अन्तिम परिणाम आउँदा कांग्रेस अगाडि



 

सुनील महर्जन, काठमाडौं
हिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस प्रदेश नम्बर २ मा भने पहिलो पार्टी बन्ने लगभग निश्चित भएको छ।

मधेसवादी दलसँग कडा प्रतिस्पर्धा गर्दै २ नम्बर प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। स्थानीय तहको मतगणना करिब–करिब अन्तिम अवस्थामा पुगेको छ। आइतबारसम्ममा १ सय ३६ स्थानीय तहमध्ये १ सय २७ स्थानीय तहको नतिजा आएको छ।

मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौं दिन आइतबारसम्म १ सय २७ स्थानीय तहको मात्र परिणाम आएको छ। असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो। तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ।

अहिलेसम्म नेपाली कांग्रेसले ३७ स्थानीय तहमा जित हासिल गरेको छ। मधेसका ८ जिल्लाका स्थानीय तहमा अब कुनै पनि दलले कांग्रेसलाई उछिन्ने सम्भावना छैन। तेस्रो चरणमा कांग्रेसले ३७ स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा उसको अग्रता कायमै छ।

मधेसका जिल्लामा दोस्रो ठूलो दल पनि संघीय समाजवादी बन्ने भएको छ। तर समग्रमा भने फोरम चौथो पार्टी बनेको छ। तेस्रो चरणमा तेस्रो पार्टीमा राजपा, चौथोमा माओवादी केन्द्र र पाँचौंमा एमाले सुरक्षित भएका छन्।

संघीय समाजवादी फोरमले २३ स्थानीय तह जितेको छ। राजपा नेपालको २३ स्थानीय तह जित्दै तेस्रो स्थान कायम राखेको छ भने नेकपा माओवादी केन्द्रले २१ स्थानीय तहमा जित हासिल गरेको छ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो बनेको एमालेले भने अहिलेसम्म १७ स्थानीय तह मात्र जितेर पाँचौं स्थानमा रहेको छ। यसै गरी नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्ति पार्टीले १ स्थानीय तहको प्रमुख जितेको छ।

संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, लोकतान्त्रिक फोरम र नेपाली जनता दलले पाएको मतलाई समेत जोडेर चुनावी नतिजा हेर्ने हो मधेसवादी दलको उपस्थिति पनि सशक्त रहेको पाइएको छ।

१ सय ३६ स्थानीय तहको परिणाम आउने क्रम अन्तिम चरणमा पुग्दा कांग्रेस २, संघीय फोरम ३, एमाले २ तहमा अगाडि छन्।
एमालेको तर्फबाट अग्रता लिएका स्थानीय तहमा बाराको कलैया उपमहानगरपालिका विनोद शाह, बाराको कोल्हवी नगरपालिकामा भरतबहादुर भण्डारीले अग्रता लिनुभएको छ।

संघीय समाजवादी फोरमको तर्फबाट सप्तरीको राजविराज नगरपालिका भीमराज यादव, सर्लाहीको कविलासी नगरपालिका ब्रमहदेव राय, पर्साको वीरगन्ज महानगरपालिका विजयकुमार सरावगीले अग्रता लिइरहनुभएको छ।

मधेसमा कांग्रेस अघि भए पनि यसअघि पहिलो र दोस्रो स्थानीय तहमा भएको निर्वाचनमा जितेका तह जोड्दा पनि कांग्रेसले एमालेलाई उछिन्न भने नसक्ने देखिएको छ। तर कांग्रेसले मधेसबाट पहिलो र दोस्रोको तुलनामा बढी स्थानीय तह जितेर एमालेसँगको दुरी घटाएको छ।

पहिलो चरणमा वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले १०५ र दोस्रो असार १४ मा भएको निर्वाचनमा १२२ स्थानीय तह जितेको थियो। पहिलो, दोस्रो र तेस्रो (३७) जोड्दा जम्मा कांग्रेसले जितेका तह २ सय ६४ तह हुन जान्छ। बाँकी २ स्थान अग्रतामा पनि कांग्रेसले नै जिते २ बढेर २६६ तहमा कांग्रेस जित्नेछ।

