कमल ढकाल
संगीतले मान्छेलाई अर्कै बनाउँछ। लोसे मान्छेले ६ महिना फास्ट ट्र्याकको म्युजिक बजाएर काम गर्यो भने ऊ पनि ६ महिनामै फास्ट काम गर्ने मान्छे हुन्छ। चाँडो काम गर्ने मान्छेले स्लो टाइपको म्युजिक सुन्यो भने ऊ त्यत्ति नै महिनामा स्लो बन्छ। अर्थात् ६ महिनामा संगीतले योलाई त्यो र त्योलाई यो बनाइदिन्छ।

संगीतको राप देखेर जोकोहीलाई एक झमट गायक पो बनौं कि भन्ने लाग्छ। त्यसरी गायक हुँदैन। वर्षाैं वर्ष साधना गरेपछि बल्ल एक गायकको जन्म हुन्छ। चर्चित गायक ओम विक्रम विष्टको त्यो रहर कालान्तरमा क्यारिअर नै बन्यो। चार दशकदेखि गायनमै संलग्न उनी कहिले गीतकार, संगीतकार बनेर गायनमै चुर्लुम्मै डुबे। ओम विक्रम अहिले अमेरिकामा छन्।

किड्नी दुवै फेल भएपछि डायलोसिस गराउँदै छन्। मिलेसम्म किड्नी ट्रान्सफर गरेर यो संसारमा केही दिनहरु लम्ब्याउने सुरमा छन्। तर गायकसँग पैसा कहाँ हुन्छ र? उनी भन्थे। सम्मान, पदक, तक्मा र अभिनन्दनपत्र बोराका बोरा छन्, त्यो बेचेर पैसा नआउने। हाम्रो देशमा पैसाको कमाइभन्दा यस्तै कमाइमा सन्तुष्ट मान्नुपर्ने अवस्था अहिले पनि छ।

वीर अस्पतालको बेडमा जन्मेका उनी हजुरबाबु बनिसकेका छन्। छोरीसँग अमेरिका बस्ने उनी नाति खेलाउँदै पनि संगीतमै तल्लीन छन्। जहाँ र जस्तो अवस्थामा पनि उनको गायन भने अहिलेसम्म पछाडि फर्कन परेको छैन।

साहित्यकार दौलत विक्रम विष्टका छोरा उनी। ओमको बाबुको साथी भूपि शेरचन, विजय मल्ल्ल, गोविन्द गोठाले आदि थिए। उनीहरुका अगाडि फुच्चे उनी नेवारी गीत गाउँथे।

रसिक परिवार थियो उनको। होलीको दिनमा हारमोनियम बजाएर बाबुले गीत गाउँथे। उनको मुमा पनि गाउने। ट्रान्जिस्टरको जमानामा मर्फी रेडियो सुनेर नाच्थे ओम। सात तारे गीतार सजावटका लागि बाबुले ल्याएका थिए। उनले त्यो बजाएर कान पकाउँथे सबैका। बजाउँदा बजाउँदै हातमा रगत बग्थ्यो। यसरी उनको गीतसँग अनजानमै प्रित बस्यो।

१३ वर्षको उमेरमा महेन्द्रका अगाडि हाम्रो राजा महेन्द्रले नेपालको खुब माया गरे भन्ने गीत गाए। महेन्द्रले धाप मारे। आफैले आफैलाई मनोबल बढायो त्यस घटनाले। आफ्नो कामले कहिलेकाहीँ जब आफूलाई स्याबासी दिलाउँछ त्यसपछि विस्तारै मान्छे त्यसप्रति अगाडि बढ्दै जान्छ। बिटल्सको गीतका क्रेजी ओम एसएलसी दिएपछि संगीतको हाई वेमा आफै लागे। गितार बजाएर कम्पोजिसन गर्न थाले। कर्ड आफै सिके।

