​प्रहरीले सुटआउट गर्नुपर्ने एक दर्जनको सूचि तयार, दशैंको मुखमा गुन्डाहरुको भागाभाग



नेपाल समाचारपत्र, काठमाडौं । चक्रे मिलनसँग मिलेर पैसा असुल्ने रामेश्वर गौतमलाई प्रहरीले मनहरा पुलमा गोली हानेपछि टोले गुण्डाको भागाभाग भएको छ । दशैंको समयमा गुन्डाहरु सक्रिय बन्न थालेपछि प्रहरी आक्रामक बनेको हो । शुक्रबार एक गुन्डाले प्रहरीको गोली खाएपछि अरु टोले गुण्डाको सातो गएको बताईन्छ । चक्रे मिलनसँग मिलेर पैसा असुल्ने रामेश्वर गौतमलाई प्रहरीले मनहरा पुलमा गोली हानेको हो । उनको खुट्टामा गोली लागेको छ ।

हतियार देखाउदै व्यवसायीहरुलाई धम्काउदै आएका गौतमलाई खोला छेउमा भेट्न बोलाएर प्रहरीले गोली हानेको बताइएको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई गोली हानेको थियो । पक्राउ गर्न खोज्ने क्रममा आफुहरुमाथि फायर गरेपछि गोली हान्नुपरेको एसएसपी दिवेश लोहनीले बताएका थिए ।

यसै बीच प्रहरीले सुटआउट गर्नुपर्ने एक दर्जन गुन्डाहरुको सूचि बनाएको बताइएको छ । जसमा पुराना गुन्डादेखि टोलेहरुसम्म छन् । सूचिमा काभ्रेली समूहका दावा, संजीव स्याल लगायत व्यक्तिको नाम रहेको बताइएको छ ।
प्रहरीले सुटआउट अभियान सुरु गरेपछि दशैंको मुखमा गुन्डाहरुको भागाभाग भएको हो ।

प्रतिक्रिया दिनुहोस्