तर, नेकपा एमालेले पहिलोमा १ सय २५, दोस्रोमा १ सय ५१ र तेस्रोमा १७ स्थानीय तहमा जितिसकेको छ। यो संख्या जोड्दा नै एमाले अहिल्यै २ सय ९२ स्थानीय तहमा जितिसकेको छ। तेस्रो चरणको आउँदै गरेको अन्तिम नतिजामा एमाले २ स्थानमा अग्रता छ, यी स्थानमा समेत एमालेले नै जिते उसको जित संख्या २ सय ९४ पुग्नेछ।

सबै तहको स्थानीय निर्वाचनको नतिजा आइसक्दा माओवादीले तेस्रो स्थान पक्का गरेको छ। सो पार्टीले पहिलोमा ४६, दोस्रोमा ३८ र तेस्रोमा २१ तह जितेर १ सय ५ तह आफ्नो कब्जामा लिइसकेको छ। त्यो पनि जिते उसको समग्र जित तह १ सय ६ पुग्नेछ।

राजपा हार्नुमा चार दोष देखिए

बीपी साह, काठमाडौं
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका ६ वटा दल एकीकृत भई बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पछिल्लो स्थानीय निकायको निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसक्नुको कारण खोज्न व्यस्त छ।
दुई नम्बर प्रदेशमा नेपाली कांग्रेसको हाराहारीमा अथवा दोस्रो शक्ति बन्ने आँकलन गरिए पनि अहिलेको मत परिणाम हेर्दा त्यस्तो अवस्था देखिँदैन।

तेस्रो चरणको निर्वाचनमा सोचेजस्तो परिणाम नआउनुमा ४ कारण रहेको राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। नेता महतोले सोचेजस्तो परिणाम नआउनुमा जनताकहाँ समयमा पुग्न नसक्नु, जनतालाई मधेस आन्दोलनले दिएको उपलब्धीका बारेमा जानकारी गराउन नसक्नु पनि सोचेजस्तो परिणाम आउन नसेको दाबी गर्नुभयो। उहाँले चुनावी तयारी नहुनु र जनप्रिय उम्मेदवार चयन गर्न नसक्नु प्रमुख कारण रहेको दाबी गर्नुभयो।

दोस्रो कारणमा उहाँले अरु पार्टीभन्दा बढी विद्रोह राजपामा भएको र पार्टीभित्र नेता तथा कार्यकर्ताहरूको व्यवस्थापन गर्न नसक्दा कतिपय स्थानमा जनमत हुँदाहुँदै पनि स्थानीय निकाय गुमाउनुपरेको जानकारी दिनुभयो।

महतोले सरकारी पार्टीको आर्थिक चलखेल र मतदाता खरिद बिक्रीले पनि आफूहरूलाई घाटा पुर्याएको बताउनुभयो। उहाँले सरकारी पार्टीले मधेसमा पैसाको खोलो बगाएको आरोप लगाउँदै स्थानीय प्रशासनलाई पनि दुरुपयोग गरेको बताउनुभयो।

बदरमतका कारण राजपाले अधिकांश स्थानमा हार ब्यहोर्नुपरेको उहाँले दाबी गर्नुभयो। छ वटा पार्टीको स्थापित पुरानो चिन्हमा पनि मतदान भएको उहाँले बताउनुभयो। पार्टीको पुरानो चिन्हमा मतदान हुँदा राजपाको मत खेर गएको बताउनुभयो।

स्थानीय निकायको निर्वाचनमा राजपाले अपेक्षित स्थानीय निकायमा जित हासिल गर्न नसके पनि संतोषजनक मत प्राप्त गरेको उहाँले बताउनुभयो। आन्दोलनकारी शक्तिलाई मधसी जनताले मतदान गरेको बताउँदै आन्दोलन गर्ने पक्षले उचित मत प्राप्त गरेको दाबी गर्नुभयो। आगामी निर्वाचनमा राजपाले तयारीको समय पनि पाउने र जनताले पनि साथ दिने बताउनुभयो।

राजपाको आकास्मिक बैठक बस्दै
आगामी निर्वाचनको तयारीका लागि राजपाको राजनीतिक समितिको बैठक सोमबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा राजपाको पहिलो राजनीतिक समितिको बैठक बस्न लागेको महतोले बताउनुभयो। आगामी निर्वाचनको रणनीति तथा उम्मेदवार चयनको निर्देशिकालगायतका विषयमा छलफल गर्न राजनीतिक समितिको बैठक बोलाइएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्