केन्द्र निर्धारणबारे सन्दकपुर गाउँपालिकाको बिबाद उत्कर्षमा



गणेश घिमिरे, इलाम ।
तिब्र बिबादका बीच स्थानीय तह निर्धारणको क्रममा दलहरुले सबैभन्दा अन्तिममा निर्णय गरेको सन्दकपुर गाउँपालिकामा फेरी केन्द्रको बिषयमा बिबाद उत्पन्न भएको छ । केन्द्र निर्धारण गर्ने बिषयमा गाउँपालिकाबासी नै दुईधारमा बिभाजित भएका छन् ।

एक पक्षले केन्द्र निर्धारण गाउँ सभाले निर्णय गरेकै ठाउँमा हुनुपर्ने अडान लिएको छ । अर्को पक्ष भने गाउँ सभाले निर्णय गरेको स्थानमा सिङ्गो गाउँपालिकाबासीका लागि अपायक पर्ने हुँदा उपयुक्त स्थानमा बनाउनु पर्ने माग राख्दै आएका छन् ।

यी दुबै पक्ष आ आफनो अडानमा अडीग बन्दा सन्दकपुर गाउँपालिकाको केन्द्र निर्धारण अन्योलमा समेत परेको छ । आफूहरुको मागको बेवास्ता गरीए कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दुबै पक्षले दिँदै आएको छ । हाल अस्थायि रुपमा सन्दकपुर गाउँपालिकाको वडा नम्बर ३ देउरालि बजारमा केन्द्र रहेको छ ।

तर स्थानिय रुपमा केन्द्र बनाउनका लागि गाउँपालिकाले तीन हप्ताअघि सम्पन्न गरेको प्रथम गाउँ सभाबाट देउरालि बजारबाट करिब आधा किलोमिटर तल झिल्केधारामा केन्द्र राख्ने निर्णय गरीसकेको छ । सभाले गाउँपालिकाको केन्द्र निर्धारण गरेपछि केन्द्रको भवन निर्माण गर्न स्थानीय भालुकटेरी सामुदायिक बन र स्थानीय ब्यक्तिहरुले ५०÷५० रोपनि जग्गा समेत निशुल्क उपलब्ध गराइसकेका छन् । गाउँ सभाबाट केन्द्र निर्धारणको निर्णय स्वागतयोग्य भएको भन्दै एक पक्षले केन्द्रको भवन निर्माण लगायत हरेक क्षेत्रमा आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

केहि मानिसहरुले आफनो ब्यक्तिगत स्वार्थलाई हेरेर केन्द्र सार्न दबाब दिएपनि सभाबाट गरेको निर्णयलाई कार्यन्वयन गराउन समग्र गाउँपालिकाबासी एक भएर लाग्ने स्थानीय जगतबहादुर भटटराईले बताए । उनकै संयोजकत्वमा ११ सदस्यिय समन्वय समिति समेत गठन गरेको छ । गाउँसभाले निर्णय गरेकै स्थानमा गाउँपालिकाको केन्द्र बनाउन लागीपर्ने तथा कसैले सार्न खोजे र सार्न खोजिए आन्दोलन समेत गर्ने समितिका सचिब दिनेश सुवेदी बताउँछन् ।

उता गाउँपालिकाकै अर्को पक्षले गाउँसभाले निर्णय गरेको स्थानमा केन्द्र हुनै नसक्ने जिकिर गर्दै आएको छ । प्राबिधिक÷भौगोलिक र जनसङख्याको हिसावले उपयुक्त स्थान नभएकाले सिंगो गाउँपालिकाबासिको भेला राखेर उपयुक्त स्थानमा केन्द्र निर्धारण गर्नुपर्ने उनीहरु बताउछन् । ‘अझैपनि गाउँपालिकाले गाउँ सभाबाट केन्द्र राख्ने बिषयमा गरेको निर्णय नसच्याए आफूहरु जस्तोसुकै आन्दोलन गर्नपनि पछि हट्दैनौ’ सोहि गाउँपालिका स्थित माबुका दिपेश गुरुङ्गले आक्रोश पोखे ।

उनीहरुले पनि गुरुङ्गकै संयोजकत्वमा १३ सदस्यिय समन्वय समिती गठन गरीसकेका छन् । समितिले केन्द्र उपयुक्त स्थानमा सार्नका लागि गाउँपालिका र जिल्ला स्थित सम्बन्धित निकायमा दबाब दिने यदि नभए केन्द्रमै गएर पनि दबाब दिने जनाएको छ । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले भने गाउँसभाबाटै केन्द्र निर्धारणको बिषयमा निर्णय भइसकेकाले तत्कालको अवस्थामा केन्द्र तोकिएको स्थानमा भन्दा अन्यन्त्र सार्ने अवस्था नरहेको उल्लेख गरे । सोहि गाउँपालिकामा सुलुबुङ्ग, माइपोखरी, माबु, माइमझुवा र जमुना गाविस समेटीएको छ ।

 

प्रतिक्रिया दिनुहोस्