पर्सामा एमालेको किल्ला भत्कियो, कान्छो महानगरमा ठूलो भिडन्त



कृष्णउदास खनाल वीरगन्ज, ६ असोज । पर्सामा नेकपा एमालेको गढ भत्काउदै कतिपय स्थानमा नेपाली कांग्रेस र कतिपय स्थानमा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।  नेकपा एमालेको गढ मानिएको पर्साको पर्सागढी नगरपालिकामा नेपाली कांग्रेसले कब्जा गरेको छ ।

नेकपा एमालेका सांसद राजकुमार गुप्ताको निर्वाचन क्षेत्र मानिएको पर्सागढीमा झिनो मतले नेपाली कांग्रेसका लोक नारायण यादवले मेयरमा कब्जा जमाएका हुन् । स्थानीय एक गैर सरकारी संस्थाका अध्यक्ष समेत रहेका यादवले जम्मा ६७ मतले एमालेका गोकर्ण पाठकलाई पराजित गर्दै कांग्रेसको झण्डा गाड्न सफल भएका हुन् ।  त्यसरी नै एमालेको गढ मानिइएको पर्साको ठोरी गाउपालिकामा पनि नेकपा माओवादी केन्द्रले झण्डा गाडेको छ । एमाले सांसद जयप्रकाश थारुको निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका पूर्व जनसरकार प्रमुख समेत रहेका पि.एल.श्रेष्ठ बिजयी भएका हुन् । उनले एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठलाई हराएका थिए  ।

एमालेको गढ नै मानिएको पर्साको बिन्दवासिनी गाउपालिकामा पनि फोरमका श्रीलाल साह कानुले जीत हासिल गरे । वीरगन्ज महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार बसरुद्दिन अंसारी पांचौं नम्बरमा रहेका छन्  ।  पर्साको १४ स्थानीय तह मध्ये शुक्रबार सम्ममा ६ वटा स्थानीय तहको परिणाम सार्वजनिक हुंदा एक नगरपालिका सहित नेपाली कांग्रेसले पटेर्वासुगौलीको उपाध्यक्षमा जित हासिल गरेको छ भने नेकपा एमालेले पटेर्वासुगौलीमा केवल गाउपालिकाको अध्यक्षमा जित हासिल गरेर चित्त बुझाएको छ ।

नेकपा माओवादी केन्द्रले ठोरी र छिपहरमाई गाउपालिकामा जीत हासिल गरेको छ । माओवादीले पर्सामा यसअघि कुनै जीत हासिल नगरेपनि यस पटक भने दुई गाउपालिका सहित अरु जिल्लाको जगरनाथपुर गाउपालिका जित्ने निश्चित भइसकेको छ ।  संघीय समाजवादी फोरमले बिन्दवासिनी सहित कालिककामाईको उपाध्यक्षमा जितेको छ भने जनता दलको चुनाव चिन्ह लिइ चुनावमा उठेका नेपाल संघीय पार्टीका नथुनी साहले कालिकामाई गाउपालिका जितेका छन् । वीरगन्ज महानगरपालिकामा भने महाभिडन्त देखिएको छ । नेपाली कांग्रेस अग्रस्थानमा नै छ भने दोश्रो स्थानमा अब फोरम उक्लिएको छ यसअघि राजपा दोश्रो स्थानमा रहेकोमा अब फोरमले दुई नम्बरमा आफूलाई पु¥याएको छ । यद्यपी वीरगन्जको बहुसंख्यक वडा भने अझै गन्न बांकी नै छ।

प्रतिक्रिया दिनुहोस्