नयाँ कुमारी चयनमा विवाद



 

ईश्वरराज ढकाल, काठमाडौं
कुमारी घरका चिताइदारले तलेजुको मूल पुजारीलाई जानकारी नै नदिई सुटुक्क नयाँ कुमारी छनोट प्रक्रिया सकेका छन्।

अष्टमीको दिन हाल कुमारीका रूपमा रहेकी मतिना शाक्यलाई बिदा गरी नयाँ कुमारी प्रतिस्थापन गर्ने तयारी भएको छ। त्यसका लागि चिताइदार गौतम शाक्यले सम्पूर्ण प्रक्रिया पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पेस गरिसक्नुभएको छ।

नयाँ कुमारी छनोट समितिका पदाधिकारीलाई जानकारी नै नदिई शाक्यले एकलौटी रुपमा कुमारी परिवर्तन गर्ने तयारी गर्नुभएको छ। चिताइदार शाक्यले एक टोली लिएर राष्ट्रपति भण्डारीसमक्ष नयाँ कुमारीको विषयमा जानकारी दिनुभएको छ। टोलीले भदौ ३१ गते नयाँ आउने कुमारीको बारेमा जानकारी दिएको थियो। तर गुठी संस्थानले १२ वर्ष उमेर पुगिसक्नुभएकी कुमारी परिवर्तन गर्न समिति बनाएको थियो।

समितिले काम अघि बढाइरहेको अवस्थामा शाक्य एक्लैले कुमारी छनोट प्रक्रिया अघि बढाउनुभएको छ। स्रोतका अनुसार उहाँले राष्ट्रपति कार्यालयमार्फत संस्कृति मन्त्रालयमा कुमारी परिवर्तन गर्ने प्रक्रिया मिलाइसक्नुभएको छ। तर समितिले भने अहिलेकै प्रक्रियाअनुसार कुमारी छनोट गर्न असम्भव भएको जनाएको छ।

कुमारी छनोट गर्न गुठी संस्थानका उपप्रशासक दीपक पाण्डेको संयोजकत्वमा तलेजुका मूल पुजारी उद्धव कर्माचार्य, राजगुरुज्यू पञ्चबुद्ध, जोशी नाइके र चिताइदार सदस्य रहेको समिति गठन गरेको थियो। समितिले काम शुरू गरिनसकेको अवस्थामा एकाएक चिताइदारले नयाँ कुमारी छनोट गर्न खोज्नु अचम्मको विषय बनेको छ। तर चिताइदार शाक्यले भने आफूले प्रक्रियागत रूपमै कुमारी छनोटको गरेको दाबी गर्नुभयो। तर समितिको अधिकांशले विधि नपुर्याईकनै एकाएक राष्ट्रपतिसमक्ष निवेदन चढाउनु गलत भएको बताएका छन्। ‘हामीसँग कुरै भएको छैन, कसरी राष्ट्रपतिसमक्ष निवेदन पुग्यो, यो गम्भीर विषय हो।’ –तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले भन्नुभयो। उहाँले सबैको सहमतिबेगर कुमारी छनोट भए आफूहरूले मान्यता नदिने बताउनुभयो। ‘भर्खरै नयाँ कुमारी छनोट प्रक्रिया शुरु भइरहेको छ’, कुमारी छनोट समितिका संयोजक एवम् गुठी संस्थानका उपप्रशासक पाण्डेले भन्नुभयो– ‘कसरी हल्ला भइरहेको छ, मलाई जानकारी नै छैन।’

उहाँले समितिले प्रक्रियागत रूपमै कुमारी छनोट हुने स्पष्ट पार्नुभयो। तर शाक्यले समितिको बैठकमा नयाँ कुमारीको विषयमा छलफल अगाडि नबढाई एकलौटी रुपमा कुमारी छनोट गरेको आरोप लागेको छ।