रेडियो नेपालमा २०२८ सालमा १६ वर्षको उमेरमा गीत गाए। क्लासिकल पनि सिके। सिक्दै कम्पिटिसन गरे। नातिकाजी, शिवशंकर, गोपाल योन्जन निर्णायक थिए। कम्पिटिसनमा प्रथम भए। माया त होला नि त्यो छातिभित्र गीत त्यतिबेलै हिट भयो। जब मान्छेलाई कामले आनन्द दिन थाल्छ त्यसपछि त्यो काम नभएर अम्मल बन्न जान्छ। उनी अहा कस्तो राम्रो गीत भनेर दुर्ई चार जनाले उफार्दा उफार्दै संगीतका अम्मली बनिसकेका रहेछन्। राम्रो भएपछि अझ राम्रो गर्नुपर्छ भन्ने मानवीय स्वभावले दह्रो काम गर्यो। त्यसैले त १३ वर्षदेखि गाउन थालेका उनी आजसम्म पनि गाउँदै छन्।

निमोनियाबाट निधन भएकी श्रीमतीको नाममा उनले फ्लोरा नामक सिडी निकालेका छन्। ओमको गीतलाई रेडियो नेपालले न आधुनिक भन्न सक्यो न लोक, जब ओमले गीत निकाले। नयाँ ढंगको त्यो गीतलाई सबैले के नाम राख्ने भन्ने भयो। त्यसैले उनका गीतलाई अत्याधुनिक गीत भन्न थाले। इन्डियाको त के कुरा, साउथ इस्ट एसियामा नै थिए न उनको जस्तो पप गीत, गितार र ड्रम प्रयोग गरेका। उनका म मौनतामा अल्झेको मेरो जीवन होस् वा याद गर ती दिनहरु यी गीतले उनलाई हिट बनायो। शहरमा नयाँ गीत आयो भनेर तहल्का पिट्यो उनका ती गीतले। त्यसपछि सयभन्दा बढी नन स्टप हिट बजे ओमका। हो तीनै गीतले उनलाई अमर बनाउँदै छ।

मान्छेले एकपटक राम्रो काम गर्यो भने उसले आफ्नो इतिहास बनाउँछ। त्यही इतिहासले उसलाई बचाउँछ। संगीतको साथ नभएको भए उनी अहिले पाइलट बन्थे होला। त्यो चिनारी थोरै बीच कति बीच हुन्थ्यो? संगीतमा लागेर उनले भौतिक सुख धेरै पाएनन्। भौतिक सुखको मुख्य कुरो कागजको खोस्टा हो। त्यो धेरै बटुल्न नसके पनि ओम विक्रम विष्ट एउटा ब्रान्ड नेम बनेको छ नेपाली पप इतिहासमा।

नौ दिन दार्जलिङ थर्र्काए ओमले सन् १९८० मा ओम विक्रम विष्ट साँझका नाममा। मिरिकमा एक दिन र तीन दिन कालिम्पोङमा पनि। अन्त्यमा बिर्तामोडमा आएर एक नाइट सो गर्दा पैसा नभएर धरानको एक जना साथीसँग पैसा मागेर नाइट बसमा राजधानी आउन परेको कथा छ उनीसँग। पैसो नकमाएको पनि हैन। सबै म्युजिक ब्यान्डलाई बाँड्दा बाँड्दै सकिने।

ओमले केही वर्षअघि अमेरिकाभर गाउँदा एक महिनामा ३० लाखको थैलो पाए पनि। विदेशमा एक महिना गाउँदा उनले जिन्दगीभर नकमाएको पैसा कमाए। अहिले सिंगरको पैसो रिर्टन छैन। लाइभको चार्म छैन, जुनमा पनि एउटै एरेन्जर। भिडियो बनाउने र एरेन्जर धनी भएका छन् गायक टाट पल्टँदै गएका ओमको भोगाइ छ।

