पेडोफिल खोज्न ठमेलमा सीआईबीको निगरानी



 

सुरेश तामाङ, काठमाडौं

पेडोफिल अर्थात् बाल यौन दुराचारी खोज्न ठमेलको पर्यटकीय क्षेत्रलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कडा निगरानीमा राखेको छ।  पछिल्लो समय लगातारजस्तो पर्यटकका रूपमा आउने विदेशी पेडोफिलहरूले नेपाली नाबालकलाई बाल यौन दुराचार गरेको घटना ठमेल क्षेत्रमा बढ्न थालेपछि सो क्षेत्रलाई कडा निगरानीमा राखेको सीआईबीले जनाएको छ।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार विकट गाउँदेखि गरिब बालकहरू ल्याउने साथै सडक बालकहरूलाई पनि बटुल्दै तिनीहरूलाई ललाई फकाई यौन दुराचार गर्ने थलो पछिल्लोपटक बाल यौन दुराचारीहरूले ठमेललाई बनाएका छन्। त्यसैले ठमेल क्षेत्रलाई सीआईबीले निगरानीमा राखेको उनको दाबी छ। ‘हामीले पर्यटकको चहलपहल हुने क्षेत्र ठमेललाई पेडोफिलहरू खोज्न निगरानीमा राखेका छौं’, उनले भने– ‘त्यसका लागि हामीले विशेष सञ्जाल नै परिचालन गरिसकेका छौं।’

सीआईबीले ठमेल मात्रै होइन बौद्धक्षेत्र, नगरकोट, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रलाई समेत निगरानीमा राखेको छ। प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको आग्रहमा पेडोफिल खोज्ने, समात्ने, दुराचारमा परेका पीडितहरू खोज्नका लागि सहयोग गर्न पनि सीआईबीले ठमेललगायतका पर्यटकीय क्षेत्रलाई विशेष निगरानीमा राखेको छ।

सीआईबीको पिलर ३ ले आफ्नै ढंगबाट शंकास्पद क्षेत्रहरूमा निगरानीका लागि विशेष गुप्त सञ्जाल तैनाथ गरिसकेको जनाएको छ। पर्यटकीय हबका रूपमा विकास भइरहेको नेपालमा यौन पर्यटन विशेष गरी बाल यौन दुराचारको हब बन्न नदिन सीआईबी प्रयासरत छ।

विकट गाउँमा समाज सेवाका लागि जाने र गरिब परिवारका बालकहरूलाई लाउन खान दिने, बालकलाई पेडोफिलले आफूप्रति सामीप्यता कायम गर्न बालकलाई मन पर्ने महँगा वस्तु किनिदिने, मन परेको खानेकुरा दिनेजस्ता कार्य गर्दै आइरहेको अनुसन्धानले देखाएको छ। त्यस्तै पेडोफिलहरूले बालकलाई यौन दुराचार गर्ने उद्देश्यले घुमाउने भन्दै काठमाडौंमा ल्याउने र होटलमा राखेर यौन दुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको छ। पेडोफिलरुको बालक लिएर घुम्ने ठाउँ ठमेल, बौद्ध, नगरकोट, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रहरू समेत बनेको अनुसन्धानबाट थाहा हुन आएको छ।

सीआईबीले मात्रै गएको वैशाखदेखि बाल यौन दुराचारको आरोपमा चार जना विदेशीलाई पक्राउ गरिसकेको छ। ७ जना बालकलाई यौन दुराचार गरेका अमेरिकन केनेथ जोसेफ कोम्बस र उनका सहयोगी नेपाली नागरिक बुद्ध पुतुवार, त्यस्तै जर्मन नागरिक अल्वर्ट फ्रेड क्लिनेक र अस्ट्रियाली नागरिक मार्कस केन्डलर गरी चार जनालाई पक्राउ गरेको हो।

केनेथ अहिले ९ वर्षका लागि जेल जीवन बिताइरहेका छन् भने उनका सहयोगी पुतुवार ४ वर्षका लागि जेलमा परेका छन्। त्यस्तै जर्मन नागरिक क्लिनेक पुर्पक्षका लागि थुनामा छन् भने केन्डलर यही भदौ २१ मा १ बालकसहित पक्राउ परेका थिए।

धादिङको विकट गाउँदेखि यौन शोषणको उद्देश्यले ल्याइएका १ जना नाबालक पीडित समेत सोही कोठाबाट तत्काल उद्दार गरिएको छ भने केन्डलरलाई बाल यौन दुराचार साथै मानव बेचबिखन तथा ओसारपसार मुद्दाअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

जबरजस्ती करणीअन्तर्गत उक्त बाल यौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव क्षतिपूर्ति समेत भराउने र परिवारको अनुमति नलिई ललाई फकाई लैजाने भएर यौन दुराचारीलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दाअन्तर्गत थप सजायसमेत हुने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्