पानामा पेपर्स चुहावट, सरिफलाई पार्टी नेतृत्व गर्न पाउने कानुन पारित



 

इस्लामावाद, (एजेन्सी)
पाकिस्तान सरकारले राजनीतिक दलसँग सम्बन्धित पीपीओ नामक एउटा कानुनालाई संशोधन गरेको छ। संशोधनपछिको नयाँ कानुन व्यवस्थाले अपदस्थ प्रधानमन्त्री नवाज सरिफलाई आफ्नो पार्टी पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) को पुन नेतृत्व गर्न सक्ने अधिकार दिएको छ। यस कानुनसँग सम्बन्धित चुनाव विधेयक–२०१७ लाई आइतबार सिनेटले अनुमोदन गरेको छ। यसअघि पीपीओको प्रावधानअनुसार पनामागेट मामिलामा पाकिस्तानको सर्वोच्च अदालतले जुलाई २८ मा आफ्नो फैसलामा नवाज सरिफलाई दोषी ठहर्याएको थियो, जसको कारण उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको मात्र नभई पार्टीको अध्यक्ष पद पनि छोड्नुपरेको थियो।

पाकिस्तानको समाचार पत्र द एक्सप्रेस ट्रिब्युनले उक्त विधेयकले चुनाव प्रक्रिया सञ्चालन गर्ने प्रावधानलाई पनि बलियो बनाएको उल्लेख गरेको छ। गतवर्ष पानामा पेपर्स चुहावट मामिलामा सरिफ र उनका परिवारका सदस्यको नाम जोडिएपछि नै उनलाई पदबाट हटाउन माग भइरहेको थियो।

त्यसपछि पानामागेट मामिलाको जाँचका लागि मे ६ मा सर्वोच्च अदालतको आदेशमा ६ सदस्यीय संयुक्त जाँच टोली (जेआईटी) को गठन गरिएको थियो। जेआईटीले तय गरिएको समयसीमाभित्र जुलाई १० मा प्रतिवेदन अदालतलाई बुझाएको थियो। यस मामिलामा जुलाई २१ मा सुनावाइ पूरा भएको र अदालतले फैसला सुरक्षित राखिएको थियो।

सर्वोच्च अदालतले यस मामिलामा जाँच गरिरहेको संयुक्त जाँच समितिको प्रतिवेदनका आधारमा जुलाई २८ मा फैसला सुनाउँदै सत्तारुढ पीएमएल–एनका अध्यक्ष सरिफ र अर्थमन्त्री इसाक डारलाई पनि अयोग्य घोषित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्