पोखरामा जीवनशैली फेसन शो



 

फेसनको शहर पोखरामा फेसन शो गरिएको छ। आर एन्ड आर गु्रपले शुक्रबार साँझ पोखरामा फेसन शो जीवनशैली आयोजना गरेको हो। एचआईभी एड्स संक्रमित बालबालिकाको शिक्षामा सहयोगार्थ यो फेसन शो आयोजना गरिएको हो।

साँझबाट शुरू भएको फेसन शोमा राजधानी र पोखराका मोडलले क्याटवाक गर्दै र्याम्प नापेका थिए। अधिकांश व्यावसायिक मोडल सहभागी फेसन शोमा मोडलहरूले विभिन्न ६ सिक्वेन्समा विभिन्न पहिरन प्रस्तुत गरे। उनीहरू लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनमा सजिएर र्यापमा उत्रँदा निकै आकर्षक देखिन्थे।


करिब डेढ घण्टा चलेको जीवनशैली नामक फेसन शोमा पोखरास्थित आई एम द बुटिककी अर्चना अर्यालले डिजाइन गरेका पहिरन दुई सिक्वेन्समा प्रस्तुत गरिएको थियो। लेहंगा, सारी, चोली सिक्वेन्सअन्तर्गत अर्चनाले डिजाइन गरेका विभिन्न स्टाइलका पहिरन मोडलहरूले प्रस्तुत गरे। फेसन डिजाइनमा पोखरामा लोकप्रियता हँँसिल गरेकी अर्चनाका डिजाइन निकै आकर्षक थिए।

यस्तै फेसन शोमा अर्को सिक्वेन्स जिन्सको थियो। ओचु जिन्सका सुनिल महर्जनले तयार पारेका वास तथा डाइ गरिएका जिन्सको क्याजुअल र वान पिस गरी दुई सिक्वेन्स फेसन मोडलहरूले प्रस्तुत गरेका थिए। बाँकी दुई सिक्वेन्स समर ड्रेसको थियो। मोडलहरूले फसन जोनबाट समर वान पिस र ग्राउन प्रस्तुत गरेका थिए।

आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले मोडलिङ क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिक रूपमा विकास गर्न विभिन्न मोडलिङ बारे इभेन्ट गर्दै आएको बताइन्। यस पटकको कार्यक्रमबाट उठेको मुनाफा एचआईभी पीडित बालबालिकाको शिक्षामा सघाउने उनले बताइन्। कार्यक्रमको सञ्चालन तथा कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए।

यसअघि, काठमाडौं र पोखरामा भएको अडिसनबाट छानिएका १९ जना मोडल फेसन शोमा सहभागी थिए। काठमाडौंका १५ र पोखराका ४ जनामध्ये सृष्टि तामाङ, कुसुम तामाङ, मन्दिरा राज्यलक्ष्मी शाह, देवीका कार्की, सीमा श्रेष्ठ, करिश्मा केसी, हेमा र आश्मालगायत थिए।

प्रतिक्रिया दिनुहोस्