सडक मर्मत नहुँदा जाजरकोटबासीलाई सास्ती



 

दीपेन्द्र शर्मा, जाजरकोट
सदरमुकाम खंलगाको न्युरोड नजिक १ महिनाअघि भत्किएको सडक मर्मत हुन नसक्दा जाजरकोटबासीलाई सास्ती भएको छ। भेरी नगरपालिका–३ न्युरोडमा पहिरो जाँदा १ महिनादेखि यातायात अवरुद्ध छ। जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्डअन्तर्गत सदरमुकामको न्युरोड नजिक पहिरोले भत्किएको सडक नबन्दा स्थानीयबासीले सास्ती व्यहोरेका हुन्। उक्त खण्डमा यातायात अवरुद्ध हुँदा यात्रुहरू खलंगादेखि रिम्नासम्म ५ घण्टा पैदल हिँड्न बाध्य छन्।

सडकको मर्मत नहुँदा व्यापारीलाई दैनिक उपभोग्य वस्तु ओसारपसारमा पनि समस्या छ। वैकल्पिक सडकको पहल नहुँदा पैदल यात्रीलाई समेत आवतजावतमा जोखिम भएको छ। लामो समयसम्म पनि भत्किएको सडकको पुनर्निर्माणका लागि सम्बन्धित निकायले वास्ता नगरेको भेरी नगरपालिका–३ थाप्लेका शिवप्रसाद शर्माले बताए। ‘सबै आउँछन् भत्किएको सडक हेर्छन् जान्छन् मर्मतको कुनै पहल गर्दैनन्, समयमा यसको बारेमा सरोकारवाला निकायले ध्यान नदिँदा अझै बिग्रिने खतरा छ’ –उनले भने। सडक मर्मत नहुँदा सबैभन्दा बढी बिरामी मारमा परेको शर्माले बताए। ‘सरोकारवाला निकायले यसमा चासो नदिँदा जिल्ला अस्पतालमा बिरामी लिन सारै समस्या छ’ –शर्माले भने। उक्त ठाउँमा पैदलरूपमा आवतजावत गर्नेलाई पनि कठिनाइ भएको छ। पहिरोका कारण बस्ती नै जोखिममा परेको छ। खलंगा–रिम्ना सडकको स्तरोन्नतिमा गुणस्तरीय काम नहुँदा पहिरो गई सडक भत्किएको शर्माको भनाइ छ।

बजार क्षेत्रका घरहरूको ढल निकास निकासको माध्यम सडक बन्दा बस्ती नै बग्ने गरी पहिरो गएको छ। रोजेन्द्र र जलजला जेभी काठमाडौंले न्युरोड क्षेत्रमा पर्खाल तथा ग्याबिनको काम गरेको थियो। सडक डिभिजन कार्यालय चौरजहारी रुकुमको चरम लापरबाहीले गुणस्तरमा बेवास्ता गर्दा क्षति व्यहोर्नुपरेको हो। खलंगा–रिम्ना सडक स्तरोन्नति कार्यका लागि १२ करोड लागतमा रोजेन्द्र जलजला जेभी काठमाडौंले जिम्मा लिएको थियो।

सदरमुकामको बाटोबाट रिम्ना जोड्न समस्या भएपछि यातायात व्यवसायीहरूले छिन्चु जाजरकोट सडक खण्डअन्तर्गत जाजरकोट खण्डको पासागाड जिरो प्वाइन्टबाट जाजरकोट डोल्पा जोड्ने कच्ची सडकमा जोखिम मोलेर भए पनि यातायात सञ्चालन गर्ने गरेका छन्। नेपाली सेनाले निर्माण जिम्मा लिएको उक्त सडक खण्डमा खाल्डाखुल्डीले गर्दा निकै समस्या भएको भेरी गंगा यातायात व्यवसायी संघ जाजरकोटका अध्यक्ष नवराज सिंहले बताए।

सेवा दिने उद्देश्यले जोखिम मोलेर भए पनि ट्रइक मात्र ओपन गरेको बाटोमा यातायात सञ्चालन गरिएको उनले बताए। ‘बाटोभरि बिग्रिएको छ, आर्मीले पनि मर्मत गरेको छैन, सडकमा गाडी दैनिक रूपमा फस्ने गरेका छन्, निकास्न नै ३⁄४ घण्टा लाग्छ, यसले गर्दा समयमा यात्रुहरूलाई गन्तव्यमा पुर्याउन सकिँदैन’ –उनले भने। सदरमुकामको बाटोको विकल्प नहुँदा बाध्य भएर नेपाली सेनाले ट्रइक मात्र ओपन गरेको बाटोमा यातायात सञ्चालन गर्ने गरिएको सिंहले बताए। उक्त सडकको पासागाड जिरो प्वाइन्टदेखि कालेगाउँसम्म १८ स्थानमा सडक भत्किएको सिंहले जानकारी दिए।

नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडकको स्तरोन्नति नहुँदा यात्रुले बसलाई डोरीले बाँधेर फसेको स्थानबाट तान्ने गरेका छन्। अन्य कुनै विकल्प नहँुदा जाजरकोटका पूर्वी क्षेत्र तथा डोल्पा र रुकुमबाट आउने यात्रु यही सडकमा यात्रा गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्