खुलमखुल्ला खाद्यवस्तु विक्री



 

नेपाल समाचारपत्र
काठमाडौं
सरकारी तवरबाट पटक–पटक अनुगमन भए पनि बजारमा खुलमखुल्ला खाद्यवस्तु विक्री भइरहेका छन्। चाडपर्वको समयमा मौसमी अनुगमन भए पनि अनुगमन औपचारिकतामा सीमित हुँदा उपभोक्ताले खुलमखुल्ला राखिएका खाद्य सामग्री र बाहिरै झुण्डइएर राखिएको मासु किन्न बाध्य भएका छन्।

काठमाडौंको कालिमाटीमा चिउरा किन्दै गरेका उपभोक्ता रमेश खतिवडाले नेपाल समाचारपत्रसँग भने– ‘चिउरा किन्न गएको खुल्ला बोरामा राखिएको मात्रै देखें जुन पसलमा पनि। त्यसपछि बाध्य भएर खुला बोरामा राखेको चिउरा किनें। धुलो पसेको छ भन्ने थाहा छ तर के गर्नु किन्नै पर्यो।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति विभागलगायतका सरकारी निकायबाट दैनिकजसो खाद्य तथा मासु पसलको अनुगमन भए पनि व्यापारीले कानमा तेल हालेर बसेको देखिएको छ।

यस्तै, विक्रीका लागि खुला स्थानमा राखिएका खाद्यवस्तु नखान र खरिद नगर्न खाद्य विज्ञले उपभोक्तालाई सुझाव दिएका छन्। चाडपर्वको समयमा खाद्यवस्तु तथा मासु किन्दा छानेर उपर्युक्त किन्न खाद्य विज्ञको सुझाव छ। दशैंमा सबैभन्दा बढी खाने भनेको माछा, मासु हो। प्रशस्त प्रोटिन पाइने भएकाले मासु पौष्टिक खाने कुरा पनि हो। सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउन उपयुक्त हुने खाद्य विज्ञको भनाइ छ।

अहिले बजारमा छइपछइप्ती खुला ठाउँमा खाद्यान्न विक्री भएको देखिएको छ। जसले गर्दा सफा र स्वच्छ खाद्यान्न पाउन नसकेको उपभोक्ताको गुनासो छ।
खुला स्थानमा राखिएको मासुमा विषाक्त किटाणु हुने भएकाले स्वस्थ मासु किन्नुपर्ने हुन्छ। खाद्य विज्ञ मदन चापागाईंले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘रोगी पशुको मासु खानाले विभिन्न रोगले आक्रमण गर्न सक्छन्। मासु किन्दा ख्याल गरेर किन्नुपर्छ। खोकी लागेको र पातलो दिसा गर्ने पशुको मासु सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने चापागाईंले बताउनुभयो।

मुटु, कलेजो, मिर्गौला, फोक्सो आदि अंगका मासुमा कोलेस्ट्रोरलको साथै भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पाइन्छ। तामा, लौह, जिन्कजस्ता खनिजतत्त्व पनि प्रशस्त मात्रामा पाइन्छ। कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रसायनिक पदार्थ कसरका रूपमा जम्मा हुने भएकाले सकेसम्म कलिलो जनावरको मात्र कलेजो उपभोग गर्दा फाइदा हुने बताइएको छ।
यस्तै, म्याद ननाघेका, ढुसी नपरेको खाद्यवस्तु खरिद नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जानकारी दिएको छ। खाद्यवस्तु खरिद गर्दा पसलमा गएपछि लेबल हेर्नुपर्ने बताइएको छ।

यस्तै, कसले उत्पादन गरेको, उत्पादन गर्ने उद्योगको नाम र ठेगाना छ कि छैन, उत्पादन मिति छ कि छैन, मिति गुज्रेको छ कि छैन? जस्ता कुरामा ध्यान दिनुपर्ने विज्ञ चापागाईंले नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो।

यसैगरी, सामानको ब्याच नम्बर हेर्नुपर्ने, आफूले खरिद गर्ने खाद्यवस्तुमा सम्मिश्रण के–के छ, नेपालमा उत्पादन भएको वस्तु हो भने प्रमाणीकरण नम्बर छ कि छैन, विदेशबाट आएको हो भने प्रमाणित भएको छ कि छैन भन्ने कुरामा समेत ख्याल राख्नुपर्ने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्