उत्तर कोरियामाथि थप प्रतिबन्ध



वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन आदेश जारी गरेको छ। यस आदेशले अमेरिकाको राज्यकोष विभागलाई उत्तर कोरियासँग ब्यापारिक सम्बन्ध राख्ने कम्पनी तथा आर्थिक संस्थामाथि कारबाही गर्ने अधिकार प्राप्त गरेको छ।

ट्रम्पले चीनको सेन्ट्रल बंैकले अन्य चिनियाँ बंैकलाई प्योङयाङसँग कारोबार रोक्न भनिसकेको पनि जानकारी दिए। संयुक्त राष्ट्रसंघले दुई हप्ताअगाडि उत्तर कोरियामाथि परमाणु परीक्षण गरेकोमा नयाँ प्रतिबन्ध लगाएको थियो।

विश्वव्यापी दबाबका बाबजुद उत्तर कोरिया विगत केही हप्तादेखि लगातार परमाणु तथा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिरहेको छ। यस कदमले कोरियाली प्रायद्विपमा तनाव बढिरहेको छ।

बिहीबार नयाँ प्रतिबन्धको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भने– ‘मानवीयताका लागि सबैभन्दा खतरनाक हतियार विकास गर्नका लागि उत्तर कोरियाले जुन स्रोतहरूबाट पैसा हासिल गरिरहेको छ, त्यसलाई रोक्नका लागि यो कदम उठाएको हो।’

ट्रम्पले उत्तर कोरियाको कपडा, माछा, आईटी र उत्पादन उद्योगतर्फ संकेत गरेका हुन्। उनले भने– ‘परमाणु हतियार र क्षेप्यास्त्र कार्यक्रममा लगानी गर्न उत्तर कोरियाले लामो समयदेखि अन्तर्राष्ट्रिय आर्थिक प्रणालीको दुरूपयोग गरिरहेको छ।’

राष्ट्रपति ट्रम्पले जोड दिँदै भने– ‘यो प्रतिबन्ध मात्र एक देशमाथि लगाएको हो र त्यो देश उत्तर कोरिया हो।’ यसअघि ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा उत्तर कोरियाले अमेरिका र उसको सहयोगीलाई खतरा उत्पन्न गराएमा उसलाई पूरै नष्ट गर्नेबाहेक अर्को विकल्प नहुने बताएका थिए।

उत्तर कोरियाका विदेशमन्त्री री योङ होले ट्रम्पको उक्त टिप्पणीको तुलना ‘कुकुरको भुकाइ’ सँग गरेकी थिइन्।री योङको शुक्रबार संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने कार्यक्रम थियो।

प्रतिक्रिया दिनुहोस्