बेनी–जोमसोम सडक अवरुद्ध



प्रताप बानियाँ, म्याग्दी

हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक विगत दुई दिनदेखि अवरुद्ध बनेको छ। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रेभिरमा सडकभन्दा माथिबाट खसेको सुखा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो।

काभ्रेभिरमा माथिबाट खसेको सुखा पहिरोले करिब ५० मिटर सडक पुरेपछि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बेनी–जोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङको कागबेनी श्रद्धा गर्न पुगेका सोह्रश्रद्धाका तीर्थयात्री, मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने तथा फर्कंदै गरेका दर्शनार्थी, पर्यटक, कर्मचारी, सर्वसाधारण, यात्रुलगायतलाई आवतजावत गर्न समस्या भएको छ। सडक अवरुद्ध भएर यातायात बन्द भएपछि सर्वसाधारणले वैकल्पिक पदमार्गमार्फत पैदलयात्रा गर्न बाध्य भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताइन्।

उनका अनुसार बेनीदेखि छुटेका सवारीसाधन दानामा र मुस्ताङको जोमसोमबाट छुटेका सवारीहरू घाककसामै रोकिएका छन्। सीधा यातायात बन्द भएपछि मुस्ताङको स्याउ ढुवानी र दशैंका लागि मुस्ताङ र डोल्पाबाट खरिद गरेर ल्याइएका भेडाच्याङ्ग्रालाई समेत सडक पार गराउन समस्या भएको व्यापारीहरूले गुनासो गरेका छन्।

बुधबारको साँझदेखि परेको अविरल वर्षाका कारण सडक खुलाउने प्रयास गरिए पनि हालसम्म सफल हुन सकेको छैन। अवरुद्ध सडक खुलाउनका लागि बेनी–जोमसोम–कोरला आयोजनाका डोजर, स्काभेटरलगायत ४ ओटा मेसिन तयारी अवस्थामा राखिएको छ। तर निरन्तरको वर्षाका कारण सडक खुलाउन नसकिएको प्रनाउ खड्काले जानकारी दिएकी छिन्।

सडक खुलाउन बेनी खण्डमा ४ ओटा र मुस्ताङ तिरको खण्डमा एकवटा डोजर सडकमै राखिएको छ। तर, अप्ठ्यारो ठाउँ भएको हुँदा माथिबाट पहिरो खस्ने गरेकाले सडक खुलाउन नसकिएको प्रहरीको भनाइ छ। सडकमाथिबाट चार पाँचवटा ठूल्ठूला ढुंगा खसेर सडकलाई थप अवरुद्ध बनाएको प्रनाउ खड्काले बताइन्। सडक खुलाउन प्रयोग गरिएको एकवटा डोजरको माथिबाट खसेको पहिरोले पुर्दा सिसा फुटेको बताइएको छ।

उक्त स्थानमा अहिले पनि पहिरो खसिरहेको र जोखिम मोलेर सडक खुलाउने प्रयास जारी राखिएको कालीगण्डकी करिडोरका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिए। निरन्तर रुपमा परेको वर्षाका कारण शुक्रबार पनि अवरुद्ध सडक खुल्ने सम्भावना कम रहेको उनको भनाइ छ। सडक फराकिलो बनाउने काम भइरहेको ठाउँमा सुखा पहिरो खसेपछि ७६ किलोमिटर दूरी रहेको बेनी–जोमसोम सडकमा सीधा यातायात सेवा अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस्