अमेरिका र उत्तर कोरियाबीच वाकयुद्ध जारी



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राष्ट्रसंघको वार्षिक महासभाको दौरान उत्तर कोरियाली विदेशमन्त्री री योङ होले अघिल्लो दिन अमेरिकाविरुद्ध आक्रामक भाषण दिएको कारण प्योङयाङलाई नयाँ चेतावनी दिएका छन्।

रीले ट्रम्पलाई मानसिकरूपमा विचलित आत्मकेन्द्रित व्यक्ति भएको र उनी आत्मघाती अभियानमा रहेको बताएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि री र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले सार्वजनिकस्थलमा यसरी नै जथाभावी तवरले बोलिरहने हो भने उनीहरू लामो समय नटिक्ने चेतावनी दिएका छन्।

अमेरिकी बमवर्षक लडाकू विमानहरू उत्तर कोरियाको पूर्वी समुद्री तटनजिक उडिरहेका बेला उत्तरले अमेरिकाको अपमान गरेको हो। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त सैनिक अभ्यासको प्रमुख उद्देश्य कुनै पनि सम्भावित खतरालाई परास्त गर्न अमेरिकासँग भएको सैनिक विकल्पको प्रदर्शन गर्नु रहेको जनाएको छ।

ट्रम्पले ट्विट गर्दै यदि रीले फुच्चे रकेट म्यानअर्थात् किमको विचार घन्काइरहेको खण्डमा दुनियाँमा तिनीहरू दुवै नदेखिने बताएका छन्। उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर यो र अमेरिकाबीच केही सातायता कडा किसिमको वाकयुद्ध भइरहे पनि वास्तविक युद्ध हुने खतरा कमै भएको अन्तर्राष्ट्रिय युद्ध विशेषज्ञहरूले बताएका छन्।

तैपनि यदि आणविक आक्रमण शुरू भई नै हालेको खण्डमा त्यसको परिणाम भयावह हुने निश्चित छ। पेन्टागनले प्रशान्त क्षेत्रको गुयामबाट गएका अमेरिकी हवाई सेनाका बी–१ बी ल्यान्सर बमवर्षक विमानहरूले जापानको ओकिनावाबाट आएका वायुसेनाको एफ–१५ सी इगल लडाकू विमानहरूको एस्कर्टिङमा अन्तर्राष्ट्रिय हवाई अन्तरिक्षमा उडान भरेको पुष्टि गरेको छ।

शनिबार उत्तर कोरियाली विदेशमन्त्री रीले ट्रम्पले आफ्ना नेता किम जोङलाई ‘रकेट म्यान’ भनी होच्याएकाले अब अमेरिकाको सम्पूर्ण भू–भागमा प्योङयाङका रकेटहरू खस्ने अवश्यम्भावी भएको बताएका थिए।
संयुक्त राष्ट्रको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएका नयाँ नाकाबन्दीलाई कार्यान्वयन गर्ने क्रममा चीनले शनिबार प्योङयोङलाई दिइँदै आएको पेट्रोल रोक्ने जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्