संगीतको पोखरीको फरक रंगको माछा थिए ओम। आधुनिकको बोलवाला भएको टाइममा उनी नयाँ भए। हाई रेन्जको उनको स्वरले नयाँ म्युजिक छान्यो। नयाँ हुँदा नाम बढी लिन्छन् मान्छेले। त्यसले हानी पनि गर्छ। फाइदा पनि। त्यसका लागि आफू राम्रो बन्न मेहनत गर्नुपर्छ। त्यसैले ओमले क्लासिकल म्युजिक खुब पढे।

एकेडेमिकमा आईए पास मात्र गरे पनि अंगे्रजी फ्ल्युन्ट थियो उनको। त्यसैले अंग्रेजी म्युजिकको किताब छाड्दैनथे। इन्डियाबाट मगाई मगाई पढ्थे। कर्डबुक आफै किनेर सिक्थे। ब्रिटिस र अमेरिकन लाइब्रेरी गएर बिटल्सलगायत विश्वका चर्चित साहित्यका किताब सुलुत्तै पार्थे।


ओमले केही वर्षअघि अमेरिकाभर गाउँदा एक महिनामा ३० लाखको थैलो पाए पनि। विदेशमा एक महिना गाउँदा उनले जिन्दगीभर नकमाएको पैसा कमाए। अहिले सिंगरको पैसो रिर्टन छैन। लाइभको चार्म छैन, जुनमा पनि एउटै एरेन्जर। भिडियो बनाउने र एरेन्जर धनी भएका छन् गायक टाट पल्टँदै गएका ओमको भोगाइ छ।


एक दिन हार्मोनियममा उनको स्वरको रेन्ज हेरेका थिए मदन परियारले। ओमको सुरिलो स्वर हार्मोनियमभन्दा बढी गयो। यस्तै उत्साहको घचेटाघचेटमा झुम्ने र झुमाउने गर्दा गर्दै उनी विभिन्न देश डुले। अमेरिका, बेलायत, क्यानडा, अस्टे«लियालगायत दर्जनौं देश गइसकेका छन्। तीन छोरी, एक छोरा र छोरीपट्टिबाट हजुरबा बनेका ओम अगाडि हेर्दा त्यस्तो लाग्दैनन्।

उतिबेला र अहिले गीत गाउन आकाश जमिनको अन्तर छ। उतिबेला डेट पाउन गाह्रो हुन्थ्यो गीत रेकर्ड गर्न। पिसाब लाग्यो हाच्छ्यिुँ आयो भने फेरि गाउनुपथ्र्याे। लाइभ गाउँदा गाउँदै पाँच बज्यो भने रोकिन्थ्यो। अर्काे डेट कहिले आउने कुनै ठेगान थिएन। तीन टेकमा रेकर्ड गर्नै पथ्र्याे। त्यति गरेपछि पनि आफ्नो गीत कहिले पालो आउँछ भनेर हेर्न झंकार भन्ने पत्रिकामा किन्नुपथ्र्याे। यी सबै रेडियो नेपालमा गीत रेकर्ड गराउँदाका किस्सा हुन्।

मान्छेलाई अहिले सजिलो छ। पैसा भए गीत गाउन सकिन्छ भन्ने छ। तर पनि आफ्नो नाम बनाउने हो भने धेरै कुरा ख्याल गर्नुपर्छ। स्वर, सुर, ताल सबैमा ज्ञान हुनुपर्छ। पढ्ने र त्यहीअनुसार प्राक्टिकल गर्ने। एउटा गीत हिट भएन भनेर नआत्तिने। यति गरेमा सायद नयाँ गायक जन्मन्छ।

अमेरिकामा रहेका ओम यतिबेला बिमारी छन्। सयौं हजारौं उनका फ्यानले उनलाई दुवा गरेर नै होला उनी बाँचिरहेका छन्। सबैको साथै हाम्रो पनि दुवा छ प्यारो ओमदाइलाई।

 

LEAVE A REPLY