कोरिया र चीनका राजदूतले स्वास्थ्यमन्त्री भेटे



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र चिनका लागि राजदूत उहोङले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पोखरेलसँगको भेटमा कोरियाका राजदूत सिकले नेपाल र कोरियाबीचको सम्बन्ध प्रगाढ र सुमधुर रहेको बताउँदै सहकार्यको निरन्तरताका लागि अपेक्षा राखिएको बताउनुभयो। राजदूत सिकले स्वास्थ्य बीमा क्षेत्रको कोरियाको अनुभव आदान–प्रदान गर्न कोरिया सरकार तयार रहेको बताउनुभयो।

भेटमा स्वास्थ्य मन्त्री पोखरेलले दुई देशबीचको सहकार्यका लागि अनुरोध गर्दै कोरियामा रहेका नेपाली कामदारहरूको सुरक्षा र रोजगारीको व्यवस्थापनको विषयमा चिन्ता व्यक्त गर्नुभएको थियो।

यस्तै, नेपालका लागि चीनका राजदूत उहोङले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसँग शिष्टाचार भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पोखरेलसँगको भेटमा राजदूत होङले नेपाल सरकारले प्राथामिकतामा राखेको विषयलाई सहयोग गर्ने बताउनुभयो।

छिमेकी मित्रराष्ट्रको नाताले नेपालसँग समुधुर सम्बन्ध रहेको बताउँदै राजदूत होङले आयुर्वेद चिकित्सा सेवालाई सहयोग गर्न चीन सरकार तयार रहेको बताउनुभयो। आयुर्वेद चिकित्सा सेवा, अनुसन्धान र जडिबुडी उत्पादनको क्षेत्रमा चीन सरकारले सहयोग गर्ने राजदूत होङले प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल सरकारका तर्फबाट ल्याएका योजनालाई सधैं सहयोग गर्न तत्पर रहेको होङले बताउनुभयो।

भेटमा स्वास्थ्यमन्त्री पोखरेलले देशभर प्रदेशस्तरमा आयुर्वेद सेवाको विस्तार गर्ने तयारी गरिएको बताउनुभयो। दुई देशबीचको सम्बन्ध मजबुद रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले चीन सरकारको सहयोग गर्ने प्रतिबद्धतालाई धन्यवाद दिँदै निरन्तर सहयोग र सहकार्य अपेक्षा राखेको बताएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक सुनिल खड्काले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्