चिताइदार शाक्यले कुमारी परिवर्तन गर्ने तयारी भएपछि अहिलेसम्म केही थाहा नभएको बताउनुभयो। मूल पुजारीसँग खटपट भएको कारण कुमारी छनोटमा समस्या पर्ने भएपछि शाक्यले अहिले तयारी नभएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘परिवर्तन गर्ने बेला भएको छ तर एक दुई दिनपछि मात्रै निर्णय होला।’ चिताइदारले असननजिकै रहेको बहालबाट कुमारी छनोट गरिसक्नुभएको छ। तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले आफूलाई जानकारी नै नदिई कुमारी परिवर्तन गर्न लागेकामा आपत्ति जनाउँदै परम्परालाई नमानी मनपरी रूपमा छनोट गरेको कुमारीको विषयमा आफूले कुनै सहयोग नगर्ने स्पष्ट पार्नुभयो।

चिताइदार र मूल पुजारीबीच लामो समयदेखि खटपट हुँदै आएको छ। कर्माचार्यले कुमारी छनोट गरी राष्ट्रपतिलाई समेत जानकारी दिइसकेको अवस्थामा चिताइदारले कुमारी छनोट भएको छैन भन्नु सरासर झुट भएको आरोप लगाउनुभयो।

‘असन बहालबाट आफन्त पर्नेलाई कुमारी छनोट गरेको सुनेको छु। उहाँले हामीलाई हालसम्म जानकारी नदिएर एकलौटी गर्न थाल्नुभएको छ। कुनै पनि हालतमा हामीलाई मान्य हुने छैन।’ –कर्माचार्यले भन्नुभयो। तर चिताइदार शाक्यले भने सबै कुरा झुटो भएको बताउनुभयो।

जीवित देवी कुमारीलाई परिवर्तन गर्न मूल पुरोहित कर्माचार्यसहितको तान्त्रिक टोलीले १५ दिनअघि नै नयाँ बन्ने कुमारीको चिनाअनुसार जुराउनुपर्नेछ।

तान्त्रिक विधिबाट कुमारीको चिना जुराइसकेपछि नयाँ कुमारीले राष्ट्रप्रमुखलाई विशेष किसिमको फूल, १० वटा सुपारी, विभिन्न सामाग्रीसहित आफू नयाँ कुमारी हुन लागेको जानकारी गराउनुपर्नेछ। तान्त्रिक र गुरुसहितको समितिले सिफारिस गरेको कुमारी छनोट गरी राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने र राष्ट्रपतिले स्वीकृत गरेपछि मात्रै कुमारी छनोट हुने परम्परा रहेको छ।

हाल काठमाडौंमा शाक्यहरू कुमारी हुँदै आएका छन्। काठमाडौंमा रहेका १८ बहालमध्ये ६ वटामा शाक्य बस्ने गरेका छन्। ती शाक्यमध्येबाट कुमारी छनोट हुने परम्परा रहँदै आएको छ। ‘मबाट कुमारी परिवर्तन हुनुपर्छ तर हचुवाको भरमा एकलौटी रुपमा परिवर्तन गर्न खोजिएको छ। हामीबाट सहयोग हुनेवाला छैन।’ –कर्माचार्यले भन्नुभयो।

चिताइदारले अष्टमीमा नयाँ कुमारी परिवर्तन गर्ने तयारी गरे पनि विवादको कारण निश्चित हुन सकेको छैन। राष्ट्रको जीवित देवीलाई मनपरी रुपमा छनोट गरी प्रतिस्थापन गर्न नमिल्ने बताउँदै समितिको निर्णयअनुसार तान्त्रिक विधिबाट छनोट गरिनुपर्ने उल्लेख गर्नुभयो।
परम्पराअनुसार अष्टमीको दिन नयाँ कुमारीलाई कुमारी घरमा रहेको सिंहासनमा राखि तन्त्रिक विधिअनुसार प्राण प्रतिष्ठा गर्ने र भोलिपल्ट नवमीको दिन तलेजु भवानीको प्रत्यक्ष दर्शन गरेपछि मात्रै उहाँलाई जीवित देवीका रुपमा पूजा गर्ने परम्परा रहेको छ। सबै परम्परा तोडेर मनोमानी रुपमा कुमारी परिवर्तन गर्न खोज्नु चिताइदारको गलत नियत भएको मूल पुजारी कर्माचार्यको आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्