परिवार नियोजन कार्यक्रम प्रभावहीन



प्रशान्त वली, काठमाडौं
स्वास्थ्य मन्त्रालयले परिवार नियोजन कार्यक्रमका लागि पर्याप्त मात्रामा बजेट विनियोजन गरे पनि विकट क्षेत्रमा परिवार नियोजनका साधन पुग्न सकेको छैन।

सरकारले परिवार नियोजनका साधन वितरणलाई प्रभावकारी नबनाउँदा र पर्याप्त तालिम प्राप्त स्वास्थ्यकर्मी नखटाउँदा परिवार नियोजनका साधन वितरण र यसको प्रयोगको बारेमा अधिकांश किशोरकिशोरी अनभिज्ञ छन्। जसले गर्दा विकट र ग्रामीण क्षेत्रमा प्रजनन दर शहरको भन्दा बढी रहेको छ भने ग्रामीण बस्तीमा परिवार नियोजनका साधनसमेत प्रजनन उमेर भएकाले त्यति प्रयोग गर्ने गरेका छैनन्।

अझै पनि १ सय जनामा ४७ जनाले परिवार नियोजनका साधन प्रयोग नगर्ने गरेको एक अध्ययनले देखाएको छ। सरकारी तथ्यांकअनुसार प्रजनन उमेर समूह भएका १५ देखि ४९ वर्ष उमेर समूहका १ सय जनामध्ये ४७ जनाले परिवार नियोजनका साधन प्रयोग नगर्ने गरेको स्वास्थ्य मन्त्रालयले तयार पारेको तथ्यांकमा उल्लेख छ।
मुख्य गरी पिछडिएको वर्ग, अशिक्षा र विकटताका कारण १५ देखि ४९ वर्ष उमेर समूहका गरिब समुदाय, हिमाली, पहाडी र दुर्गम क्षेत्रमा बसोबास गर्ने व्यक्ति÷दम्पतीमा परिवार नियोजनका साधनको प्रयोग निकै कम भएको देखिएको छ।

यस्तै १ सय जनामा ५३ जनाले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको जसमध्ये १० प्रतिशतले प्राकृतिक साधन र ४३ प्रतिशतले परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेको बताइएको छ।

पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार १५ देखि १९ वर्षका विवाहित किशोरीमध्ये १५ प्रतिशतले मात्रै आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन्।

यस्तै परिवार नियोजन कार्यक्रमका लागि यस वर्ष स्वास्थ्य मन्त्रालयले ३३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। सो रकम तालिम प्राप्त स्वास्थ्यकर्मी निर्माण, परिवार नियोजनका साधन कार्यान्वयनको अवस्थाका बारेमा सूक्ष्म अध्ययनलगायतमा खर्च हुने परिवार स्वास्थ्य महाशाखाका परिवार कल्याण शाखा प्रमुख डिल्लीरमण अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

सरकारले अति प्रभावकारी अस्थायी साधन आईयूसीडी र इम्प्लान्ट सेवाको देशभर विस्तार गर्न नसकेको स्वीकार गरेको छ।

परिवार कल्याण शाखा प्रमुख अधिकारीले भन्नुभयो– ‘प्रजनन दरमा क्रमिकरूपले कमी आइरहेको छ। परिवार नियोजनका साधनको प्रयोग दरमा वृद्धि भएको छ। यद्यपि विकटमा केही समस्या छ। परिवार नियोजनसम्बन्धी जनचेतना अभिवृद्धि भएको तथा परिवार नियोजनका साधनको पहुँचमा विस्तारै वृद्धि हुँदै गएको पाएका छौं।’

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालको कुल प्रजनन दर २ दशमलव ३ प्रति महिला रहेको पाइएको छ।

यद्यपि ग्रामीण भेगमा कुल प्रजनन दर २ दशमलव ९ र शहरको कुल प्रजनन दर २ पाइएको छ।

प्रतिक्रिया दिनुहोस्