पूर्वराजा ज्ञानेन्द्रको टीका स्थगित



ईश्वरराज ढकाल, काठमाडौं
पूर्वराजा ज्ञानेन्द्रले यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गर्नुभएको छ।

दशैंको टीकाको दिन सर्वसाधारणको घुइँचो लाग्ने निर्मल निवास यो वर्ष शून्य हुने भएको छ। देशमा बाढीपहिरोको कारण दुःख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वकीय सचिव फणि पाठकले जानकारी दिनुभयो।

पूर्वराजा ज्ञानेन्द्रले १४ गते टीकाको बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ। निर्मल निवासको त्रिशूल सदनमा आफन्तलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ।

त्यसपछि महेन्द्र मञ्जिलस्थित आमा रत्नको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ। पञ्चा· निर्णायक समितिले यो वर्षको टीकाको साइत १० बजेर ५५ मिनेट रहेको जनाए पनि पूर्वराजाको पुरोहितले १० बजेर ४५ मिनेट साइत जुराएका छन्।

समितिका अनुसार ९ गते सोमबार पचली भैरव यात्रा परेको छ। असोज ११ गते बुधबार दशैं घर वा कोठामा फूलपाती भित्र्याइने कार्यक्रम रहेको छ। र फूलपातीका दिन बिहान ७ बजेर ३१ मिनेटमा तुलजा भवानी यात्रा निर्णय भएको छ।

तर निर्मल निवासले जमरा राख्नेदेखि फूलपाती भित्र्याउनेसम्मको साइत छुट्टै तय गरेको छ।

यस्तै यो वर्ष पूर्वराजाले शक्तिपीठको दर्शन गर्ने कार्यक्रमसमेत स्थगित गर्नुभएको छ। गत वर्ष महाअष्टमीको दिन नक्साल भगवती, गुह्येश्वरी, कालिकास्थान, भद्रकाली, महांकाल, नरदेवी, शोभा भगवती र इन्द्रयाणीको दर्शन गर्नुभएको थियो।

यो वर्ष सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ। देशमा संकट परेको जनाउँदै निर्मल निवासले आयोजना गर्ने सबै कार्यक्रम स्थगित गरिएको पूर्वराजका स्वकीय सचिव पाठकले जानकारी दिनुभयो।

यसैबीच दशैंलगत्तै पूर्वराजा विदेश जाने कार्यक्रम रहेको छ। सम्भवतः असोज २२ गते पूर्वराजा विदेश भ्रमणमा जाने कार्यक्रम तय भएको हो। पटक–पटक विदेश भ्रमणमा निस्कने पूर्वराजा थाइल्यान्डको कलेजमा भर्ना हुनुभएकी नातिनी पूर्णिकालाई भेट्न विदेश भ्रमणमा निस्कने सम्भावना रहेको स्रोतले जनाएको छ।

उता पूर्वयुवराज पारस केही महिनायता निर्मल निवासमै बस्दै आउनुभएको छ। दशैंमा पनि उहाँ निर्मल निवासमै रहने स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्