मञ्चमा दीपकको अविरल यात्रा



 

दामोदर न्यौपाने

गायक वा गायिकाको एकल सांगीतिक साँझ आम कुरा हो। तर केही समययता आएर संगीतकार वा गीतकारको एकल सांगीतिक कार्यक्रम पनि हुन थालेका छन्। यसरी विरलै हुने संगीतकारको एकल साँझमा बुधबार राजधानी झुम्यो। जहाँ ख्यातिप्राप्त संगीतकार दीपक जंगमले संगीत भरेका गीतहरू गुञ्जयमान भए।

मिस नेपालजस्तो देशकै पहिलो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको हिडेन ट्रेजरले संगीतकार जंगमले संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अविरल यात्रा २०७४ मा दीपक जंगमलाई प्रत्यक्षरूपमा पस्कियो। खचाखच संगीतप्रेमी र संगीतकर्मीले भरिएको प्रतिष्ठानको प्रेक्षालयमा विभिन्न पुराना र नव–गायकगायिकाले उनले संगीत भरेका १९ लोकप्रिय र सदाबहार गीत प्रस्तुत गरेर दर्शकलाई मोहित तुल्याए। २ दर्जन वाद्यवादकका साथमा विभिन्न गायकगायिकाले गीत प्रस्तुत गरिरहँदा कार्यक्रममा सांगीतिक माहोल छाउन पुग्यो।

संगीतकार राजु सिंहको संगीत संयोजन तथा परिचालनमा झन्डै ३ घण्टा चलेको कार्यक्रममा संगीतकार जंगम स्वर सम्राट् नारायण गोपालले गाएको यति धेरै माया दिई बोलको सदाबहार गीत गाउँदै झुल्किए। सदा संगीत सिर्जनाबाट संगीतकर्मीलाई आकर्षित गर्दै आएका उनले आफ्नो स्वरबाट पनि दर्शकलाई प्रभावित पारे। उनले आफ्नो शब्द र संगीतको गीत आफैं प्रस्तुत गरिरहँदा दर्शकदीर्घा नै मन्त्रमुग्ध बन्न पुग्यो।

त्यसै गरी उनका कुशल चेला गायक सुमनकुमार श्रेष्ठले क्षेत्रप्रताप अधिकारीद्वारा रचित टोपी लाए पनि फेटा गुथे पनि हुन्छ गाउँदा दर्शक राष्ट्रिय भावनाले उत्प्रेरित बन्न पुगे। यो गीतले मुटु छुँदा कतिको आँखा पनि रसाए। गायिका तारा थापाले नारायणकुमार आचार्यद्वारा रचित हजारचोटि जन्मुँला गाउँदा दर्शकबाट उत्तिकै साथ पाइन्।

सुगम संगीतमा सफल गायकका रूपमा परिचय बनाएका अर्का लोकप्रिय आनन्द कार्कीले डा. कृष्णहरि बरालद्वारा रचित यी हल्लाहरू हुन् बोलको गजल प्रस्तुत गरेर दर्शक झुमाए भने कर्णदासले उन्नतिशीला बोहराद्वारा रचित कसले पो देख्छ र यो चोट मेरो गाएर मञ्चमा रहुन्जेल दर्शकको ध्यान खिच्न सफल भए। दर्शकको अनुमति मागेर मबीबी शाहद्वारा रचित तथा गुलाम अलिद्वारा स्वरबद्ध गाजलु ती ठूलाठूला आँखा बोलको गीत गाएका गायक कर्णदासले दर्शकको भरपुर तालीको साथ पाए।

गायिका वानिका प्रधानले नरेन्द्रराज प्रसाईद्वारा रचित तथा स्वरसम्राज्ञी अरूणा लामाद्वारा स्वरबद्ध विरहले रोएको रातमा गाएर दर्शकको मन जितिन्।

