टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीको कार्यकाल १ वर्ष पूरा



????????????????????????????????????

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको कार्यकाल १ वर्ष पुरा भएको छ। सोअवसरमा राजभण्डारीले विगत १ वर्षको कम्पनीको सेवा, प्रशाशनिक, आर्थिक तथा कार्यक्रमतर्फको उपलब्धी सार्वजनिक गर्नुभएको छ।
उपलब्धी सार्वजनिक गर्दै राजभण्डारीले १ बर्षको अवधिमा बाह्य समस्या तथा चुनौती विगतमा जस्तै रहेतापनि विभिन्न उपाय कार्यान्वयन गर्दै सेवा अवरुद्द हुन सक्ने अवधिलाई न्यूनिकरण गर्ने कार्य भएको बताउनुभयो।

यस अवधीमा उहाँले विभिन्न कठिनाई बाबजुद कम्पनीले दूरसञ्चारको देशव्यापी पूर्वाधार विस्तार, पारदर्शी तथा सर्बसुलभ मूल्यलाई निरन्तरता दिई कम्पनी ग्राहक आधार अभिवृद्धि तथा जनस्तरमा भरपर्दो छवि बनाउन सफल भएको पनि दावी गर्नुभयो।

आफ्नो १ वर्षे कार्यकालमा टेलिकमले तार सहित तथा ताररहित सेवा विस्तार, दुरसञ्चार पूर्वाधार निर्माण, ग्राहक सेवा, सेवाको गुणस्तर सुधार, रणनीतिक साझेदार, कर्मचारी वृद्धि विकास एवम् व्यवस्थापन र सामाजिक दायित्वतर्फ महत्वपूर्ण उपलब्धी हाँसिल भएको उहाँको भनाई छ।

राजभण्डारीले सेवा वितरणतर्फको उपलब्धीमा गत वर्ष कम्पनीको ग्राहक संख्या १७ दशमलव २३ प्रतिशतले वृद्धि भई १ करोड ७६ लाख २ हजार २ सय २ जना पुगेको जानकारी दिनुभयो। त्यस्तै गत वर्ष इन्टरनेट ग्राहक आधारमा १० दशमलव ७६ प्रतिशतको वृद्धि भएको छ।

आर्थिक उपलब्धीतर्फ कम्पनीको कूल आम्दानीमा १ दशमलव ४ प्रतिशतको वृद्धि भएको जानकारी दिनुभयो। यसअवधीमा टेलिकमको कूल खर्च ६ दशमलव २४ प्रतिशतले घट्दा खुदमुनाफा १३ दशमलव ११ प्रतिशतले बढेर १५ अर्ब १ करोड रुपियाँ पुगेको छ।

प्रगति विरण सार्वजनिक गर्दै राजभण्डारीले गत वर्ष तार सहितको टेलिफोन सेवामा पुराना प्रविधिका ९७ हजार २ सय २४ लाइन प्रतिस्थापन गरिएको जानकारी दिनुभयो। उहाँले चालु आर्थिक वर्षमा २ लाख ५० हजार लाइन प्रतिस्थापन गर्ने पनि बताउनुभयो।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राजभण्डारीले मध्य पहाही क्षेत्रमा अप्टिकल फाइबर राख्ने आयोजनामा ढिलाई भएको स्वीकार गर्नुभएको छ। उहाँले ग्रामीण दूरसञ्चार कोषको रकम उपयोग गरेर सम्पन्न गरिने सो आयोजना कम्पनीको प्रक्रियागत समस्याका कारण ढिलाई भएको बताउनुभयो। तर वृहत साइट सर्भे भने सम्पन्न भईसकेको उहाँको दावी छ।

त्यस्तै उहाँले टेलिकमले पुननिर्माण गर्ने भनेको भूकम्पबाट क्षतिग्रस्त धरहरा र विद्यालय भवनको पुनर्निर्माण गर्न आगामी ३ वर्षभित्रमा १ अर्ब रुपियाँ खर्च गर्ने प्रतिवद्धता व्यक्क्त गर्नुभयो। उहाँले धरहराको पुनर्निर्माणबाट टेलिकमले हात झिकेको भन्ने चर्चा चलेको भए पनि त्यसमा सत्यता नरहेको दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्