पर्यटक तान्न सांस्कृतिक मेला



 

ललितपुर, (नेस)
पर्यटकको मुख्य गन्तव्य रहेको सम्पदास्थल र मूर्त अमूर्त संस्कृतिको संरक्षण गर्नुपर्ने सन्देश प्रवाह गर्दै शनिबार एक दिने पाटन सांस्कृतिक मेलाको आयोजना गरियो।विश्व पर्यटन दिवसको सन्र्दभमा हातेमालो सञ्चारले ललितपुर महानगरपालिका शहरी गरिबी पुनरुत्थान कार्यक्रमअन्र्तगत पाटन दरबार क्षेत्रमा कोतपाटी परिसरमा सो मेलाको आयोजना गरेको हो। मेलाको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो। सो अवसरमा प्रमुख महर्जनले ललितपुरका सम्पदा, संस्कृतिहरू नै पर्यटकहरूको मुख्य आकर्षणको केन्द्रबिन्दु रहेकाले त्यसको संरक्षण गर्न मेलाले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा हातेमालो सञ्चारले पाटन घुम्न आउने र भ्रमण गर्न प्रेरित गर्न देश विदेशका पर्यटकहरूलाई लक्षित गरी तयार पारिएको हेरिटिज वाल्क पाटन नामक एप्स र बुकलेटको पनि अनावरण गरिएको थियो। समारोहमा एप प्रयोग गर्ने तरिकासमेत स्क्रिनमा देखाएर दर्शकलाई जानकारी दिइएको थियो।

त्यसैगरी पौभा सम्बन्धी वृत्तचित्रका प्रोमो पनि अनावरण गरिएको थियो। समारोहमा हातेमालो सञ्चारका अध्यक्ष नुपुर भट्टाचार्यले ललितपुरको पर्यटक उद्योगको मुख्य आधार सांस्कृतिक सम्पदा र मूर्त अमूर्त संस्कृति रहेको धारणा राख्दै त्यसलाई आर्थिक विकाससंग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले सम्पदा संरक्षणका लागि त्यसको संरक्षणका लागेका व्यक्तिहरूको आर्थिकस्तर उकास्नुपर्ने धारणा राख्नुभयो।

मेला विभिन्न महिला समूह, सामाजिक संघसस्थाले तयार पारेको हस्तकलाजन्य सामग्री, नेपाली कागजबाट बनाइएको विभिन्न देवी देवताको मुखाकृति, धातुकलाका मूर्तिहरू, सिलाई, बुनाईका गरी करिब १२ वटा स्टलहरू राखिएको छ। त्यस्तै मेलामा पाटनका सांस्कृतिक सम्पदा, परम्परागत संगीत–नृत्य–वाद्यकला, खाद्य परिकारहरूको राखिएको छ।

प्रतिक्रिया दिनुहोस्