भलिबललाई प्याब्सनको साथ



 

काठमाडौं, (नेस)
आगामी कात्तिक १२ गतेदेखि राजधानीमा आयोजना हुने यू–१८ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितालाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले मुख्य प्रायोजन गर्ने भएको छ।

नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि प्याब्सनले ५ लाख रुपियाँ प्रायोजन गरेको छ। शनिबार एक कार्यक्रममा प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसीले प्रायोजन सम्झौतामा हस्ताक्षर गरे।

नयाँ बसपार्कमा आयोजना हुने प्रतियोगितामा १२ पुरुष र आठ महिला टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका विजेता टोलीले १ लाख, उपविजेताले ६० हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले ३५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने कमिसनका अध्यक्ष केसीले जानकारी दिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टतर्फ बेस्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर र डिफेन्सले ३ हजार रुपियाँ प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनका लागि १३ लाख ५० हजार रुपियाँ खर्च हुने अनुमान कमिसनको छ।

प्रशिक्षक राई सम्मानित
न्यु डायमन्ड एकेडेमीका प्रधानाध्यापक एवम् भलिबल प्रशिक्षक कुमार राई शनिबार सम्मानित भएका छन्। भलिबललाई राष्ट्रिय खेल बनाउन र उदीयमान नवप्रतिभावान खेलाडी उत्पादनमा पुर्याएको योगदानको कदर गर्दै राईलाई नयाँ नैकापमा अवस्थित तपार्इं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले सम्मान गरेको हो।

कार्यक्रममा हाल नेदरल्यान्ड्समा रहेकी राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यु डायमन्ड स्पोर्टस् क्लबलाई पनि सम्मान गरिएको थियो।

प्याब्सन अध्यक्ष विजय सम्बाहाम्फे र नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसी प्रायोजन सम्झौता गर्दै।

प्रतिक्रिया दिनुहोस्