संगीतकार जंगमको एकल साँझमा उनालाई उनका गायकपुत्र अजर जंगमले पनि साथ दिए। पछिल्लो पुस्तामा फरक खाले गीत गाएर युवामाझ लोकप्रियता कमाइरहेका अजरले २ गीत प्रस्तुत गरे। उनले मबीबी शाहको रचनामा गुलाम अलीले गाएको लोलाएका ती बोलको गीत गाएर आफैंले गाएको लोकप्रिय गीत जिन्दगीले हिसाब माग्छ पनि प्रस्तुत गरे। ‘बुबा यसरी अविरल साँझका रूपमा सम्मानित हुँदा निकै खुसी छु। म यहाँसम्म आइपुग्नका लागि बुबाको निकै ठूलो साथ छ’ –जंगमले भने।

अर्की पुरानी गायिका संगीता राना प्रधानचाहिँ दीपकको शब्द रचना र अरूणा लामाको स्वरको लहरे वर घुमाउने चौतारी बोलको गीतका साथ स्टेजमा देखा परिन्। उनले दर्शकबाट तालीरूपी साथ पाइन्। विशेष गरी गजल गायनमा रुचि राख्ने गायिका निशा देशारले विना महतद्वारा रचित जीवन यदि गीत हो सुनाइन् भने गायक शैलेश सिंहले कालीप्रसाद रिजालद्वारा रचित तिम्रो र मेरो बीचको र तिमीलाई म के भनुँ बोलको गीत प्रस्तुत गरे। ती गीतमा दीपक जंगमको शब्द र नारायण गोपालको मूल गायन रहेको थियो।

सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको प्रस्तुतिलाई पनि दर्शकले रुचाए। ढकालले जंगमपत्नी बेनी जंगम रावलद्वारा रचित मीठामीठा कुरा सबै सुनाइदिऊँ कि हजुर र चाँदनी शाहद्वारा रचित तथा नारायण गोपालको मूल स्वर रहेको एउटा मान्छेको मायाले बोलको गीत प्रस्तुत गरे दर्शकलाई खुसी पारे।

कार्यक्रमको अन्त्यतिर भने पुराना चर्चित गायकद्वय दीप श्रेष्ठ र दीपक खरेल स्टेजमा देखिए। दुवै गायकले दुई–दुई गीत प्रस्तुत गरे। दीप श्रेष्ठले विजय चालिसेद्वारा रचित तिम्रो यादमा र विना महतद्वारा रचित दोधार भो प्रस्तुत गर्दा माहोल तातियो। गायक दीपक खरेलले विना महतद्वारा नै रचित आँखामा राख्न खोज्छु र वसन्त चौधरीद्वारा रचित गरौं कि मीठो भुल प्रस्तुत गरिरहँदा माहोल नै रंगिएको थियो। ‘उहाँ (दीपक जंगम) को कार्यक्रमको म एक हिस्सा हुन पाएकोमा आफूलाई निकै गौरवान्वित ठान्दछु –गायक खरेलले जंगम नेपाली सांगीतिक क्षेत्रको एउटा इतिहास भएको चर्चा गर्दै भने।

कार्यक्रममा प्रस्तुत गरिएका गीत, गायक र संगीतकार जंगमको बारेमा जानकारी समावेश गरिएको पुस्तकबारे पनि जानकारी दिइएको थियो। सोही अवसरमा प्रस्तुत गीतका स्रष्टा र सर्जकलाई रोयल्टी पनि प्रदान गरियो। रोयल्टी रकम हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले संगीत रोयल्टी संघका अध्यक्ष सुरेश अधिकारीलाई हस्तान्तरण गरे। रकम बुझ्दै संगीतकार अधिकारीले स्रष्टाको मौलिक अधिकारको सबैले सम्मान गनुपर्ने बारे चर्चा गरे।

२०१० सालमा भक्तपुरमा जन्मिएका दीपक जंगम नेपाली सांगीतिक क्षेत्रमा गौरवशाली परिचय बोकेका संगीतकार हुन्। सानै उमेरदेखि संगीतप्रतिको लगाव र निरन्तर संगीतको साधनाले उनलाई नेपाली सांगीतिक क्षेत्रमा एक सफल संगीतकार, गीतकार र गायकका रूपमा उभ्याएको छ।

उनको संगीतमा पाकिस्तानी गायक गुलाम अली, अर्का गायक मेहन्दी हसनलगायत नेपालका पुरानादेखि अहिलेका गायकसम्मले गीत गाएका छन्।

प्रतिक्रिया दिनुहोस्