विरोध निवार्चित पनि हुनुभएको छ।

सिटिजन्स बैंकले ग्राहकलाई देशभरी फैलिएका ६२ वटा शाखा, ६१ वटा एटीएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ सेवाबाट करिव ३ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ.।

प्रतिक्रिया दिनुहोस्